- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरअपाङ्गता बालबालिकका लागि समावेशी शिक्षा

अपाङ्गता बालबालिकका लागि समावेशी शिक्षा

- Advertisement -spot_img

परिचय

अंग्रेजी शब्द इन्कुलुसिभ एजुकेशनलाई नेपालीकरण गर्ने शिलशिलामा समावेशी शिक्षा, समाहित शिक्षा, समवेत शिक्षा, सामेली शिक्षा, सम्मिलन शिक्षाजस्ता फरक– फरक शब्दावली प्रयोग भएको पाईन्छ ।
नेपालको संविधान २०७२ का विभिन्न धाराहरूमा समावेशी शब्द प्रयोग भएको छ । समावेशी शिक्षालाई कतिपयले अपाङ्गता भएका बालबालिकाको शिक्षाको रूपमा मात्र लिएका छन् भने कतिपयले यसलाई सबै अवस्थाका सिकारूप्रति जिम्मेवार समग्र शिक्षा पद्धतिको रूपमा लिने गरेको पाईन्छ ।
स्वभाविक रूपमा बालबालिका एकअर्कामा फरक–फरक हुन्छन् । फरकपन शारीरिक, मानसिक, सामाजिक, आर्थिक, साँस्कृतिक आदि रूपमा अभिब्यक्त भएको हुन्छ । सबै किसिमको फरकपनलाई शैक्षिक पद्धतिले सम्बोधन गर्नुपर्दछ भन्ने अबधारणा समावेशी शिक्षाले अगाडि सारेको छ ।
समाबेशी शिक्षाले विद्यालयमा समुदायको स्वामित्वलाई महत्व दिदै बालबालिकाको आवश्यकता अनुकूल उपयुक्त वातावरण र सहयोग पाएमा सबैले सिक्न सक्दछन् भन्ने मान्यतामा विश्वास गरेकोछ । समाहित शिक्षा पद्धतिले राष्ट्रिय एवं स्थानीय तहमा कुनै पनि परिस्थितिजन्य कारणले शैक्षिक अवसरबाट वञ्चित रहेका एवं विद्यालयमा रहेर पनि आवश्यकता अनुकूल उपयुक्त वातावरण र सहयोगको अभावमा विद्यालय छाड्ने खतरामा परेका बालबालिकाको पहिचान गर्नुका साथै सम्पूर्ण बालबालिकाको सामाजिक, साँस्कृतिक र शैक्षिक आवश्यकतालाई पूरा गर्ने बालकेन्द्रित शिक्षण सिकाइ प्रक्रिया अबलम्वन गर्न प्रोत्साहन गरेको छ ।
सबैका आवश्यकताको पहिचान एवं सम्बोधनका लागि परिवार, विद्यालय र समग्र शैक्षिक प्रणालीलाई बालबालिकाप्रति जिम्मेवार बनाउने विधि र प्रक्रिया समावेशी शिक्षाका विषयवस्तु हुन् । यसले बालबालिकालाई समग्रतामा हेर्ने भएकाले यसभित्र अपाङ्गता भएका वा अपाङ्गता नभएका सबै किसिमका बालबालिका पर्दछन ।

परिभाषा

शिक्षा मन्त्रालयले नेपालको सन्दर्भमा समावेशी शिक्षालाई देहायानुसार ‘समावेशी शिक्षा भन्नाले सबै बालबालिकाका लागि विभेदरहित वातावरणमा बहुसाँस्कृतिक भिन्नतालाई नै समुदायमा जीवनोपयोगी शिक्षा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गर्ने शैक्षिक सम्मान गर्ने, शैक्षिक पद्धतिको विकास प्रक्रिया बुझ्नुपर्दछ ।’ भनेर परिभाषित गरिएको छ ।
त्यस्तै युनेस्कोले समावेशी शिक्षालाई परिभाषित गर्ने क्रममा भनेको छ “Inclusive education as a process of addressing and responding to the diversity of needs of all learners through increasing participation in learning culture and communities and reducing exclusion within and from education.”

