Friday, March 29, 2024
Homeफिचरआयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई

आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई

- Advertisement -spot_img

‘आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई’ यो आख्यान मात्र होइन विषय वा प्रसंगले अर्को अर्थ नलागेमा दसैँ गयो, तिहार आयो तिहार गएको भोलिपल्ट नेवार आयो भन्ने पनि गरिन्छ । यो आख्यान गण्डकी प्रदेशका जिल्लाहरूमा प्रचलनमा छ । यो आख्यान चाडपर्व सकिनासाथ साहु आयो भन्ने प्रसंगमा भनिएको हो ।
हाम्रो समाजमा परम्परादेखि नै नेवार सम्प्रदायका मानिसहरूले ब्यापार गर्दै आएका र चाडपर्वको समयमा गाउँघरमा उधारो कपडालगायत आवश्यक सरसामान उधारो बिक्री गर्दै हिड्ने र दसैँ तिहार सकिनासाथ आफ्नो सामानको पैसा उठाउन जाने प्रचलन थियो । परम्परागत चल्दै आएको आख्यान जस्तै दसैँ र तिहार सकिनासाथ अब धेरै नेपालीहरूको घरमा साहु पुग्न थालेका छन् ।
दसैँ र तिहारको पर्वको लागि आवश्यक सरसामान किनमेल गर्दाको ऋणले सबैको मनमा हलचल बनाएको छ । साहुको ऋण तिर्न युवा, युवतीहरू दसैँ र तिहार पर्व सकिनासाथ फेरि विदेश फर्किने क्रम बढ्दै छ । कतिपय घर परिवारले यो बर्षको मात्र होइन, गएको सालको दसैँ र तिहारको ऋण तिर्न नसकेर घरखेत बेच्ने तर्खरमा लागेका छन् ।
दसैँ र तिहार पर्व हाम्रो संस्कृति हो । यसलाई तडकभडक साथ मनाउनुभन्दा पनि यसको महत्वको बारेमा हामीलाई थाहा हुन जरूरी छ । हाम्रो परम्परा र संस्कृतिलाई बचाउनुपर्दछ । यसलाई पर्वको रूपमा मनाउँदा आफ्नो आर्थिक अवस्थालाई ख्याल गर्न सकेनौँ भने यसले हामीलाई दसैँ र तिहार नभएर दशाको रूपमा परिणत गरिदिन्छ ।
अहिले धेरै घरपरिवारमा त्यस्तै समस्या खडा भएको छ । चाडपर्वको बेला गरेको खर्चको ऋण तिर्न विदेशिनु परेको छ । पाक्न थालेको धान र घरमा भएका बस्तुहरू सस्तो मूल्यमा बिक्री गर्नुपरेको छ ।
नेपालीहरूको दोस्रो ठूलो चाड तिहारले बिदा लिएको छ । झिलीमिली पर्वको रूपमा परिचित तिहार पर्वको रमाइलो पक्ष देउसी र भैलो खेल्ने पनि हो । तर अहिले देउसी र भैलोमा विकृति थपिएको छ । कला र संंस्कृतिको जर्गेना गर्ने उद्देश्यले देउसी खेल्ने भए पनि हाल खेलिएका देउसी भैलो हेर्दा कमाउने मेसोको रूपमा यसलाई प्रयोग गरेको प्रष्ट रूपमा देखिन्छ ।
वास्तवमा भन्ने हो भने समूहमा मिलेर गाउने गीत हो देउसी र भैलो । यसमा एकजना भट्याउने हुन्छ भने अन्य समूहका साथीहरूले देउसी अथवा भैलो भनेर भट्टाउनेलाई साथ दिने गर्छन् ।
खासगरी देउसी भैलोमार्फत देउसी खेल्न गएका घरमा आशिष दिने तथा शुभकामना दिने गरिन्छ भने घरधनीले फलफूल, रोटी, दक्षिणा दिने गर्छन् । यो परम्परा अब लोप हुने अवस्थामा पुगिसकेको छ ।
कारण, देउसी र भैलोको नाममा विकृति विसंगती ह्वात्तै बढेको छ । परम्परागत तरीकाले देउसी खेल्नुको सट्टा पश्चिमेली फेसन गर्दै उफ्रने गर्न थालेका छन् । आफूले भने जति पैसा नदिए झगडा तथा तोडफोड गर्नसमेत पछि पर्दैनन् उनीहरू । जसले धेरै पैसा दिन सक्छ, उसका घरमा मात्र जाने गर्न थालेका छन् ।
