- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeविचारनेपालीको दसैँ

नेपालीको दसैँ

- Advertisement -spot_img

दसैँ नेपालीहरू र विशेषत नेपाली हिन्दुहरूको सबैभन्दा ठूलो पर्व हो । नेपाली हिन्दु पात्रो अनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवका साथ मनाइने चाड भएको हुनाले यसलाई दसैँ वा ‘विजयादशमी’ का नामले पनि चिनिन्छ । हिन्दु चन्द्र मासिक पञ्चाङ्ग गणनाको तिथि अनुसार पर्ने भएकाले नेपाली चाडहरू निश्चित गते र तारिखमा नपर्ने हुनाले दसैँ पनि अंग्रेजी वा ग्रेगरियन क्यालेण्डर अनुसार सेप्टेम्बर महिनाको अन्त्यदेखि अक्टोबर महिनाको मध्य बीचमा पर्छ ।
दसैँ आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरू हुन्छ र यो पहिलो
दिनलाई घटस्थापना भनिन्छ । दसैँ प्रतिपदा घटस्थापनादेखि पूर्णिमा कोजाग्रतसम्म १५ दिनको हुने भएता पनि पहिलो ९ दिनलाई नवरात्रि र दसौँ दिनलाई दशमी वा दसैँ भनिन्छ । यो तिथिमा माता दुर्गाले महिषा सुर नामक दैत्यलाई तथा भगवान श्री राम चन्द्रले रावणलाई वध गरेर मानव जातिको कल्याण गरेको भन्ने किवंदन्ती छ । प्रतिपदा–घटस्थापना, सप्तमी फूलपाती, महाअष्टमी, कालरात्री, महानवमी, विजयादशमी र पूर्णिमा कोजाग्रत दसैँका प्रमुख तिथिहरू हुन् ।
घटस्थापना आश्विन शुक्लपक्ष प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । यस दिन जमरा राखिन्छ, अर्को दिन घट कलशको स्थापना गरी देवी देवतालाई आह्वान गरिन्छ । यस दिन झिसमिसे बिहानी मैआत्मशुद्धि पश्चात् नदी, खोला, बगर वा आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा अथवा पञ्चमाटो ल्याई दसैँ घर वा पूजा कोठामा राखी जमरा उमार्न जौ अथवा गाउँघरमा चलिआएको अन्न छरिन्छ ।
जौ अथवा अन्नलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मनपर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो । त्यस स्थानको नजिकै माटोको विशुद्ध जलपूर्ण घडा कलशको वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्तिमानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ । अनि जलपूर्ण कलशमा पञ्च पल्लवको पात चढाई अनन्त शक्ति स्वरूप महाकाली संहार, महालक्ष्मी (सुरक्षा) र महासरस्वती सृष्टिको पञ्चोपचारले पूजाआजा गरिन्छ ।
ब्रह्मवैवर्त पुराण अनुसार वर्णन गरिएका नव दिग्दुर्गाहरू यी हुन् प्रकति–पूर्व, चण्डिका–आग्नेय, भद्रकाली–दक्षिण, सर्वमङ्गला वायव्य, वैष्णवी–उत्तर, शिवप्रिया–ईशान, जगदम्बिका जल, थल र आकाश । शैलपुत्री, ब्रह्म चारिणी, चन्द्र घण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्दिदात्री यी नामहरूले देवीको पूजा गरिन्छ । हाम्रो धर्म, संस्कृति अनुसार घट कलशमै सम्पूर्ण देवीदेवता सप्तसागर, सप्तद्वीप,
सम्पूर्ण नदी एवं तीर्थहरू निहीत छन् । जुन कुरा कालिका पुराण भन्ने ग्रन्थमा उल्लेख भएको छ । यसका अतिरिक्त घटकलश अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा समाहित गरिएको पाइन्छ । आधारहरूको कारण उपर्युक्त दिन घट कलशस्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, पावनतम नदीनाला, सप्तसागर, सप्तद्वीप आदि सबैलाई समाहित गरी दसैँ पूजाको थालनी गरिएको हो ।
