Wednesday, March 27, 2024
Homeफिचरसंस्थागत जागरुकता

संस्थागत जागरुकता

- Advertisement -spot_img

संघीय संचरनामा देश गएपछि राजनीतिक दलहरु पनि संघीय संरचना अनुसार आफ्ना भूमिकाहरु तय गर्न थालेका छन् । कतिले नेतृत्वनै प्रादेशिक संरचना अनुसार तोकिसकेका छन् भने कति दल तयारीमा छन् ।
दाङका तीन मुख्य दल नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चाले आ–आफ्ना एजेण्डा बनाएर जागरण अभियान पनि सञ्चालन गर्दै छन् । यसै विषयमा प्रदेश टुडे दैनिकको नियमित स्तम्भ टुडे राउण्ड टेबलमा राजनीतिक दलका अगुनाहरुसँग तल्लो तहसम्म के कस्ता काम गर्दै छन् भन्ने विषयमा सोधेका छौं । 


पुनर्संरचनाको अभ्यास

निर्मल आचार्य
केन्द्रीय सदस्य (नेकपा)

आम जनचाहना रहेता पनि दुई ठूला कम्युनिस्ट पार्टीहरु बीच यतिबेलै, यसरी नै एकता होला भनेर कसैले चिताएको थिएन । यो एकताले धेरैलाई आश्चर्य बनाएको पनि हो । कम्युनिस्ट पक्षधरहरुमा सुखद् र इतरहरुमा दुखद् आश्चर्यको अवस्था अध्यावधि छदैछ ।
पार्टी एकताको घोषणा जति सजिलै गरियो त्यसलाई ब्यवहारमा उतार्ने कुरा त्यति सजिलो थिएन । आ–आफ्ना मान्यताहरु, तौर तरिकाहरु छदै थिए । लामो सहकार्य र सुझबुझपूर्ण तरिकाले आजको मितिसम्म आउँदा पार्टी एकताको काम सुखद् रुपमा सम्पन्न भएको छ ।
यस विषयमा नेतृत्वलाई धन्यवाद दिनुपर्ने हुन्छ । एकताको घोषणा जस्तै एकताको बाँकी कामलाई अनि हतारोमा टुङ्गोमा पु¥याउने सोचेको भए दुर्घटना पनि हुन सक्दथ्यो । अरु विषयमा जस्तै यो विषयमा पनि नेतृत्वले बडो विवेकपूर्ण निर्णय लिएकाले एकता सफल भयो ।
जहाँसम्म पार्टीको संरचना कस्तो छ भन्ने सवाल छ, यो बिषय त प्रष्ट नै छ । राज्य पुनर्संरचनापछिको ढाँचा अनुसार नै पार्टीका निकायहरु निर्माण भएका छन् । केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति, संघीय र प्रादेशिक निर्वाचन क्षेत्रहरूमा समन्वय समितिहरु बनेका छन् ।
उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुमा स्थानीय तहस्तरीय समिति छन् । महानगरपलिकास्तरीय समितिलाई जिल्लास्तरीय मान्यता प्राप्त छ । त्यो भन्दा तल वडा समिति, टोल समिति र सबैभन्दा आधार तहमा सेलहरु निर्माण भएका छन् ।