दसैँ र तिहारले आम सर्वसाधारणमा एकातिर उल्लास ल्याइदिएको थियो भने अर्काेतिर अहिले चाडपर्व मनाएको ऋण कसरी तिर्ने भन्ने पिरलाले गाँज्न थालेको छ । हामीकहाँ दसैँ र तिहारजस्ता चाडपर्वका बेला बजार अनियन्त्रित हुने गर्छ ।
महंगीले आकाश छोएको हुन्छ । सरकारले बेलाबखत बजार अनुगमन गरेको प्रचारबाजी गरे त्यसले प्रभाव पार्न सकेको हुँदैन । विगतका वर्षको तुलनामा यस वर्षको दसैँ र तिहार अत्यधिक महंगो किनमेलमा खर्च भएको छ । हाम्रा व्यवसायीहरू चाडपर्वलाई कमाउने गतिलो अवसर ठान्छन् ।
त्यसको असर सर्वसाधारण जनतामा परेको हुन्छ । जब दसैँ र तिहारजस्ता महत्वपूर्ण चाडपर्व आउँछ तब बजारमा कृत्रिम मूल्य वृद्धि सुरू हुन्छ । खाद्यान्न, लत्ता कपडाजस्ता दसैँ र तिहारमा बढी खपत हुने वस्तुको मूल्य छोइ नसक्ने हुन्छ । मनोमानी ढंगले बजार मूल्य बढ्दा, बजारमा अराजकता र अनुशासनहीनता बढ्दै जाँदा सरकार र स्थानीय प्रशासन मूकदर्शक भएर बसिरहेको हुन्छ ।
दसैँ र तिहारको धार्मिक र सामाजिक महत्व छुट्टै छ । दसैँ तिहारलाई नै महत्व मानेर कतिपयले यो चाडको सन्दर्भ पारेर नयाँ लुगा, गहना तथा घरायसी सामान जोड्ने प्रचलन पनि हाम्रो समाजमा छ ।

चाडपर्वलाई आफ्नो मौलिक संस्कृति र परम्परालाई जर्गेना गर्नुपर्दछ । संस्कृति जोगाउने नाममा विकृतिलाई प्रश्रय दिनु मूर्खता हो । दसैँ तिहारजस्तो चाडपर्वमा प्रतिस्प्रर्धा भैरहेको छ । छिमेकीका छोराछोरीले जस्तो लाउछन् उस्तै लाउनु पर्ने, जत्रो खसी काट्छन् आफूले पनि उस्तै काट्नु पर्ने परिस्थितिको सिर्जना भईरहेको छ । देखासिकी, नचाहिने भड्काउ, समाजमा अशान्ति फैलिने कार्य गरी चाडपर्व मनाउनु पक्कै पानी राम्रो होइन ।

वर्ष दिनमा आउने यो चाडको मौका पारेर वर्ष दिनको दुःख कष्टलाई भुलेर राम्रो लगाउने मीठो खाने प्रचलन नराम्रो भने होइन । राम्रो लाउने, मीठो खाने प्रचलनका नाममा हुने खानेले तडकभडक देखाएर यो चाडलाई खर्च गर्ने चाडको रूपमा मनाउने गरेको पनि पाइन्छ ।
गरगहना जोड्ने, गाडीलगायतका विलासी सामान किन्नेजस्ता कुरा हुने खाने परिवारमा बढिरहेको छ । आफ्नो आर्थिक अवस्थालाई बिर्सेर हुने खानेको देखासिकी गर्नेहरूले ऋण नै काढेर भए पनि राम्रो लाउने, मीठो खाने तथा बिलासीका सामग्रीहरू जोड्ने कार्य पनि हुँदै आएका छन् ।
यस्तो तडकभडकले हुने खानेलाई त खासै समस्या नपर्ला तर सानोतिनो आयस्रोत भएकालाई भने त्यसले धेरै नै अप्ठ्यारोमा पारिदिन्छ । त्यसैले गर्दा कतिपय घरपरिवारको लागि दसैँ र तिहार दशामा परिणत भएको छ ।
चाडपर्वलाई आफ्नो मौलिक संस्कृति र परम्परालाई जर्गेना गर्नुपर्दछ । संस्कृति जोगाउने नाममा विकृतिलाई प्रश्रय दिनु मूर्खता हो । दसैँ तिहारजस्तो चाडपर्वमा प्रतिस्प्रर्धा भैरहेको छ । छिमेकीका छोराछोरीले जस्तो लाउछन् उस्तै लाउनु पर्ने, जत्रो खसी काट्छन् आफूले पनि उस्तै काट्नु पर्ने परिस्थितिको सिर्जना भईरहेको छ ।
