- Advertisement -spot_img
Friday, May 7, 2021
Homeविचारग्रामीण पर्यटन र सल्यान जिल्ला

ग्रामीण पर्यटन र सल्यान जिल्ला

- Advertisement -spot_img

पर्यटन शब्दको शाब्दिक अर्थ भ्रमण हो । एक स्थलबाट अर्को स्थलहरुमा गरिने भ्रमणलाई पर्यटन भनिन्छ । यसरी देश विदेश घुम्ने, महत्वपूर्ण स्थलहरुको भ्रमणले संस्कृति, रीतिरिवाज, परम्परा, रहनसहन र जीवनशैलीको अध्ययन हुन्छ ।
भ्रमणबाट नै ऐतिहासिक पुरातात्विक एवं धार्मिक स्थलहरुको अध्ययन अनुसन्धान गर्न सकिन्छ । नेपालमा भ्रमण गर्नको लागि हिमाल, नदीहरु, पहाड, तालतलैया, झरनाहरु, वनजंगल र विश्वमा दुर्लभ मानिएका जीवजन्तुको दृश्यावलोकन गर्न सकिने धेरै स्थलहरु छन् ।
ग्रामीण पर्यटन धार्मिक, प्रकृति र संस्कृतिमा आधारित छ । प्रकृति र संस्कृति ग्रामीण क्षेत्रमा नै रहेको हुन्छ । त्यसैले पनि ग्रामीण पर्यटनका सम्भावनाहरु गाउँमा नै हुन्छ । ग्रामीण पर्यटनबाट हुने आम्दानीले विकासबाट पछाडी परेको ग्रामीण क्षेत्रको बिकास हुन्छ ।
ग्रामीण पर्यटनबाट आर्थिक लाभ लिन सक्ने सम्भावना धेरै रहेको हुन्छ । फुर्सदको बेला भ्रमणमा निस्कने मानिसहरु अहिले शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्र रुचाउँछन् ।
एक सर्वेक्षणअनुसार अहिले झण्डै ८० प्रतिशत पर्यटक शहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा जान चाहन्छन । धुवाँ, धुलो, फोहोरजस्ता प्रतिकूल वातावरणका कारण पर्यटकहरुले ग्रामीण वातावरण रुचाउन थालेका छन् ।
विकसित देशका मात्र होइन आन्तरिक पर्यटकहरु पनि अधिकांशले खासगरी नेपालको संस्कृति, प्रकृति र परम्पराको अध्ययनमा रुचि देखाउन थालेका छन् । पृथ्वीमा हुने भौगोलिक परिवर्तनले ताल, तलैया निर्माण हुने र भएकाहरुमा परिवर्तन हँुदै आएका छन् ।
मानव वस्तीको विकास र पृथ्वीमा भइरहने वातावरण अनुकूलको प्रभावले बाढी, पहिरो र भू–क्षयका कारणले ताल, तलैया बन्ने र विनास हुने क्रम पनि सुरुदेखि नै हँुदै आएको हो । अहिले ताल तलैयाहरुले पनि संरक्षण खोजिरहेका छन् ।
तर पनि अहिलेसम्म सबै ताल, दह र पोखरीका बारेमा अध्ययन, अनुसन्धान र धेरैको नामाकरणसमेत हुन सकेको छैन । तिनै ताल, तलैयाहरुमध्येको दह हो कुपिण्डे दह ।
सल्यान जिल्लाको मध्यभागमा रहेको यो कुपिण्डे दह क्षेत्रफलको हिसावले तालको नाम हुनुपर्नेमा अहिलेसम्म दहबाट नैे पहिचान भएको छ । यसको अध्ययन अनुसन्धान हुन सकेको छैन । सल्यान जिल्लाको पर्यटकीय सम्पदाको रुपमा रहेको कुपिण्डे दह कुपिण्डे गाविसमा पर्दछ ।
अहिले ताल, पोखरी र दहको बारेमा अध्ययन अनुसन्धान गर्ने संघसंस्था, विद्यार्थी धेरै जिल्लामा पुग्ने गरे पनि कुपिण्डे दहमा धेरै ठाउँका विद्यार्थी नपुगेका होलान । सल्यान जिल्लाको सेजुवाल टाकुरा, मार्के, माझकाँडा,