यसै दिनदेखि नवमीसम्म प्रत्येक नेपालीहरूका घर–घरमा र देवीका मन्दिरहरूमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ र शङ्ख, डमरू, घण्टी आदि बजाइ दुर्गासप्तशती (चण्डी), स्त्रोत्र रत्नावली, कालिका स्तोत्र, दुर्गा कवच, श्रीमदेवीभागवत् आदि पाठ पनि पढिन्छ । पूजा गरिसकिएपछि प्रत्येक दिन बली चाहिँ अनिवार्य दिनुपर्ने कुरा शास्त्रीय विधानमा उल्लेख गरिएको छ । बली दिइसकेपछि यस दिनको कार्य समापन गरिन्छ ।
प्रमुख पूजा र उत्सव महासप्तमी सातौं दिनलाई फूलपाती, आठौँ दिनलाई महाअष्टमी, नवौं दिनलाई महानवमी एवं दशौँ दिनलाई विजयादशमी भनिन्छ र यी दिनहरूको महत्व अधिक रहेको पाइन्छ । सप्तमी तिथिको दिन दसैँको लागि पूजा सामग्री स्वरूप फूलपाती आगममा प्रवेश गराउने कार्य हुन्छ । यसदिन सदर टुडिखेलमा बढाइँ भएपछि फूलपातीस्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गा पूजा गरेको स्थानमा भित्र्याइन्छ ।
यी नौ पातमा क्रमशः ब्रह्माणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक÷एक गरी आह्वान गरेर सोह्र सामग्रीले पुजिन्छ । अर्का यहाँनेर यस तथ्यलाई पनि सम्झनु आवश्यक छ कि इन्द्र, शिव, विष्णु एवं श्रीरामले वृत्तासुर, त्रिपुरासुर, मधुकैटभ तथा रावण वधको लागि क्रमैसँग नवरात्र व्रत गरेका थिए । यस दिन विशेषगरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ । किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन् ।
साथै यसै दिन गोरखा दरबारको दसैँ घरबाट ल्याइएको फूलपाती राजधानी काठमाडौँको जमलमा ल्याई हनुमान ढोका दरवारमा भित्र्याइन्छ । महाअष्टमी नवरात्रिको आठौं दिनमा महाकाली भद्रकालीको विशेष पूजाआजा गरिन्छ । देवीभागवत् अनुसार प्राचीन कालमा दक्ष प्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली करोडौं योनी शक्तिका साथ अष्टमीका दिन उत्पन्न भएको पूजा गर्ने चलन छ । पूजा पश्चात् यी देवीलाई बोका, कुखुरा, हाँस, राँगा आदि बली दिइन्छ । यी दिनहरूमा मानिसहरू आफ्ना कुलदेवी, देवता र स्थानीय देवी देवतालाई पूजी बली दिन्छन्, नरिवल, कुभिण्डो, केरा, घिरौँला आदि फल अर्पण गर्दछन् ।
काठमाडौँको तलेजु भवानीको मन्दिर पनि यस दिन सर्वसाधारणको लागि खुल्ला रहन्छ । यसै दिन दसैँ घर हनुमानढोकाको मूलचोकमा तलेजु भवानीलाई ५४ राँगा र त्यत्ति नै बोका बली अर्पण गरिन्छ । महाअष्टमी र महानवमी बीचको रातलाई कालरात्रि मानेर रातभरि गुप्त पूजा गरिन्छ । धेरैले यसै दिनदेखि खेतीमा प्रयोग हुने हतियारको पूजा गर्छन् र दशमीमा बिसर्जन गर्छन् । महानवमी नवरात्रिको नवौँ दिन विशेषगरी महालक्ष्मी देवीको पूजाआजा गरिन्छ ।
यसै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बली दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ । यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नव कन्याहरूको पनि पूजाआजा गरिन्छ । विजयादशमी श्रवणर्कषेण संयुक्ता दशमी शुक्लपक्षगा ।। ईषमासिस्थिता ज्ञेया विजया दशमी तिथिः ।। (आश्विन महिनाको शुक्लपक्षको श्रवण नक्षत्रले युक्त दशमीलाई विजयादशमी भन्ने बुझ्नुपर्छ ।
