Monday, April 15, 2024
Homebreaking-newsविजौरी उवासंघ कसका लागि अनुकूल ?

विजौरी उवासंघ कसका लागि अनुकूल ?

- Advertisement -spot_img

विजौरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि यही फागुन ८ गते चुनाव हुन लागेको छ । संघमा आवद्ध ४ सय ६२ मतदाताले संघमा अबको नयाँ नेतृत्व चयन गर्दैछन् । नयाँ नेतृत्वका लागि त्रिपक्षीय भिडन्त हुने भएको छ ।
प्रजातान्त्रिक प्यानल, बामपन्थी प्यानल र स्वतन्त्र गरी त्रिपक्षीय भिडन्त हुन लागेको छ । तीनै प्यानलका उम्मेदवार चुनावी नतिजा आफ्नो पक्षमा पार्नका लागि चुनावी मैदानमा होमिएका छन् ।
तीनवटै प्यानलका उम्मेदवारले व्यवसायीको हकहितका लागि विभिन्न एजेण्डा अघि सारेका छन् । तीनवटै प्यानलका उम्मेदवारले जित्ने दाबी गरिरहेका छन् । चुनावको दिन नजिकिदै जाँदा बिजौरीमा चुनावी सरगर्मी बढेको छ ।
आजको प्रदेश टुडेको राउण्ड टेबलमा बिजौरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि चुनावमा होमिएका उम्मेदवारलाई समेटेका छौं । उम्मेदवारका एजेण्डा के कस्ता छन् ? कुराकानी सार संक्षेपमा ।


