- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरइतिहास लुकेको राजाकोट

इतिहास लुकेको राजाकोट

- Advertisement -spot_img

लुकेर रहेका कतिपय घटनाहरु इतिहासले देखाउँछ । लुकेका कुराहरु इतिहासले प्रष्टाउँछ । तर कहिकतैको इतिहास लुकेर रहेको हुन्छ । नेपालको इतिहास पढ्न प¥यो भने ब्रिटिस र भारतीय इतिहासकारले लेखेको कुराहरु पढ्नु पर्दछ । किरातवंशी, लिच्छिवी वंशीदेखि लिएर राणाकालको जंगबहादुरभन्दा अगाडिको हाम्रो इतिहास विदेशीहरुले लेखिदिएका छन् ।
यस्तो इतिहासले कति कुराहरुलाई छोएको हुन्छ वा हँुदैन इतिहास पढ्दा थाहा हुन्छ । काठमाडाँै उपत्यकाको पानि मञ्जुश्रीले चोभारको गल्छी खोल्न लगाएर पानीको निकास बनाएर बस्ती बसालेको इतिहास छ । नेपालमा रहेका अन्य उपत्यकाको इतिहास पनि खोज्ने हो भने यस्तै कुनै न कुनै ऐतिहासिक कुराहरु फेला पर्न सक्दछ ।
तथ्यपूर्ण आधार केहि नभए पनि हामीले भन्दै आएका छौँ । दाङ उपत्यका एशियाकै ठूलो उपत्यका हो । यस्तो उपत्यका अन्य एशियाका मुलुकहरुमा छैन पनि । तर दाङ उपत्यकाको उत्पत्तिको बारेमा हालसम्म यसरी भएको हो भन्ने प्रमाणित कुरा भने इतिहासमा पढन पाइदैन ।
सुन्दर उपत्यका उत्तरतिरको भाग महाभारत पर्वत र दक्षिणतिरको भाग चुरेश्रृङ्खलाले घेरा दिएर बनेको उपत्यका जसको पूर्व–पश्चिम लम्वाई ९० किलोमिटर छ । चुरे र महाभारत पहाडमा रहेका ऐतिहासिक कोटहरुले दाङ उपत्यकाको गरिमा बढाई दिएको छ ।
चुरे र महाभारतका पहाडको टाकुरामा रहेका कोटहरु ऐतिहासिकस्थल मानिन्छन । तर कतिपय कोटहरु अध्यन, अनुसन्धान र इतिहास बन्न सकेका छैनन् । जुन कारणले कतिपए कोटहरुको इतिहास लुकेको छ । इतिहासले नछोएका यस्ता कोटहरुको बारेमा पछिल्लो पुस्तालाई बुझाउन गारो भएको छ । पुस्तौदेखि अलिखित तर संस्मरणको रुपमा रहेको इतिहास नयाँ पुस्ताको लागि हराउन थालेको छ ।
भूगोलविद्हरुको भनाई अनुसार चुरे श्रृङ्खला नेपालको पहाडहरु मध्य सबैभन्दा कान्छो पहाड हो । झण्डै एक करोड वर्ष पहिलेबाट बन्न सुरु गरेको चुरे पहाड महाभारत र हिमालय पर्वतबाट बगेर आउने गेग्रान थुप्रिएर वनेको अत्यन्त कोमल र अस्थिर प्रकृतिको पहाड मानिन्छ चुरे ।
नेपालको कुल भूभागको १३ प्रतिशत चुरे श्रृङ्खलाले ओगटेको छ । सरकारी तथ्याङ्क हेर्ने हो भने ७.०५ जंगल र ३० ५ बसोबास, कृषि र अन्य क्षेत्रको उपयोगमा जमिन रहेको छ ।