सल्लाहकार समिति, परिषद् र जेष्ठ कम्युनिस्ट मञ्च पनि निर्माण हुनेछन् । प्रवासको हकमा पनि विभिन्न समितिहरु निर्माण हुनेछन् । जनवर्गीय संगठन र विभिन्न मोर्चाहरु पनि निर्माण हुनेछन् ।
आवश्यकता अनुसार विभिन्न विभागहरु बन्ने छन् । विभिन्न समितिहरु निर्माण, घोषणा र सपथका काम धमाधम अगाडि बढिरहेका छन् । जनजागरणको प्रारम्भिक चरणमै छौँ । पार्टीको आन्तरिक काममै अलि बढी ब्यस्त छाँै । हामी सबैलाई थाहा छ । नेपालमा ठूलै परिवर्तन भएको छ । र अझै केही समय संक्रमणको समय नै रहने छ । परिवर्तनपछिको संक्रमणमा मुख्यतया दुईवटा शक्ति देखापर्दछ । पहिलो शक्ति परिवर्तनलाई संस्थागत गर्न लागि पर्दछ । परिवर्तन संस्थागत गर्ने मुख्य अभिभारा भनेको संविधानको कार्यान्वयन हो । विभिन्न कानूनका विधेयकहरु निर्माण भैरहेका छ्न । संविधान कार्यान्वयन काम धेरै अगाडि बढिसकेको छ । शान्ति प्रक्रियाका बाँकी कामहरु पनि अगाढि बढ्दै छ । यो सकारात्मक पाटो हो ।
परिवर्तनको स्वभाविक परिणामस्वरूप परिवर्तन विरोधि शक्ति पनि आफूले सकेसम्म गर्ने दाउमा छ । हामी परिवर्तन विरोधी शक्तिको सलबलाहटलाई स्वभाविक मान्दछौ । यो क्रान्तिको नियमभित्रै छ ।
दुनियाका जुनसुकै क्रान्तिपछि यस्तो अवस्थाको सामना गरेर मात्र परिवर्तन संस्थागत भएको हुन्छ । अबको हाम्रो जनजागरणको मुख्य विषय यसैको सेरोफेरोमा हुन्छ ।
परिवर्तन विरोधी अराजकतावादको विरुद्धमा आव नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महाअभियान सुरु हुन्छ । हामी अब शक्ति विन्यास गरेर ब्यवस्थित तरिकाले अगाडि बढ्ने छाँै ।
एउटा शक्ति संविधानको कार्यान्वयन गर्दै सरकारको कामलाई प्रभावकारी बनाउन लाग्ने छौँ । अर्को शक्ति जनतामाझ जानेछौ र संक्रमणकालिन अराजकतावादीहरुको भण्डाफोर, प्रतिरोधलगायतका कार्यक्रम अगाडि बढाउने छौ । जहाँसम्म समयको सवाल छ हामीले दशै, तिहार लगत्तै एउटा महाअभियान सञ्चालन गर्नेछौ ।
नयाँ संविधान निर्माणपछि जनतामा पारिएको भ्रमलाई पूर्णरुपले चिर्ने र संक्रमणकालमा देखापर्ने अराजकतावादलाई समाप्त गर्ने नै अबको अभियानको मुख्य अभिभारा हुनेछ ।


