Thursday, March 28, 2024
Homeफिचरयोग किन, कसरी गर्ने ?

योग किन, कसरी गर्ने ?

- Advertisement -spot_img

शारीरिकसँगै मानसिक रूपमा स्वस्थ रहनका लागि योगप्रति मानिसहरूको आकर्षण बढ्दै जान थालेको छ । व्यस्त जीवनशैलीका कारण मानिसहरु रोगी बन्दै छन् अनि स्वास्थ्यमा ध्यान पुग्न नसक्दा विभिन्न रोग लागेर लाखौं रूपैयाँ खर्च गर्नुपर्ने अवस्था छ । योगका माध्यमबाट स्वस्थ बन्न सकिने भन्दै पछिल्लो समय मानिसहरू योगमा जोडिन थालेका छन् । स्वस्थ नागरिक उत्पादनका लागि गाउँ–गाउँमा योग फैलाउन विभिन्न प्रयासहरू भएका छन् । सबैभन्दा ठूलो सम्पत्ति स्वास्थ्य हो भन्दै स्वस्थ जीवनशैलीका लागि मानिसहरू योगमा जोडिन थालेका छन् । स्वस्थ नागरिक उत्पादनका लागि स्थानीय सरकारले हरेक बस्ती–बस्तीमा योग साधना केन्द्र स्थापना गर्ने योजनाका साथ अघि बढेका छन् । विभिन्न समयमा हुने योग शिविरमा मानिसहरूको उल्लेख्य उपस्थिति हुने गरेको छ ।
मानव शरीरमा अनेक प्रकारका आन्तरिक बाह्य दुःख कष्ट छन् । जसले मानव जीवनको विकासको गतिलाई रोक्दछ । मानव जीवनमा बौद्धिक विकासका लागि महर्षि पतञ्जलीले शीर्षासन आदि अनेक योगासनको चर्चा गरेको छ । बौद्धिक विकासबिनाको जीवन अपूर्ण हो । मानव तथा अन्य प्राणीमा यही भिन्नता छ । योगले बौद्धिक विकासमा ठूलो टेवा पु¥याएको छ । योगीहरूको मेघाशक्ति अत्यन्तै तीव्र हुन्छ । प्राचीनकालमा योगीहरू योग मार्गद्वारा जीव जगतको सम्पूर्ण ज्ञान हाँसिल गर्दथे । आधुनिक चिकित्सा विज्ञानले निको गर्न नसकेको रोगलाई योग विज्ञानले सहजैरूपमा निको गरेका अनेकौ उदाहरण छन् । योगले रोग लाग्न दिदैन, रोग लागे पनि योग गर्नाले योग निर्मूल हुन्छ भन्ने योगको विशेषता छ । त्यसैले पछिल्ला दिनमा योग मानव जीवनको जीवन साँची बनेको छ । आज घर–घरमा योग जन–जनमा योग भन्ने नारा गुञ्जायमान भएको अवस्थामा कसले, किन र कसरी गर्ने ? सारसंक्षेपमा कुराकानी गरेका छौं ।


