तुलसीपुर, ८ साउन ।
नमुना महिला सामुदायिक वन उपभोक्ता समुह तुलसीपुर उप–महानगरपालिका वडा नम्बर ३ दमारगाउँमा बुधबार वृक्षारोपण गरिएको छ । सामुदायिक वनको खाली रहेको करिव ५ हेक्टर क्षेत्रफलमा विभिन्न जातका दुई हजार विरुवा वृक्षारोपण गरिएको हो । वन समूहले खाली रहेको जग्गामा रहेको अनावश्यक झाडी सरसफाई गरी चिउरी, सिसौ, बकाईनो र स्टक जातका बिरुवा लगाएको छ ।
उक्त अवसरमा वन समूहका पदाधिकारी, समाजसेवी, उपभोक्ता, विभिन्न संघसंस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो । सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रक्षा काफ्लेको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ३ का अध्यक्ष विजय विकको प्रमुख आतिथ्यतामा भएको वृक्षारोपण कार्यक्रमका बोल्दै अध्यक्ष विकले वृक्षारोपण गरिएका बिरुवाहरुलाई सतप्रतिशत हुर्काउनतर्फ ध्यान दिन समूहलाई आग्रह गरे ।
प्रत्येक वर्षजस्तै वृक्षारोपण गर्ने तर बिरुवाहरु नहुर्कने समस्या देखिएको भन्दै त्यसको अन्त्यका लागि सबै उपभोक्ताहरु लागिपर्नु पर्ने सुझाव दिए । उपमहानगरले बिरुवा हुर्काउनेहरुलाई प्रोत्साहन स्वरुप केही रकमसमेत उपलव्ध गराउन अध्यक्ष विकको भनाई रहेको थियो । उक्त अवसरमा वन समूहका सल्लाहकार बालाराम गौतम, टाईगर युवा क्लवका अध्यक्ष दिनेश गुरुङ, वन कार्यालयका कर्मचारी कुलबहादुर रेउलेलगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण समूहका सचिव सुरेन्द्र गुरुङले गरेका थिए ।
Stay Connected
Must Read