जनता जगाउने अभियान

अनिता देवकोटा
राष्ट्रिय सभा सदस्य
नेता नेपाली कााग्रेस

जनता, मतदाता र पार्टीका सबै निकाय, तहका पदाधिकारी, सदस्य एवं शुभेच्छुकहरुबीच जीवन्त सम्पर्क र समन्वय कायम गरी पार्टीलाई सक्रिय र सुदृढ पार्ने उद्देश्यले नेपाली काँग्रेसको जनजागरण अभियानको सुरु भएको छ ।
यो दोस्रो चरणको जनजागरण अभियान शुरु भएको छ । काँग्रेसका नीति र एजेण्डाहरु प्रत्येक नागरिकलाई जानकारी दिनको लागि यो जनजागरण अभियान शुरु गरिएको छ ।
पार्टी एकता गरेर सरकारले गरेका ज्यादति र भ्रमहरुको बारेमा जनतामाझ पु¥याउने र नेपाली काँग्रेसका सिद्धान्तहरु जनतामाझ पु¥याउने उद्देश्यले यो अभियानको उद्देश्य हो ।
सरकार काण्डैकाण्डमा फसेको छ तर पनि नकारात्मक भ्रम फैलाएर जनतालाई भ्रममा राख्ने काम गरेको छ । एनसेल काण्ड होस् या, वाइडबडी काण्ड होस् सरकार काण्डहरुमा फसेको छ । यो विषयमा जनतालाई जागरुक गराउने पर्ने नेपाली काँग्रेसले महशुस गरेको छ ।
सरकारको गतिविधिले जनतालाई निराश पार्ने काम भएको छ । अब हामी नेपाली काँग्रेस नै जनताको दुःख, सुखको साथी भएको हुँदा सरकारको ज्यादतीलाई जनताको माझमा रहन्न ।
सरकारको ज्यादती अन्त्य गर्नको लागि जागरुण अभियान महत्वपूर्ण छ । काँग्रेस नै कम्युनिस्ट शासनको विकल्प हो भन्ने कुरा जनताले बुझिसकेका छन् । निर्धा, निमुखालाई न्याय र विपन्नतालाई आय अब काँग्रेसले नै दिलाउनको लागि जनता माझमा जान जरुरी रहेको र त्यो पनि जनतालाई जागरुक गराएर मात्रै ।
यो अभियानले जनताको घरदैलोमा पुगेर पार्टीको सिद्धान्त बुझाउने योजनाको हो । सरकारको ज्यादतीको जनताले खेपिरहेका छन् । चाहे त्यो महंगो करको रुपमा होस् वा सरकारले कानूनलाई हातमा लिएर नागरिकले न्याय नपाएको हो । सरकारका यि यस्ता नकारात्मक क्रियाकलापहरुको भण्डाफोर गरेर जनतामाझ पु¥याउने हाम्रो उद्देश्य हो ।
नेपाली काँग्रेसको जनजागरण अभियान कार्यक्रम यो दोस्रो चरणको हो । सबैलाई जानकारी नै छ । अभियानको रुपमा हामी यसरी लागे पनि, हामी अभियान सकिए पनि जनताको माझमा नै हुन्छौ । जनतालाई जागरुक बनाउने, सचेत बनाउने,
अन्यायमा परेकाहरुलाई न्याय दिलाउने र जनताको साथमै रहेर दुख, सुख बाँड्ने काम हामी गर्दै आईरहेका छौँ र गर्छौ पनि । जनताको सुरक्षाको लागि नेपाली काँग्रेस जाग्नुपर्ने समय आएको र नेपाली काँग्रेसको मातहतमा रहेका तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघलगायत भातृसंगठनहरुलाई सक्रिय रुपमा परिचालन गरिएको छ ।
सरकारले जनतालाई विभिन्न दुःख दिइरहेकाले नेपाली काँग्रेस एक भएर जाग्नुपर्ने र जनतालाई अपनत्व दिलाउनका लागि जागरण अभियान गरिएको हो । जनतालाई साथमा लिएर पार्टीमा एकमत हुने यो अभियानको वातावरण गराउने छ ।


