घोराही, ५ असार ।
बिमा समितिले कृषि बिमा गर्ने कृषकको पनि अनिवार्य रुपमा दुर्घटना बिमा गर्नुपर्ने व्यवस्था गरेको छ । कृषकलाई कृषि बिमाप्रति आकर्षण गर्न समितिले यस्तो व्यवस्था गरेको हो । कृषि बिमा गरेका कृषकहरुको दुई लाखसम्म दुर्घटना बिमा हुने भन्दै बिमा कम्पनीले दुर्घटनामा परेर मृत्यु हुने कृषकले मात्रै यस्तो योजनाबाट क्षतिपूर्ति बापतको रकम पाउने छन् ।
बिमा समितिका उपनिर्देशक कुन्दन सापकोटाका अनुसार कृषि बिमा गर्दा अनिवार्य रुपमा कृषकको पनि दुर्घटना हुने व्यवस्था गरिएको छ । गत बैशाखदेखि यो व्यवस्था कार्यान्वयनमा आएको यो बिमा योजनापछि कृषि बिमा गर्ने कृषकहरुको सख्ंया पनि बढेको सापकोटा बताएका छन् । समितिले सम्पूर्ण बिमा कम्पनीहरुलाई कृषि बिमा गर्दा अनिवार्य रुपमा दुर्घटना बिमा गर्न निर्देशन दिइसकेको छ । कृषि बिमासँगै दुर्घटना बिमा पनि जोडेपछि अहिले एकैघरका विभिन्न पशु र बालीनालीको छुट्टाछुट्टै ब्यक्तिको नाममा बिमा हुने क्रम बढेको उनले वताए । दुर्घटना बिमाको अवधि कृषि बिमाको अवधि बराबरको हुनेछ । सापकोटाका अनुसार एक वर्षभन्दा कमको कृषि बिमामा कृषकले थप ५० रुपैयाँ तिर्नुपर्छ । एक वर्षको भन्दा बढी अवधिको कृषि बिमा भएमा भने कृषकले थप एक सय रुपैयाँ तिर्नुपर्छ । कृषि बिमाको शुल्कमा सरकारले अहिले ७५ प्रतिशत अनुदान दिएको छ । अर्थात कृषि बिमाको २५ प्रतिशत शुल्क कृषकले तिरेमा ७५ प्रतिशत रकम सरकारले तिर्ने व्यवस्था छ ।
Stay Connected
Must Read