समावेशी शिक्षाका मान्यताहरू

समावेशी शिक्षाका देहायका मान्यताहरू रहेका छन्ः–
१. सबै बालबालिकाको आफ्नै समुदायमा शिक्षा पाउने अधिकारको स्वीकृति,
२. सबै बालबालिकाले सिक्न सक्दछन् भन्ने धारणा र बिश्वास,
३. सामुदायिक÷स्थानीय संलग्नता र स्वामित्व,
४. सबै बालबालिकाको गुणात्मक शिक्षामा समतामूलक पहँुच,
५. अवसरको समानीकरण र समता,
६. बालबालिकामा भएको विभिन्नताको (लिङ्ग, जातजाति, भाषा, अपाङ्गता, आदि) सम्मान,
७. सबै किसिमका बालबालिकाको आवश्यकता सम्बोधन गर्ने शैक्षिक संरचना, प्रणाली र विधिको सुनिश्चितता,
८. लगातार परिमार्जन भैरहने गतिशील प्रक्रिया आदि ।

लक्षित समूह

समावेशी शिक्षामा विभिन्न १४ समूह बालिका÷महिला, अपाङ्गता भएका बालबालिका, दलित बालबालिका, जनजाति बालबालिका, सडक बालबालिका, द्वन्द्वपीडित बालबालिका, बेचबिखनबाट तथा यौनशोषनबाट पीडित बालबालिका, गरिबीले समस्याग्रस्त बालबालिका, कमैया तथा बधुवा, मजदुर बालबालिका, जेलमा परेका बालबालिका,
असहाय अनाथ बालबालिका, रोगग्रस्त बालबालिका, श्रमिक बालबालिकालाई थप सहयोग उपलब्ध गराउनुपर्ने वर्गको रूपमा पहिचान गरिएको छ । पहिचान गरिएका लक्षित समूहबाहेक स्थानीय तहमा थप सहयोग उपलब्ध गराउनुपर्ने वर्ग पहिचान गर्न सकिने प्रावधानसमेत राखिएको छ । यसमा सामाजिक आर्थिक अवस्था, लैङ्गिकता, अपाङ्गता, भौगोलिक अवस्था, जात ईथिनिसिटी, स्वास्थ्य पोषणको अवस्था, भाषा र सीमान्तकृत समूह गरी आठ पक्ष पहिचान गरेको छ ।


नेपालको शिक्षा नीति र ऐनहरूमा भएको व्यवस्थालाई व्यवहारमा लागू गर्न, अपाङ्गता भएका बालबालिकाको शिक्षा सुनिश्चित गर्न समावेशी शिक्षा सम्बन्धी विभिन्न प्रावधानहरू भए पनि यसलाई व्यवहारमा उतार्नको लागि जिम्मेवारी लिएका विद्यालयका शिक्षकशिक्षिका, स्रोतव्यक्ति एवं विद्यालय व्यवस्थापन समितिका सदस्यहरूमा समावेशी शिक्षासँग सम्बन्धित विषयहरूमा क्षमता अभिवृद्धि गर्नुपर्ने देखिन्छ ।