कार्यकर्ता क्रियाशील बनाउन

राजु खनाल
नेता नेपाली काँग्रेस

नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक सर्वसहमतिबाट पास गरेर नेपालको संविधान अनुसारको पार्टी संरचना निर्माणको लागि एउटा सर्वस्वीकार्य निर्देशन जारी गरेको छ ।
जसअन्तर्गत यही भदौ २० गते प्रतिनिधि सभा, क्षेत्रीय समिति र प्रदेश समिति निर्विरोध टुङ्गो लागिसकेको छ । अब वडादेखि गाउँ, नगरहरुमा यसै निर्देशिका अनुसार कार्तिक मसान्तसम्म टुङ्गो लाग्छ ।
संघीय संरचना अनुसार सबै निर्वाचन क्षेत्रमा पार्टीका समितिका गठन गर्नुपर्ने हो । तर पार्टीको निर्वाचन क्षेत्रसम्बन्धी विधि विधान निर्माण गर्न ढिलाइ भएकाले चाँडै यो काम सम्पन्न गर्न सकेनाँै । पार्टीका शुभचिन्तकदेखि जिल्लाका नेता कार्यकर्ताहरु आत्तिरहनु भएको छ । अब चाँडै नै सबै क्षेत्रमा टुङ्गो लगाउँछौ ।
नेपाली काँग्रेसले दोस्रो चरणको जागरण अभियानले विशेषगरेर पार्टीका नेता तथा कार्यकर्ताहरु सामूहिकरुपमा परिचालन गरी संगठन विस्तार र सरकारद्वारा भएका जनविरोधी कार्यहरुको जनतासम्म पु¥याई सचेत बनाउने काम भइरहेको छ ।
पार्टीले गरेका विगतका राम्रा कामहरुलाई जनता सामु पु¥याउने, वर्तमान नेकपाको सरकारले गरेका भ्रष्टाचार बुढी गण्डकी, सुन काण्ड, वाइडबडी, मेलम्ची, बालुवाटार जग्गा प्रकरण, शान्ति सुरक्षालगायतका काम कारवाहीबारेमा जनतालाई सुसूचित गराउने अभियान हो ।
स्थानीय तहमा देखिएका भ्रष्टाचार, जनताका समस्याहरुको पहिचान गरेर स्थानीय सरकारलाई घच्घच्याउने । पार्टीका भातृ संस्था, शुभेच्छुक संस्थाहरुलाई आ–आफ्ना कार्यक्षेत्रमा परिचालन गर्ने ।
सामाजिक कार्य गर्नको लागि यो जागरण अभियान कार्यक्रमलाई अगाडि बढाउने योजना रहेको छ । नेपाल कम्युनिष्ट पार्टीले सत्ताको दुरुपयोग गरिरहेकाले पनि जागरण अभियान आवश्यक रहेको छ ।
मुलुकमा प्रजातन्त्रमाथि आक्रमण भईरहेकाले पार्टी एकता, कार्यकर्ता क्रियाशील बनाउनको लागि अभियानले सहयोग गर्नेछ । सबैतिर आक्रमक भईरहेकोे अवस्थामा पार्टीका सम्पूर्ण शक्तिहरु एक हुनु जरुरी रहेको छ ।
अहिलेको चुनौतिपूर्ण समयमा पार्टीको आफ्नो नियम कानून भएकाले त्यही अनुरुप चल्न नेपाल तरुण दल, विद्यार्थी संघ, महिला संघलगायत सम्पूर्ण भातृ संगठनहरुलाई चलायमान गराउने छ ।


कार्यकर्तामा एकता जागरण

सुवास पुन
सचिवः नेकपा, दाङ

हामी अहिले पार्टी एकताको क्रममा छौँ । पार्टी एकताको अन्तिम चरणमा पुगिसकेको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय समिति, प्रदेश सभा निर्वाचन समन्वय समिति र पालिकास्तरमा पार्टी एकताको काम सम्पन्न भईसकेको छ ।
जिल्लाका एक सयवटा वडामा नै पार्टी एकता गर्ने योजना रहे पनि अब दुई तीनवटा वडा मात्रै बाँकी छन् । बाँकी ति वडाहरु पनि अन्तिम चरणमा रहेका छन् । टोल–टोलमा पनि पार्टीका एकता भइसकेको छ भने इकाईहरुमा पार्टी एकता भईसकेको छ ।
नेकपा पार्टीले एउटा महत्वपूर्ण काम सम्पन्न गर्दैछ । हामी सफल भएका छाँै, नयाँ संरचना अनुसार नेपाल कम्युनिष्ट पार्टीले सबै निर्वाचन क्षेत्रमा पार्टी एकता गरी जिम्मेवारीसमेत तोक्ने काम भइसकेको छ । दशवटै स्थानीय तहमा पार्टी एकता भएर पनि जिम्मेवार तोकिसकेका छौँ ।
पार्टी एकताको अन्तिम–अन्तिम चरणमा रहेकाले नेपाली काँग्रेसले जस्तो जनजागरण अभियान कै रुपमा त लागेका छैनाँै । तर पार्टी एकतासँगै नेकपामा आन्तरिक जनजागरण भईरहेको हुन्छ र हुँदै आएको छ ।
पार्टि एकता सकिए लगत्तै हामीले पार्टिका संगठन तथा नेता कार्यकर्ताहरुलाई पहिलो चरणको कार्यक्रम अनुसार राजनीतिक प्रशिक्षण दिने योजनामा छौ ।
कार्यकर्ताहरुलाई पार्टीको विधान, कार्यदिशासम्बन्धी प्रशिक्षण रहनेछ । नेकपाको केन्द्रीय कमिटीको निर्णय अनुसार पार्टीमा एकताको भाव देखाउने उद्देश्यले कार्यकर्ता प्रशिक्षण दिने कार्यक्रम राखिने योजना छ ।
सम्भवत त हामीले असोज महिनामा नै पार्टीका कार्यकर्ता तथा नेताहरुमा प्रशिक्षण गर्ने कार्यक्रम तालिका छ । त्यसपछि मात्रै जनजागरण अभियानमा जानेछौँ ।


