घोराही, २ असार ।
दाङमा विकास निर्माणको आयोजनामा चालु आर्थिक वर्षको एक महिनाको अवधिमा कुल बजेटको करिव २५ प्रतिशत बजेट सक्नुपर्ने भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा कुल बजेटको ७४ दशमलव १९ प्रतिशत रकम मात्र खर्च भएपछि एक महिनामा करिब २५ प्रतिशत रकम खर्च गर्नुपर्ने बाध्यता भएको हो ।
जिल्लामा यस आर्थिक वर्षका लागि चालु र पुँजीगततर्फ गरी १६ अर्ब ५७ करोड २९ लाख ७४ हजार ६ सय २५ रुपैयाँ विनियोजन भएको थियो । जसमा चालु र पुँजीगततर्फको खर्च जेठ महिनाको अन्तिमसम्ममा झण्डै १४ रुपैयाँ निकासा भएको कोष तथा लेखा नियन्त्रक कार्यालय
(कोलेनिका) दाङका कोष नियन्त्रक प्रमुख सुकदेव बास्कोटाले जानकारी दिए । जिल्लामा पुँजीगत अर्थात् विकास निर्माणका लागि ८ अर्ब ४९ करोड ३ लाख ४१ हजार बजेट छुट्याइए पनि जेठ २७ गतेसम्म ६ अर्ब २९ करोड ८९ लाख ६५ हजार ९ सय ३२ रुपैयाँ निकासा भएको प्रमुख कोष नियन्त्रक बास्कोटाले बताए । उनका अनुसार, आगामी एक महिनामा साढे २ अर्बभन्दा बढी रकम खर्च गर्नुपर्ने देखिएको छ । आर्थिक वर्षकोे एक महिना मात्र बाँकी रहदा दाङका विभिन्न कार्यालय र आयोजनाका लागि प्राप्त बजेट खर्च हुन नसकेको देखिएको छ ।
आर्थिक वर्ष सकिन लाग्दा समेत पुँजीगततर्फको २५ प्रतिशत बजेट सदुपयोग हुन नसक्नुले विकास निर्माणको काम प्रभावित भएका दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल बताउँछन् । उनले आर्थिक वर्षको अन्तिमतिर वर्षायाममा बढी काम हुने गरेको र वर्षाद्मा गरिएको कामको कुनै गुणस्तर पनि नहुने बताए । ‘जिल्लामा विकास निर्माणका लागि आएको बजेट अनुसार समयमै काम गर्न र गराउन सम्बन्धित निकायको ध्यान जान जरुरी छ’ उनले भने । आर्थिक वर्षको अन्तिम महिनामा हतारमा काम गरेर अधिकांश कार्यालय र आयोजनाहरुले केही रकम खर्च गरे पनि करोडौ रुपैयाँ फ्रिज हुने देखिन्छ । तर, कामहरु भइरहेको र रकम मात्र निकासा नभएकाले पुँजीगत तर्फको बजेट बढी खर्च नभएको देखिएको प्रमुख कोष नियन्त्रक बास्कोटा बताउँछन् ।
दाङमा विकास निर्माणको आयोजनामा चालु आर्थिक वर्षको एक महिनाको अवधिमा कुल बजेटको करिव २५ प्रतिशत बजेट सक्नुपर्ने भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा कुल बजेटको ७४ दशमलव १९ प्रतिशत रकम मात्र खर्च भएपछि एक महिनामा करिब २५ प्रतिशत रकम खर्च गर्नुपर्ने बाध्यता भएको हो ।
कोलेनिका दाङबाट प्राप्त तथ्याङ्कमा सहरी विकास भवन निर्माण कार्यालय, सडक डिभिजन, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, जिल्ला समन्वय समिति, ईलाका प्रशासन कार्यालय तुलसीपुर, नापी कार्यालय लमही, कारागार कार्यालय तुलसीपुर लगायतले ठूलो बजेट खर्च गर्न नसकेको देखिएको छ ।
चालू आर्थिक वर्षका लागि सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयले पाएको ५८ करोड २९ लाख ९३ हजार मध्ये २८ करोड २६ लाख ४२ हजार २ सय २ रुपैयाँ मात्र रकम निकासा भएको कोलेनिका दाङले जनाएको छ । यस कार्यालयले आगामी असार महिनासम्म करिब ३० करोड रुपैयाँ खर्च गर्नुपर्ने देखिएको छ । त्यस्तै, डिभिजन सडक कार्यालयले पाएको १ अर्ब २२ करोड ९० लाख ३४ हजार बजेटमध्ये जेठ २७ गतेसम्म ६१ करोड ५५ लाख ६ हजार ८ सय ६ रुपैयाँ मात्र खर्च गरेको छ । उसले अबको एक महिनामा ६१ करोड ३५ लाख २७ हजार एक सय ९३ रुपैयाँ खर्च गर्नुपर्नेछ ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङले ३१ करोड ९३ लाख ७ हजार बजेट पाएकोमा जेठ २७ गतेसम्म १३ करोड ६४ लाख ६९ हजार २१ रुपैयाँ मात्र खर्च गरेको छ । त्यस्तै, आगामी असार मसान्त अर्थात् डेढ महिनाभित्र वर्षायाममा नापी कार्यालय लमहीले ३ लाख ३ हजार ४ सय, जिल्ला समन्वय समितिको कार्यालयले ८ करोड २३ लाख ४५ हजार ९ सय ७५ खर्च गर्नुपर्ने कोलेनिकाको तथ्याङ्कमा देखिएको छ । कोष नियन्त्रक बास्कोटाले भने–बिगतका वर्षहरुको तुलनामा यस वर्षको खर्च सन्तोषजनक रहेको बताए । उनले राष्ट्रिय गौरवको आयोजनाहरुमा काम भएपनि बजेट अभावका कारण रकम निकासा हुन नसकेको बताए ।