प्राचिन इतिहासमा हाम्रा पूर्वजहरुको घर आजभोलि पर्यटकीय स्थलको रुपमा विकास हुन थालेका छन् । मानिस जंगली युगबाट अहिलेको सभ्यतामा आएको ३५ हजार वर्ष भयो । जंगली युगमा मानवहरुले आफ्नो वासस्थानको रुपमा ओढार, गुफा र यस्तै आफूलाई अनुकूल हुने स्थानमा घाम पानीबाट बच्न आश्रयस्थल बनाउँदथे । जुन कुरा हामीले इतिहासमा पाउछाँै । तिनै आश्रयस्थल अथवा प्राचिन मानव घर आजभोलि पर्यटकीय स्थलको रुपमा विकास हुन थालेका छन् । नेपालमा गुफाको संख्या कति छ ? भन्ने कुरा राज्यसँग पनि तथ्याङ्क छैन । महाभारत पर्वत ग्राफजाईट, ग्रेनाइट, स्लेट, बलौटे ढुङ्गा, र चुन ढुङ्गाले बनेको छ । यो पहाडको लम्वाई मेचीदेखि महाकालीसम्मको दूरी ८८५ किलोमिटर पर्दछ । यसरी बनेको महाभारत पहाडले कुल ६८ प्रतिशत जमिनको भू–भाग ओगटेको छ । यिनै पहाडको सेराफेरोमा रहेका छन प्राकृतिक गुफाहरु । हिमाल पारिको जिल्ला मुस्ताङदेखि लिएर पहाड अथवा महाभारत श्रृंखलाको भू–भागमा गुफाहरु भेटिएका छन् । मेचीदेखि महाकालीसम्मका पहाडी श्रृंखलामा गुफा नभएका जिल्ला विरलै भेटिन्छ । कतिपय हिमाली भूगोल र नदी किनारमा रहेका गुफाहरु प्राचिन कालमा ऋषिमुनीहरुले तपस्या गरेको स्थलहरु पनि मानिन्छन् । ति गुफाहरुलाई अहिले धार्मिक एवं पर्यटकीय स्थलको रुपमा विकास गर्न थालिएको छ । तर कतिपय जिल्लाका गुफाहरु खोजपूर्ण अनुसन्धान हुन नसक्दा पर्यटकीय दृष्टिकोणमा ओझेलमा परेका छन् । गुफालाई प्रकृतिको अतिद्वितीय बरदानको रुपमा लिदा पनि हुन्छ । गुफाभित्रका आकृति हेर्दा आदिम युगमा वर्णन गरिएजस्तै सबै ईश्वर यही छन् कि भन्ने भान पनि पैदा हुन्छ ।
चुन ढुङ्गाको मात्रा बढी भएको पहाडमा धेरै ठाउँमा गुफा भेटिन्छ । चुन ढुङ्गा पानीको वेगको घर्षणबाट खिइने हुँदा, चुनको पहाडमा पानीको स्रोत भयो भने कालान्तरमा ति ठाउँ गुफा बन्न सक्दछ । भू–गर्भविद भन्दछन् चुन ढुङ्गा र पानी भएको स्थानमा गुफा बन्ने र पुरिने क्रम भई नै रहन्छ । कराडौै बर्षको बीचमा यस्तो प्रकृया हुने हुँदा हामीलाई अचम्म लाग्दछ । नेपालमा फेला परेका केही गुफाहरुको अध्ययनले के देखाएको छ भने कतिपय गुफामा प्राचिन कालमा मानवहरुको बसोबास भएको थियो । जसको प्रमाणस्वरुप गुफाभित्र भेटिएका माटोका भाडा, छालाका सामान र यस्तै अन्य मानवले प्रयोगमा ल्याएका सामानले ति कुराहरुलाई प्रमाणित गरेको छ । पछिल्लो समयमा आएर मुलुकभित्र नयाँ ठाउँमा गुफा भेटिएका समाचारहरु पनि बनेका छन् । ति गुफाहरुमा देखिएका विभिन्न स्वरुपका चट्टानका आकृतिहरुलाई ईश्वरीय शक्तिको स्वरुप मानी मानिसहरुद्वारा पूजाआजासमेत गरिएको छ । नयाँ फेला परेका गुफाहरुको नाम पनि गुप्तेश्वर, भुवनेश्वर, शिव, अकलाजस्ता नामले पहिचान गराइएको छ । अहिलेसम्म पहिचान भएका गुफाहरु कुनै न कुनै आध्यत्मिक शक्तिसँग जोडिएर पहिचान दिलाएको छ ।
