- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeविचारमानव स्वस्थ, पृथ्वी शान्त

मानव स्वस्थ, पृथ्वी शान्त

- Advertisement -spot_img

मीरा संकल्प

वास्तवमा कसको मन नहोला ? यो पृथ्वीको भूईहरूमा हरिया दुबोका तकियाहरूले बिस्कुन लगाएको हेर्ने । पहाडको पर्खालहरूमा विवाह गर्दा लैजाने तातीका ताती जन्ती जसरी सुकिला बिरूवाहरू उमारेको हेर्ने । अनि समुन्द्रले जीवहरूलाई पालेको टाढैबाट छर्लङ्ग देखिने गरी निलो पानी सलबलाएको हेर्ने ।
अनि आकाशलाई फनफनी बेरेर हिड्ने बादल हेर्दा पनि आँखालाई आनन्द आउने । सफा भएको हेर्ने । कसको मनमा नहोला गाउँ र सहरका बाटोहरू पैतालाले छुँदा पनि धुलो टाँसिएलाकी भनेर चप्पल फुकाल्नु परेको अवस्था देख्ने ।
अनि मुखमा मखुण्डो (माक्स) लगाएर हिड्दा पनि चोक तथा गल्लीहरूले गिज्याउने । मन लाग्छ गल्लीहरूले आँखा तरून् । फुटपाथहरूले रिस गरून् । जहाँ प्रदूषण भन्ने शब्द नै निमिट्यान्न छैन् ।
तर, बिडम्वना भनौँ या नियतीको खेल । या कुनै चेतनाको ढोकामा ताला कसेको भनौँ । यहाँ त यस्तो कहाँ छ र ? सब एक सय एक छौँ । सरकार भन्छ– बडेमानको चस्मा लगाउने र मुखमा मास्क लगाउनेहरू मेरा विरोधीहरू हुन् । भ्रष्ट मानसिकता भएका हुन् भनेर खण्डन मण्डन गर्दै भाषण चुट्ने ।
तर त्यसको लागि नियन्त्रणको प्रयास एउटा सिन्को भाँची केही लछार्ने होइन । न कुनै नीतिनियम, न कुनै पहलकदम अनि हामी नि हामी ! हामी झन के कम ? अरूले त कही कतै केही गर्दैनन् म एक्लैले गरेर के बित्याउनु छ र ?
लौ जा भन्दै चाउचाउ खाए चाउचाउका खोल, चक्लेट खायो चक्लेटकै खोल, बिस्कुट खायो बिस्कुटकै खोल, पानी खायो पानीकै बोत्तल, फलफुल खायो फलफुलकै बोक्रा त्यो पनी कता अलि सफा अनि राम्रो छ उतै । जहाँ पायो त्यही । बाटोमा पायो बाटोमै । चोक, गल्ली जहाँसुकै फुत्तफुत्त फाल्दै हिँड्छौँ ।
अनि अर्काथरी पराग, खैनी, सूर्ति खानेहरू । पराग खानेहरू चपाई–चपाई मुखभरी रातो थुक जम्मा गर्ने अनि बाटोभरी प्याच–प्याची थुक्दै हिड्ने । अनि एउटै स्वरमा भन्छौँ, सहर फोहर भयो । राजधानी फोहर भयो । दुर्गन्ध बढ्यो । ढल प्रदूषण भयो । बाटो प्रदूषण भयो । भनभनी झिङ्गा लाग्छन् । नानाभाती बकबक गर्छौ ।
अनि अर्को कुरा घरभित्रबाट निस्कने फोहरको पैसा तिरेको छ भने नगरपालिका आउँछ त्यसले फोहर लान्छ । यदि होइन भने डस्टबिन भरी थुप्रेको फोहर कत्ति बेला साँझ होला ? कतिबेला सुनसान होला अनि कहाँ अलि अँध्यारो छ ।
त्यसकै दाउ हेरेर बसेका हुन्छाँै अनि मौका मिलेपछि लुसुक्क गएर फुत्त फालेर कसैले थाहा नपाउने गरी फर्किएर आउँछौँ ।
सबैले व्यक्तिहरूले यसो नगर्नुहोला तर केही–केही मान्छेहरूबाट यसो भएको मेरै आँखाले देखेको छ । अनि भन्छौँ हाम्रो सहर बजारलाई फोहरले डुबायो । राजधानीलाई फोहरले डुबायो । अनि मलाई भन्न मन लाग्छ ‘फोहरले हाम्रो सहर बजार डुबाएको होइन की, तपाई हामी जस्ता फोहरी भ्रष्ट मानसिकता भएका दिमागहरूले हो सहर बजारलाई डुबाएको ।’
एउटा कुरा कान खोलेर सुनौँ र मनन् गरौँ कि, हामी बसेको घर, टोल, छिमेक, समुदाय, पूरै राष्ट्र सफा, सुन्दर र शान्त भएको हेर्नुछ भने हर एक व्यक्ति, हर एक मन, हर एक मस्तिष्कहरूमा म जहाँ गए पनि जहाँ बसे पनि जहाँ हिडेपनि सफा देख्न चाहन्छु, सफा राख्न चाहन्छु । सफा गर्न चाहन्छु ।
मेरो कारणले कुनै पनि ठाउँमा फोहर हुन दिन्न भन्ने सोच प्रत्येक–प्रत्येकको दिमागी चेतनामा आयो भने, र राज्यले पनि त्यस विषयलाई गम्भीर रूपमा लिई सही नीति र नियम बनाई फोहरका किसिमहरूलाई छुट्टाछुट्टै जम्मा गर्नका निम्ति ठाउँ–ठाउँमा डस्टबिन राखिदिने र जम्मा गरिएका फोहरबाट कहाँ–कहाँ प्रयोग भन्ने विषयमा निक्¥यौल गर्ने र जथाभावी फोहोर गर्ने व्यक्तिलाई हदैसम्मको महङ्गो कारवाहीको यवस्था गर्ने हो भने अबको केही वर्षमा निश्चित लक्ष्य तथा उद्देश्य प्राप्त गर्न परेको समय कुरि बस्नु पर्दैन ।
एक विद्वान्को प्रचलित भनाई छ, ‘ठूलो सफलता हात पार्नका निम्ति धेरै साना–साना कुराहरूले पनि अमूल्य भूमिका राख्दछ’ भनेझै । सरकार र नागरिक दुबै पक्षबाट एक बाटो एकसाथ भएर अगाडि बढ्ने हो ।
जसले गर्दा हो की एक व्यक्ति मात्र स्वस्थ हुने हैन कि, सिङ्गो पृथ्वी नै शान्त र सुन्दर हुनेछ । यति कुराहरूको विश्लेषण गरिरहँदा वातावरण प्रदूषण हुन सक्ने कारणहरू अरू पनि छन् । फोहर व्यवस्थापन गर्न नसक्नु अहिलेको समयमा प्रमुख कारण भएको छ भने यससँग अन्य थुप्रै कारणहरू समेत जोडिएका छन् ।
कुनै पनि मानिसलाई शान्त र सफा ठाउँमा बस्न मनपर्छ । तर कतिपय यस्ता कारणहरू छन् जस्ले अदृश्य रूपमा प्राकृतिक सम्पदामाथि अत्याचार र अन्याय गर्दै प्रदूषण उत्पादन गरिरहेका छन् । जुन निम्नप्रकार छन्ः–

