Friday, March 22, 2024
Homeफिचर‘वैकल्पिक शक्ति हौं हामी’

‘वैकल्पिक शक्ति हौं हामी’

- Advertisement -spot_img

मंसिर १४ गते हुने उपनिर्वाचनको चुनावी सरगर्मी बढिसकेको छ । उम्मेदवारहरू मत माग्न मतदाताको घरदैलोमा पुगेर भेटघाटमा व्यस्त बनेका छन् । मतदाता पनि कस्तो उम्मेदवारलाई छनौट गर्ने भन्ने सोचमा छन् । दाङमा ३ को (ख) मा हुने प्रदेशसभा र घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा अध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको छ । प्रदेशसभा सदस्यका लागि १२ राजनैतिक दल र २ स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । प्रदेशसभा सदस्यमा कसले बाजी मार्ला त ? आम जनचासोको विषय बनेको छ । जित्ने दाबीसहित दल तथा तीनका उम्मेदवारहरू प्रचारप्रसारमा लागेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी ले प्रदेशसभा सदस्य पदका लागि भुपाल रावतलाई उम्मेदवार बनाएको छ । चुनावी प्रतिस्पर्धामा रहेका रावतसँग आज हामीले कुराकानी गरेका छौं । प्रस्तुत छ, रावतसँग गरिएको कुराकानीको सारसंक्षेप । 


चुनावी गतिविधि कस्तो छ ?

ठिकै छ, अहिले हामीहरू चुनाव चिन्ह लिएर मतदाता भेट्न घरदैलो अभियानमै छौँ । म निर्वाचन हुन लागेको क्षेत्र नम्बर ३ को (ख) का मतदातासँग भेटघाट गरिरहेको छु । हामी ५/६ वटा समूह भएर चुनावी प्रचारमा लागेका छौँ । निर्वाचन क्षेत्रको विभिन्न स्थानमा चुनावी गतिविधि झल्कने कार्यक्रमहरू पनि गरिरहेका छौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिले निर्वाचन हुने २५ वटै वडामा भेटघाट र चुनावी गतिविधि गरिरहेको छ ।

जनता के भन्छन् ?

नागरिकहरूले त अहिलेको सरकार र प्रमुख प्रतिपक्षको भूमिकाप्रति असन्तुष्ट देखिएका छन् । उहाँहरूले सत्ता र प्रमुख प्रतिपक्षितप्रति असाध्यै दुखेसो पोख्नुभएको छ । सरकारले भ्रष्टाचार, महंगी बढाउने प्रतिपक्ष चुप रहने अवस्थाले जनतामा निराशा र आक्रोस देखिएको छ । अहिलेको उपनिर्वाचनमा नयाँ फरक पार्टी, फरक उम्मेदवार छान्ने जनतामा मनस्थिति देखिएको छ ।
हाम्रो पार्टी अर्थात् म जनतामाझ पुगेपछि नागरिकहरू अब तपाईहरूलाई नै भोट दिने हो भन्ने कमिटमेन्ट गर्नुभएको छ । नागरिकस्तरबाट राम्रो साथ रहने अपेक्षा गरेका छौँ । अहिलेसम्म दुई ठूला पार्टीले केही गर्न नसक्दा नागरिकहरू निरासामा देखिदा हामीबाट थुप्रै आशा देख्नुभएको उहाँहरू ।
हामी पनि उहाँहरूका आशालाई निराशा हुन दिने छैनौँ भन्ने पूर्ण विश्वास दिलाउन चाहन्छौँ । पहिले जिताएर पठाएका प्रतिनिधिले जनताभन्दा पनि कार्यकर्ता खुशी पार्ने काम भएको नागरिकहरू बताउने गरेका छन् । हामीले जितेर गएपछि ति कुनै पनि कुरा हुनेछैन् भन्ने प्रतिवद्धता गरेका छौँ ।

जनतामाझ लगेको एजेण्डाहरू के–के हुन् ?

म के भन्न चाहन्छु भने हामी जे गर्छौ त्यही बोल्छौँ । गर्न नसकिने कुरा हामी बोल्दैनौ । जनतालाई अहिले रेल र पानी जहाजभन्दा पनि सामान्य आधारभूत आवश्यकता चाहिएको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारलगायतका कुराहरूबाट अहिले पनि नागरिक बञ्चित रहेका छन् ।
यि कुराहरूको ग्यारेण्टीसहितका एजेण्डा हामीले जनतामाझ लगेका छौँ । जनताका हरेक गुनासा हामी सुन्ने प्रयास गर्नेछौँ भनेर पनि भनिरहेका छौँ । अहिले म उठेको निर्वाचन क्षेत्रमा सडक, खानेपानी, सिंचाई, स्वास्थ्यलगायतका कुरा बढीभन्दा बढी आवश्यकता देखेको छु । ति कुराहरूको ग्यारेण्टी गरेका छौँ ।
अनि अहिले देखिएको भ्रष्टाचारको अन्त्य गरी विकासका सम्भावनाहरूलाई छोप्दै नागरिकले परिवर्तन महसुस गर्ने गरी विकास गर्नेछौँ भनेका छौँ । जनताले पक्कै पनि हामीलाई साथ दिनुहुन्छ भन्ने विश्वासमा छु ।

चुनाव अघि सबैले भन्ने त यहि नै हो, तर पछि कार्यान्वयन हुँदैन् ?