आखिर गुफा के हो ? कसरी बन्दछ ? यो कुनै शक्तिबाट बनेको हो ? यो जान्न जरुरी छ । जहाँ गुफा हुन्छ, त्यस पहाडमा चुन ढुङ्गा रहेको हुन्छ । चुन ढुङ्गा एउटा कमलो खालको चट्टान हो । भू–गर्भ शास्त्रीहरुका अनुसार चुन ढुङ्गालाई पानीमा रहेको सामान्य कार्वोनिक एसिडले खियाउन सक्दछ । यस किसिमको कार्वोनिक एसिडको उत्पादन आकाशबाट झर्ने पानीका थोपाहरुले हावाबाट कार्वनडाइअक्साइड लिएपछि यसको गति तीव्र हुन्छ । जमिनमा बग्दा पानीले माटोबाट अरु कार्वनडाइअक्साइड लिएर त्यो एसिड झन शक्तिशाली बन्दछ । जहाँ चुन ढुङ्गा छ त्यसक्षेत्रमा बग्ने पानीको धारसँग भएको कार्वोनिक एसिडले चट्टानलाई निरन्तर खियाएर पहाडलाई खोक्रो बनाउँछ । यस्तो क्रम हजारौ बर्षसम्म भैरहने र पानीले चुन ढुङ्गाको चट्टानलाई खियाउँदा पहाडी श्रृंखलामा अहिले भेटिएका गुफाहरु बन्दछन् । भू–गर्भ शास्त्रीको भनाइअनुसार पृथ्वीमा ६ करोड बर्ष अगाडिदेखि कार्वोनिक एसिड बन्न लागेको हो । र अहिले देखिएका गुफाहरु पनि त्यहि समयदेखि बन्न लागेको मानिन्छ ।
गुफाभित्र देखिने विभिन्न आकृतिका बारेमा पनि जान्न जरुरी छ । गुफाभित्र प्रवेश गरेपछि हामीले जुन आकृतिहरु देख्दछौँ, अथवा भन्ने गर्दछौ, यो शिवजीको मूर्ति अथवा पाँच पाण्डप या यस्तै नामहरुले आकृतिहरुलाई हामीहरुले पहिचान गर्ने गर्दछौ । तर त्यसैलाई वैज्ञानिक तथ्य चाहिँ यस्तो छ । हामीले देखेका आकृतिहरु भू–गर्भ विज्ञानको भाषामा स्टेलेक्टाइट र स्टेलेग्माइट भनिन्छ । यसलाई सजिलो तरिकाबाट बुझ्नको लागि माथिबाट झरेको लागि स्टेलेक्टाइट र तल थुप्रिएर चुलिएर आकृति बन्न लागेकालाई स्टेलेग्माइट भनिन्छ । जुन आकृतिहरुलाई हामी देवताको स्वरुप मान्ने गर्दछौ त्यो नै स्टेलेग्माइट हो । किनभने निरन्तर माथिबाट खसेको स्टेलेक्टाइटका पानीको थोपामा चुन मिश्रित खैरो रंगको पानी चुहिरहेको हुन्छ । यस्तो आकृति बन्नको लागि गुफाभित्र हजारौ बर्ष लाग्दछ ।
विशेषगरी बाह्य पर्यटकहरु आउने जिल्लाहरुका गुफाहरुले आजभोलि आम्दानीको स्रोत बन्न थालेका छन् । मुस्ताङ, पोखरा, पर्वतको कुश्माका गुफाले पर्यटकहरुलाई मनोरञ्जन मात्र होइन कतिपयलाई अध्ययनको विषय बन्न सकेको छ । ढिलै भएपनि गुफा भएका जिल्लाबासीहरुले गुफाको महत्व बुझ्न थालेका छन् । अहिले स्थानीय तहहरुले गुफा संरक्षण गर्नको लागि बजेटको व्यवस्था गर्न थालेका छन् । पछिल्लो समयमा आएर पर्यटन विकास बोर्डले पनि पर्यटकहरु पुग्ने जिल्लाका गुफाहरुलाई संरक्षण गर्न चासो देखाउन थालेको छ ।
