तुलसीपुर, ८ साउन ।
ईलाका प्रशासन कार्यालय तुलसीपुरले गएको आर्थिक बर्ष ०७४÷७५ मा १२ हजार बढीलाई नागरिकता वितरण गरेको छ । ईलाका प्रशासन कार्यालयका सूचना अधिकारी यादवप्रसाद भुसालले कार्यालयमा र घुम्ती शिविरबाट गरी १२ हजार २ सय ३२ जनालाई नागरिकता वितरण गरिएको जानकारी दिएका छन् । उनका अनुसार गएको आर्थिक बर्ष ०७४÷७५ को साउनदेखि असार मसान्तसम्म ८ हजार ८ सय ५८ जनालाई नयाँ नागरिकता वितरण गरिएको छ ।
यस्तै हराएको वा झूठो भएकोलाई पुराना नागरिकताको प्रतिलिपि २ हजार ५ सय ७४ गरी जम्मा ११ हजार ४ सय ३२ जनालाई वितरण गरिएको छ । साथै ईलाका प्रशासन कार्यालय तुलसीपुरले विभिन्न स्थानमा नागरिकता वितरण गर्नको लागि घुम्ती शिविर कार्यक्रम सञ्चालन गरी ८ सय जनालाई नागरिकता वितरण गरेको भुसालले जानकारी दिए । भुसालका अनुसार तुलसीपुर उपमहानगरपालिकाका वडा नम्वर ३, १३, १४ र १५, बबई गाउँपालिका वडा नम्बर ३, शान्तिनगर गाउँपालिका वडा नम्बर ३ र दंगीशरण गाउँपालिकाको वडा नम्बर २ मा घुम्ती शिविर कार्यक्रम सञ्चाल नगरिएको बताए ।
सूचना अधिकारी भुसालका अनुसार कार्यालयबाट गएको आर्थिक बर्ष ०७४÷७५ को साउनदेखि असार मसान्तसम्म तुलसीपुरबाट ३ हजार २ सय ६३ जनालाई राहदानी वितरण गरिएको छ भने ईलाका प्रशासन कार्यालयबाट सिफारिस लिएर काठमाडौँको राहदानी विभागबाट राहदानी बनाउनेको संख्या १ हजार ८ सय १४ जना रहेको छ ।
आर्थिक बर्ष ०७४÷७५ को साउनदेखि असार मसान्तसम्म ५ हजार ७७ जनाले राहदानी बनाएका छन् भने आर्थिक बर्ष ०७३÷७४ मा ४ हजार ९ सय ५६ जनाले राहदानी बनाएको ईलाका प्रशासन कार्यालयका सूचना अधिकारी यादवप्रसाद भुसालले जानकारी दिए । राहदानीबाट गत आर्थिक बर्ष ०७४÷७५ मा १ करोड, ७६ लाख ६२ हजार ५ सय राजस्व संकलन भएको छ भने गत आर्थिक बर्ष ०७३÷७४ मा १ करोड ७६ लाख ३८ हजार ५ सय राजस्व संकलन भएको सूचना अधिकारी भुसालले बताए । आर्थिक बर्ष ०७३÷७४ मा भन्दा आर्थिक बर्ष ०७४÷७५ मा १ लाख ७१ हजार ९ सय २१ रुपैयाँ बढी राजस्व संकलन भएका उनले बताए । यस्तै लाइसेन्स नवीकरणबाट १ हजार ९ सय र अन्यबाट ४ हजार ९ सय २१ गरी जम्मा १ करोड ७८ लाख १० हजार ४ सय २१ रुपैयाँ राजस्व संकलन गरिएको छ । मादकपदार्थ सेवन गरेका २४ जना रहेका छन् र जसबाट २४ हजार रुपैयाँ राजस्व संकलन भएको छ । गत बर्षको तुलनामा पछिल्लो अवस्थामा राहदानी बनाउनेको संख्यामा बृद्धि भएका कारण राजस्वमा पनि बृद्धि भएको बताए । पहिले खाडी मुलुकमा रोजगारीमा जानको लागि राहदानी बनाउने गरेता पनि अहिले भने भेटघाट र घुमघामको लागि राहदानी बनाउने संख्यामा बृद्धि भइरहेको उनको भनाइ छ । उनका अनुसार हाल अहिले दैनिक २० जनादेखि ३०÷४० जनाले राहदानी बनाउने गरेका छन् । जसमा २५ प्रतिशत महिला र ७५ प्रतिशत पुरुषहरु आउने गर्छन् भुसालले भने । अहिले खाडी मुलुकभन्दा विकसित (अमेरिका, अष्ट्रेलिया, जापान, कोरिया) मूलुकमा जानेहरुको संख्या धेरै रहेको उनको भनाइ रहेको छ ।
यसैबीच ईलाका प्रशासन कार्यालय तुलसीपुरले गएको आर्थिक बर्ष ०७४÷७५ मा लक्ष्य अनुसारको काम सम्पन्न गरेको छ । नेपाल सरकारले दिएको लक्ष्य अनुसारको काम सम्पन्न भएको कार्यालयले जनाएको छ । ईलाका प्रशाासन कार्यालयको बितेको आर्थिक बर्ष ०७४÷७५ मा प्रशासनिकतर्फ ५८ लाख ५० हजार ६४ रुपैयाँ २३ पैसा खर्च भएको छ भने पुँजीगततर्फ एक करोड २४ लाख ७८ रुपैयाँ ४४ पैसा खर्च भएको ईलाका प्रशासन कार्यालयका सूचना अधिकारी यादवप्रसाद भुसालले जानकारी दिए ।