आत्मैदेखि योगलाई जोड्नुस्

लवदेव मिश्र
योग गुरु
केन्द्रीय प्रभारी
पतञ्जली योग समिति

बदलिदो जीवनशैली, गलत खानपानका कारण आज विश्वजगतमा धेरै मानिसहरु धेरै रोगबाट ग्रसित छन् । व्यस्त जीवनशैलीले शरीरमा अक्सिजनको कमीका कारण मानिसहरु रोगको शिकार बन्न बाध्य छन् ।
नेपालमा पनि मानिसहरु विभिन्न रोगबाट ग्रसित छन् । पहिलेको समयमा रासायनिक मल थिएन, खानामा विषादीको प्रयोग थिएन, जसले गर्दा खाना स्वस्थ्य थियो, अनि मानिसहरु पनि स्वस्थ जीवनशैलीमा थिए ।
अर्को कुरा त्यतिबेला यातायातको सुविधा थिएन् । मानिसहरु श्रम गर्थे । खानपान राम्रो थियो, जसले गर्दा उनीहरुलाई रोग लाग्दैनथ्यो ।
तर, अहिले मानिसहरुसँग सुविधा छ, पैसा छ तर श्रम छैन । अहिलेको खाना अस्वस्थ्यकर छ । खाना विषाक्तले भरिपूर्ण छ । मानिसहरुलाई शरीरमा भएको विषाक्तता फाल्नका लागि पनि अहिले योग आवश्यकता छ ।
पहिले–पहिले योग भनेको साधुसन्तले गर्ने भन्ने हुन्थ्यो । अहिले योग जो कोहीले गर्न सक्छन् भन्ने जनचेतना मानिसमा आइसकेको छ । यो पतञ्जली योगमा आधारित पुरानै विधा हो । स्वस्थ्य, निरोगी, दीर्घजीवि कसरी हुने ?
यसको सबैभन्दा सरल र प्राकृतिक विधि हो, योग । न हामी उपचार गरेर निरोगी हुन्छौँ, न औषधी सेवन गरेर नै । यद्यपि स्वस्थ्य खानपान र अनुशासित जीवनशैलीसँगै योगलाई जीवनको एउटा हिस्सा बनाउनुपर्छ, जसले हामीलाई निरोगी, जवान, उर्जावान् बनाउँछ ।
योगको शाब्दिक अर्थ जोड हो । आत्माको परमात्मासितको जोडलाई नै योग भन्ने गरिन्छ । तर, अहिले योगको परिभाषा बदलिएको छ ।
अहिले मानिसहरुलाई शारीरिक तथा मानसिक समस्याले सताएको छ । यस अर्थमा अहिले मानिसको मनसँग शरीरको जोडलाई नै योग भन्न सकिन्छ ।
यस अर्थमा शारीरिक रुपमा स्वस्थ्य, मानसिक रुपमा शान्त र आध्यात्मिक रुपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई नै योग भनिन्छ । योग भनेको रोगी व्यक्तिहरुका लागि चिकित्सा पद्धति हो ।
योगको माध्यमबाट रोगी व्यक्तिले आफूलाई निरोगी, स्वस्थ्य तुल्याउन सक्छन् । स्वस्थ्य व्यक्तिहरुका लागि जीवन पद्धति र योगीहरुका लागि साधना पद्धति हो । यस अर्थमा योग सबैका लागि हो ।
योगलाई उपयोग गरेर सबैका लागि उपयोगी तथा सहयोगी बन्ने सक्ने भएकाले पनि योग आवश्यक छ । योगमा जम्मा आठ आसन हुन्छ । त्यसमा याम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान, समाधि, त्याग पर्दछ ।
योगा त्यसमध्येको एउटा आसन हो । परापूर्वकालमा ऋषिमुनि तथा योगीहरु अदृश्य शक्तिसित आफूलाई जोड्नका लागि योग गर्थे । अहिले बदलिदो जीवनशैली तथा खानपानका कारण मानिसहरुलाई स्वस्थ रहन पनि योग आवश्यक छ ।
जब मानिस व्यक्तिगत रुपमा शारीरिक र मानसिक रुपमा स्वस्थ्य हुन्छ, त्यसपछि मात्र उसलाई अन्य कुराको चेत आउँछ । योगले शरीरमा अक्सिजनको मात्रा बढाउँछ । योगले शरीरमा अक्सिजनको कमीलाई समेत पूरा गर्छ ।

योग गर्नाले शरीरका सबै जोर्नीहरु चलायमान हुन्छ । यसले शरीरमा व्यायामको काम गर्छ । जहाँ–जहाँ व्यायाम हुन्छ, त्यहाँ रक्तसञ्चारका साथै अक्सिजनको मात्रा बढ्छ । जब शरीरमा अक्सिजनको मात्रा बढ्छ, शरीरका सबै अवयवहरु स्वस्थ्य हुन्छन् ।
यसले रोग प्रतिरोधात्मक क्षमता त बढाउँछ नै, रोगको समेत निदान हुन्छ । योगले ठूला–ठूला रोगहरुलाई निर्मूल बनाउने गर्छ । उच्च रक्तचाप, मधुमेह, ढाडका रोगी तथा ग्याष्ट्रिकका बिरामीहरु बढी योगतर्फ आकर्षित छन् ।
तर, जो कसैले योग गर्दा सुरुमा प्रशिक्षकसित सिकेर मात्र योग गर्न आवश्यक छ । त्यस्तै, योग गर्दा रोग र आफ्नो शारीरिक अवस्थामा ध्यान दिन जरुरी छ । जटिल समस्या भएमा प्राणायाम, कपालभाती, अनुलोम विलोम गर्न सकिन्छ ।
तर, शल्यक्रिया गरेको, गर्भवती भएमा, पेटमा घाउ वा अल्सर भएमा कपालभाती गर्न मिल्दैन । विकारलाई क्षय गर्ने कपालभाती तथा शक्तिलाई सञ्चित गर्न अनुलोप–विलोप हो । त्यसबाहेक, सूर्य नमस्कार सबैले गर्न मिल्ने आसन हो ।
सूर्य नमस्कारमा जम्मा १२ वटा आसन हुन्छ । सबै आसन गर्न भ्याएन भने पनि सूर्य नमस्कारका १२ वटा आसन र केहीबेर प्राणायम गरेमा मात्र पनि शरीर स्वस्थ्य रहन्छ । योग गर्नाका लागि सबैभन्दा पहिले योगलाई अंगाल्न आवश्यक छ ।
कम्तिमा मानिसले योगलाई अंगाल्नुपर्छ । त्यसपछि ध्यान पनि बढ्दै जान्छ । हामीले बच्चालाई प्रभावित गर्न चकलेट दिनुपर्छ । यसको लागि जगिङ जरुरी छ ।
जगिङ तथा सूर्य नमस्कारले शरीरलाई तन्काउने काम गर्छ । भित्रै आत्मदेखि तपाई जागरुक हुनुपर्छ तबमात्रै तपाई योग साधनामा जोडिनुहुन्छ ।

