उपभोक्ता सजक बनौं

फिचर विचार

बिहान उठेदेखि रातिसम्म प्रयोग गर्ने दैनिक उपभोग्य सामानमा उपभोक्ता ठगिन बाध्य छन् । बजारमा पसलैपिच्छे फरक मूल्य छन् भने अखाद्य वस्तुहरु पनि खुलम खुल्ला बिक्री हुने गरेका छन् ।
फितलो कानुन र अनुगमनको नहुँदा उपभोक्ता हरेक पटक ठगिनुपरेको छ । अझ विषशेगरी चाडपर्व नजिकिएसँगै बजारमा कालोबजारी तथा अखाद्य वस्तुहरु भित्रिने गरेको पाइन्छ । जसका कारण उपभोक्ता दिनदहाडै ठगिन बाध्य छन् ।
बजारमा सामान किन्दा ठगिन बाध्य धेरै उपभोक्तालाई अहिले पनि संयुक्त राष्ट्रसंघको महासन्धि, सन्धि, नेपालको संविधान र कानुनहरू समेतले उपभोक्ता हकअधिकार सुनिश्चित गरेको थाहा छैन ।
त्यसो त देशमा उपभोक्ता अधिकारको सवालमा आवाज उठाउने धेरै संघसंस्थाहरु छन् । बजारमा अस्वभाविक भइरहने मूल्यवृद्धि, कालोबजारी, सिन्डिकेटको आडमा खुलेआम उपभोक्ताको अधिकार हनन् भइरहेको अवस्थाप्रति सरोकारवाला निकाय मुकदर्शक मात्रै बनेका छन् ।
किन कर्मकाण्डी रुपमा मात्रै प्रस्तुत हुन्छन् त उपभोक्ता अधिकारकर्मी र सम्बन्धित सरकोरावाला संघ, संस्थाहरु ? के उपभोक्तावादी संस्थाहरुले जनताको नाममा झनै लुट धन्दालाई प्रश्रय दिएका हुन् त ? यो प्रश्न यतिबेला आम नागरिकको मनमा उठेको प्रश्न हो । बजारमा न मूल्यमा एकरुपता छ न त राम्रो गुणस्तर सामान पाउन सकेका छन् उपभोक्ताले ।
बजारमा हुने अखाद्य वस्तु र कालोबजारी हुन नदिन के प्रयास भइरहेको छ त ? आज हामीले राउण्ड टेबलको यो अंकमा छलफल र बहसको विषय बनाएका छौं । प्रस्तुत छ सारसंक्षेपमा गरिएको कुराकानी । 