सा नवमीविद्धा कर्तव्या नत्वैकादशीयुक्ता ।। दशमी तिथिको निर्धारण गर्दा नवमीले युक्त दशमी मान्य हुन्छ, एकादसीसहितको दशमी मान्य हुँदैन । मध्याह्नले विजय मुहूर्तं इति केषाञ्चिन्मतम् ।। विजयाख्योऽष्टमः।। मुहूर्त निर्धारण गर्दा विजय नामको मुहूर्त मध्याह्नमा पर्छ, जुन मुहूर्तलाई कसैले आठौं मुहूर्त मानेका छन् । किञ्चित्सन्ध्या–मतिक्रम्य किञ्चिदुत्पन्नतारकाः।। विजयो नाम योगोऽयं सर्वकर्मसु सिद्धिदः।।
कसैले साँझ बितेपछि त कसैले तारा उदाए पछि दुर्गा विसर्जन गर्ने प्रसङ्ग उल्लेख गरेका छन् । तर विजय नाम गरेको योग नै सबै कार्यका निम्ति सिद्दिदायक हुन्छ । उक्त लिखित प्रमाणका आधारमा विजयादशमीको साइत निर्धारण गर्न न्यूनतम आधारका रूपमा श्रवण नक्षत्र र विजय मुहूर्त मध्याह्नको समयलाई लिनुपर्ने हुन्छ । यस दिनमा भगवान रामचन्द्रले रावणमाथि विजय प्राप्त गरेकाले यसलाई विजयादशमी भनिएको कथन छ ।
सोह्र सामग्रीले भगवती दुर्गा र अरू देवीहरू तथा देवताको पूजा गरी, नौ दिनसम्म गरेको पूजाको काममा कुनै त्रुटि भयो कि भनी त्यसलाई पूरा गर्न तामाको थालीमा चन्दनले अष्टदल लेखी त्यसका बीचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीन थुप्रा राखी बीचमा अपराजिता देवी, दाहिनेतिर जयादेवी, देब्रेतिर विजया देवीको आह्वान र सोह्र सामग्रीले पूजा गरी यथाशक्ति हवन गरी जमरालाई पूजा गरी अनि भगवती दुर्गा, अन्य देवदेवीहरूलाई चढाई आरती र पुष्पाञ्जली गरिन्छ ।
यति गर्नाले कसैले पनि आफूमाथि दमन विजय गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ । त्यसपछि निम्न मन्त्र पढ्दै चन्दन, अक्षता, फूल छर्कँदै माफी माग्दै दुर्गा भगवती र अन्य देवी देवतालाई विसर्जन गरी उठाएर अन्यत्र राख्नुपर्दछ । ‘आवाहनं नजानामि नजानामि विर्जसनम् । पूजां चैव नजानामि क्षम्यतां परमेश्वरी । यसपछि देवीका मूर्तिहरू र नव पत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ ।
अनि घरका मुख्य मान्छेले भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद दिन्छन् । अनि सपरिवार नातेदार कहाँ तथा मान्यवर कहाँ दसैँको लागि तयार पारी राखिएको नयाँ लुगा लगाई टीका लगाउन जान्छन् ।
टीका लाउँदा दिने आशिषः आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।
आफ्नो घरमा टीका लगाउन आउनेको क्रम पनि उत्तिकै रहन्छ । अन्त्यमा यो टीका लगाउने काम पूणिर्मासम्म जारी रहन्छ र पूर्णिमादेखि एक पक्षको (पन्ध्र) दसैँ चाडको अन्त्य हुन्छ । यसै बखत वर्षा पुग्यो भनी इन्द्रलाई समाचार दिने पौराणिक कथनको अवलम्बन गरी वर्षा थाम्न चङ्गा उडाउने कार्य पनि बन्द गरिन्छ ।
आवाहनं नजानामि नजानामि विर्जसनम् ।
पूजां चैव नजानामि क्षम्यतां परमेश्वरी ।
इमां पूजां मया देवी यथाशक्त्या निवेदितम् ।
रक्षार्थ त्वत्प्रसादाय व्रज स्वस्थानमुत्तमम् ।।’
यसपछि देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ । अनि घरका मुलिद्वारा भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद ग्रहण गरिन्छ । यस वर्षको दसँैको टिकाको शुभ साईत असोज २१ गते मंगलबार बिहान १० बजेर ३५ मिनेटमा रहेको छ । तर साईत नहेर्नेको लागि जुनसुकै समयमा पनि लगाउन सकिन्छ । टिका लगाउदा पूर्व फर्किएर लगाउन सकिन्छ । देवी विर्सजन बिहान ८ बजेर ४५ मिनेटमा रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here