नेपालमा भएका प्रयास

हाल नेपालमा बहिरा अपाङ्गता भएकाहरूका लागि १८ वटा, वौद्धिक अपाङ्ता भएका बालबालिकाका लागि १४ वटा र दृष्टिसम्बन्धी अपाङ्गता भएका बालबालिकाका लागि १ वटा गरी ३३ वटा विशेष विद्यालय सरकारको अनुदानमा सञ्चालन भएका छन् भने केही संघसंस्था निकायले समेत विशेष शिक्षा सञ्चालन गरेको पाइन्छ ।
त्यस्तै एकीकृत शिक्षा भएका विद्यालयहरू दृष्टिविहीनतर्फ १६ वटा, बहिरातर्फ ५ वटा र शारीरिक अपाङ्गता तर्फ २ वटा सञ्चालन भईरहेका छन् भने ३८० वटा समावेशी स्रोत कक्षाहरूले समेत थप विद्यालयहरूमा एकीकृत एवं समावेशी शिक्षा सञ्चालनमा सहयोग पु¥याएका छन् ।
नेपाल सरकारले सबै बालबालिकालाई शिक्षाको पहुँच सुनिश्चित हुने घोषणा रहेको छ । सबै बालबालिकाको पंक्तिमा केटाकेटी, साङ्ग–अपाङ्ग, धनी–गरिब, छिटो सिक्ने–ढिलो सिक्नेलगायत सबै पर्दछन् । समावेशी शिक्षाले सबै किसिमको फरकपनलाई सम्बोधन गर्नुपर्दछ ।
सबै किसिमको फरकपनलाई सम्बोधन, सम्मान एवं आत्मवोध गरी सोही अनुसारका कार्यक्रमको छनोट एवं कार्यान्वयनको ब्यवस्था मिलाउन नसकेसम्म शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न सकिदैन ।
त्यसैले प्रत्येक विद्यालय समुदायलाई सबै किसिमका बालबालिकका आवश्यकतालाई स्वीकार एवं सम्मान गर्ने कार्यमा जिम्मेवार बनाउनका लागि समावेशी शिक्षा पद्धतिलाई एक प्रमुख मार्गदर्शन एवं रणनीतिका रूपमा लिइएको छ ।
अपाङ्गता भएका बालबालिकाका लागि समावेशी शिक्षा भन्नाले शिक्षा पद्धतिलाई सबै अपाङ्गता भएका बालबालिकका लागि अनुकूल बनाउनु हो ।
विद्यालयको संरचना, कार्यरत शिक्षक कर्मचारीको प्रवृत्ति, शिक्षण सिकाइ सामग्री विधि, पद्धति, मूल्याङ्कन पद्धतिलगायतका पक्षहरूलाई अपाङ्गतामैत्री बनाउनुपर्दछ र सबै विद्यालय एवं शैक्षिक निकायहरूमा कुनै अवरोध विना भर्ना, सबै क्रियाकलापमा सहभागिता र सिकाइको अवसरको सुनिश्चिताको व्यवस्थापन भएको विद्यालय नै समावेशी विद्यालय हो ।
शिक्षा ऐनले दृष्टिविहीन, न्यून दृष्टियुक्त, बहिरा, सुस्तश्रवण, अटिज्म, बौद्धिक, शारीरिक वा अन्य अपाङ्गता भएका बालबालिकालाई नियमित शैक्षिक पद्धतिको अधिनमा रही दिइने शिक्षा नै समावेशी शिक्षाको रूपमा परिभाषित गरेको छ भने सोही ऐनले बृहतरूपमा सामाजिक, आर्थिक वा भौगोलिक कारणले पछाडि पारिएका व्यक्तिलाई विभेदरहित वातावरणमा दिइने शिक्षालाई समेत समावेशी शिक्षाको रूपमा परिभाषित गरिएको छ ।

समावेशी शिक्षाको गन्तव्य भनेको मुलुकभरका सबै विद्यालयमा सबै अपाङ्गता भएका बालबालिकलाई ससम्मान विद्यालयमा भर्ना गर्ने, बालबालिकाको वैयक्तिक सिकाइ आवश्यकता पहिचान गर्ने, आवश्यकतामा आधारित सहयोग पद्धतिको विकास एवं कार्यान्वयनको विकास गर्दै समावेशी समाज निर्माण गर्नु हो ।