सुरक्षित खाद्य अधिकार

विवेक बन्जारा
प्रमुख
खाद्य प्रविधि तथा गुण नियन्त्रण
डिभिजन कार्यालय, दाङ

हाम्रो कार्यालयले विशेषतः बजारमा मूल्यका कालोबजारी भन्दा पनि खाद्यको गुणस्तरतामा ध्यान दिने गरेका छौँ । गतवर्ष फागुनमा मात्रै हामी जिल्लास्तरीय खाद्य तथा गुण नियन्त्रण भएपछि हामीले खाद्य अधिकारको क्षेत्रमा काम गरिरहेका छौँ ।
हामीले दैनिकरुपमै खाद्यसँग सम्बन्धित उद्योगको निरीक्षण, अनुगमन गर्ने गरेका छौँ । अनुगमनमा क्रममा केही त्रुटीहरु पनि देखापर्ने गरेका छन् ।
उपभोक्तालाई प्रत्यक्ष असर पार्ने गरी हुन सक्ने अखाद्य वस्तु मिसावटलाई नियन्त्रणका लागि बजारभन्दा पनि उत्पादन हुने उद्योगमा छड्के अनुगमन गर्ने गरेका छौँ । नियमित रुपमा हुने अनुगमनमा दाङमा अत्याधिक नभएपनि केही न केही सामान्य समस्याहरु देखापर्ने गरेका छन् ।
अनुगमनमा समस्या अत्याधिक समस्या देखियो भने सिलबन्दीसमेत गर्ने अधिकार पनि छ । उपभोक्तालाई पनि के आग्रह गर्न चाहन्छौँ भने खाद्यवस्तु खरिद गर्दा वस्तुको मूल्य, वस्तु बनेको मिति, वस्तुको उपभोग म्याद मितिलगायतका कुरामा बढी ख्याल गर्नुस् तपाईहरु सचेत हुनुभयो भने पनि बजारमा हुन सक्ने कालो बजारी केहि भएपनि नियन्त्रणमा आउँछ ।
खाद्यअधिकार पूर्णरुपमा सुरक्षित गराउन हामीले उपभोक्ता सचेतनालाई पनि जोड दिएका छौँ । त्यसैले अहिले पनि विभिन्न किसिमका समस्या छन् तर कहिले कर्मचारी अभाव त कहिले प्राविधिक कुराहरुमा समस्या हुँदा पनि यसको न्यूनीकरणमा लागि भएका प्रयास पनि निकै कठिन हुने गरेका छन् ।
उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने कसैले काम गर्ने गरेमा ५० हजार जरिवानादेखि पाँच वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था छ । उत्पादनदेखि उपभोक्तासम्म गुणस्तरीय खाद्यवस्तु पुग्नपर्छ भन्ने उद्देश्यका साथ काम गरिरहेका छौँ ।
हामीले मौसमी अनुगमनभन्दा पनि हरेक समयमा पनि अनुगमनलाई निरन्तरता दिने गरेका छौँ । चाडपर्व र यस समयमा व्यवसायीले अलिकति कालोबजारी गर्न सक्छन् भन्ने भएकाले झनै अनुगमनको पाटोलाई प्रभावकारी बनाउने छौँ ।

अनुगमनलाई निरन्तरता

माया आचार्य
संयोजक
बजार व्यवस्थापन तथा अनुगमन
समिति तुलसीपुर उपमहानगरपालिका

कालोबजारी तथा अखाद्य वस्तु नियन्त्रणका लागि हामीले कार्यदल नै बनाएका छौँ । तुलसीपुरको बजारमा हुनसक्ने कालो बजारी नियन्त्रणका लागि तरकारी, फलफुललगायतका छुट्टाछुट्टै कार्यदल बनाएर अघि बढेका छौँ ।
स्थानीय सरकार आएपछि बजारमा हुने गरेको कालोबजारी केही भएपनि कमि आएको पाएका छौँ । हामीले विभिन्न समयमा अनुगमनको पक्षलाई बलियो बनाउँदै लगेका छौँ । यसका लागि हामीले सहकारी, उद्योग वाणिज्य संघ, ईलाका प्रहरी कार्यालय लगायतका पक्षसँग सहकार्य गरेर काम गरिरहेका छौँ ।
सबैको साथ र सहयोगले मात्रै बजारमा हुनसक्ने कालोबजारी नियन्त्रणमा ल्याउन सकिन्छ भन्ने उद्देश्यका साथ काम गरेका छौँ । कहिँकतै अझै पनि त्यस्तो कालोबजार पाइएमा हामीले कानुन बमोजिम कारवाही प्रक्रिया थाल्नेछौँ । कस्तो कुरालाई अखाद्य, कस्तो कुरालाई खाद्य ? भन्ने विषयमा उपभोक्तालाई सचेत गराउन हामीले विभिन्न सञ्चारमाध्यमबाट जनचेननासमेत दिने गरेका छौँ ।
अहिले चाडपर्व भित्रिदै गर्दा पनि विभिन्नखाले चलखेल हुन सक्छन् किनभने बितेका वर्षमा छिट्फुट रुपमा भएपनि केही त्यस्ता कमिकमजोरी पाइएको थियो, भेटिएको थियो तर यसवर्ष अझै भेटिएको त छैन् तर नभेटिएला भन्न सकिन्न ।
सरकारलाई करमा छली गर्नेहरुले झनै बढी कालोबजारी गरेको पाइएको छ । हामीले अहिले पनि फेरी भन्छौँ तपाई उपभोक्ता बढी सचेत रहनुस् ।
कुनैपनि सामान किन्दा अनिवार्य बिल, रसिद लैजाने गर्नुस् यदि अवैधरुपमा व्यवसाय सञ्चालन गरिरहेको रहेछ भने उसले बिल दिन मान्दैन् अनि त्यसपछि हामीले उसलाई कारवाही गर्ने बाटाहरु पनि खुल्छन् ।
उपभोक्ताको सचेतना पनि एउटा सबल पक्ष हो । जबसम्म उपभोक्ता सचेत हुँदैनन्, तबसम्म छिट्फुट रुपमा कालोबजारी चलि नै रहन्छ । खाद्य अधिकारबाट पनि उपभोक्ता बञ्चित हुनसक्छन् । हाम्रो अभियानलाई यहाँहरु सबैको साथ रहोस् जसले गर्दा महंगी र कालोबजारी नियन्त्रण गर्न सहज होस् ।