देखासिकी, नचाहिने भड्काउ, समाजमा अशान्ति फैलिने कार्य गरी चाडपर्व मनाउनु पक्कै पानी राम्रो होइन । चाडपर्वमा सबै सुखी र खुसी रहनुपर्दछ घाँटी हेरेर हाड निल्ने गरेमा अवश्य पनि सबैको चाडपर्व राम्रो हुनेछ, अन्यथा महान चाड पर्व दशा बन्नसक्छ । त्यसैले बर्षमा एकपटक आउने दसैँ तिहारलाई दशाको रूपमा होइन उल्लासमय वातावरणमा मनाउनु पर्दछ ।
के ऋण काढेरै भए पनि वा समाजलाई देखाउनैको लागि भए पनि चाडवाड मनाउनै पर्छ र ? पक्कै पनि पर्दैन दसैँ तिहार हरेक वर्ष आउँछ दसैँ तिहारमा खर्च पनि अलि बढी हुन्छ त्यसैले अलि पहिलेदेखि बचत गरेर राख्न सकियो भने सजिलो हुन्छ ।
चाडपर्व आफ्नो गच्छेअनुसार मनाउनुपर्छ । कसैलाई देखाउनकै लागि दसैँ तिहार मनाउने होइन भन्ने मानसिकता हामीमा भयो भने चाडपर्व दशा नभई उत्सव हुनसक्छ । खर्च गरेर तडक–भडक गरेर पर्व मनाउने र नसक्ने वर्गले पनि ऋण, धन जुटाएर यस्ता साँस्कृतिक पर्वहरू मनाउदा एउटा वर्ग जहिले पनि समाजमा ऋणको भारी बोक्नुपर्ने अवस्थामा रहेको हुन्छ ।
अबका दिनहरूमा देखासिकी र आडम्बरयुक्त चाडपर्व मनाउने मानसिकतालाई हामीले परिवर्तन गर्न जान्नुपर्दछ । अब पनि यस्ता खर्चिला पर्वहरूलाई परिवर्तन गर्न सकिएन भने समाजमा रहने विपन्न वर्गका मानिसहरूको अवस्था झनै दयनीय हुन जान्छ ।
चाडपर्वलाई एउटा परम्पराको रूपमा मान्ने, आफ्नो गच्छेअनुसार मनाउन प्रयास गर्ने, देखासिकी र प्रतिस्पर्धा नगर्ने, एकैदिन धेरै नखाने, सकेसम्म दैनिक ताजा खानेकुरा खाने, पैसा परेको चिज हो भन्दै बासी सडेगलेको खानेकुरा नखाने, विकृति र विसंस्कृति भित्रने गरी चाडवाड नमनाउने,
आफ्नो स्वास्थ्यको ख्याल गर्ने, स्थानीय रूपमा उपलब्ध सामग्री प्रयोग गरी पर्व मनाउने, तडक–भडक नगर्ने, धुम्रपान तथा मदिरारहित जमघट बनाउने, घर परिवारसँगै बसेर चाडपर्व मनाउने, सरकारले महंगी र कालोबजारी रोक्ने, सार्वजनिक यातायात व्यवस्थित गर्नेजस्ता कार्यहरू व्यवहारमा उतार्न सके सबै नेपालीको महान चाडपर्व दशा नभई पक्कै पनि खुसी र उमंगको चाड हुनेछ ।
फजुल खर्च गर्नभन्दा चाडपर्वको अवसर पारेर कुनै सामाजिक काम पनि गर्न सकिन्छ तपाईंले गरेको सानो प्रयास भावीपुस्ताहरूको लागि मार्गनिर्देशन हुनेछ ।
दसैँ र तिहार पर्वकै समयमा कतिपय मानिस जुवा, तासलाई महत्व दिएर गाउँघर र शहर बजारमा ब्यस्त देखिन्छन् । एक÷दुईजनाले जुवातास जित्यो भन्ने सुन्नमा आए पनि धेरै मानिसले जुवा हारेको सुनिन्छ । घरबार बिगारेको सुनिन्छ । जुवाडेहरू प्रहरीले पक्राउ गरेको पनि सुनिन्छ । तर जुवाडेहरू कानुनी कारबाहीमा परेको अर्थात् जेल सजाय भोगेको भने सुन्नमा आउँदैन ।
कानुन कार्यान्वयनमा फितलोपन भएकै कारण जुवातास खेल्नेहरू कारवाहीमा नपरेका हुन् भन्ने भनाइ पनि रहेको छ । तर फितलो कानुनले गर्दा जुवाडेहरूसँग पुलिस प्रशासनलाई चलखेल गर्न सजिलो भएको छ । कानुन कार्यान्वयनमा फितलोपन भएकै कारण जुवातास खेल्नेहरू कारवाहीमा नपरेका हुन् ।