धाजी पिपल, र कजेरी गाविसको बीचमा रहेको कुपिण्डे दह प्राकृतिक रुपले निकै सुन्दर मानिन्छ । दहको वरपर हरियाली रुख विरुवाहरु, सुन्दर बस्ती नेपालीपनको जनजीवनले जोकोहिलाई पनि कुपिण्डे दह पुग्दा आनन्दको महसुस हुन्छ ।
दहको किनारमा बराहको मन्दिर छ । सल्यान जिल्लाको मात्र नभएर बराह मन्दिरमा पूजा गर्न रुकुम, सुर्खेत र जाजरकोट जिल्लाका मानिसहरु पनि पुग्ने गर्दछन् ।
आजसम्म धार्मिक पर्यटकीय दृष्टिकोणले मात्र महत्व मानिदै आएको कुपिण्डे दहको बारेमा वैज्ञानिक अनुसन्धान भने आजसम्म हुन सकेको छैन ।
केही वर्ष यता आएर दहको संरक्षण हुनुभन्दा पनि भू–क्षय र मोटर मार्गको माटोले गर्दा दहको सतह पुरिदै गएको छ ।
दहको एकीन गहिराई समेत थाहा हुन सकेको छैन । दहको पानी देख्दा निकै गहिरो हुन सक्ने अनुमान गरिने कुपिण्डे दहको अध्ययन अनुसन्धान हुनु जरुरी छ । सल्यान जिल्लाको सदरमुकाम खंलगाबाट सेजलटाकुरा, साहुटोला, ज्यामिरे, वावियाचौर हुँदै कुपिण्डे दहमा पुग्न सकिन्छ ।
कुपिण्डे दहमा आजभोलि सल्यानबाहेक अन्य जिल्लाबाट पनि दिनहँु धार्मिक पूजाआजा र दृष्यावलोकन, अध्ययन अनुसन्धान र प्राकृतिक सौन्र्दयताको आनन्द लिन जानेको संख्या दिनप्रतिदिन वृद्धि हँुदै गएको छ ।
कुपिण्डे दह वरपरको पहाड, जंगल र बीचमा नीलो आकाशे रंगको पानी उत्तर दक्षिण फैलिएको दह प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेको छ । दहको छेउमा बराहदेवको मन्दिर पनि रहेको छ । यो मन्दिरमा मार्ग शुक्लपूर्णिमा र बैशाख शुक्लपूर्णिमाका दिन मेलासमेत लाग्ने गरेको छ ।
दह संरक्षण समितिले दहमा अहिले डुङ्गा सञ्चालनमा ल्याएको छ । दहमा पानी कतैबाट आउँदैन तर दक्षिणबाट पानी निस्केको देखिन्छ । दह वरीपरि हरियाली वन जंगलमा घोरल, रतुवा, लुइचे कालिज, परेवा र तलाउमा हाँस, जलेवा पाइन्छ । कुपिण्डे दहको इतिहास पुरानो छ ।
म्वदन्ती अनुसार अहिले कुपिण्डे दह भएको स्थानमा ठूलो गाउँ थियो । गाउँमा एकदिन साधु भेषभूषामा एकजना मानिस बासको खोजीमा गाउँ पसे । धेरै घरमा बास माग्दा पनि उनले बास पाउन सकेनन् ।
निरास हुँदै एकजना वृद्धको घरमा उनी पुगे । बासको लागि आफू आएको कुरा उनले सुनाए । घरमा रहेकी वृद्ध महिलाले आफ्नो घरमा खाना र बस्नको लागि केही प्रबन्ध हुन नसक्ने बताए पनि साधु त्यहि घरमा बस्ने अनुमति मागे ।
वृद्धको गरिवी थाहा पाएपछि भोलिपल्ट बिहान साधुले ति वृद्ध महिलालाई अहिलेको कुपिण्डे दहतर्फको पहाड देखाउँदै भनेछन् । त्यो पहाडसम्म जाउ, हिड्दा पछि फर्किएर नहेर्नु । महिला पहाडतर्फ लागिन । पहाडको चुचुरोमा पुगेर पछि फर्किएर हेर्दा सबै गाउँ पानीले भरिएको दह ।
आजभोलि सुर्खेत जिल्लाको मेलकुनाबाट बोटेचौरको मार्ग हुँदै कुपिण्डे दहसम्म यातायातको साधन चल्न थालेपछि सुर्खेत र आसपासका जिल्लाका पर्यटकहरु पनि दहमा पुग्ने गरेका छन् ।