  •  विश्वव्यापी रूपमा अस्वभाविक जन्मदरमा वृद्धि ।
  • प्राकृतिक जङ्गल तिव्र गतिमा फडानी ।
  •  माटोमा मानवीय चाप उच्च गतिमा बृद्धि हुनु ।
  •  साना नानीहरूलाई पारिवारिक वातावरण तथा विद्यालयदेखि नै प्रकृति रक्षासम्बन्धी सत्यतथ्य चेतना दिन नसक्नु, यदि दिइएता पनि अव्यवहारिक हुनु ।
  • विविध प्रदूषणः वायु प्रदूषण, जल प्रदूषण, ध्वनी प्रदूषण, भू–प्रदूषण, धूँवा प्रदूषण, ओजन तहमा प्रदूषण, ताप प्रदूषण इत्यादि ।
  • अव्यवस्थित रूपमा उद्योग, धन्दा कलकारखाना सञ्चालन हुनु ।
  •  समुन्द्रमा मिसिएका सिसा तथा प्लाष्टिकजन्य पदार्थहरूबाट स्तनधारी लगायतका अन्य जीवजन्तुहरू मारिनु ।
  •  डिस्पोजल वस्तुको बढी प्रयोग गरिनु ।
  • कुहिने र नकुहिने फोहरको परिक्षण नहुनु र पुनः सञ्चालनमा नल्याइनु ।
  • वातावरण व्यावस्थापन सम्बन्धी बनाइएका अन्तर्राष्ट्रिय कानुनहरूलाई प्रत्येक राष्ट्रले कडाइका साथ पालना गर्न नसक्नु ।

निष्कर्ष

अन्त्यमा यी विषयहरूलाई फोकस गर्न सकिन्छ कि, विश्व वातावरणीय धरातललाई सही ढङ्गबाट जोगाई राख्ने, स्वच्छ राख्ने हो भने सबैभन्दा पहिला ब्रह्माण्डको कुना–काप्चामा फिजिएएर रहेका मानवहरूको मन सफा हुनुपर्छ ।
त्यसका लागि गरिने संघर्ष आफ्ना ठाउँमा छन्। खोज, अध्ययन, अनुसन्धान, शिक्षा, स्वास्थ्य, सही व्यवस्थापन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनमा कडाई गरिनुका साथसाथै, कानुनको पालना तथा उल्लंघन गर्नेलाई पुरस्कार तथा दण्डजरिवाना गरिनुपर्छ ।
यहाँ एक विद्वान्को भनाइलाई इङ्गित गर्दछु ।
‘ठूलालाई जेल होइन बालकलाई विद्यालय स्थापना गरिदेऊ’ भने जस्तै, वातावरण रक्षा सम्बन्धी चेतना बालक जन्मेपछि नै पारिवारिक तथा राज्यस्तरबाट उचित र व्यवहारिक शिक्षा प्रदानको माहोल स्थापना गरिनुपर्छ ।
मानसिक चेतना सफा हुनै पर्दछ । साथै वृक्षारोपण आधुनिक समयसँगै आधुनिक विकासमा उपयोग हुने डिस्पोजलीय पदार्थका निम्ति विकल्प अपनाउँदै, स–साना विषयलाई पनि नयाँ तरिकाबाट सोच्ने बानीको विकास भयो र चेतना वृद्धि भयो भने यो सत्य नै हो स्वर्ग खोज्नका निम्ति अर्को कुनै ग्रहमा पुगिरहनु पर्दैन । पृथ्वीमा नै पर्याप्त हुनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here