चाडपर्वमा कुनै खास दिन तथा तिथिमा मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवी–देवताहरूको पूजाआजा गरी भोजभतेर खाई नाचगान गरी रमाइलो गर्ने गरिन्छ । दसैँ र तिहार पर्व मात्र होइन समष्टिमा भन्नुपर्दा नेपालमा नयाँ वर्ष अर्थात् विक्रम सम्वतको पहिलो दिनबाट नै चाडपर्वहरू सुरू हुन्छन् ।
त्यसपछि रामनवमी, चैते दसैँ, बुद्ध जयन्ती, साउन सङ्क्रान्ति, नागपञ्चमी, जनैपूर्णिमा, कुसेऔँसी, ऋषिपञ्चमी, बडादसैँँ, तिहार, नेपाल सम्वत प्रारम्भको दिन म्हपूजा, छठपर्व, हरिबोधनी र हरिशयनी एकादशीहरू, बालाचतुर्दशी, विवाह पञ्चमी, माघे सङ्क्रान्ति, स्वस्थानी पूर्णिमा, श्रीपञ्चमी, होली, महाशिव रात्रि, र घोडेजात्रा, हाम्रा प्रचलित चाडपर्वहरू हुन् । यो बाहेक विभिन्न जिल्लाहरूमा विभिन्न जनजातिका मानिसहरूको आ–आफ्नै विशेष प्रकारका चाडहरू पनि छन् ।
चाडपर्व र संस्कृतिको धनी मुलुक, जहाँ रोजगारीको अवसर छैन । तर खर्च गर्ने अवसर भने हाम्रा चाडपर्वले प्रशस्त दिएका छन् । देशभित्र काम नपाएर विदेशिएका झण्डै ३० लाख नेपालीको संख्या पुगिसकेको छ । रोजगारीको लागि विदेशिएका युवाले पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानिएको छ । तर तिनै युवा अत्यन्तै जोखिममा रहेको समाचारहरू बन्ने गर्दछन् ।
काम गरेको कम्पनीबाट नै ठगीमा पर्ने, समयमा तलब नदिने, भनेको काम नदिने तथा कार्यस्थलमा हुने दुर्घटनाजस्ता जोखिमका बीच ती युवाहरूले खाडी मुलुकहरूमा काम गर्नुपरेको छ । सरकारी तथ्याङ्क अनुसार वैदेशिक रोजगारीमा गएका नेपालीका दैनिक सरदर चारवटा शव मुलुकमा भित्रिने मात्रै होइन बाँचेकाहरू पनि अनेकाँै पीडाका कथा लिएर फर्कने गरेका छन् ।
१६ देखि ४० वर्ष उमेरका सक्रिय जनशक्ति खाडी मुलुक, भारत तथा अन्य देशहरूमा पसिना बगाइरहेका छन् । देशको अवस्था यस्तो हुँदाहँुदै हामीले चाडपर्वको समयमा ख्याल नगरी तडकभडकमा गरेको खर्चले ऋण लाग्दैन त ? आउँदा दसैँ र तिहारका पर्वमा आफ्नो औकात अनुसार खर्च गर्ने बानी बसालौँ ।
हाम्रो आर्थिक अवस्था हेर्ने हो भने हामीले मनाउँदै आएका चाडपर्वहरू धान्न गाह्रो हुँदै गएको छ । राष्ट्रिय तथ्याङ्क हेर्ने हो भने हाम्रो कुल जनसंख्याको ६६ लाख ९८ हजार जनसंख्या गरिबीको रेखामुनी रहेका छन् ।
राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसंंख्या २ करोड ६६ लाख २१ हजार पुगेको छ । त्यसमध्ये नेपालको गरिबीको संख्या २५ दशमलव १६ प्रतिशत रहेको छ ।
सरकारको तथ्याङ्क अनुसार न्यूनतम वार्षिक १९ हजार २ सय ६१ भन्दा कम खर्च गर्ने व्यक्तिलाई गरिब मानेको छ । जसमा खाद्यवस्तुमा ११ हजार ९ सय २९ र गैर खाद्यवस्तुमा ७ हजार ३ सय ३२ रूपैयाँभन्दा कम खर्च गर्ने व्यक्तिहरूलाई गरिब मानिएको छ । साँस्कृतिक पर्वहरूमा तडकभडक नगरी सरल र सहज तरिकाबाट मनाउन सबैले सिक्न जरूरी छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here