हाम्रो देशको पहाडमा धेरै ठाउँमा चुन ढुङ्गाका पहाडहरु छन् । महाभारत श्रृंखलाको पहाडमा त चुन ढुङ्गाको खानी नै भेटिएका छन् । त्यसैकारणले हजारौ बर्ष अगाडिदेखि हाम्रा पूर्खाहरुले गुफा भेटाउने, भेटिएका गुफाहरुलाई कुनै आलौकिक शक्तिको नाम दिने, पूजाआजा चलाउने त कतै मेलापातको सुरुवात समेत गर्दै आएका छन् । अहिलेको विज्ञान र प्रविधिले यस्ता गुफाहरुको उत्पत्तीको रहस्यलाई बाहिर ल्याइदिएको छ । गुफा चुन ढुङ्गाको पहाडमा बन्दछ, अथवा गुफा ज्वलामुखीको क्रेटरबाट बन्दछ । वा धाजा फाटेर बन्दछ अथवा नदीमा आउने पानीको छालले काटेर पनि गुफा बन्दछ । जे जसरी गुफा बनेपनि गुफा बन्नु भनेको पृथ्वीको आन्तरिक परिवर्तन हो ।
चाहे जसरी बनेपनि हामी गुफाको संख्यामा धनी छाँै । तर गुफाको बारेमा राज्यको तर्फबाट अध्ययन अनुसन्धान भने हुन सकेको छैन । अहिले आएर सबै जिल्लामा पहिचान बनिसकेका गुफाहरुलाई स्थानीय निकायबाट पर्यटन विकासको लागि केन्द्रविन्दु बनाउन खोजिएको छ । कतिपय जिल्लाका गुफाहरु पर्यटनहरुको लागि मनोरञ्जन दिलाउनको लागि पनि विकास गरिएको छ । पूर्वको हलेसी, पोखराको महेन्द्र गुफा, पर्वत कुश्माको गुप्तेश्वरीजस्ता गुफाहरु उदाहरण लिन सकिन्छ । यस किसिमका हजाराँैको संख्यामा गुफाहरु हाम्रो देशमा भेटिएका छन् । यी बाहेक हरेक जिल्लामा साना ठूला गुफाहरु भेटिएका छन् । भेटिएका गुफाहरुलाई पहिचान दिनेखालको गतिविधि र प्रचारप्रसार भने हुन सकिराखेको छैन ।
अहिले उपल्लो मुस्ताङका विभिन्न गुफामा मानिसको सभ्यताका संकेतहरु फेला परेका छन् । मानव सभ्यताको विषयमा जर्मनी र नेपालका अनुसन्धानकर्ताहरुले पहिलोपटक सन् १९९२ देखि १९९७ सम्म गुफाको बारेमा अनुसन्धान गरेका थिए । अनुसन्धानको क्रममा गुफामा सबैभन्दा पुरानो मानव शब फेला परेको थियो । मुक्तिनाथ उपत्यकामा रहेको मेद्राकमा फेला परेको शवको डिएनए परीक्षण गर्दा त्यो शव इशापूर्व ४०० को मानिएको र डिएनए परीक्षणले पत्ता लगाएको मितिअनुसार त्यो शव दुई हजार चार सय १४ बर्ष पुरानो मानिएको छ । त्यस अनुसन्धानले मुस्ताङको प्राचीन सम्यताको अध्ययन भएको छ । त्यस शवलाई सार्वजनिक प्रदर्शनका लागि राष्ट्रिय संग्राहलयमा राखिने भएको छ । पछि अध्ययनको लागि अमेरिकाको क्यालिफोर्नियास्थित मर्सेट विश्वविद्यालयका डिन मानवशास्त्री मार्क एडलेण्डरफर रक क्लाइम्बर