Friday, April 12, 2024
Homebreaking-newsविकराल बन्दै स्वमरण

विकराल बन्दै स्वमरण

- Advertisement -spot_img

उमा भण्डारी
दाङ, २० असार । दाङमा तुलसीपुरकी एक युवतीले दुई दिन पहिले सामाजिक सञ्जाल फेसबुक ‘लाइभ’ गरेर स्वमरण गरिन् । तुलसीपुर–५ की २३ वर्षिय एलिशा गौतमले स्वमरणमा यस्तो हर्कत गरेकी हुन् । मध्यरातमा फेसबुकमा लाईभ गरेर आफ्नै कोठाभित्र उनले आत्महत्या गरेको दृष्य अहिले भाइरल बनेको छ ।
सामाजिक सञ्जालमार्फत लाईभ गरेर स्वमरण गरिएको घटनाले अहिले समुदायमा नकारात्मक प्रभाव पारेको स्थानीयहरू बताउँछन् । लाईभमै रहेर स्वमरण गरिएको दृश्यले संवेदनशीलसमेत बनाएको छ । पछिल्लो समय दाङसहित देशैभरी आत्महत्याले विकरालरूप लिएको छ । एलिशा त्यसमा एकजना मात्रै हुन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको घरमा एक्लै बस्दै आएकी एलिशाले सामाजिक सञ्जालमार्फत किन र कसका लागि आत्महत्या गरिन भन्ने ? कारण भने अहिलेसम्म खुलेको छैन । दिनप्रतिदिन आत्महत्याका घटनाहरू बढ्दै जाँदा घर, परिवार र नकारात्मक प्रभाव बढी देखिने गरेको छ ।
प्रदेश प्रहरीका अनुसार लकडाउन सुरू भएदेखि हालसम्म प्रदेश नम्बर ५ मा मात्रै ३ सय १३ जनाले आत्महत्या गरिसकेका छन् । जसमध्ये दाङमा ६७ जनाले आत्महत्या गरेका छन् । यस्तै रूपन्देहीमा ६५, कपिलवस्तुमा ३६, बर्दियामा ३५, गुल्मीमा २४, नवलपरासीमा २३,
रोल्पामा २२, पाल्पामा १८, अर्घाखाँचीमा ७, बाँकेमा ७, प्यूठानमा ५ र रूकुम पूर्वमा ४ जना गरी ३ सय १३ जनाले आत्महत्या गरेको ५ नम्बर प्रदेश प्रहरी प्रवत्ता एसएसपी राजकुमार बैदवारले जानकारी दिए ।
लकडाउनको समयमा आत्महत्याका घटनाहरू बढ्दै जानुको मुख्यकारण व्यक्तिको उमेर, बेरोजगार, मानसिक तनाव, आर्थिक समस्या र व्यक्तिको संवेग रहेको मनोचिकित्सहरूले बताउने गरेका छन् ।
विशेषगरी किशोर अवस्था र युवा अवस्थाका व्यक्तिहरू सामान्य विषयमा पनि आवेगमा आउने र दुर्घटना निम्त्याउने गरेको युनिर्भसल कलेज अफ मेडिकल भैरहवाका मनोचिकित्सक डा सञ्जिव शाहले बताए । ‘आफ्ना समस्याहरू परिवार, समुदाय र साथीहरूलाई खुलेर बताउन नसक्दा मानसिक तनाव भई आत्महत्या गर्ने गरेको अवस्था देखिन्छ’ उनले भने ।
‘आत्महत्या गर्नेहरूमा युवाहरू धेरै रहेका छन्’ उनले भने– ‘रिस र आवेगलाई नियन्त्रण गर्न नसक्दा चाहेरभन्दा नचाहेर आत्महत्या गर्न पुगेका छन् ।’ सामाजिक सञ्जालको प्रभाव, पारिवारीक र सामाजिक व्यवहारका कारणले पनि आत्महत्या बढ्दै गएको उनको भनाई छ ।
यस्ता घटनाहरूलाई कम गर्नका लागि सर्वप्रथम परिवार र समुदायस्तरमा सामाजिक सचेतना फैलाउन जरूरी रहेको उनले बताए । आफ्ना समस्यालाई कसरी भन्ने ? कसलाई भन्ने ? कहाँ जाने ? कुन समस्यालाई कसरी भन्ने ?
जानकारी नहुँदा अन्त्यमा विकल्प आत्महत्या रोज्ने गरेको उनले बताए । यसका लागि समुदायस्तरमा जनसचेतना फैलाउनु पर्ने उनी बताउँछन् । परिवारले आफ्ना सदस्यहरूलाई समय दिने, उनीहरूका समस्या सुन्ने, बुझ्ने, माया र सद्भाव कायम गर्ने, परिवारका सदस्यमा आएको परिवर्तनलाई ध्यान दिने र परामर्शकर्ता समक्ष गएर सल्लाह, सुझाव दिने गर्नाले आत्महत्याका घटनालाई कम गर्न सकिने उनको सुझाव छ ।
समुदायमा जनसचेतनाका कार्यक्रमहरू सञ्चालन गरी बढ्दो आत्महत्याका घटनाहरूलाई कम गर्न सकिने ५ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजकुमार बैदवारले बताए ।
मानसिक तनाव, लामो समयसम्मको प्रेम सम्बन्ध, सामाजिक सञ्जालको दुरूपयोग, मादकपदार्थ, लागूऔषध सेवन, जबरजस्ती करणी, नैरास्यता, पारिवारिक कलहलगायतका कारणले आत्महत्या हुने गरेको उनले बताए  ।
प्रदेश नम्बर ५ मा आत्महत्या गर्नेहरूको संख्या सबैभन्दा धेरै छ । यस्ता घटनाहरू न्यूनीकरणका लागि स्थानीय सरकारले समुदायमा सचेतना कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक देखिन्छ ।
प्रहरीले आत्महत्या कम गर्नका लागि विभिन्न प्रयासहरू गरिहेको भएपनि स्थानीय सरकार, समुदाय, संघसंस्था, सञ्चार संस्थाहरूको सहकार्य अत्यावश्यक रहेको उनको भनाइ छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here