तुलसीपुर, १७ बैशाख । वन क्षेत्रमा बर्षेनी हुने आगलागीका घटना हुन नदिन दाङमा लाखौ रुपैयाँ खर्च हुदै आए पनि आगलागीका घटना भने रोकिएको छैन् । गर्मी मौसमसँगै हावाहुरीका बेला लाग्ने आगोले बर्षेनी सैयौँ हेक्टर वन क्षेत्र सखाप हुँदै आएको छ ।
यस बर्ष पनि अहिले जिल्लाका एक दर्जन बढी वन क्षेत्रमा आगलागी भैरहेको छ । दाङ जिल्लाका बस्तीहरुसँगै वन क्षेत्र पनि आगलागीका उच्च जोखिममा छन् । आगो लाग्न नदिन र लागेपछि पनि तत्कालै नियन्त्रण गर्न सरकारले लाखौ रुपैयाँ खर्च गर्दै आएको छ ।
घोराही उपमहानगरपालिका–४ मा रहेको पालुथान सामुदायिक वन, रामपुर क्षेत्रको सरयू सामुदायिक वन, पाण्डवेश्वर मन्दिरको धार्मिक वन, धर्नाको जनभावना सामुदायिक वन,
गौरी सामुदायिक वन क्षेत्रमा आगलागी भएको वन डिभिजन कार्यालय घोराहीका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए । देउखुरीका केही वन क्षेत्र र बाँके राष्ट्रिय निकुन्जको दाङ खण्डमा पनि आगो लागेको उनले बताए । आगलागी हुँदा वन्यजन्तु मर्ने र वन मासिदै आएको छ ।