तराईको भावर तथा चुरे पहाड सामुन्द्रिक सतह १२०० मिटर देखि २१०० मिटरसम्मको श्रृङ्खलाहरु पर्दछन् । चुरे पहाडहरुको श्रृङ्खला बन्दै जाँदा दाङ उपत्यकाको दक्षिण पट्टी रहेको चुरे श्रृङ्खला ४ लाख वर्ष पुरानो मानिन्छ ।
दाङ जिल्लाको सबैभन्दा अग्लो स्थानपनि चुरे श्रृङ्खलामा पर्दछ । हाँसीपुरको अर्खले सामुन्द्रिक सतहबाट २०५८ मिटर रहेको छ । दाङ जिल्लाको चुरे श्रृङ्खलालाई हेर्ने हो भने सयाँै वर्ष अगाडीदेखि मानवबस्ती भएको चुरेको क्षेत्र पनि हाँसीपुर नै मानिन्छ ।
चुरे र महाभारत पर्वतको विगतदेखि वर्तमानसम्मको इतिहासलाई हेर्ने हो भने मानव वस्तीको विकास चुरे श्रृङ्खलामा भन्दा महाभारत पर्वतमा युगौंदेखिको बसोबासको इतिहास छ ।
इतिहासले समेट्न नसकेका दाङ जिल्लाका चुरे पहाडका दर्जनौ कोट र चुचुरो रहेका छन् । दाङ उपत्यकाको पश्चिममा रहेको राजाकोट चुरे श्रृङ्खलाको ऐतिहासिक मानिन्छ । उपत्यकाको अनुसन्धान गर्नेहरुले यो कोटको बारेमा अध्ययन गर्न सकेका छैनन् भन्दा पनि हुन्छ ।
गोल्टाकुरीको चुरे पहाडमा रहेको राजाकोट ऐतिहासिक रुपले महत्वपूर्ण स्थल मानिन्छ । सामुन्द्रिक सतहबाट १५५६ मिटरको उचाईमा रहेको राजाकोट घनाजंगलको बीचमा रहेको छ । तुलसीपुर बजारदेखि २५ किलोमीटर दक्षिणमा रहेको चुरे श्रृङ्खलाको राजाकोट पुग्न गोल्टाकुरीको कौवाघारी सामुदायिक वन क्षेत्रबाट ९ किलोमीटरको पैदल यात्रा गर्नुपर्दछ ।
शिवालिग चुरे श्रृङ्खलामा रहेको राजाकोट भौगर्भिक र प्राग्ऐतिहासिक अध्ययनका लागि अत्यन्त महत्वपूर्ण क्षेत्र मानिन्छ । ऐतिहासिक तथ्य अनुसार दाङ उपत्यकाको चुरे र महाभारत क्षेत्रमा ११औँ शताब्दीदेखि १५औँ शताब्दीसम्म शासन गर्ने भुरेटाकुरे राजाहरुसँग पनि जोडिएको छ राजाकोट ।
इतिहासले के देखाउँछ भने दाङ सुकौराकोटको सम्बन्ध बझाङ र सल्यानी राज्यसँग रहेको थियो । दाङ सुकौराकोटका राजा दंगीशरण गर्मीको समयमा राजाकोटमा बस्ने हुनाले कोटको नाम पनि राजाकोट रहन गएको हो ।
थारु भाषामा कोटलाई रज्जवाकोट भनिन्छ । सुकौराकोट थारु राजाले शासन गरेको स्थान हो । त्यस समयका दंगीशरणले सुकौराकोटमा राजधानी बनाएर राज्य सञ्चालन गरेका थिए ।

कुनैबेला राजाकोट, तिलन्याका टाकुरा दाङ उपत्यकाको लागि चल्तीको राजमार्ग बनेको थियो । दाङबाट नेपालगञ्ज जाने बेला पैदल अथवा घोडाको यात्रामा तिलकन्याको कोट हँुदै राजमार्गमा पर्ने बाघखोरमा निस्किएर मानिसहरुको यात्रा हुने गर्दथियो । घनाजंगल वन्यजन्तुहरुको चरिचरण क्षेत्र चुरे श्रृङ्खलाको वातावरण नै आनन्द, मनमोहक थियो । गोल्टाकुरीबाट उकालो लागेपछि तिलकन्याको कोटमा पुगेर थकाइ नमार्ने मानिसहरु नै हुँदैनथे ।