कानुनी व्यवस्था

शिक्षा ऐन २०२८ (संशोधन २०७२) र (संशोधन २०७३) दफा २ मा ‘समावेशी शिक्षा’ भन्नाले देहायको शिक्षा सम्झनुपर्छ भनेर भनेको छः–
१. दृष्टिविहीन, न्यून दृष्टियुक्त, बहिरा, सुस्तश्रवण, अटिज्म, बौद्धिक, शारीरिक वा अन्य अपाङ्गता भएका बालबालिकालाई नियमित शैक्षिक पद्धतिको अधीनमा रही दिइने शिक्षा
२. सामाजिक, आर्थिक वा भौगोलिक कारणले पछाडि पारिएका व्यक्तिलाई विभेदरहित वातावरणमा दिइने शिक्षा । त्यस्तै दफा ६ क मा विशेष शिक्षा, समावेशी शिक्षा, अनौपचारिक शिक्षा, निरन्तर शिक्षा, दूर शिक्षा तथा खुला शिक्षा सञ्चालन सम्बन्धी व्यवस्था गरेको छ जस अन्तर्गत मन्त्रालयले आवश्यक पूर्वाधारको व्यवस्था गरी कुनै सामुदायिक विद्यालयमा विशेष शिक्षा, समावेशी शिक्षा, अनौपचारिक शिक्षा, निरन्तर शिक्षा, दूर शिक्षा वा खुला शिक्षा सञ्चालनको व्यवस्था गर्न सक्नेछ भनेर भनेको छ ।
त्यस्तै (४) दृष्टिविहीन, न्यून दृष्टियुक्त, पूर्ण दृष्टिविहीन, बहिरा, सुस्तश्रवण, अटिज्म, बौद्धिक अपाङ्गता तथा श्रवण दृष्टिविहीन भएका बालबालिकाको लागि पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षण सिकाइ र मूल्याङ्कन प्रणालीमा फरक व्यवस्था गर्न सकिनेछ भनेर भनेको छ ।
त्यस्तै (१ ख) मा सबै बालबालिकालाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षा प्रदान गर्नको लागि नेपाल सरकारले आवश्यक स्रोतको व्यवस्था गर्नेछ । (१ ग) दृष्टिविहीन बालबालिकालाई ब्रेललिपि तथा बहिरा र स्वर वा बोलाईसम्बन्धी अपाङ्गता भएका बालबालिकालाई साङ्केतिक भाषाको माध्यमबाट निःशुल्क शिक्षा प्रदान गर्ने व्यवस्था गरिनेछ भनेर भनेको छ ।
त्यस्तै अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन २०७४ दफा २१ मा निःशुल्क शिक्षा उपलब्ध गराउने सम्बन्धी व्यवस्था, दफा २२ छात्रवृत्ति सम्बन्धी व्यवस्था र दफा २३ गुणस्तरीय शिक्षाको सुनिश्चितता सम्बन्धी व्यवस्था गरेको छ ।
ऐनले नेपाल सरकार वा स्थानीय तहबाट सञ्चालित वा सरकारबाट अनुदान प्राप्त विद्यालयले निशुल्क रूपमा उच्च शिक्षा उपलब्ध गराउने, भर्ना हुँदा कुनै शुल्क लिन नपाईने, आवश्यकता अनुसारको सामग्री उपलब्ध गराउने, पहुँचयुक्त सूचना प्रविधिको प्रयोग गर्ने, अपाङ्गता अनुकूलका सामग्री विकास, अपाङ्गता अनुकूल मूल्याङ्कन पद्धतिको प्रयोगलगायतका विषयहरू ऐनमा समेटिएका छन ।
अपाङ्गता भएका विद्यार्थीका लागि आवश्यकतामा आधारित छात्रवृत्ति, विशेष विद्यालयको भौतिक पूर्वाधार एवं अन्य सेवा सुविधा विस्तार गर्ने, अपाङ्गता भएका विद्यार्थी एवं शिक्षकलाई तालिमको व्यवस्था गरी गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्ने प्रावधान ऐनमा व्यवस्था भएका छन् ।

निष्कर्ष

नेपालको शिक्षा नीति र ऐनहरूमा भएको व्यवस्थालाई व्यवहारमा लागू गर्न, अपाङ्गता भएका बालबालिकाको शिक्षा सुनिश्चित गर्न समावेशी शिक्षा सम्बन्धी विभिन्न प्रावधानहरू भए पनि यसलाई व्यवहारमा उतार्नको लागि जिम्मेवारी लिएका विद्यालयका शिक्षकशिक्षिका,
स्रोतव्यक्ति एवं विद्यालय व्यवस्थापन समितिका सदस्यहरूमा समावेशी शिक्षासँग सम्बन्धित विषयहरूमा क्षमता अभिवृद्धि गर्नुपर्ने देखिन्छ । बालबालिकामा हुने वैयक्तिक विविधता, समावेशी शिक्षा सम्बन्धी साधारणको जानकारी, अपाङ्गताको परिचय र वर्गीकरण र अपाङ्गता भएका बालबालिका पहिचानका सामान्य आधारहरूको बारेमा आधारभूत जानकारी लिन जरूरी देखिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here