पिटर एथेन्सका साथ उपल्लो मुस्ताङ पुगे । त्यहाँका रहस्यमय गुफाभित्र लुकेको पुरातात्विक तथा मानव शास्त्रीय अध्ययन गर्न थाले । डोरीको सहयोगले अनकन्टार भीर उक्लदै गुफाभित्रको अध्ययन सुरु भयो । उपल्लो मुस्ताङको साम्जोङको गुफामा मानव हाड र एउटा सुनको मखुण्डो फेला परेको छ । गुफाभित्र मानव कंकालहरु पुरिएर रहेको फेला परेको थियो । अनुसंन्धानकर्ताहरुले केही कंकालहरु जम्मा गरेर मानव आकृतिमा ढाल्ने काम गर्नुका साथै डिएनएसमेत संकलन गरेको छ । गुफामा बहुमूल्य गरगहना फलाम र तामा प्रयोग गरिएका चक्कु, फलामका किल्लाहरु, तामाका भाँडा पनि भेटिएका छन । प्राचीनकालमा गहनाका रुपमा प्रयोग गरिने पुलिक, सीमालाजस्ता बहुमूल्य गहनाहरु हजारौंको संख्यामा प्राप्त भएको अनुसन्धानकर्ताले बताएका छन् । अनुसन्धान टोलीले शव राख्ने बाकसमा विभिन्न प्रकारका चित्रसमेत फेला पारेको छ । त्यसबेला मानिसको गतिविधि कम हुने र अग्लो ठाउँमा शवलाई गाड्ने चलन रहेको थियो भन्ने अनुमान लगाएका छन् ।
मुस्ताङमा धेरै ठाउँमा मानव बसोबास गर्ने गुफाहरु फेला परेका छन । मानव बसोबास गर्ने गुफाहरु निक्कै ब्यवस्थित र वैज्ञानिक रहेको पाइएका छन् । बसोबासका लागि प्रयोग गरिएका गुफाहरु अग्लो पहाडमा छन् । प्राचिनकालमा सुरक्षाका हिसावले उनीहरुले बसोबासका लागि अग्लो ठाउँ रोजेका हुन सक्ने अनुमान गरिएको छ । एउटा गुफाभित्र विभिन्न तलाहरु पनि निर्माण गरिएका छन् । तला चढ्न त्यहाँ एक खुट्टे वा दुई खुट्टे भ¥याङको प्रयोग गरिएको, भ¥याङमाथि घोप्टेको प्रयोग गरिएको भेटिएको छ । छैटौं शताब्दीका सभ्यताको संकेत दिने मुस्ताङका गुफाहरुमा चैत्यहरु पनि फेला परेका छन् । त्यसबेला मुस्ताङमा बौद्ध धर्मको प्रभाव निक्कै परेको अनुमान गर्न सकिन्छ । त्यो शताब्दीमा तिब्बतका राजाको निमन्त्रणामा बौद्ध धर्म प्रचारका लागि भारतको विहारस्थित नालन्दा महाविहारका पण्डित पद्मसम्भव नेपालको बाटो हुँदै तिब्बत गएका थिए । बौद्ध मतअनुसार तपस्याका लागि उनी काठमाडौंको फर्पिङ, खोटाङको हलेसी र मुस्ताङको मुक्तिनाथ पनि पुगेका थिए । सम्भवत उनकै प्रभावका कारण मुस्ताङका गुफाहरुमा धेरै चैत्यहरु खडा गरिएको अनुसन्धानको भनाइ रहेको छ ।