विकसित देशका मात्र होइन आन्तरिक पर्यटकहरु पनि अधिकांशले खासगरी नेपालको संस्कृति, प्रकृति र परम्पराको अध्ययनमा रुचि देखाउन थालेका छन् । पृथ्वीमा हुने भौगोलिक परिवर्तनले ताल, तलैया निर्माण हुने र भएकाहरुमा परिवर्तन हँुदै आएका छन् । मानव वस्तीको विकास र पृथ्वीमा भइरहने वातावरण अनुकूलको प्रभावले बाढी, पहिरो र भू–क्षयका कारणले ताल, तलैया बन्ने र विनास हुने क्रम पनि सुरुदेखि नै हँुदै आएको हो ।

दाङ जिल्लाको तुलसीपुरदेखि सल्यान खलंगासम्म ६५ किमि पिच सडक र बाँकी २० किमी कच्ची सडकको यात्रा गरेपछि कुपिण्डे दहमा पुगिन्छ । सल्यान सदरमुकाको साहूटोलाबाट जिप र अन्य सवारी साधनको माध्यमबाट कुपिण्डे दह पुग्न सकिन्छ ।
सल्यान जिल्लाको सदरमुकाम खलंगाको साहुटोलाबाट बाटोमा पर्ने सिमखर्क ब्यारेक, जैतपानीको ग्रामीण बजार, र वाबियाचौर गाउँ हँुदै कुपिण्डे दहसम्म पुग्दा बाटोमा पर्ने अनगिन्ती पहाडी श्रृंखलाको अवलोकन गर्नसमेत पाइन्छ ।
त्यसैगरी सल्यान जिल्लाका पश्चिम भू–भागमा रहेको बालुसग्रही बजारबाट १४ किमीको यात्रामा कुपिण्डे दह पुग्न सकिन्छ । सुर्खेत, जाजरकोट र पश्चिमी भेगका रुकुम जिल्लाका मानिसहरु यो मार्गबाट कुपिण्डे दह पुने गर्दछन् ।
दाङ जिल्ला हँुदै अन्य जिल्लाका मानिसहरु कुपिण्डे दहमा पुग्ने गरेका छन् ।
ग्रामीण क्षेत्रमा विकास हुन लागेका पर्यटनस्थलहरु मठ मन्दिर, प्राकृतिक सम्पदा, वातावरण र ऐतिहासिक स्थलसँग जोडिएका छन् । यी स्थलहरुमध्ये धेरै स्थान ऋषिमुनीहरुबाट आध्यात्मक चिन्तन र तपस्या गरिएका स्थलहरु मानिन्छन् ।
खासगरी ऋषि मुनीहरुले धार्मिक, आध्यात्मिक, वैदिक, सामाजिक र प्राकृतिक चिन्तन गर्ने गरेको स्थलहरु नै अहिले ग्रामीण पर्यटन विकाससँग जोडिएका छन् ।
कुपिण्डे दह मात्र होइन सल्यान पुगेका ग्रामीण पर्यटकहरु जिल्लाभित्र रहेका अन्य ऐतिहासिक र धार्मिक महत्वले पहिचान भएका अन्य स्थलहरुमा पनि पुग्न सक्दछन् ।
सल्यानमा खैरावाङ भगवती, छत्रेश्वरी भगवती, कोटमौलाको कालिका, मोखला पिपलनेटामा रहेको शिव गुफा र लक्ष्मीपुरमा रहेको कमलाक्षी मन्दिर धार्मिक धरोहर हुन ।
खैरावाङ भगवतीको मन्दिर धार्मिक, साँस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले अतिनै महत्वपूर्ण स्थानको रुपमा सुप्रसिद्ध छ । श्री स्वस्थानी कथामा आधारित सतिदेवीको अंग पतन भै रुखको फेदमा उत्पन्न भएको खैरावाङ देवी सल्यानका राजा रजौटाका पालादेखि शक्तिपीठको रुपमा पूजाआजा गरिदै आएको हो ।
सल्यान जिल्लाको सदरमुकाम खंलगा देखि २० किमिको दूरीमा रहेको खैरावाङ शारदा नदी किनारमा रहेको हाउखोलाबाट दुई घण्टाको पैदल उकालो बाटो हिडेर पनि पुग्न सकिन्छ ।
त्यसैगरी अर्को शक्ति पिठ हो छत्रेश्वरी । शारदा नदी किनारमा रहेको छायाँक्षेत्र फाँटको नजिक रहेको छत्रेश्वरी मन्दिरमा सतिदेवीको शेष अंग पतन भएको विश्वास गरिन्छ ।
यो मन्दिरमा अन्य शक्तिपीठमा झै पशुपंक्षीको वली चढाउने गरिन्न । यो मन्दिरमा सल्यान, रुकुम र दाङबाट समेत धार्मिक पर्यटकहरु जाने गर्दछन् । सल्यान जिल्लाको अर्को शक्तिपीठ मानिने कमलाक्षी मन्दिर पनि हो ।
