- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरविश्व पर्यटन दिवस

विश्व पर्यटन दिवस

- Advertisement -spot_img

आज ४०औं पर्यटन दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् १९७० सेप्टेम्बर २७ का दिनलाई संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापनासँगै सो दिनको संस्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउन थालिएको हो ।
विश्व पर्यटन दिवस मुलुकको पर्यटन प्रवद्र्धन गर्ने महत्वपूर्ण आधार हो । विश्व पर्यटन दिवसले नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका रहेको छ । तर नेपालमा विश्व पर्यटन दिवसलाई केवल औपचारिकता मात्र दिने गरिएको छ ।
विश्व पर्यटन दिवस पर्यटन क्षेत्रको महत्वपूर्ण पर्व हो । यसलाई औपचारिकतामा मात्रै सीमित राख्दा पर्यटनको बजारीकरण र प्रवद्र्धन हुन सकेको छैन ।
नेपाल एउटा पर्यटकीय गन्तब्य हो, हिम श्रृङ्खलाहरु, मनोरम हरियाली, जैविक अनि साँस्कृतिक विविधता र बुद्धभूमि नेपालको गहना हो । हरेक वर्ष नेपालको हिमशयलमा रमाउन, हिमालहरु आरोहण गर्न, पदयात्रा गर्न, धार्मिक पर्यटन गर्न अनि अन्य विभिन्न कुराहरु अवलोकन गर्न लाखौँ पर्यटकहरु नेपाल आउने गर्दछन् । पर्यटन एक गतिशील क्षेत्र र व्यवसाय हो । यो क्षेत्रमा त्यतिकै मात्रामा चुनौतीहरु पनि छन् ।
नेपालमा पर्यटन क्षेत्रमा अनगिन्ती अवसरहरु रहेका छन् । समग्रमा पर्यटन क्षेत्र अवसर र चुनौती पनि हो । माउन्टेनियरिङ, जलयात्रा, धार्मिक पर्यटन, ग्रामीण पर्यटन जस्तै कैयौँ आयामहरु पर्यटन क्षेत्रमा छन् ।
तर पनि हामी नयाँ–नयाँ प्रविधिमा परिष्कृत छैनौँ । हाम्रो पर्यटन आन्तरिक चुनौतीमा नै अल्झिएको छ । हाम्रो सम्पदाभित्र रहेका पर्यटनको लागि नयाँ गन्तव्यहरुको खोजी गर्ने र तिनलाई प्रवद्र्वन गर्ने काम भएका छैन भन्दा पनि हुन्छ ।
पर्यटकीय दृष्टिबाट हेर्ने हो भने नेपाल पहिलो नम्बरमा आउँछ । सन् २०१८ मा नेपालकै इतिहासमा सबैभन्दा धेरै विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए । सन् २०१८ १० लाख १ हजार ९ सय ३० विदेशी पर्यटकले नेपालमा भ्रमणको तथ्याङ्क पर्यटन बोर्डसँग छ ।
यसले गर्दा नेपाल सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउनका लागि गरेको घोषणा र तयारीलाई थप बल पुगेको छ । सरकारले यो वर्ष २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।
जसको लागि संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले यो बर्ष नयाँ पर्यटकीय गन्तव्य बनाएर पर्यटक आकर्षित गर्न ७७ जिल्लाका एकसय स्थान पहिचान गरेको छ ।
देशभित्र रहेको प्राकृतिक, पुरातात्विक, ऐतिहासिक साँस्कृतिक र धार्मिकस्थलहरु विश्वकै एक पर्यटकीय भएकाले ती स्थलहरुमा पर्यटकहरु पु¥याउनका लागि पूर्वाधार हुनुपर्दछ ।
सगरमाथा र बुद्धको जन्मथलोको रुपमा नेपाल विश्वमा नै परिचित छ । विश्वभरी करिब ५३ करोड बौद्ध धर्मावलम्वी रहेका छन् । ५३ करोडमध्ये पनि करिब ५० करोड संख्या त एशियाका १० देशका नागरिक छन् ।