हो एकदम सही हो । किनभने अधिकांश नेता काठमाडाँैमा बस्ने तर चुनावका समयमा मात्र गाउँमा पाइला टेक्नेहरू छन् । अहिले पनि विभिन्न उदाहरणहरू छन् । यहाँका सयौँ विगाह जमिन बाँझो अथवा अरूलाई छोडेर आफू काठमाडौँ बस्ने नेताहरूले गरेका प्रतिवद्धता कसरी पूरा हुन्छन् त ? हामी अर्थात् म मा ति कुराहरू लागू हुँदैनन् ।
म त हिजो पनि यहिका नागरिकसँग थिए, आज पनि छु भोलि पनि हुनेछु । म एउटा सामान्य परिवारमा जन्मिएर अहिले राजनीतिक सेवामा लागेको छु । मलाई अहिले जनतासँग गरेका प्रतिवद्धता पूरा हुँदैनन् भन्ने गलत हो । तपाई पनि लेखेर राख्नुस् मैले अहिले जति गर्छु भनेको छु त्यति काम अवश्य पनि गर्छु ।

जनताका लागि अहिलेसम्म के–के गर्नुभयो ?

मैले थुप्रै काम गरेको छु, यद्यपि प्रत्यक्षरूपमा नहोला तर म थुप्रै सामाजिक काममा लामो समयदेखि लागिरहेको छु । म विभिन्न संघ, संस्थामा रहेर काम गर्दा जनताका समस्यालाई नियाल्ने प्रयास गरेको छु । सम्भव हुने कामहरू समाधान पनि गरेको छु । राजनीतिमा लागेरमात्र जनताको सेवा गरिन्छ भन्ने होइन्, अन्य विभिन्न माध्यमबाट पनि जनतालाई सेवा दिन सकिन्छ ।

राप्रपालाई त राजावादी पार्टी भन्छन् नि ?

हो, हामीले संवैधानिक राजतन्त्र अहिलेको आवश्यकता हो भनेका छौँ । राजाबिनाको मुलुक हुन सक्नदैन् भन्ने प्रमाणित भइसकेको छ । यद्यपि अहिले थुप्रै राजा जन्मेका छन् ।
जसले जनतालाई कंगाल, गरिब बनाउने काम गरेका छन्, आफू के कसरी हुन्छ ? रातारात धनी बन्ने सपना बोकेका छन् । हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र आम नागरिकको माग हो । अहिले पनि जनमत संग्रह गर्ने हो भने हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्रको पक्षमा जनमत देखिन्छ भन्ने हामी ठोकुवा गर्न सक्छौँ ।

राजतन्त्र जनतालाई कि राप्रपालाई ?

राजतन्त्र स्थापित हुनुपर्छ भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको एजेण्डा हो जनताको माग हो । लामो समयदेखि राजाबाटै देशमा शासन चलेको थियो, खै त्यतिबेला भ्रष्टाचार, अन्याय, अत्याचार भन्ने केही थिएन् । अहिले गणतन्त्र आइसकेपछि लुटतन्त्र शुरू भएको छ । जनता आजित भइसकेका छन् अहिलेको सरकारको गतिविधिले । त्यसैले राजासहितको शासन जनताको माग हो भनेर भन्न चाहन्छु ।

ठूला पार्टीहरूको बीचमा चुनावी परिणाम हात पार्न त सकस छैन र ?

चुनाव हो हारजित अवश्य पछि हुन्छ तर पनि हामीले जित्छौँ भन्ने विश्वासमा छौँ । जनताले राम्रो साथ दिनुभएको छ । हामी गाउँमा जब पुग्यौँ हाम्रो पक्षमा नागरिकको लहर नै छ । सत्ता पक्ष र प्रतिपक्षबाट जनता सन्तुष्ट छैनन्, अब जनताहरू विकल्पको खोजीमा छन् । विकल्पमा हामी छौँ अर्थात् राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा जनमत छ भन्ने प्रष्ट छ । जनताले दिएको साथले हामीलाई हौसला मिलेको छ ।

जनताले कस्ता किसिमका विकास मागेका छन् ?

अहिले जनताले मागेका भनेको नै सडक, शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका सुविधाको सहज होस् भनेका छन् । हामी चुनावी मत माग्न घरदैलोमा पुग्दै गर्दाखेरी जनताले जतिसक्दो छिटो देखिने गरी विकास मागेका छन् । जनतामा विकासप्रतिको आकांक्षा तिब्र छ ।
तिब्र आकांक्षालाई सम्बोधन गर्नका लागि म लाग्ने छु भन्ने प्रतिवद्धता गर्दछु । अनि अहिले विषेशगरी गाउँमा अधिकांश युवा रोजगारीका लागि विदेश पुगेका कारण वृद्ध नागरिक र बालबालिका बढी छन् । अर्थात् देशमा रोजगारीको व्यवस्था छैन् । युवा विदेशिनु परेको छ । स्वदेशमै रोजगारी हुनुपर्ने आम मतदाताको माग छ । हामी देशमा जतिसक्दो धेरै युवालाई रोजगारी दिने गरी काम अघि बढाउने छौँ ।

अन्त्यमा के भन्नुहुन्छ ?

म के भन्न चाहन्छु भने राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवार म भुपाल रावतलाई गाई चिन्हमा भोट हालेर अत्याधिक बहुमतले बिजयी बनाउन आग्रह गर्दछु । हाम्रोभन्दा पनि राम्रो उम्मेदवार छनौट गर्न पाउने आम मतादाताको अधिकार हो । त्यसैले यस्तो सुनौलो अवसरमा योग्य, दक्ष र सक्षम उम्मेदवार छनौट गर्नुहुनेछ भन्ने विश्वास छ । मत भनेको कसैलाई सहानुभूति दिनलाई भन्दा पनि यहाँको विकास गर्न सक्ने दक्ष उम्मेदवार छनौट गर्नुहोला ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here