तुलसीपुर, १६ बैशाख ।
लामो प्रयासपछि तुलसीपुरको टरिगाउँमा एयरपोर्टमा सञ्चालन भएको हवाई सेवा पुन बन्द गर्ने प्रपन्च सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिका र समिट एयरको सम्झौता अनुसार दाङमा हवाई सेवा सुरु भएको थियो । तर बीचमा विभिन्न बहानाले एक हप्तामा एकपटक गरिने उडान पनि बन्द गर्न सुरु भएको छ । यसै अन्तर्गत आइतबारको काठमाडौं दाङ र दाङ काठमाडौ उडान बन्द गरिएको छ ।
समिट एयरले गत पुस २३ गतेदेखि हप्ताको दुईदिन सेवा दिने गरी आइतबार र बुधवार दाङ–काठमाडौं हवाई सेवा सञ्चालन गरेपछि हप्ताको दुईदिन हवाई उडान हुँदै आएको हवाई सेवा केही समय यता सञ्चालनमा अनियमितता हुँदै आएको छ । जसले गर्दा दाङ–काठमाडौं र काठमाडौं–दाङ उडान गर्ने हवाई यात्रुहरु मर्कामा पर्न थालेको गुनासो गरेका छन् ।
यात्रुहरुले तोकिएको बारमा समेत उडान हुन रोकिएपछि विकल्पको रुपमा नेपालगंज वा भैरवा विमानस्थल भएर यात्रा गर्नुपर्ने बाध्यता रहेका बताएका छन् । २०७४ पुस २३ गतेदेखि उडान भरेको विमानको टिकट काट्ने जिम्मेवारी लिएको तुलसीपुर उपमहानगरपालिकाले पछिल्लो केही समय यता सूचना प्रकाशन गर्दै उडान अवरुद्ध भएको जनाइरहेको छ । यात्रुहरुले भने यसलाई हवाई सेवा रोक्ने प्रपन्च सुरु भएको टिप्पणी गरेका छन् । म काठमाडौं जानलाई टिकट लिन गए तर हवाई सेवा नहुने भन्दै टिकट दिइएन, टिकट नपाएको गुनासो गर्दै लोकेन्द्र चौधरीले भने फेरी हवाई सेवा बन्द गर्ने प्रपन्च सुरु भएको छ । उनले तुलसीपुरको हवाई सेवामा ठेक्का लिने प्रवृतिले समस्या बनाएको बताए । कहिले कसैले ठेक्का लिन्छ कहिले कसैले लिन्छ, अनि कसरी नियमित हुन्छ त हवाई सेवा उनले भने यो सब प्रचारबाजी मात्रै भयो ।
तुलसीपुर उप–महानगरपालिका– ११ का प्रकाश चौधरी भन्छन् दाङ भएर काठमाडौं जान आफूले पटक–पटक प्रयास गरेपनि विभिन्न समयमा टिकट अभावका कारण आफू नेपालगञ्ज भएर काठमाडौं गएको बताए । त्यस्तै गढवा गाउँपालिका मोहन पाण्डेले पनि यो सास्ती भोगेको बताए । दाङ–काठमाडौं उडानको कुनै भर छैन, टिकट लिदा पनि उडान नभएपछि भैरहवाबाट काठमाडौ जानुपरेको छ । तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेले हवाई सेवा अनियमित हुनुमा यात्रुको समस्या भएको बताएका छन् । गएको हप्ता दाङबाट काठमाडौं जाने यात्रुको संख्या कम भयो भनेर विमानले उडान नभरेको भन्ने सूचना पाए उनले भने तर यसको नियमितताका लागि केही सोच्दै छु । विमान कम्पनी र उपमहानगरपालिकाबीच भएको सम्झौतामा कुनै समस्या नआएको उनले बताए ।
तुलसीपुर उप–महानगरपालिकाका सूचना अधिकारी झरेन्द्र खरेलले दाङमा यात्रुको कुनै समस्या नभएको बताए । यहाँ यात्रुका समस्या थिएन र छैन पनि उनले भने ‘बिगत केही समय अघि लगातार विमान सञ्चालकले यात्रु हुँदासमेत तीनपटक विमान उडान रद्द गर्दा यात्रुहरु मर्कामा परेको कारण आइतबारको उडानमा पनि समस्या भएको बताए । उडानको विषयलाई लिएर यात्रुहरुमा सुनिश्चितता नभएकोले यो समस्या आएको उनले बताए । उनले दाङबाट उडान भर्दा यात्रुको कुनै समस्या नभएको र काठमाडौंबाट दाङ आउदासमेत यात्रुहरुको कुनै समस्या रहेको जिकिर गरे ।
सधैजसो विमान प्याकनै हुने अवस्था थियो, तर पछिल्लो तीन हप्ता विमान आफैले दाङको उडान नभरेर माउन्टेन क्षेत्रमा उडान भर्दा हवाई सेवा अनियमित भएको छ । विमान उडान हुन नसक्नु यताको समस्या होइन यो समस्या भनेको विमानले अलि बढी कमाउनेमा ध्यान दिदा आएको हो ।
सधैं यात्रु बढी भएर टिकट काट्न आउनेलाई फर्काउनु पर्ने अवस्था हँुदै आएको छ । यसको लागि हालको भाडा दरलाई तत्काल कम गरेर पाँच हजार पाँचसय पच्पन्न मात्र भएपनि कायम गर्न सक्ने हो भने दाङबाट हवाई यात्रा गर्ने यात्रुको जस्तोसुकै अवस्थामा समेत कुनै कमि नहुने उनले बताए ।