ती देश नेपालबाट केही घण्टाको हवाई दूरीमा रहेका छन् । एशियाबाट मात्रै बौद्ध धर्मावलम्वीहरु ०.२ प्रतिशत पर्यटकका रुपमा भित्र्याउन सक्ने हो भने करिब १० लाख पर्यटकको आगमन एशियाबाट मात्र पु¥याउन सकिन्छ ।
जुन असम्भव पनि छैन, किनकी बौद्ध धर्मका प्रणेता भगवान बुद्धको जन्मभूमि नेपाल हो । नेपाल विश्वमा रहेका कुनै पनि देशहरुसँग तुलना गर्न नमिल्ने भूपरिवेष्ठित मुलुक हो ।
यहाँको जैविक विविधता, प्राकृतिक सौन्दर्य, भाषिक साँस्कृतिक एकता, तराई, पहाड र हिमालको छुट्टाछुट्टै वातावरणीय विविधता, अतिथि देवो भवः भन्ने यहाँका मानिसहरुको संस्कार, परिवेश अनुपम रहेकाले वाह्य पर्यटकहरुको मन लोभ्याउने गर्दछ ।

नेपालमा पर्यटनको विकासका लागि सरकार र निजी व्यवसायहरुको सहकार्य आवश्यक छ । निजी क्षेत्रले पर्यटन विकासका लागि गरेका प्रयासलाई सरकारले स्वागत गर्न सक्ने हो भने पनि नेपालको पर्यटन विकासमा सुधार आउन सक्छ । नेपालको पर्यटन विकास र देशको अर्थतन्त्रमा सुधार आउन सक्छ ? यस विषयमा सबै निकाय गम्भीर हुन जरुरी छ । ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्व बोकेका पर्यटकीय सम्भावनाका क्षेत्रलाई लगानीको आवश्यकता रहेको छ ।

नेपालमा सन् १९५३ मा तेन्जिङ शेर्पा र हिलारीले सगरमाथा आरोहण गरेपछि नेपालको पर्यटन क्षेत्रले चर्चा पाउन थालेको हो । त्यसपछि विश्वका पर्यटकको ध्यान नेपालका हिमालले खिच्यो । पर्यटन विकासको क्रममा नेपालमा सन् १९७६ मा पर्यटन मन्त्रालयको स्थापना भयो र वन्यजन्तु संरक्षण क्षेत्रहरुको घोषणा भयो ।
त्यसपछि जैविक विविधताका आधारमा नयाँ पर्यटकीय स्थलहरु पहिचान गरी प्रचारप्रसारसमेत भएको छ । नेपाल भित्रिने कुल वाह्य पर्यटकहरुमध्ये कम्तीमा ६० प्रतिशत पर्यटक संरक्षित क्षेत्रभित्र रहेको जैविक विविधता हेर्न आउँछन ।
राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, सिमसार तथा अन्य संरक्षित क्षेत्रमा जाने हरेक वर्ष बाह्य पर्यटकहरुको संख्या बढ्न थालेको छ । विश्वसम्पदा सूचिमा चितवन, सगरमाथाजस्ता संरक्षित क्षेत्र पर्न सफल भएको छ ।
विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्य भनेर चितवन, सगरमाथा, बर्दिया, शुक्लाफाँटालगायतका क्षेत्र सूचिकृत भएका छन् । यी क्षेत्र जैविक विविधताका धनी क्षेत्र मानिन्छन् ।
पर्यटक को हो ? कसलाई पर्यटक भन्ने ? पर्यटन शब्दको शाब्दिक अर्थ भ्रमण हो । एक स्थानबाट अर्को स्थानहरुमा गरिने भ्रमणलाई पर्यटन भनिन्छ । यसरी देश, विदेश घुम्ने, महत्वपूर्ण स्थलहरुको भ्रमणले संस्कृति, रीतिरिवाज, परम्परा, रहनसहन मात्र होइन पृथ्वीको जैविक विविधताको समेत अध्ययन हुन्छ । यो बाहेक भ्रमणबाट पर्यटकको रुचिअनुसार ऐतिहासिक,
पुरातात्विक एवं धार्मिक स्थलहरुको पनि अध्ययन भ्रमण एवं अनुसन्धान गर्न सकिन्छ । नेपालमा पर्यटकहरु के का लागि भ्रमणमा आउछन् त ? भ्रमणका उद्देश्य फरक हुन सक्छन् । तीमध्ये प्रमुख उद्देश्य भनेको मनोरञ्जन र जैविक विविधतामा रमाउने हो ।
पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका अनुसार नेपाल आएका पर्यटकमध्ये धेरै प्राकृतिक दृश्य अवलोकन र मनोरञ्जनका लागि आउने गर्दछन् । यसबाट के थाहा हुन्छ भने जुनसुकै भूगोलमा रहने मानिस भएपनि भ्रमणको एउटा पक्षभित्र जैविक विविधता पर्दछ ।
विदेशी पर्यटकले हेर्ने, घुम्ने स्थानमा मुख्य रोजाइ संरक्षित क्षेत्र नै भएका छन् । चितवन, शिवपुरी, बर्दिया, सगरमाथा, शुक्लाफाँटा, रारा, खप्तड, कोसी टप्पु, लामटाङ, अन्नपूर्ण, ढोरपाटनदेखि लिएर पर्यटकहरुले मन पराएका गन्तव्य जैविक विविधता भएका क्षेत्र बढी छन् । किन भने संसारमा लोप भइसकेका र लोप हुन थालेका वन्यजन्तु, वन, वनस्पति अझै नेपालमा सुरक्षित छन् ।
राणाकालीन समयमा नेपालमा राजकीय भ्रमणबाहेक कुनै पनि विदेशीहरुलाई नेपाल भ्रमणको अनुमति थिएन । पछि रुसी पर्यटक बोरिस सिसानेबिचले थोमस कुक एण्ड सनमार्फत नेपालमा विदेशी पर्यटकहरु ल्याउन अनुमति पाए ।
बोरिसलाई दिइएको यो अनुमतिले नेपालमा बाह्य पर्यटक नेपाल भित्रिन शुरु भएको हो । सन् १९५० मा फ्रेन्च नागरिक मरिस हर्जोग र लुइस लाकनलले अन्नपूर्ण हिमाल आरोहण गरे । लगत्तै सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारी सगरमाथाको चुचुरो पुग्न सफल भए ।
संसारमा १४ ओटा ८ हजार मिटरभन्दा माथि उचाईका हिमालहरु छन् । त्यसमध्ये आठवटा हिमाल नेपालमा छन् भन्ने कुरा पत्ता लागेपछि नेपाल पर्वतारोहणको प्रमुख गन्तव्य बन्न थाल्यो । हिमाल आरोहणका लागि पनि नेपाल उत्कृष्ट गन्तव्य हो ।
विश्वकै सर्वोच्च शिखर सगरमाथा नेपालमै छ । आठ हजार मिटरभन्दा अग्ला हिमाल १० वटा छन् । यीबाहेक अरु थुप्रै हिमाल आरोहणका लागि उत्कृष्ट मानिन्छन् ।

पर्यटन शब्दको उत्पत्ति फेन्च शब्दबाट भएको मानिन्छ । सामान्य अर्थमा पर्यटन पर्यटकको माध्यबाट सञ्चालन गरिने व्यवसाय हो । पर्यटक भन्नाले विभिन्न किसिमका उद्देश्यहरु राखी देशको भौगोलिक सीमानाभित्र वा बाहिर भ्रमण गर्ने व्यक्ति बुझिन्छ र ती व्यक्तिहरुका लागि आवश्यक पर्ने सम्पूर्ण सहयोग उपलब्ध गराउने प्रायोजनले स्थापित व्यवसायलाई नै पर्यटन व्यवसाय भनिन्छ ।
संसारमा फ्रान्सपछि बढी पर्यटक जाने अर्को देश अमेरिका हो । अमेरिकाले सन् १८५० मा योेसेमिट राष्ट्रिय निकुञ्जको स्थापना गरेको थियो । वन्यजन्तु र झरनाहरुको कारणले यो १८औं शताब्दीमा विश्व चर्चित भयो ।
आज वार्षिक ३७ लाख पर्यटकले यो राष्ट्रिय निकुञ्जको भ्रमण गर्छन् । सन् १८६० मा अमेरिकाले अमेरिकाका प्रमुख शहरहरु जोड्ने अत्याधुनिक रेलमार्गको विकास ग¥यो ।
त्यसपछि मानिसहरु त्यसबेला रेलमार्ग हुँदै सो राष्ट्रिय निकुञ्जको भ्रमण गर्न लालायीत भए । यसपछि अमेरिकाले बुझ्यो भौतिक विकासबाट पर्यटकीय गन्तव्यहरुको सहज पहुँच बनाउनु नै पर्यटन विकास हो ।