सचेतीकरण अनुगमन निरन्तर

अम्मरराज शर्मा
प्रमुख
उपभोक्ता हित संरक्षण शाखा
घोराही उपमहानगरपालिका्

वास्तवमा बजारमा हुने अनियमिता, कालोबजारी, अखाद्यवस्तु नियन्त्रणका लागि हामीले विभिन्न समयमा अनुगमन गर्ने गरेका छौँ । तपाईले भनेजस्तो मौसमी अनुगमन मात्र हुँदैन् । बरु चाडपर्वको समयमा बढी अनुगमन हुन्छ ।
त्यो भएर पनि चाडपर्वमा मात्रै अनुगमन हुन्छ की भन्ने भ्रम पर्न गएको हो तर हामीले मासिक कम्तीमा पनि १२÷१३ पटक बजार अनुगमन गर्ने गरेका छौँ ।
विशेषगरी आर्थिक वर्ष परिवर्तन भएसँगै बजारमा मूल्यमा पनि फेरबदल आउने गर्छ । हामीले त्यो समयमा पनि बढी ध्यान दिने गरेका छौँ । सरकारको दायित्व भनेकै नागरिक, उपभोक्ता अधिकार सुरक्षाका लागि लाग्ने हो ।
बजारमा पाइने अखाद्य वस्तुको नियन्त्रण, कालोबजारी अन्त्यका लागि उपभोक्ता सचेतीकरणसँगै अनुगमनलाई निरन्तरता दिने गरेका छौँ । आम उपभोक्ताले कुनै पसल, खाद्यवस्तुको बारेमा गुनासो भएमा हामीलाई जानकारी गराउन सक्नुहुन्छ ।
पहिलाको जस्तो अवस्था छैन । सबैमा केही चेतना आएको छ । तर अहिलेको संयन्त्रले काम गर्दैन । पुनः संयन्त्र परिमार्जन गरेर स्थायी संयन्त्रमा चुस्त पारेको छ ।

