घोराही, ८ साउन ।
नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेपालको राष्ट्रियता खतरामा रहेको बताएका छन् । संघीयता, धर्म निरपेक्षताकै कारण राष्ट्रियता गम्भीर खतरामा रहेको उनले बताए ।
परिवर्तनलाई संस्थागत हुन नसक्दा देशको राष्ट्रियता गम्भीर संकटमा छ, सिंहले भने, अब राष्ट्रियता रक्षाको आवश्यक हुन थाल्यो । अहिले भइरहेका विभिन्न गतिविधिका कारण नेपालमा संकट उत्पन्न भइरहेको उनले बताए । सिंहले संघीयताको कुनै औचित्य नभएको र नेपालमा संघीयता आवश्यक पनि नभएको ठोकुवा गरे । ‘नेपाललाई धर्म निरपेक्षता घोषणा गर्दा हिन्दूधर्म चाहिन्छ भन्नेहरुले फेरी राजतन्त्र फर्काउन सक्छन्’ छलफल चौतारी दाङले मंगलबार आयोजना गरेको छलफल कार्यक्रममा सिंहले भने, ‘यसको नै नेपालको राष्ट्रियता बढी खतरामा छ ।’ यही अवस्थामा गए राजा फेरी फर्कन्न भन्न सकिदैन फर्कन सक्छन् ।
धर्म निरपेक्षता घोषणा गर्दा कसैको धर्ममा आँच पुगेको छैन् तर हिन्दूलाई चिनाउन हिन्दू राष्ट्र घोषणाको माग गर्दा फेरि मुलुक संकटमा पर्नसक्ने उनले बताए । भू–राजनीतिको कारणले पनि नेपाल खतरामा रहेको उनको भनाइ छ । भारतले नेपाललाई उहिल्यै नै खाइसकेको हुन्थ्यो उनले भने, यदि उत्तरतर्फ चीन नभएको भए । नेपालको राष्ट्रियता जोगाउनको लागि विचारमा फरक भएपनि एक हुनुपर्ने र भारतसँग मैत्रीपूर्ण सम्बन्ध बढाएर जानुपर्ने उनले बताए । नेपालमा दलित जातिको आधारमा छुवाछुत अन्त्य गर्नको लागि कानुन बनेको छ, कार्यान्वयन हुन सकिरहेको छैन । त्यस्तै भ्रष्टाचार नियन्त्रणको लागि पनि कानुन छ, विकास निर्माणमा सम्झौता हुन्छन्, कार्यान्वयन हुँदैनन् । यो नेपालको लागि दीर्घकालिन रोग भएको छ । भारतको अवधारणा नेपालमा संघीयता आएको बताएका सिंहले मधेसीहरुले संघीयता अगाडि सारे, नेपाली काँग्रेस र माओवादीले समर्थन गरे तर यसको कुनै आवश्यकता नै थिएन्् ।
नेपालमा दलित जातिको आधारमा छुवाछुत अन्त्य गर्नको लागि कानुन बनेको छ, कार्यान्वयन हुन सकिरहेको छैन । त्यस्तै भ्रष्टाचार नियन्त्रणको लागि पनि कानुन छ, विकास निर्माणमा सम्झौता हुन्छन्, कार्यान्वयन हुँदैनन् । यो नेपालको लागि दीर्घकालिन रोग भएको छ ।
नेपालमा प्रदेश संरचना, मन्त्री मण्डल, प्रदेश राजधानीको पूर्वाधारको कुनै औचित्य नभएको समेत उनले बताए । नेपालको सुरक्षा र दिगो विकासको लागि प्रदेश संरचना खारेज गरेर स्थानीय तहलाई थप बलियो बनाउनु पर्ने उनको भनाइ रहेको छ । अहिलेको आवश्यकता भनेको नेपालमा औद्योगिक क्षेत्र विस्तार गरेर आर्थिक समृद्धि गर्नुपर्ने रहेको बताउँदै सरकारले चाहेमा पूरा हुनसक्ने उनले बताए ।
नेपालमा कम्युनिष्ट सरकार बनेकाले आर्थिक समृद्धि गर्नसक्ने सम्भावना भएको बताएका सिंहले कम्युनिष्ट नेताहरुमा मुलुकको आर्थिक समृद्धिभन्दा पनि नेता कसरी समृद्धिमा हाबी हुने बताए । पुँजीवादले औद्योगिक विकासको काम पँुजीवादले गरिसकेकाले आजको आवश्यकता समाजवादको रहेको उनको भनाइ रहेको छ । नेपालमा नयाँ जनवादीको आवश्यक रहेको बताउँदै ‘नेपालमा ठूला औद्योगिक क्षेत्र, ब्यापार, व्यवसायको खाँचो छ । अब त्यो नयाँ जनवादीले मात्रै गर्नसक्छ, नाम जेसुकै दिनुस् ।’ कम्युनिष्टहरुको क्रान्तिकारी कमजोर बन्दै गएको उनले बताए ।
कम्युनिष्ट क्रान्तिकारीहरुको शक्ति कमजोर बन्दै गईरहेको छ । कम्युनिष्टहरु पनि साम्यवादमा जाने हुन् कि भन्नेमा गम्भीर प्रश्न उठेको छ । नेपालमा कम्युनिष्ट भविष्य उज्ज्वल भएको बताउँदै उनले भविष्यप्रति आशावादी हुनुपर्ने समेत बताए । कम्युनिष्टहरुले समाजवादको लागि अझै नै आन्दोलन गर्नुपर्ने उनको भनाइ रहेको छ । छलफल चौतारीका संयोजक सुशील गौतमको अध्यक्षतामा आयोजना भएको कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले गरेका थिए ।