पर्यटन प्राचीन कालदेखि मानिस सभ्यताको सुरुवातदेखि नै टाढा–टाढासम्म यात्रा गर्दै आइरहेको छ । प्राचीन कालमा सबैभन्दा पहिले भ्रमणको लागि निक्लने यात्रीहरुमा फेनोसियनहरुको नाम आउँछ ।
विश्व पर्यटनको इतिहासमा यिनीहरुलाई नै आधुनिक पर्यटनका रुपमा परिभाषित गरिएको छ । विश्व पर्यटनका क्षेत्रमा अठारौं शताब्दीलाई पर्यटनको सुनौलो युग मानिएको छ ।
विशेषगरी सन् १९४३ देखि सन् १९७३ सम्मको ३० वर्षको अवधिमा यात्राका क्षेत्रमा उल्लेखनीय प्रगति भएको मानिन्छ । नेपालमा पर्यटन प्राचीन कालमा व्यापारीक उद्देश्यले हुने कुरालाई कौटिल्य अर्थशास्त्रमा समेत उल्लेख गरिएको छ । चिनियाँ नागरिकहरुले भारतमा आफ्ना उत्पादनहरु बिक्री गर्न नेपालको बाटो भएर भारत जाने गरेका थिए ।
चोभारको गल्छी काटेर पोखरीको रुपमा रहेको काठमाडौँलाई मानव बस्तीयोग्य बनाउने मञ्जुश्री नेपालमा पहिलो पटक पर्यटकको रुपमा आएको विदेशी मानिन्छ । सन् ५९२ मा राजा अंशुवर्माकी छोरी भृकुटीले तिब्बतमा विहे गरेर जानु नेपालबाट बाहिरिएको पहिलो पर्यटक मानिन्छ ।
तर पर्यटन अवधारणा भने सन् १९५३ मा सर एडमण्ड हिलारी र तेञ्जिङ नुर्बु शेर्पाले सगरमाथाको सफल आरोहणपछि पर्वतारोहण कार्यको वृद्धिसँगै विकसित भएको हो । सन् १९६० को दशकमा यूरोपेली देशहरुमा लागूपदार्थ ओसारपोसार र सेवनविरुद्धको कानूनहरु ल्याउने लहरै चल्यो तर नेपालमा भने यो कानून सन् १९७३ मा मात्र आयो ।
यसबीच युद्धविरुद्ध मत जाहेर गर्ने यूरोपेली युवाहरु यूरोपका तर्की, मध्यपूर्वका रसिया र इरान हुँदै नेपालको काठमाडौँ र भारतको गोवाजस्ता क्षेत्रहरुमा स्वतन्त्रपूर्वक गाँजा खान आउन थाले ।
यूरोपतिर यस मार्गलाई त्यसबेला हिप्पी ट्रेल÷गाँजाको मार्ग भनेर समेत चिनिन्थ्यो । त्यसबेला नेपाल गाँजा खान स्वतन्त्र देशको रुपमा पनि चिनियो, हाल नेपाल पर्वतारोहणको केन्द्र भनेर चिनिन्छ ।
भूपरिवेष्ठित देशका मानिस समुन्द्र देख्दा रमाउँदछन् अनि सामुन्द्रिक भूगोलका मानिसहरु हिमाल र पहाड देखेर रमाउँदछन् । यो मानवको स्वभाव हो, विविधतामा रमाउने । त्यसैले त हरेक मानिस घुमफिर गर्न रमाउँछ ।
नेपालमा बाह्य पर्यटकहरु हिमाल र जैविक विविधता अर्थात् प्रकृती, वनस्पती, जनावर, चराहरु आदि हेर्न नेपाल आउँछन् । नेपालमा पाँच हजारभन्दा बढी तालतलैया, दह, कुण्ड, पोखरी र सिमसार क्षेत्र छन् ।
साना ठूला गरेर नदी, खोलानालाको संख्या पनि छ हजारभन्दा बढी छन् । देशभरी गरेको अध्ययनका क्रममा पाँच हजार ३ सय ५८ वटा ताल भेटिएका छन् ।
संरक्षणमा बढी चुनौतीमा रहेका र पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण मानिएका अधिकांश ताल उच्च हिमाली र पहाडी क्षेत्रमा रहेका छन् । ती ताल राष्ट्रिय वन, निकुञ्ज तथा वन्यजन्तु आरक्ष, सामुदायिक वन क्षेत्रभित्र रहेका छन् ।
ताल क्षेत्रलाई सिमसार क्षेत्रका रुपमा पनि चिन्ने गरिन्छ । नेपालका तालतलैयालाई एशियाका ‘वाटर टावर’ पनि भन्ने गरिन्छ  । यी जैविक र भौगोलिक विविधता नभएको भए यहाँ बाह्य पर्यटकहरु नेपाल आँउदैन थिए होला ?