संकटमा उपभोक्ता अधिकार

दर्शन आचार्य
केन्द्रीय सदस्य
उपभोक्ता अधिकार
अनुसन्धान मञ्च

नाग पञ्चमीदेखि नै हामी हिन्दू धर्मालम्वी नेपालीहरुको चाडपर्वको सुरुवात हुन्छ अनि सँगै नयाँ आर्थिक वर्षको पनि । चाडपर्वसँगै हामीहरुको दैनिक उपभोग्य वस्तुहरुको माग पनि दुई गुणाले बढ्छ ।
यिनै चाडपर्वकै मुखमा नै व्यापारीहरुले आर्थिक वर्षको सुरुवातले गर्दा बजारमा भ्याट, प्यान र आर्थिक वृद्धिदर लगायतका विविध कारण देखाउँदै बजारमा अप्रत्यासित मूल्यवृद्धि तथा दैनिक उपभोग्य वस्तु दाल, चामल, चिनी, नुनलगायतका सामाग्रीहरुमा कालोबजारी मिसावटजस्ता उपभोक्ता विरोधी गतिविधि गरी मनग्य लाभ खोज्छन् ।
नेपालको संविधान २०७२ को धारा ४४ मा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक र गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भनेर संविधानमै व्यवस्था गरेको छ ।
हो वास्तवमा वस्तु वा सेवाको सुरक्षित तरिकाले उपभोग तथा प्रयोग गर्न पाउनु नै उपभोक्ताको अधिकार हो । उपभोक्ताले आफूले उपभोग गर्न चाहेको वस्तु वा सेवा उपयुक्त समयमा, उचित मूल्यमा र गुणस्तरयुक्त रुपमा उपभोग तथा प्रयोग गर्न पाउनुपर्दछ । यसको लागि उपभोक्ता आफै पनि सचेत हुनुपर्दछ ।
कुनै पनि मालसामान खरिद गर्नुभन्दा पहिले सामान बनेको समय, उपभोग गर्ने म्याद, मूल्य, गुणस्तर आदिको बारेमा जानकारी लिनुपर्दछ । हामीले उपभोक्ताको अधिकार के–के छन् ? अधिकार हनन् भएमा क्षतिपूर्ति पाउन र बिक्रेतालाई सजाय दिलाउन उजुरी गर्ने ठाउँ तथा अधिकृतबारे समेत थाहा पाई राख्नु जरुरी छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय व्यापार वस्तुको माग,
आपूर्ति तथा अनुमगन, उपभोक्ता अधिकार तथा हितसम्बन्धी नीति कानून मापदण्ड कार्यान्वयन र नियमन गर्ने अधिकार प्रदान गरेको छ । त्यस्तै स्थानीय वस्तुहरुको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण मूल्य निर्धारण र अनुगमन लगायत उपभोक्ता अधिकार रक्षाका लागि थुप्रै अधिकारहरु दिएको छ ।
चाडपर्व नजिकिदै गर्दा बजारमा यत्रतत्र रुपमा उपभोक्ता हित विरोधी कार्य हुने हामी सबैलाई थाहा भएकै कुरा हो तर उपभोक्ता हित संरक्षणका लागि १/२ वटा संस्था र राज्यको एउटा संयन्त्र मात्र लागि परेर यहाँका सबै समस्या अन्त्य हुन्छ भन्न सकिदैन ।
तर आम उपभोक्ता सचेत भएर उपभोक्ता हित संरक्षणका लागि खबरदारी गरे बजारमा सामान खरिद गर्दा बिल माग्ने लेवल हर्ने या उपभोक्ताका अहित हुने कार्य भएको पाईएमा उजुरी गरी राज्यलाई सहयोग गरे यो समस्या केही ठूलो हैन र सीमित समयमै बजार स्वस्थ प्रतिस्पर्धी र उपभोक्तामैत्री हुन्छ, यसमा कुनै दुईमत छैन ।
उपभोक्ता सचेत गराउने कार्यमा हाम्रो संस्था उपभोक्ता अधिकार अनुसन्धान मञ्चले विगतका वर्षदेखि नै राज्यका विभिन्न संयन्त्र, मन्त्रालय विभाग र सरोकारवाला पक्षसँगको सहकार्यमा देशव्यापी उपभोक्ता सचेतना कार्यक्रम,
बजार अनुगमन तथा प्रतिवेदनसमेत तयार गरी पेश गर्ने तथा उपभोक्ता हित संरक्षणका सवालहरुमा संसदका विभिन्न समिति उपसमिति समेतका छलफल गोष्ठीहरुमा सहभागी भई राय, सुझावसमेत राख्दै आएका छौँ ।
हामी संस्थाहरुको काम प्रतिनिधिको रुपमा खबरदारी गर्ने र राज्य संयन्त्रहरुलाई तताउनेर जगाउने र क्रियाशील गराउने र आफ्नो तर्फबाट उपभोक्तालाई सुसूचित र जागरुक गराउने हो जुन कार्य हामी निरन्तर रुपमा गरिरहेका पनि छौँ ।
कारवाही गर्ने अधिकार राज्यलाई मात्र हुन्छ । दाङमा हामीले करिब ३÷४ वर्षदेखि नै बार्षिक रुपमा प्रत्येक बर्ष एउटा केन्द्रीय कार्यक्रम गरिरहेका छौँ । विभिन्न समयमा समेत हामीले बजारमा उपभोक्ता हित संरक्षणका बारेमा स्थानीय सरोकारवाला निकायसँग समेत छलफल गर्दै आएका छाँै ।
आगामी दिनमा समेत हामीले दाङका सबै स्थानीय तहका प्रतिनिधिहरुसँग छलफल गर्ने योजना बनाईरहेका छौँ । हामी सम्पूर्ण उपभोक्ता वर्गलाई के भन्न चाहन्छौ भने अफिसियल टेलिफोन १–४३५९४५९ मा समेत फोन गरी उजुरी दर्ता गर्न सक्नुहुने छ ।
हामी सधै उपभोक्ता हित संरक्षणका लागि उपभोक्ता वर्गका पक्षमा रहनेछौँ । उपभोक्ताहरुका अधिकार सुनिश्चित गर्न सबैभन्दा पहिले उपभोक्तालाई सचेत हुन जरुरी छ । जब उपभोक्ता स्वयम् सचेत हुन्छन् तब मात्र उपभोक्ता ठगिने र कालोबजारीको अन्त्य हुन्छ ।

