तुलसीपुर, २० बैशाख ।
नेपाली काँग्रेसका वडा सभापतिहरुको भेला तुलसीपुरमा सम्पन्न भएको छ । नेपाली काँग्रेस तुलसीपुर नगरसमितिको आयोजनामा भएको भेलाले विभिन्न निर्णयसमेत गरेको छ । भेलामा सहभागी वडा सभापतिहरुले स्थानीय तहमा जनप्रतिनिधिहरुले जनताले सोंचे अनुरुप काम नगरेको आरोप लगाएका छन् । उनीहरुले नेपाली काँग्रेसबाट विजयी भएर गएका जनप्रतिनिधिहरुले पार्टीसँग सहकार्य नगरेकोप्रति असन्तुष्टी समेत व्यक्त गरेका छन् ।
भेलामा पार्टीले गाउँतहमा खेल्नुपर्ने भूमिका तथा स्थानीय तहमा देखिएका विभिन्न विकास निर्माणदेखि हाल भइरहेका काम कारवाहीको बारेमा छलफल समेत भएको छ । भेलामा तुलसीपुर उपमहानगरपालिका घोषणासँगै जनप्रतिनिधिहरु निवार्चित भएर गएको लामो समय बितिसक्दा पनि नगरमा देखिएका समस्या तथा जनताहरुको जनजीविकासँग जोडिएका आधारभूत आवश्यकताहरु पूरा गर्नतर्फ नलागेको भन्दै जनताको ढाड सेक्ने गरी करको दायरा वृद्धि गरेपनि नगरमा समान विकास गर्न नसकेकोप्रति ध्यानाकर्षण भएको भेलामा सहभागी वडा नम्बर ५ का वडा सभापति मदन धितालले बताए ।
त्यसैगरी जनप्रतिधिहरुले आफूहरुलाई वाइवास गरी विभिन्न कामहरु गर्ने गरेको वडा नम्बर ६ का वडा सभापति प्रताव केसीले बताए । भेलाले तुलसीपुर बजारबाट उठाउँदै आएको फोहोरलाई उचित व्यवस्थापन गर्नुपर्ने, डम्पिङ साइटको खोजी गरी हाल पातुखोलामा फाल्दै आएको फोहोरलाई तत्काल व्यवस्थापन गर्न उपमहानगरपालिले पहल थाल्नुपर्ने बताएका छन् । बजारको फोहोर किसानको जमिनमा पुगी किसानहरुको जमिनमा असर गरेको भन्दै तत्काल त्यसको विकल्प खोज्न उपमहानगरपालिकालाई आग्रह गर्ने निर्णय गरिएको छ ।
भेलामा विभिन संघसंस्थामा भएका विसंगतिलाई उजागर गर्नतर्फ लाग्ने निर्णयसमेत भएको छ । त्यसैगरी भेलामा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई विकास निर्माण लगायतका विषयमा छफफलका लागि यही बैशाख २९ गते बैठक बोलाउने निर्णय भएको छ । नगर कार्यबाहक सभापति भिमप्रसाद भण्डारीको अध्यक्षता तथा पूर्व सांसद् गेहेन्द्र गिरीको प्रमुख आतिथ्यमा भएको भेलामा बोल्दै गिरीले काँग्रेस प्रतिपक्षमा भएको भन्दै प्रतिपक्षको भूमिकालाई सशक्त बनाउतर्फ लाग्नुपर्ने बताए ।
उनले हाल देखिएको एकाअधिकारको बारेमा काँग्रेसका कार्यकर्ताहरु लाग्नुपर्ने बताए । ‘अव काँग्रेस जनता माझ जानुपर्छ स्थानीय तहमा भएका राम्रा कामको समर्थन र नराम्रो कुराहरुको चिरफार गर्नतर्फ लाग्नुपर्छ, जनतालाई सही र सत्य बुझाउनतर्फ सबै लाग्नुपर्छ उनले भने । भेलामा तुलसीपुर उपमहानगपालिकाका साविकका वडा सभापतिहरुको सहभागिता रहेको थियो ।