- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरमोह राहदानीको की डिभीको ...?

मोह राहदानीको की डिभीको …?

- Advertisement -spot_img

दाङ, ६ कार्तिक । प्रशासन कार्यालयहरूमा हिजोआज राहदानी बनाउनेको भीड छ । लाइन बसेर राहदानीका लागि फाराम भर्न युवाहरू कार्यालयमा तम्सिरहेका छन् । राहदानीको फाराम भर्न र पासपोर्टका लागि फोटो खिच्ने युवाहरूको भिडले कार्यालय भरिभराउजस्तै छ ।
तुलसीपुर उपमहानगरपालिका–५ रानीजरूवाका विक्रम खत्रीले ‘डिभी भर्दा अनिवार्य राहदानी नम्बर चाहिने भएका राहदानी बनाउन अहिले तुलसीपुरको ईलाका प्रशासन कार्यालयमा भेटिए । उनले अहिले आफूलाई राहदानीको आवश्यक भएर लाइन लागेर बनाउन लागेको बताए ।
शान्तिनगर गाउँपालिका–५ की सीता वलीले पनि डिभीकै लागि राहदानी बनाउन आएको बताइन् । सीता र विक्रम मात्र होइन अधिकांश युवायुवती अहिले प्रशासन कार्यालयमा भेटिन्छन् । डिभीकै लागि भनेर राहदानीको लागि सिफारिस लिनेहरूको अहिले भिड छ ।
डिभी भर्नको लागि राहदानी नम्बर अनिवार्य चाहिने भएपछि पछिल्लो एकसातामा राहदानी लिनेको संख्या तेब्बरले वृद्धि भएको कार्यालयका शाखा अधिकृत श्रीधर टण्डनले बताए ।
‘साधारण र द्रूत दुबै सिफारिस यसभन्दा अघि दैनिक १५÷२० वटालाई दिने गरिएको थियो तर अहिले ६० देखि ७० सम्म दिने गरिएको छ, उनले भने– ‘कार्यालयमा पछिल्लो सातामा राहदानीको सिफारिस लिनेको संख्या तेब्बरले बढेको छ ।’
अमेरिकाले नेपालीलाई प्रदान गर्ने इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)का लागि १७ असोजदेखि २० कार्तिकसम्म फाराम भर्न आवेदन खोलेको छ ।
फाराम भर्नका लागि यस वर्षदेखि अनिवार्य राहदानी नम्बर उल्लेख गर्नुपर्ने भएपछि दाङमा जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालयमा राहदानीका लागि सिफारिस लिनेको चाप बढेको देखिन्छ ।
डिभी भर्नका लागि पासपोर्ट नम्बर अनिवार्य चाहिने भएपछि अरू दिनको तुलनामा पछिल्लो सातामा राहदानी सिफारिस लिनेको संख्या बढेको जिल्ला प्रशासन कार्यालय दाङका सूचना अधिकारी गञ्जबहादुर एमसीले बताए ।
‘पछिल्लो एक सातामा दैनिक ४० जनासम्मले राहदानीको सिफारिस लिने गरेका छन्’ उनले भने– ‘अन्य समयमा दैनिक २५ जनासम्मले लिने गरेका छन् ।’
यसैबीच वैदेशिक रोजागर, अध्ययन र भ्रमणका लागि राहदानी बनाउनेको संख्या दाङमा वर्षेनी बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा आर्थिक वर्ष ०७४/७५ को तुलनामा गत आर्थिक वर्ष ०७५/७६ मा २ सय ५८ जना बढीले राहदानी बनाएका छन् ।
कार्यालयका अनुसार दाङमा आर्थिक वर्ष ०७४/७५ मा ६ हजार ९ सय ८९ जनाले राहदानी बनाएका थिए भने आर्थिक वर्ष ०७५/७६ मा ७ हजार २ सय ४७ जनाले राहदानी बनाएका छन् । ति मध्ये अधिकांश वैदेशिक रोजगारीमा जानेहरूले राहदानी बनाउने गरेको सूचना अधिकारी गञ्जबहादुर एमसीले बताए ।
उनका अनुसार कार्यालयमा दैनिक २० जनाभन्दा बढी राहदानी बनाउन सिफारिसका लागि आउने गरेका छन् । ‘दिनप्रतिदिन राहदानी बनाउनेको संख्या बढ्दै गएको छ’ उनले भने ‘वैदेशिक रोजगारीपछि पछिल्लो समय अध्ययनका लागि राहदानी बनाउने गरेको पाइएको छ ।’ भ्रमणका लागि राहदानी बनाउने वैदेशिक रोजगार र अध्ययनभन्दा कमी रहेको उनले बताए ।
गत वर्षमा ईलाका प्रशासन कार्यालय तुलसीपुरबाट सबैभन्दा धेरै राहदानी वितरण गरिएको छ । आर्थिक वर्ष ०७५/७६ मा तुलसीपुरबाट ३ हजार २ सय ५७ जनाले राहदानी बनाएका छन् । त्यस्तै जिल्ला प्रशासन कार्यालय घोराहीबाट २ हजार ७ सय ७५ जनाले राहदानी बनाएको सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी एमसीले जानकारी दिए ।
त्यस्तै ईलाका प्रशासन कार्यालय लमहीबाट १ हजार २ सय ३४ जनाले राहदानी बनाएका छन् । गत आर्थिक वर्षमा जिल्लाबाटै राहदानी पाउनका लागि ७ हजार ४ सय ८३ जनाले साधारण सिफारिस लिएका थिए भने ३ हजार २ सय ३९ जनाले द्रूत सिफारिस लिएका थिए ।
ति मध्ये ४ सय १६ जनालाई चालु वर्षमा वितरण गरिने उनले बताए । गत आर्थिक वर्षमा मात्रै राहदानी दस्तुरबाट १ करोड ४७ लाख १३ हजार संकलन छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here