दाङ उपत्यकामा त्यस समयमा औंलो लाग्ने र दंगीशरण राजा गर्मी छल्नका लागि सुकौराकोटदेखि दक्षिणतर्फको चुरे पर्वतमा रहेको राजाकोट भन्ने ठाउँमा बसेर राजकाज गर्ने गर्दथिए । दंगीशरणले सिकार खेलेको, नुहाएको र राजकाज गर्ने क्रममा कोटलगायतका संरचना अहिले पनि देख्न सकिन्छ ।
राजा दंगीशरण सिकार खेल्न पारखी थिए । दंगीशरण रानीवन र मठौरीमा रहेको एक्ला पहाड, चुरे पहाडको लेकमा सिकार खेल्ने र फर्किने क्रममा रानीसँगै बुल्बुल्या तालमा नुहाउने गर्दथिए ।
दंगीशरण निःसन्तान रहेका र सन्तान प्राप्तिका लागि दंगीशरण र उनकी रानी बुल्बुल्या तालमा नुहाउने गरेको अगुवा थारु जातिको भनाइ छ । अहिले पनि माघेमा सन्तान प्राप्तिका बुल्बुल्या तालमा नुहाउने प्रचलन छ ।
राजा रजौटाबाट आफ्नो सम्पत्ति जोगाउन राजा दंगीशरणले रहरपुरस्थित चुरे पर्वतको फेदमा धन गाडेको भन्ने गरिन्छ । त्यस ठाउँमा अहिले पनि ढुंगाजस्तो देखिने परापूर्वकालमा प्रयोग भएका माटाका भाँडा र इँटाका टुक्रा अवशेषका रुपमा देख्न सकिन्छ । राजा दंगीशरणले आफूसँग भएका रुपैयाँ, पैसा गाडेकाले त्यसको नाम धनटाकुरा रहन गएको छ ।
विस १९४२ मा बैवाङका रघुनाथ चौधरीकी श्रीमती सती गएको स्थानमा सतीदेवी मन्दिर निर्माण गरिएको छ । उनी सती जानेबेला सतीप्रथा अन्त्य भइसकेको थियो । बबई नदी रहेको सती मन्दिर रहेको स्थानमा स्थानमा त्यो समयमा ठूलो ताल थियो ।
राजाकोट नजिक तिलकन्याको कोटमा राज्यको गौडा रहेको पनि इतिहासविद्हरुले अनुमान लगाएका छन् । राजाकोट, तिलकन्या नजिकै रहेको कुकुरगौडा पाँच पाण्डवहरुसँग जोडिएको छ । पाँच पाण्डवहरु साथमा कुकुर लिएर यात्रा गर्नेक्रममा पहिरोको पहाड कुकुरले चढ्न नसकेपछि ठाउँको नाम कुकुर गौडा रहेको हुन सक्ने कुरा अनुसन्धानले देखाएको छ ।
राजाकोटको चारैतिर भिरालो र बीचमा समतल ठाउँ भएकोले पहाडको चुचुरोबाट नेपालगञ्ज, बहराइज र अन्य मैदानी भू–भाग देख्न सकिन्छ । त्यसैगरी उत्तरतिरका थर्कोट, स्वर्गद्वारी र अन्य ऐतिहासिक गढी, टाकुरा एवं महाभारत श्रृङ्खलाका रमणीय स्थलहरु पनि अवलोकन गर्न सकिन्छ । दाङ उपत्यकामा बग्ने सरयु जसलाई बबई भनिन्छ,
र त्यसले बनाएको नागबेली आकारमा बगेको पानीको दृष्यले राजाकोटमा पुग्ने मानिसहरुलाई आनन्द दिलाएको हुन्छ । चुरे श्रृङ्खलाको अग्लो पहाड भएकोले नेपाल टेलिकमले राजाकोटमा टेलिफोनको टावर राखेको छ । टेलिफोनको टावर राखेपछि राजाकोटमा नेपाली सेनाको एक टुकडी सेना टावरको सुरक्षार्थ राख्ने गरेको छ ।
कुनैबेला राजाकोट, तिलन्याका टाकुरा दाङ उपत्यकाको लागि चल्तीको राजमार्ग बनेको थियो । दाङबाट नेपालगञ्ज जाने बेला पैदल अथवा घोडाको यात्रामा तिलकन्याको कोट हँुदै राजमार्गमा पर्ने बाघखोरमा निस्किएर मानिसहरुको यात्रा हुने गर्दथियो ।
घनाजंगल वन्यजन्तुहरुको चरिचरण क्षेत्र चुरे श्रृङ्खलाको वातावरण नै आनन्द, मनमोहक थियो । गोल्टाकुरीबाट उकालो लागेपछि तिलकन्याको कोटमा पुगेर थकाइ नमार्ने मानिसहरु नै हुँदैनथे । नेपालगञ्ज–दाङ गर्ने घोडेहरुको लस्कर, नुन तेल किन्न जाने हटारुको समूह, जिमिन्दारी ठाँटमा घोडा चडेर राजाकोट वारपार गर्नेहरुलाई आजभोलि ति दिनहरु संस्मरण मात्र बनेको होला ।
तर राजाकोट अहिले पनि उस्तै छ । वन फडानी भएर वातावरण विग्रेको छ । पैदल यात्रा र घोडाका सवार राजाकोट र तिलकन्यामा भेटिदैन तर राजाकोटको चिसो हावा अनि त्यहाँको रमणीय दृष्यावलोकन भने त्यहाँ पुग्ने मानिसहरुले अहिले पनि लिन सक्दछन् ।
हाँसीपुरको चुरे श्रृङ्खलामा बाहेक दाङ जिल्लाको पश्चिम भू–भागमा फुलवारी र गोल्टाकुरीमा पनि मानवबस्ती रहेको छ । तर पनि चुरे पहाडको कोटहरुमा मानवबस्ती छैन । वन विनास भएको छ ।
वातावरण अनुकूल प्रभावले गर्दा वन्यजन्तु र चराचुरुङ्गीहरु देखिन छाडेका छन् । वन विनास हुन थालेपछि चुरे श्रृङ्खलामा प्राकृतिक पानीको स्रोत सुक्न थालेको छ ।
राजाकोटको बारेमा धेरै कुरा अध्ययन गर्न बाँकी छ । यसको ऐतिहासिक तथ्य कुराहरुलाई इतिहास बनाउन जरुरी छ । लुकेको इतिहासलाई लिपिवद्ध गराउन इतिहासविद्ले खोजी गर्नुपरेको छ राजाकोट स्थलको ।
थारु राजा दंगीशरणको शासनकाल १२आँै शताब्दीमा सुकौराकोट र राजाकोटका केही तथ्यहरु फेला परेको छ । इतिहासमा उल्लेख नभएका यस्ता कुराहरुको अध्ययन अनुसन्धान हुनुपर्दछ ।
प्राचीनतादेखि नवीनतासम्म आउने मानव जातिसँग सम्वन्धित घटनाहरुको वर्णन नै इतिहास हो । दाङ उपत्यका वरिपरि रहेको चुरे र महाभारत पहाडका कोटहरुको इतिहास धेरै खोज्न बाँकी छ ।
युगौँदेखिको प्राप्त भएका तथ्यहरु संस्कृतिको आधारमा भएका कुराहरु, एवं कथा, किम्वदन्तीमा आएका धेरै कुरामा इतिहास लुकेको हुन्छ । यस्ता कुराहरुको अध्ययन हुनुपर्दछ । चुरे श्रृङ्खलाको राजाकोटमा पनि अलिखित धेरै कुराहरु लुकेका छन् । यसको खोजी हुनुपर्दछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here