एम्बुलेन्सदेखि बैंकको पहल

वीरेन्द्र खड्का
अध्यक्ष पदका उमेदवार
प्रजातान्त्रिक प्यानल

व्यवसायीको हकहितका लागि स्थापना गरिएको संस्था विजौरी उद्योग वाणिज्य संघमा आगामी कार्यकालका लागि नयाँ नेतृत्वका लागि मेरो उम्मेदवारी परेको छ ।
म अहिलेसम्म संघमा महासचिवको रूपमा काम गरिरहदा सम्पूर्ण व्यवसायीले अध्यक्ष पदका लागि निकै आग्रह गर्नुभयो । सम्पूर्ण व्यवसायीको हक र हितका लागि संघमा नयाँ नेतृत्वमा आउनका लागि हामी चुनावी मैदानमा आएका छौँ ।
चुनावमा जित वा हार अवश्य हुन्छ तर व्यवसायीले हामीमाथी थुप्रै आशा र अपेक्षा गरेका पनि चुनाव हाम्रो पक्षमा आउँछ कि भन्नेमा आशावादी छौँ ।
विजौरी उद्योग वाणिज्य संघ केही वर्षअघि मात्रै स्थापना भएको संस्थामा अहिले करिब ४ सयभन्दा बढी व्यवसायीहरू जोडिनुभएको छ ।
हाम्रो मुख्य एजेण्डा भनेकै विजौरीलाई ‘राम्रो विजौरी, हाम्रो विजौरी’ कसरी बनाउन सकिन्छ ? भन्ने सोंचका साथ चुनावी मैदानमा होमिएका छौँ । देखिएका सम्भावनालाई अवसरको रूपमा लिई विजौरीको सुन्दर भविष्य निर्माणका लागि हाम्रो प्यानल चुनावी मैदानमा उत्रिएका छौँ ।
हामी नेतृत्वमा आएपछि विजौरी बजारलाई व्यापारीक केन्द्र बनाउन विषेश पहल गर्नेछौँ । बजारलाई व्यवस्थित बनाउनका लागि प्रहरीको सुरक्षा व्यवस्थालाई थप व्यवस्थित बनाउन पहल गर्नेछौँ ।
विषेशगरी हेमन्तपुरमा रहेको प्रहरी चौकीको स्तरोन्नती गरी विजौरी बजारमा शान्ति सुरक्षाका लागि पहल गर्ने, बढ्दै गएको जनघनत्वलाई मध्यनजर गरी ट्राफिक नियम र बजारमा पार्किङलाई व्यवस्थित बनाउने योजना हामीहरूको छ ।
त्यसैगरी विजौरी क्षेत्रका नागरिकको यातायातमा सहजता ल्याउनका लागि यातायात व्यवसायीसँग समन्वय गरेर नगर बस सञ्चालन गर्नका लागि पहल गर्नेछौँ ।
यसले पनि विजौरीलाई व्यापारीक केन्द्र बनाउन सहयोग पुग्नेछ । त्यसैगरी बजारलाई सुन्दरता बढाउनका लागि सरसफाई अभियानलाई थप व्यवस्थित बनाएर हाम्रो विजौरी राम्रो बिजौरीको अभियानलाई सार्थक बनाउने छौँ ।
त्यसैगरी विजौरीमै ‘क’ वर्गको बैंक स्थापना गरी व्यवसायी तथा ग्राहकलाई थप सहजता प्रदान गर्ने र निरन्तर व्यवसायीको हकहितका लागि निरन्तर लागि रहने प्रतिवद्धता पनि व्यक्त गर्दछौँ ।
विजौरीमा थुप्रै सम्भावना हुँदा पनि विजौरी बजार फस्टाउन नसकिरहेको यर्थातता हो । उद्योग वाणिज्य संघ व्यवसायिक छाता संगठन भएका कारण पनि यस क्षेत्रको विकासका लागि पहल गर्नेछौँ ।
उद्योग वाणिज्य संघले यसक्षेत्रका नागरिकको सहजताका लागि एम्बुलेन्स पनि सञ्चालन गर्ने योजना बनाएको छ । सम्पूर्ण व्यवसायीको सहयोगले हामी नेतृत्वमा पुगिसकेपछि यो योजनाले पनि सार्थक पाउने छ ।
विजौरीमा व्यवसाय प्रवद्र्धनका लागि कृषि पकेट क्षेत्रका साथै किसानलाई पशुपालनतर्फ आकर्षित गर्नका लागि पनि हाम्रो विशेष पहल रहने कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु ।
त्यसैगरी विजौरीको विकासका लागि यस क्षेत्रमा मेला महोत्सवका साथै महायज्ञ सञ्चालन गरिने, धार्मिकस्थलहरूको खोजी गरी सम्भावना बोकेका धार्मिकस्थलको प्रचारप्रसारमा सहयोग पु¥याउन विभिन्न किसिमका कार्यक्रम अघि सारिने छ ।
उद्योग वाणिज्य संघले सभाहल सहितको भवन निर्माण गर्ने प्रमुख योजना पनि अघि सारेको छ । त्यसैगरी विजौरी बजारलाई उज्यालो बनाउनका लागि सोलार बत्ती जडान प्रक्रियालाई निरन्तरता दिने, संघले हरेक वर्ष चैते अष्टमीमा मनाउँदै आएको पूजापाठ कार्यक्रमलाई पनि निरन्तरता दिनेछौँ ।
संघमा हामी अहिले विभिन्न प्यानलका माध्यमबाट चुनावमा होमिए पनि नेतृत्वमा चयन भइसकेपछि हामीले सम्पूर्ण व्यवसायीलाई समान किसिमले हाम्रा कार्यलाई अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गर्न चाहन्छु । राजनीतिक हिसावले कोहि पर, कोहि वर भन्ने कुरा हुँदैन् ? हामीले सबैलाई समान दृष्टिकोणका साथ निष्पक्ष भूमिका काम गर्नेछौँ ।


