तुलसीपुर, ८ माघ । प्रदेशस्तरीय एकल नृत्य तथा गायन नृत्य प्रतियोगिताको दाङ जिल्ला अडिशन सम्पन्न भएको छ । माघ ५ गतेदेखि पहिलो अडिसनअन्तर्गत दाङको तुलसीपुरबाट पि फाईभ सिङ्गिङ एण्ड डान्सिङ प्रतियोगिता सञ्चालन भएको हो । प्रदेश नं. ५ भित्र रहेका नव प्रतिभाहरुको पहिचानका लागि यो प्रतियोगिताको सञ्चालन गरिएको आयोजकले जानकारी दिएको छ । प्रतियोगिता किड्स सेभेन चिल्ड्रेन पार्क प्रालि तुलसीपुर–७ गणेशपुरको आयोजनामा सञ्चालन भएको छ । गत शनिबार तुलसीपुरमा भएको पहिलो अडिसनमा करिब एक सयभन्दा बढी प्रतियोगीहरुले सहभागिता जनाएका थिए । जसबाट ३२ जना नृत्यतर्फबाट छनौट भएका छन् । यस्तै एघार प्रतिस्पधी गायन तर्फबाट छनौटमा परेका छन् । अडिसनमा गायनतर्फका लागि गीतकार एवं संगीतकारद्वय प्रकाश रेग्मी र बच्चु कैलाश निर्णायकमा रहेका थिए । नृत्यतर्फका लागि नृत्य निर्देशक वसन्त राठोर र अशोक आचार्य रहेका थिए । करिब पाँच महिनासम्म निरन्तररुपमा सञ्चालन हुने यो प्रतियोगिता दाङ, बाँके, बर्दियालगायत प्रदेशका विभिन्न स्थानहरुमा समेत सञ्चालन हुँदै छ । तुलसीपुर–७ स्थित राप्ती शान्ति उद्यान पार्कको प्रचारप्रसार र आन्तरिक पर्यटन प्रर्वद्धनका लागि यो प्रतियोगिताको सञ्चालन गरिएको किड्स सेभेन चिल्ड्रेन पार्कका सञ्चालक मन्जीत पुनले जानकारी दिए । उनका अनुसार पहिलो चरण अन्तर्गतको अडिसन विभिन्न जिल्लाहरुमा सञ्चालन हुने भएपनि अन्य सबै अडिसन सोहि पार्क परिसर भित्रनै सञ्चालन गरिने भएको छ ।
गत माघ ५ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगिताको अर्को अडिसन आगामी माघ १९ गते बाँकेको कोहलपुरमा हुँदैछ भने माघ २६ गते बर्दिया जिल्लाको गुलरियामा हुँदैछ । प्रतियोगितामार्फत छनौट भएका प्रतियोगीहरुलाई निष्पक्ष रुपमा उत्कृष्ट छनौट गरिने कार्यक्रम संयोजक सनोद थापाले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको फाइनल राउण्डमा एसएमएस भोटिङ प्रणालीद्वारा उत्कृष्ट घोषणा गरिने छ । प्रतियोगितामार्फत नृत्य र गायन तर्फबाट उत्कृष्ट हुने प्रतिस्पर्धीहरुलाई क्रमशः नगद रु ५१ हजार र ३१ हजार प्रदान गरिनुका साथै कलाकारिता क्षेत्रमा निःशुल्क अवसर प्रदान गरिने भएको छ । यसैबीच दाङमा पहिलो पटक दाङबाट सञ्चालन भएको प्रदेशस्तरीय एकल नृत्य एवं गायन प्रतियोगिताको एक कार्यक्रमका बीच उद्घाटनसमेत गरिएको छ । उद्घाटन कार्यक्रमका अवसरमा गीतकार एवं संगीतकार प्रकाश रेग्मीले सरकार संघीय प्रदेशमा गए लगत्तै प्रदेशस्तरीय एकल नृत्य तथा एकल गायन प्रतियोगिता पहिलो पटक सञ्चालनमा आउँदा सबैमा उमंग छाएको बताए । आफ्ना प्रतिभाहरुले यस्ता कार्यक्रमहरुबाट उचित स्थान पाउने भएकाले उनले सबैलाई यो अवसर नगुमाउनसमेत अनुरोध गरे । यस्तै नवप्रतिभाहरुको सम्मान र उनीहरुको प्रोत्साहनका लागि यसप्रकारका कार्यक्रमहरु समय–समयमा सञ्चालन हुन आवश्यक रहेको कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका दाङ जिल्ला खेलकुद संघका अध्यक्ष सुशील श्रेष्ठले बताए । कार्यक्रम किड्स सेभेन चिल्ड्रेन पार्कका सञ्चालक मन्जित पुनको अध्यक्षतामा भएको थियो । यसैबीच पि फाईभ सिंगिङ एण्ड डान्सिङ प्रतियोगिताको दोस्रो राउण्डको अडिसन आगामी फागुन २६ गते तुलसीपुरमा हुने भएको छ ।
Stay Connected
Must Read