भावना बुझ्दै छौं

भूपबहादुर डाँगी
सभापति क्षेत्र नं. २ नेपाली काँग्रेस

पार्टीको नयाँ संरचना केन्द्रीय निर्देशन अनुसार चलिरहेको छ  । पहिलो प्रतिनिधि र प्रदेश समायोजन टुङ्गो लागेको छ । अब भने नगर, गाउँपालिका र वडास्तरीय कार्तिक मसान्तसम्म टुङ्गो लगाउने गरी केन्द्रबाट पत्र आएको छ ।
त्यहि अनुसार टुङ्गो लगाउने हो । हामीले नयाँ संरचना अनुसारको समायोजनलाई प्राथमिकतामा राखेर जनजागरण अभियानलाई पनि साथै अगाडि बढाएका छौँ । यो अभियान भनेको दोस्रो चरणको अभियान हो ।
पहिले चरण जनजागरण अभियान हामीले सम्पन्न गरिसकेको छाँै । पार्टीले दोस्रो चरणको जागरण अभियान भदौ २४ गते विपी जयन्तीको अवसर पारी एक प्रदेश निर्वाचन क्षेत्र बराबर १०६ वटा विरुवा रोपेर देश भरी ३४९८० विरुवासहित उद्घाटन देशभर एकसाथ गरिसकेको छ ।
त्यहि अनुसार हाम्रो पनि यहा सबै निर्वाचन क्षेत्रमा खटिएका जनजागरण अभियानका प्रतिनिधिहरुले उद्घाटन गरेर जनजागरण अभियानमा लागिसकेका छौँ । जनजागरण्को कार्यतालिका अनुसार हामीले कार्यक्रमलाई तिव्रता दिएका छौँ । प्रत्यक वडामा असोज ७ गतेसम्म निरन्तर चलिरहने छ भने दाङको सदरमुकाम घोराहीमा अधिनायकवाद सरकारको विरुद्ध प्रदर्शन गरी समापन हुन्छ ।
जागरण अभियानको उद्देश्य भनेको नेपाली जनताको घरदैलोमा जाने उनीहरुको सुख, दुःख बुझ्ने र सरकारले गरेको गलत क्रियाकलापको बारेमा जागरुक बनाउने हो । जनतालाई सरकारले भ्रमको खेती गरेर जनतालाई झुठा सपना देखाएको छ ।
त्यो विषयमा हामीले सचेत बनाउने छाँै । त्यस्तै सरकारले बढाएको अवैज्ञानिक कर, न्याय नपाएका, सुन काण्ड, वाइडबडी काण्ड लगायतका बारेमा हामीले जागरुक गराउने योजना छ भने हामीले जनतालाई सरकारको अधिनायकवादको बारेमा पनि सचेत बनाउने योजना छ ।
काँग्रेसका योजना सिद्धान्तहरुको बारेमा पनि जानकारी गराउने छ । सरकारले गरेका नकारात्मक कामको बारेमा जागरुक गराउँदै प्रतिपक्षको भूमिका निभाउँदै आइरहेको पनि जानकारी गराउँछु ।
सर्वप्रथम त हामीले हामी भातृ संगठनलाई जागरुक बनाएर जनतालाई तीनै संगठनका कार्यकर्ताहरुले जागरण बनाउने छन् । त्यसैगरी काँग्रेसलाई अब अगाडि बढाउने सवालमा कस्ता–कस्ता सुझाव लिन सकिन्छ भन्ने हेतुले दोस्रो चरणको अभियान चलिरहेको छ  ।