उपल्लो मुस्ताङको भ्रमणमा जाने अधिकांश पर्यटक गुफामा पुग्ने गरेका छन् । पहाडमा निर्मित गुफा भएकाले अवलोकनका लागि त्यहाँ मानिसहरुको भिड लाग्ने गर्दछ । गुफामा भित्र मानिसले प्रयोग गर्ने भाँडाकुडा, लगाउने लत्ताकपडा, जुत्ता, चप्पल, शत्रुसँग लड्न बनाएका धातुका साम्रागीका साथै विभिन्न किसिमका ऐतिहासिक बस्तु, खाना पकाउने भान्सा, सुत्ने कोठा, शौचालय समेत रहेको छ । उपल्लो मुस्ताङका स्थानीय बासिन्दाहरुले गुफालाई शत्रुलाई परायज गरेको दरबारका रुपमा लिने गरेका छन् । करिव २५ सय बर्ष अगाडि हजगाभा भन्ने तिब्वतीयन समूहले गाउँमा पटक–पटक आक्रमण गर्न खोजेपछि गाउँले बालबालिका लिएर झोङ गुफा बनाएर बसोबास गरेको गरेको भनाइ रहेको छ ।
अहिले मुस्ताङमा एक्याप भन्ने संस्थाले भ्रमणमा आएका आन्तरिक तथा बाह्य पर्यटकहरुलाई गुफाको बारेमा जानकारी गराउने काम गर्दै आएको छ । उपल्लो मुस्ताङमा पर्ने छुसाङ, चराङ, घमी, सुर्खाङ, लोमान्थाङ, छोन्हुप र छोसेर गाविसमा रहेका ऐतिहासिक गुम्बा, दरबार, गुफा संरक्षण नहुँदा भग्नावशेषमा परिणत हुन थालेका छन् । उपल्लो मुस्ताङलाई विश्वको उत्कृष्ट १० भ्रमण स्थलको सूचीमा पर्दछ । उपल्लो मुस्ताङको भौगोलिक, साँस्कृतिक, भाषिक, प्राकृतिक सौन्दर्यतालगायतका आकर्षकको बारेमा प्रचारप्रसार हुनुको कारणले अहिले आन्तरिक एवं वाह्य पर्यटनको संख्या बढ्दै गएको छ । तिब्बती खम्पा विद्रोही धेरै वर्ष उपल्लो मुस्ताङमा बसे । तत्कालीन सरकारले खम्पा विद्रोह निस्तेज पार्न सफल भयो । तिब्बती खम्पा बसेको ठाउँ भएकाले पनि अहिले आन्तरिक एवं बाह्य पर्यटकका लागि मुस्ताङ उत्सुकताको विषय बनेको छ । कलात्मक पहाड, उजाड मरुभूमिजस्तै भूगोल, माटोले बनाइएका घर, हिमाली जीवनशैली, पुरानो तिब्बती संस्कृति, ऐतिहासिक गुम्बा, गुफा र छोर्तेन, चीनको तिब्बतसँग सीमाना जोडिएको उपल्लो मुस्ताङका मुख्य पर्यटकीय आकर्षण हुन् ।
विशेषगरी बाह्य पर्यटकहरु आउने जिल्लाहरुका गुफाहरुले आजभोलि आम्दानीको स्रोत बन्न थालेका छन् । मुस्ताङ, पोखरा, पर्वतको कुश्माका गुफाले पर्यटकहरुलाई मनोरञ्जन मात्र होइन कतिपयलाई अध्ययनको विषय बन्न सकेको छ । ढिलै भएपनि गुफा भएका जिल्लाबासीहरुले गुफाको महत्व बुझ्न थालेका छन् । अहिले स्थानीय तहहरुले गुफा संरक्षण गर्नको लागि बजेटको व्यवस्था गर्न थालेका छन् । पछिल्लो समयमा आएर पर्यटन विकास बोर्डले पनि पर्यटकहरु पुग्ने जिल्लाका गुफाहरुलाई संरक्षण गर्न चासो देखाउन थालेको छ ।
आन्तरिक एवं वाह्य पर्यटनलाई गुफाको अवलोकन गराउन सडक, पानी र आवासको राम्रो प्रवन्ध हुन जरुरी छ । यसपछि अर्को पक्ष हो सुरक्षा । गुफामा जाने जो कोहिलाई पनि सुरक्षाको ग्यारेन्टी दिलाउन पर्दछ । जसले गर्दा त्यहाँ पुग्ने मानिसहरुलाई असुरक्षाको अवस्था सिर्जना नहोस् । अनि मात्र गुफाको अध्ययन, अनुसन्धान र गुफामा पुग्ने पर्यटकहरुको संख्या बढ्दै जाने छ ।