सतिदेवीको करङ पतन भएको स्थानको रुपमा धार्मिक मान्यता रहेको छ । पहाडको स्वरुपमा देखिने कमलाक्षी हेर्दा पनि करङकै आकृतिमा देख्न सकिन्छ । धार्मिक किंवदन्ती अनुसार सतीदेवीको सल्यानमा तीन ठाउँमा अंग पतन भएको र ति सबै ठाउँ शक्तिपीठको रुपमा पूजा गर्ने गरिन्छ ।
त्यसैगरी फालावाङ सल्यान जिल्लाको ऐतिहासिक स्थल हो । पछिल्लो समयमा सल्यानी राजाहरुले फालावाङबाट नै शासन चलाएको इतिहास छ ।
महाभारत पर्वतको काखमा रहेको फालावाङ सल्यान जिल्लाको दक्षिण दाङको सिमावर्ती भूगोलमा पर्दछ । थर्कोट पहाडको बीच भागमा पर्ने फालावाङ मोटरमार्ग नभएको वेला सल्यान, रुकुम पैदल यात्रामा बाटोमा पर्ने थियो । ऐतिहासिक फालावाङ दरबार अहिले संरक्षण हुन नसक्दा अस्तित्वको खोजीमा पुगेको छ ।
सल्यानमा धेरै कुरा छ । प्राकृतिक सम्पदाको सल्यान धनी छ । तर त्यसलाई संरक्षण र प्रचार–प्रसारको कमी भएको छ । विभिन्न सरकारी तथा अन्य निकायले सल्यानलाई ग्रामीण पर्यटकीय स्थलको रुपमा विकास गर्ने सोंचको विकास भएमा सल्यान जिल्ला सबैको लागि आकर्षणको केन्द्र बन्न सक्छ ।
पर्यटकीय दृष्टिकोणले ताल तलैया महत्वपूर्ण मानिन्छ । सल्यान जिल्लाको कुपिण्डेदहजस्ता सबै तालहरुको दीगो रुपले संरक्षण गर्ने नीति राज्यसँग हुनुपर्दछ ।
स्थानीय निकायले गर्न सकिने संरक्षणको काम गर्दै ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक महत्वका हिसावले पहिचान भएका ताल तलैयालाई संरक्षण गर्दै पर्यटकीय विकास गर्नुपर्दछ ।
जसले समग्र गाउँदेखि जिल्लाको विकासमा दीगोरुपले आर्थिक सहगोग पुग्छ । अहिले मुलुकभित्र कम प्राकृतिक ताल, हिमाल, झरना, ऐतिहासिक मठ मन्दिर र नेपालीको संस्कृति बचाउन जरुरी छ ।
प्राकृतिक सम्पदा विनास भयो भने राष्ट्रको उन्नती हुन सक्दैन । राष्ट्रको उन्नती र प्रगतीले नै हामी नेपालीहरुको जीवनस्तरको उन्नती हुने हो । यो कुरा सबैले बुझ्न जरुरी छ ।
सल्यान जिल्ला नेपालको ऐतिहासिक जिल्ला हो । यो जिल्ला नेपाल एकीकरण हुनुभन्दा पहिले सौन्य परिवार ले चलाएको सोशान्त राज्य थियो । पछि वाइसे चौविसे राजा कृष्ण शाहको पालामा नेपाल एकीकरण अभियानमा लागेका राजा पृथ्वीनारायण शाहको सल्यान राज्यप्रति घनिष्टता बढ्दै गयो ।
त्यही कारणले पृथ्वीनारायणले आफ्नो छोरी विलास कुमारीलाई कृष्ण शाहको छोरा रण भिम शाहसँग विवाह गरिदिए र दाङको छिल्ली विजौरीदेखि अधिकांश भाग छोरीलाई कुशविर्तासमेत दिएको इतिहास छ ।
वि.सं.१८६९ भाद्र ३ गते नेपाल एकीकरणको क्रममा सल्यान राज्य नेपालमा गाँभिएको हो । त्यसैले सल्यान जिल्लाको ऐतिहासिक एवं प्राकृतिक सम्पदा बचाउन हामी सबै एकजुट बनौ । गाउँ घर र आफ्नो जिल्लामा स्वदेशी एवं विदेशी ग्रामीण पर्यंटकहरुलाई भ्रमण गर्ने वातावरण सिर्जना गरौ अनि बल्ल हुन्छ जिल्लाको विकास ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here