कालोबजारी नहोस् भनेर सचेत छौं

माया पोख्रेल
सचिव
दाङ जिल्ला उद्योग वाणिज्य संघ

चाडपर्व मात्रै भन्दा अन्य विभिन्न समयमा पनि अनुगमन हुनुपर्छ । हामीले व्यवसायीले पनि विभिन्न समयमा सचेत गराउने काम गरिरहेका छौँ । बजारमा हुन सक्ने अखाद्य वस्तु नियन्त्रण र कालोबजारी नियन्त्रणका लागि हामीले व्यवसायीहरुलाई पनि प्रशिक्षण गर्ने गरेका छौँ ।
कालोबजार भनेको विशेषगरी दुई प्रकारले हुन्छ । एउटा भनेको अभाव हुन सक्ने वस्तुहरुलाई लुकाएर मंहगो मूल्यमा बेच्ने हुन्छ भने अर्को खासगरी मापदण्ड विपरीत अखाद्य वस्तु मिसावट गर्ने । जसले गर्दा उपभोक्ताको प्रत्यक्ष स्वास्थ्यमा असर पार्ने गर्दछ ।
यि दुई किसिमले हुने कालोबजारी पछिल्लो समय हुने गरेको छ । उद्योग वाणिज्य संघले यी कुराहरुलाई मध्यनजर गरिकन विभिन्न समयमा सरोकारवाला सँगसँगै अनुगमनालाई पनि निरन्तरता दिने गरेको छ । चाडपर्वको समयमा विषेशगरी यस्ता क्रियाकलाप बढी हुनसक्ने भएकाले हामी सचेत छौँ ।
व्यवसायीलाई हामीले पटक–पटक भन्ने गरेको के हो ? भने गैह्रकानुनी काम जो कालोबजारीजस्ता कुरा नहोस् भनेर सचेत गराउने गरेका छौँ । उपभोक्ता पनि स्वयम् सचेत हुनुपर्ने देखिन्छ । उपभोक्ता चनाखो बन्नसके यस्ता कुराहरु धेरैभन्दा धेरै कम हुन्छन् ।
के खान मिल्ने, के खान नमिल्ने ? यस्ता कुरा थाहा नहुन सक्छ तर तपाईहरुलाई केही पनि कुरा शंकास्पद लाग्यो भने सरोकारवाला निकायलाई जानकारी गराउनुभयो भने पक्कै पनि यस्ता कुरा निकै कम हुँदै जानेछन् ।
हामी स्वयम् व्यवसायी पनि उपभोक्ता हौँ, हामीले पनि आफैले के खान मिल्ने, के खान नमिल्ने आफै पनि मूल्याङ्कन, आँकलन गर्न सकिन्छ त्यसैले उपभोक्ताको अधिकारलाई हामीले नै सुरक्षित गर्न कसरी सक्छौँ भन्ने निकै संवेदनशील बन्नुपर्छ ।