संघीयताविरुद्ध जागरण

गणेश आचार्य
अध्यक्षः राष्ट्रिय जनमोर्चा दाङ

देशको बदलिएको प्रशासनिक संरचना अनुसार पार्टीको संरचना पनि निर्माण भएको छ । त्यही संरचना अनुसार पार्टीका कामहरु अगाडि बढेका छन् । अहिले जनतामा ठूलो निराशा छाएको छ ।
स्थानीय सरकार बनेको छ, तर जनअपेक्षा अनुसारको काम हुन सकेको छैन । भ्रष्टाचार झनै बढेको छ । गणतन्त्र आएपछि देशमा धेरै परिवर्तन हुन्छ भन्ने जनतामा विश्वास थियोे । तर त्यो हुनसकेको छैन ।
अहिले बनेको नयाँ संरचना भनेको संघीयता हो । त्यो नेपाल र नेपाली जनताको हितमा आएको होइन भनेर हाम्रो पार्टीले बारम्बार भनेको थियोे । अहिले आएर त्यो प्रमाणित नै भएको छ ।
जनताको टाउकोमा करको भारी बढेको छ । तर जनताले केही पाउन सकेका छैनन् । त्यसैले हाम्रो पार्टीले अहिले पनि संघीयताबाट फिर्ता हुनुपर्दछ भनेर जोड दिएको छ । प्रदेश सरकार जुन बनेको छ । यसको कुनै काम छैन । यसले जनतालाई करको भारी बोकाउने काम मात्र गरेको छ ।
अहिले जनतामा आएको निराशालाई हटाउनको लागि निरन्तर जनताकोमा जाने कार्यक्रमलाई हामीले जोड दिदै आएका छौँ । जनतामा २०४६ सालको आन्दोलन पछिको बहुदलीय ब्यवस्थाको समयमा पनि ठूलो निराशा उत्पन्न भएको थियोे ।
त्यसैको कारण दलहरुलाई ०६२÷६३ को आन्दोलनमा जनतालाई सडकमा ल्याउन गाह्रो परेको थियोे । पछि दलहरुको जनताको बीचमा प्रतिवद्धता गरेपछि आन्दोलन उठेको थियोे । त्यसैले जनताको बीचमा सत्यतथ्य बताउन जरुरी हुन्छ ।
हाम्रो पार्टीले सरकारले गरेका जनविरोधी काम देशको अवस्थाको बारेमा बुझाउनको लागि निरन्तर जनजागरणका अभियानहरु चलाउँदै आएको छ । बेला–बेलामा कहिले भ्रष्टाचार विरोधी अभियान र कहिले घरदैलो तथा सदस्यता अभियानको नाममा जनजागरण अभियान चलाउँदै आएका छाँै ।
हामीलाई आशा र विश्वास थियोे गणतन्त्र आएपछि जनताको हितमा धेरै काम हुनेछन् । जनप्रतिनिधि जनताका प्यारा बन्नेछन् । जनप्रतिनिधि शासक बन्ने परम्पराको अन्त्य हुनेछ । तर जनताको कुरा सुन्दा त्यो अवस्था छैन । हिजो संघीयताको वकालत गर्ने पार्टीहरु घर–घरमा सिंहदरबार ल्याउने कुरा गर्थे आज ब्यबहार हेर्दा साँच्चिकै सिंह चाहिँ आएको जस्तो छ ।
यो प्रकारको अपेक्षा हिजो ०६२/६३ को आन्दोलनकारीहरुको थिएन । गणतन्त्रको न्यूनतम परिभाषा बुझ्नेहरुको पनि थिएन । आजको जनताको बीचमा यहि प्रकारको आक्रोश र निराशा आउने गरेको छ ।
तर निराशा मात्र बोकेर हुँदैन अहिलेको संविधान ले सकारात्मक कुरा पनि बोकेको छ । त्यस आधारमा केही न केही देश राम्रो वातावरण निर्माण गर्न पनि सकिन्छ । यो विषयमा जनतालाई सचेत बनाउन जरुरी छ । जनताको सचेत पर्यत्न बेगर देशको अवस्था पनि राम्रो हँुदैन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here