त्यसैकारण यतिखेर हामी पर्यटन व्यवसाय वा पर्यटन उद्योगबाट मुलुकको विकास हुन्छ भन्ने कुरामा आशावादी भएका छौँ । पर्यटन उद्योगको विकास र विस्तारले विदेशी मुद्रा आर्जन हुन्छ र क्रमशः मुलुकको आर्थिक विकास हुन जान्छ ।
पर्यटन उद्योगको विकास र विस्तारका लागि प्रचारप्रसारको साथै पूर्वाधार विकासका लागि लगानीको आवश्यक छ । प्रचारप्रसार एवं पूर्वाधारको विकास हुने हो भने काठमाडौँ,
लुम्बिनी वा पशुपति दर्शनलाई आएका पर्यटकहरुलाई मुलुकको अन्य पर्यटकीय क्षेत्र सगरमाथा आधार शिविर, रारा ताल वा तिलिचो ताल अवलोकनमा पनि पु¥याउन सकिन्छ । जसबाट उनीहरुको बसाइ एवं खर्चमा वृद्धि हुँदै जान्छ । ठूलो संख्यामा पर्यटकहरु मुलुकमा भित्रिदा पर्यटन उद्योगमा लगानीको साथसाथै रोजगारी पनि बढ्दै जान्छ ।
पर्यटन क्षेत्रले हामीलाई रोजगारको साथसाथै आयआर्जनमा समेत राम्रो प्रतिफल दिन्छ । पर्यटनबाट लाखौँ मानिसहरुलाई रोजगारी पनि प्राप्त हुन्छ । त्यसले जनताको जीवनस्तरमा पनि ठूलो अन्तर पार्दछ ।
जहाँ पर्यटनको विकास हुन्छ, त्यहाँ आर्थिक उन्नतीले फड्को मार्दछ । देशको अर्थतन्त्रलाई सफल बनाउने हो भने सबैभन्दा पहिले पर्यटन क्षेत्रको विकास गर्न जरुरी छ ।
एउटा पर्यटन कुनै ठाउँमा मनोरन्जनका लागि होस् वा त्यस क्षेत्रको अवलोकन गर्न, जुन कामले गएपनि उसलाई आवश्यक पर्ने सेवा सुविधाहरुमा रकम खर्च गर्नुपर्ने हुन्छ ।
उसले खर्च गरेको रकमले व्यवसायीको आर्थिक जीवनस्तरमा सुधार गर्नुका साथै देशको आर्थिक उन्नतीमा समेत सहयोग पु¥याउने गर्दछ । त्यसैले नेपालको अर्थतन्त्रलाई पनि उच्चविन्दुमा राख्नका लागि सबैभन्दा पहिले पर्यटन क्षेत्रको विकास गर्न जरुरी छ ।
नेपालमा पर्यटनको विकासका लागि सरकार र निजी व्यवसायहरुको सहकार्य आवश्यक छ । निजी क्षेत्रले पर्यटन विकासका लागि गरेका प्रयासलाई सरकारले स्वागत गर्न सक्ने हो भने पनि नेपालको पर्यटन विकासमा सुधार आउन सक्छ । नेपालको पर्यटन विकास र देशको अर्थतन्त्रमा सुधार आउन सक्छ ? यस विषयमा सबै निकाय गम्भीर हुन जरुरी छ ।
ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्व बोकेका पर्यटकीय सम्भावनाका क्षेत्रलाई लगानीको आवश्यकता रहेको छ । नेपालका पर्यटकीय सम्भावना बोकेका क्षेत्रमा सरकारले लगानी बढाउन नसक्नु र पर्यटकको सेवा सुविधा पु¥याउन नसक्दा पर्यटकीय विकास ओझेलमा परेको छ । सरकारले त्यस्ता क्षेत्रमा लगानी गरेर त्यहाँको भौतिक पूर्वाधार निर्माण गर्न आवश्यक छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here