बउपभोक्ता अधिकारमा खबरदारी

नविन पोखरेल
सदस्य
उपभोक्ता अधिकार अनुसन्धान मञ्च, दाङ

नेपालमा चाडपर्वको समयमा बढी अखाद्य मिसावट तथा कालोबजारी हुने गरेको पाइन्छ । हामी हाम्रो संस्था उपभोक्ता अधिकार तथा अनुसन्धान मञ्चले यहि समयमा बढी गरेर अनुगमन गर्ने गरेका छौँ ।
प्रदेश टुडेउपभोक्ता संरक्षण ऐनले के भन्छ भने जीउ, ज्यान र स्वास्थ्यका लागि खतरनाक वस्तुको बिक्री वितरणबाट सुरक्षित हुने अधिकार, उपभोक्ताको सुसूचित हुने अधिकार, प्रतिस्पर्धात्मक मूल्यमा वस्तु तथा सेवाको छनोट गर्ने अधिकार, न्यायीक निकायबाट सुनुवाईको अधिकार छ, यि कुराको उपभोक्ताले सदुपयोग गर्नुपर्छ ।
तर समग्र बजार उद्योगी तथा व्यापारीको नियन्त्रणमा छ । बजारको माग अनुसार मूल्य निर्धारण हुनुपर्नेमा व्यवसायीको आलोपालो प्रथा र मनोमानीका भरमा मूल्य र गुणस्तर निर्धारण हुने गरेको उपभोक्ताको गुनासो छ । सरकारले नीति कार्यान्वयन गर्न नसक्दा व्यवसायी उम्कने र उपभोक्ता ठगिने गरेका छन् । बजार अनुगमन भइरहे पनि उपभोक्ताको मागअनुसारको काम हुन नसकेको गुनासो आउने गरेको छ । विडम्वना के छ भने कानूनी कार्यान्वयन गर्ने पक्ष सरकार हो ।
नेपाल सरकार नै व्यवसायप्रति विभिन्न सम्झौताहरु गर्ने, नाजायज मागहरु सम्बोधन गर्न लगाउने, जायज मागहरुको सुनुवाई नगर्ने यस्तो परिपाटीले गर्दा यो हो कि भन्ने आशंका जनतामा पैदा भएको छ ।
तर स्वभाविक पनि हो, यो समयमा उपभोक्ताले पनि सामानहरु किन्ने र बिक्री गर्ने काम अधिक मात्रामा हुने हुँदा व्यापारीहरुले पनि यो अवस्थामा बढी मात्रामा म्याद सकिएका, गुणस्तरहीन सामानहरु बजारमा ल्याउन बेच्न निषेध गरिएका वस्तु बिक्रीमा ल्याउने कारणले गर्दा विभिन्न आमसञ्चार माध्यमहरुमा यस्ता घटनाहरु धेरै सुनिन्छन् ।
यसलाई गम्भीरतापूर्वक उपभोक्ताले सोच्नुपर्छ । केहि न केहि हाम्रो खबरदारीले पनि उपभोक्ता अधिकार सुरक्षित हुनसक्छ भनेर लागेका छौँ । यसमा जिम्मेवार निकायले समयमै यि र यस्ता कुरामा बढी ध्यान दिनुपर्छ भने उपभोक्ता पनि स्वयम् सचेत हुनुपर्छ भन्ने लागेको छ । बजारमा देखिएका समस्यालाई हामीले बाहिर ल्याउने र उपभोक्ता सचेत बनाउन काम गरिरहेका छौँ । सबैले चासो चिन्ता देखाउनुभयो भने कालोबजारी र अखाद्य वस्तु नियन्त्रणमा पक्कै पनि सहयोग पुग्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *