तुलसीपुर, २५ बैशाख ।
तुलसीपुर उप–महानगरपालिकाको शिक्षा शाखामा विद्यार्थी संगठनहरुले लगाएको ताला खोलेका छन् । शिक्षामा सरोकारवालाले ध्यान नदिएको तथा सामुदायिक विद्यालयहरुले मनोमानी शुल्क लिएको विरोधमा पाँच दिनदेखि लागेको ताला मंगलबार भएको सहमतिपश्चात् खुलेको उपमहानगरकाले जनाएको छ । उपमहानगरपालिका, प्याव्सन, एनप्याव्सन र विद्यार्थी संगठनका बीचमा सामुदायिक र संस्थागत विद्यालयहरुले लिइरहेको शुल्कको यथार्थ विवरण संकलन गर्ने र त्यसको बारेमा जेठ २० गतेसम्म निष्कर्षमा पुग्ने निर्णय भएको छ ।
यसैगरी सरकारले घोषणा गरेको १० प्रतिशत छात्रवृत्ति हरेक विद्यालयमा लागु गर्नका लागि कडाई गर्ने, शुल्कका विषयमा निष्कर्षमा नपुग्दासम्म कुनै पनि विद्यालयले कुनै पनि खालको शुल्क लिन नहुने कुरा सहमतिमा उल्लेख गरिएको छ ।
यसैगरी तुलसीपुर उप–महानगरपालिकाको शिक्षासम्बन्धी कुराको अध्ययन र अनुगमन गर्नका लागि उपमहानगरका शिक्षा समिति संयोजक देवराज विश्वकर्माको संयोजकत्वमा समितिसमेत बनाइएको छ । समितिका सदस्यहरुमा अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीका एक÷एकजना प्रतिनिधि, प्याव्सन, एनप्याब्सन, नेपाल पत्रकार महासंघ, नगर प्रवक्ता र सदस्य सचिवमा प्रेस संयोजक बसन्त विवश आचार्य रहेका छन् ।
उपमहानगरपालिकाको नेतृत्वमा उपमहानगरका प्रवक्ता, शिक्षा शाखा अधिकृत र विद्यार्थी संगठनहरुले मंगलबार नै तुलसीपुरका विभिन्न विद्यालयको अनुगमन गरेका थिए । उनीहरुले अनुगमनका क्रममा विद्यालयको शुल्क, सेवा सुविधा र छात्रवृत्तिका बारेमा जानकारी संकलन गरिएको थियो ।
Stay Connected
Must Read