व्यवसायीक हकहितमा प्रतिवद्ध

प्रेमनाथ योगी
अध्यक्ष पदका उमेदवार
बामपन्थी प्यानल

व्यवसायीको हकहितका लागि आएको विजौरी उद्योग वाणिज्य संघमा नयाँ नेतृत्वका लागि मेरो पनि उम्मेदवारी परेको छ । छरिएर रहेका व्यवसायलाई एकीकृत गरी व्यवसायको प्रवद्र्धनका लागि म नेतृत्वमा जाँदैछु, आशा छ मेरो प्यानललाई मतदाताले अत्याधिक मतले जिताउनु हुनेछ ।
संघमा सर्वसम्मतिबाट नेतृत्व चयन हुन नसकेपछि लोकतान्त्रिक पद्धतिको पालना गर्दै संघको चुनावमा मेरो उम्मेदवारी परेको छ ।
संघमा म आइसकेपछि विषेशगरी व्यवसायीलाई आइपर्ने हरेक किसिमका समस्या समाधानका लागि मेरो प्रमुख जिम्मेवारी हो । संघ अहिले पनि नाजुक अवस्थामा छन् ।
थोरै व्यवसायीको पहलमा स्थापना भएको संघलाई व्यवस्थित बनाउन नेतृत्वको प्रमुख जिम्मेवारी हुन्छ । त्यसैले नै मैले संघमा नेतृत्व पाएपछि आर्थिकदेखि भौतिक सुधारका विषेश पहल रहने छ । विजौरी उद्योग वाणिज्य संघ स्थापना भएको लामो समयसम्म पनि विभिन्न समस्या हामीहरूले भोग्नुपरिरहेको छ ।
विजौरी बजारलाई व्यवस्थित गरी सुन्दर बजार स्थापना गर्ने मेरो चाहना मात्रै नभएर आम विजौरीबासीको हो । सबैको सपनालाई साकार पार्नका लागि उपमहानगरपालिकासँग समन्वय गरी उद्योग वाणिज्य संघको कार्यक्षेत्रमा सडक बत्ती जडान गरी उज्यालो विजौरी बनाउने अभियान सञ्चालन गरिने छ ।
त्यसैगरी विजौरी क्षेत्रमा अहिले सभाहलको ठूलो आवश्यकता देखिएको छ । हामीहरू नेतृत्वमा आइसकेपछि आधुनिक सभाहल निर्माण गर्ने पनि उद्देश्य लिएका छौँ ।
त्यसैगरी उद्योग वाणिज्य संघको कार्यक्षेत्र दुधरास र विजौरीलगायतका ठाउँमा बाथरूमसहितको सार्वजनिक शौचालय निर्माण गर्ने, यसक्षेत्रका पर्यटन प्रवद्र्धन गर्न पर्यटकमैत्री होटेलको स्थापनाका लागि व्यवसायीलाई प्रेरित गर्ने, बजार क्षेत्रमा उठ्ने फोहरको व्यवस्थापन कार्यलाई चुस्त बनाउने योजना रहेको छ ।
व्यवसायलाई सुरक्षित बनाउन विजौरीमा सुरक्षाको थप व्यवस्थाका लागि पहल गर्ने, व्यवसायी तथा ग्राहकको सहजताका लागि विजौरीमा राष्ट्रियस्तरको बैंक स्थापना गर्ने पहल गर्नेलगायतका योजना हामीहरूसँग छन् ।
व्यवसायी साथीहरूले हाम्रोभन्दा पनि राम्रो उम्मेदवार छनौट गरी विजौरी उद्योग वाणिज्य संघलाई नयाँ नेतृत्व दिनुहुनेछ भन्ने आशा र पूर्ण विश्वासका साथ चुनावमा होमिएका छौँ ।
हामीले विगतमा पनि व्यवसायीको हकहितका लागि विभिन्न किसिमका सहयोग निरन्तर गरिरहेका छौँ । अहिले संघको नेतृत्वमै पुगेर विजौरीको बजार तथा व्यवसायीलाई थप प्रवद्र्धन गर्नका लागि मेरो उम्मेदवारी परेको हो ।
मलगायत हाम्रो टिमले नेतृत्व पाएमा विजौरी बजारलाई व्यापारीक केन्द्र बनाउनका लागि उत्तरतर्फ विजौरी, बाँसगढी हुँदै रोल्पा जोड्ने सडक र दक्षिणतर्फ मानपुर हुँदै महेन्द्र राजमार्ग जोड्ने सडक निर्माणका लागि पनि पहल गर्नेछौँ । त्यसैगरी व्यवसायीले झन्झटिलो करबाट उन्मुक्ती पाउनका लागि सम्पूर्ण उद्योगी, व्यवसायीलाई अभिमुखीकरण गोष्ठी गर्ने योजना पनि छ ।
त्यसैगरी विजौरी उद्योग वाणिज्य संघको क्षेत्राधिकार भित्र पर्ने सरकारी जग्गालाई संरक्षणका लागि पहल पनि गर्ने उद्देश्य बोकेका छौँ । हामीले कुराभन्दा पनि कामलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछौँ ।


उज्यालो विजौरी, सुन्दर विजौरी

लेखनाथ खत्री
अध्यक्ष पदका
स्वतन्त्र उम्मेदवार

नेपालमा कुनै पनि संघ, संस्थामा दलीय राजनीति हुँदा सोंचेजस्तो प्रगति हासिल गर्न सकिएकोे छैन । विजौरी उद्योग वाणिज्य संघमा पनि त्यस्तै समस्या संघ स्थापना भएदेखि नै हो ।
संघमा देखिएको चरम दलीय राजनीतिको अन्त्य गर्नका लागि मेरो संघमा उम्मेदवारी परेको हो । संघमा आवद्ध व्यवसायी राजनीतिक विचार धाराका भएपनि संस्थामा राजनीति घुस्न हुँदैन भन्ने मेरो सोच हो ।
मूख्य गरी व्यवसायीको हकहितका लागि मेरो उम्मेदवारी हो । संघभित्र पनि राजनीति हुँदा संघमा फरक राजनैतिक दलको व्यवसायीले दुःख खेप्नु परिरहेको अवस्थामा स्वतन्त्र उम्मेदवार मेरो प्यानललाई बिजयी बनाउनुहुनेछ भन्ने विश्वास लिइएको छ ।
संघको नेतृत्व दलीयकरण हुनुहुँदैन् भन्ने सोचका साथ नै मैले आगामी नयाँ नेतृत्वका लागि उम्मेदवारी दिएको छु । मलाई विजयी बनाउनुभयो भने म सबै व्यवसायीलाई एकतावद्ध गरी व्यवसायीका समस्या समाधान गर्नेछु ।
दाङमा रहेका अरू उद्योग वाणिज्य संघमा आवद्ध व्यवसायीको तुलनामा विजौरी उद्योग वाणिज्य संघमा सीमित व्यवसायी आवद्ध हुनुहुन्छ । बजार ठूलो हुन नसक्दा व्यवसायीहरूको संख्या बढ्न सकिरहेको छैन् ।
यदि म नेतृत्वमा आएभने विजौरीमा नयाँ आउने व्यवसायीका लागि बजारलाई व्यवस्थित गरी स्तरीकरण गर्ने योजना पनि बनाएको छ । व्यवसायीको आपतविपतको सहयोगका लागि कोष निर्माण गर्ने, व्यवसायी वा उसको परिवारको उपचारका लागि कोष निर्माण गर्नका लागि मेरो उम्मेदवारी परेको हो ।
त्यसैगरी मानपुर, हाडिमे, दुधरास, हेमन्तपुर, लक्षिणपुर, बाँसगढीलगायतका ठाउँमा उज्यालो विजौरीलाई सार्थकता दिने, व्यवसाय दर्ताका क्रममा आउने प्राविधिक झन्झटिलताका कार्यलाई सहज बनाउने,
संस्थाको आर्थिक पाटोलाई सबल बनाउने, संस्थाको आफ्नै भवन निर्माण गरी माथिल्लो सभाहल निर्माण गर्ने, संघलाई प्रदेश महासंघमा दर्ता गर्ने, बजारमा चोरीका घटना नियन्त्रका लागि साइरन जडान गर्ने, छिल्लीकोट शिवालय, बाँसगढी, बेलझुण्डीमा रहेका मठमन्दिरलाई पर्यापर्यटकीय केन्द्र बनाउने,
व्यवसायीको बीचबाट संघर्षपूर्ण नेतृत्व स्थापित गर्ने, टरिगाउँ विमानस्थलको धावनमार्ग विस्तारका लागि आवश्यक पहल गर्ने, विजौरी, बाँसगढी हुँदै रोल्पा पुग्ने सडक निर्माणका लागि आवश्यक पहल गर्ने मेरो प्रमुख एजेण्डा हुन् ।
त्यसैगरी मेरा प्रमुख एजेण्डामा विजौरी, दुधरासलगायतका क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गर्ने लक्ष्य रहेको छ । अहिले यी बजारमा शौचालय नहुँदा निकै समस्या भएको छ ।
सार्वजनिक शौचालय नहुँदा व्यवसायी तथा उपभोक्ताले व्यहोर्नुपरेको समस्यालाई सधैँका लागि अन्त्य गर्नका लागि पनि मेरो उम्मेदवारी परेको हो । त्यस्तै सरसफाई प्रभावकारी बनाई हाम्रो विजौरी राम्रो विजौरीको अभियानलाई सफल बनाउनका लागि पसल–पसलमा डोके टोकरी राख्न पनि पहल गर्ने मेरो प्रमुख एजेण्डा हुन् ।


व्यवसायीक सुरक्षाको ग्यारेन्टी

विदुर गौतम
महासचिवका उम्मेदवार
प्रजातन्त्रिक प्यानलबाट

विजौरी उद्योग वाणिज्य संघमा आगामी नेतृत्वका लागि मेरो महासचिवमा उम्मेदवारी परेको छ । व्यवसायीहरूको हकहितका लागि स्थापना गरिएको संस्था विजौरी उद्योग वाणिज्य संघमा म लगायत मेरा प्यानलका साथीहरू विजयी भएमा व्यवसायीको हकहितका लागि काम त गर्ने नै छौँ ।
त्यसमा कुनै पनि राजनीति, आफन्त केही लाग्ने छैन् । संघमा हामीले निष्पक्ष ढंगले व्यवसायीको हकहितका लागि काम गर्ने कुरा यहाँमाझ राख्न चाहन्छु । सपना ठूला बाँडेर पूरा नगर्नु भन्दा सानै सपना बाँड्नु उचित हुन्छ भन्ने सोचका साथ हामीले साना तर पूरा गर्न सकिने एजेण्डा लिएका छौँ ।
हामीले ल्याएका एजेण्डाले सबै कुरा समेट्न त सक्दैन् होला तर अहिले ल्याएका कुरा मात्रै होइन्, अरू आवश्यकता अनुसार पनि व्यवसायीका समस्यालाई समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।
हामीले विशेषगरी उद्योग वाणिज्य संघको आफ्नै भवनसहित सभाहलको परिकल्पना गरेका छौँ । संघ स्थापना भएको लामो समयसम्म पनि यी कुराहरूमा सम्भव देखिएका छैनन् ।
तर अब हामीले यसलाई पूरा गर्ने परिकल्पना गरेका छौँ । व्यवसायीको सुरक्षाको ग्यारेन्टीका लागि सुरक्षा व्यवस्थालाई थप व्यवस्थित बनाउने हामीले एजेण्डा ल्याएका छौँ ।
त्यसैगरी उद्योग वाणिज्य संघ आफैले यस क्षेत्रका उद्योगी व्यवसायी एवं नागरिकका लागि एम्बुलेन्स सञ्चालन गर्ने सोच बनाएका छौँ ।
एम्बुलेन्स सञ्चालन हुन सक्यो भने यसक्षेत्रका दूरदराजका बस्तीका नागरिकलाई सस्तो र सुलभ दरमा स्वास्थ्य संस्थासम्म पुग्नका लागि सहजता हुन्छ भन्ने विश्वास लिएका छौँ । हामी हाम्रो कार्यक्षेत्रलाई सीमित साँघुरो घेराभित्र राखेर काम गर्नुभन्दा पनि फराकिलो दायरामा राखेर काम गर्नेछौँ ।
संघको तर्फबाट हाम्रो कार्यक्षेत्रभित्र पर्ने बजारलाई व्यवस्थित कसरी बनाउने ? व्यवसायको प्रवद्र्धन कसरी गर्ने ? व्यवसायीलाई कर प्रणाली ? नयाँ व्यवसायीलाई पसल दर्ताका लागि कसरी सहज बनाउने ? भन्ने सोंचका साथ हामीले काम गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।
अहिलेसम्म भएका कामलाई निरन्तरता दिने र आगामी नयाँ कार्यलाई थप व्यवस्थित बनाउँदै लैजाने सोचले हाम्रो प्यानलले उम्मेदवारी दिएको छ ।
मैले भन्ने पर्ने कुरा के छ भने विजौरीमा आधुनिक किसिमको सार्वजनिक शौचालयको स्थापना गर्ने, पर्यटन प्रवद्र्धनलाई फाइदा पुग्ने गरी आधुनिक किसिमको ठूलो होटेल स्थापनाका व्यवसायीलाई सहयोग गर्ने उद्देश्य पनि लिएका छौँ ।
हामीले ल्याएका एजेण्डा चुनावी एजेण्डा मात्रै नभएर व्यवहारिक रूपमा कार्यान्वय हुनेछन् भन्ने गतिलो आधार के छ भने हामीले ठूला–ठूला महत्वकांक्षी योजना ल्याएका छैनौँ, साना तर सम्भव हुने योजना ल्याएका छौँ । हामीलाई व्यवसायीले गर्नुभएको विश्वास गुम्न दिने छैनौँ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here