मोफसलमा चलचित्र पत्रकारले चर्चा पाईरहेका बेला भदौ ४ गते संघले वार्षिकोत्सवको अवसरमा भव्य कार्यक्रम गर्दै छ । कार्यक्रममा अहिलेका सुपर स्टार नायक पल शाहलगायत अन्य कलाकार आउँदै छन् । कार्यक्रमकै सन्दर्भमा रही चलचित्र पत्रकार संघ दाङ शाखाका अध्यक्ष ध्रुवराज न्यौपाने (डि.आर.एन.)सँग प्रदेश टुडेकर्मी पूर्ण के.सी. मुस्कानले गरेको कुराकानीको सारसंक्षेप ।
पूर्ण के.सी. (मुस्कान)
भदौ ४ को तयारी पूरा भयो, अब के गर्न बाँकी छ ?
चलचित्र पत्रकार संघ दाङले भदौ ४ गते ख्यातिप्राप्त सँगै वार्षिकोत्सव धुमधामका साथ मनाउने तयारी गरेको छ । सामान्य काम बाहेक तयारी पूरा भएको छ । शनिबार हामीले पत्रकार सम्मेलन गरेर कार्यक्रम पूरा भएको जानकारी गरायौँ । कलाकार भदौ ३ गते आउने कुरा छ, हामीले ४ गते दिउँसो १२ बजे उनीहरुलाई विष्णु हल तुलसीपुरको स्टेज चढाउने छौँ ।
भदौ ४ मा के–के हुन्छ ? सबैलाई चासो छ नि ?
कुनै विशेष पर्व जस्तै हुन्छ, भदौ ४ मा । किनभने चर्चित चर्चित कलाकार र विशिष्ठ व्यक्तिको जमघट हामी गराउँदै छौँ । सेडुलअनुसार औपचारिक कार्यक्रमबाट हाम्रो कार्यक्रम सुरु हुनेछ । सम्मान कार्यक्रम, मनोरञ्जननात्मक कार्यक्रम हुन्छ । हलमा कार्यक्रम सकेपछि अन्तरक्रिया कार्यक्रम पनि सोहि दिन भदौ ४ मा हुनेछ । तपाईले भने जस्तै हाम्रो कार्यक्रमको अहिले चौतर्फि चर्चा छ । हामी अत्यन्तै खुशी छाँै ।
पल शाहलाई नै किन दाङ भित्र्याउँदै हुनुहुन्छ । अरु धेरै कलाकार थिए पनि थिए नि ?
पल शाह दाङको कलाकार हो, पलले अहिलेसम्म कुनै पनि स्टेज कार्यक्रममा पुगेका छैनन् । चलचित्र पत्रकार संघले भदौ ४ मा तुलसीपुरमा विष्णु हलको स्टेज चढाउने छ । यो नयाँ गर्दैछौँ । अनि गायक कृष्ण काफ्ले, सहिमा श्रेष्ठ, बरिष्ठ रंग पत्रकार शान्ति प्रिय, सन्तोष श्रेष्ठ, लोकराज अधिकारी लगायत स्थानीय कलाकारलाई पनि समेट्ने छौँ । दाङका कलाकारलाई सम्मान गर्ने, प्रोत्साहन गर्ने हाम्रो उद्देश्य हो । दाङलाई चलचित्र नगरी बनाउनु छ, त्यसैले पनि वार्षिकोत्सवमा हामीले यति ठूलो कार्यक्रम गर्ने योजना बनाएका हौँ ।
खुल्ला मैदानमा पनि कार्यक्रम गर्न सकिन्थ्यो फिल्म हलमा किन ?
अहिले कतिबेला पानी पर्छ थाहा हुँदैन, बर्षाको समय छ, त्यसैले हलमा कार्यक्रम भयो भने ढुक्क हुने र दर्शकले पनि मजाले मनोरञ्जन गर्ने भएकाले हल रोजियो । फेरि चलचित्रसँग जोडिएको संस्था भएकाले पनि हलमै गर्नुपर्छ भन्ने हामीलाई लाग्यो ।
यो कार्यक्रमलाई दर्शकले साथ देलान् त ?
कार्यक्रमको चर्चाको हिसाबले हल भरिभराउ हुन्छ । आजभोलि फिल्म नचलिरहेको अवस्थामा हाम्रो कार्यक्रम चाहिँ निश्चित रुपमा हल भरिभराउ हुन्छ । धेरैले अग्रीम टिकट बुक गरिसक्नुभएको छ । कार्यक्रम सोचेभन्दा उत्कृष्ट र भव्य हुनेमा हामी ढुक्क छौँ ।
पहिलो पटक चलचित्र पत्रकार संघले यस्तो कार्यक्रम गर्दै छ । सिकाइ कस्तो भयो ?
चलचित्र पत्रकार संघले धेरै कलाकारहरुसँग विभिन्न समयमा अन्तरक्रिया कार्यक्रम गरिरहन्छ । तर यो पटकको कार्यक्रम अलि फरक छ । त्यसैले पनि विभिन्न चुनौति आए र सिकाइ पनि भयो । व्यवस्थापन, आर्थिकलगायत धेरै पाटोमा सिक्ने अवसर पाइयो ।
भदौ ४ को लागि आम पाठकलाई के भन्नुहुन्छ ?
तपाई नेपाली चलचित्र पारखीलगायत यो अन्तरर्वार्ता पढ्ने जो कोहि भदौ ४ को कार्यक्रममा आउनुहोस्, ख्यातिप्राप्त कलाकारसँग रमाउनुहोस् । तुलसीपुरको विष्णु सिनेमा हल, पार्क क्याफेलगायत तुलसीपुरका सबै सञ्चारमाध्यममा टिकट उपलब्ध छ । आजै टिकट बुक गरी भदौ ४ मा आउन हार्दिक अनुरोध गर्दछु र प्रदेश टुडे परिवारलाई चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यक्रमलाई समेटेकोमा धन्यवाद दिन चाहन्छु ।