रोग, भोग र शोकको अन्त्यका लागि योग

टोपबहादुर के.सी.
संयोजक
पतञ्जली योग समिति
तुलसीपुर, दाङ

मानव जीवनका लागि योग निकै महङ्खवपूर्ण मानिन्छ । आज मानिस व्यस्त बन्दै गइरहेकोे छ तर अस्वस्थ पनि बन्दै पनि गएको छ । शारीरिक रुपमा अस्वस्थ मात्र हैन् मानसिक अवस्थामा पनि अस्वस्थ बन्दै गएको छ मानिस ।
व्यस्त जीवनशैलीका कारण रोगी बन्दै गएको अवस्थामा योग नै स्वस्थ हुने आधार हो । हामीले जसरी दैनिक रुपमा भोक मेटाउनका लागि खाना खान्छौँ त्यसरी नै दैनिकरुपमा योग अभ्यास गर्न जरुरी छ ।
रोग लागेर उपचारका लागि मंहगो शुल्क तिर्न बाध्य छ आज मानिस । तर दैनिक योग साधनाले अब मानिसले स्वास्थ्यका लागि ठूलो धनराशि खर्च गर्नुपर्ने छैन्, मात्र दैनिक करिब डेढदेखि दुई घण्टा समय दिए पुग्छ ।
किनभने योगले शारीरिकसँगै मानसिक रुपमा स्वस्थ बनाउँछ । यसले मानव शरीरमा रहेका आहारविहार सन्तुलन बनाउने काम गर्छ । योगका माध्यमबाट मोटो मानिस दुब्लाउँछ, दुब्लो मानिस मोटाउँछ ।
दैनिक योग साधनाले स्वस्थ विचार निर्माणमा ठूलो सहयोग गर्ने गर्छ । स्वास्थ्य नै ठूलो धन हो, तपाई स्वस्थ हुनुहुन्छ र त सब चिज छ, अनि तपाईको सफलता भनेको तपाईको स्वस्थ विचार पनि हो ।
तपाईको विचार नै अस्वस्थ भएमा तपाईले गरिने क्रियाकलाप विस्तारै दुर्गन्धित बन्दै जान्छ र विस्तारै तपाईलाई असफलतातिर लैजान थाल्दछ । आज नेपालसहित विश्व जगत्मा योग फैलिदै गएको छ ।
योगको आवश्यकता र महङ्खव मानिसहरु बुझ्दै जान थालेका छन् । योगलाई अब नेपालका हरेक ग्रामीण बस्तीहरुमा पु¥याउन जरुरी छ जहाँ पैसाका अभावमा मानिसहरु उपचार नपाएर मर्न बाध्य छन् ।
फैलिदै रोगलाई योग साधनाले रोग निर्मूल पार्नु छ । दाङमा पनि योगका माध्यमबाट स्वस्थ जीवनशैली जिउने मानिसहरुको संख्या हामीले बढाउँदै छौँ ।
आजभन्दा करिब १३÷१४ वर्षदेखि दाङमा योग अभ्यासको शुरुवात भएको मानिन्छ । दाङमा अहिले विभिन्न १ सय ३६ वटा केन्द्रमार्फत करिब दैनिक १० हजार बढीले योग साधना गरिरहेका छन् ।
नागरिक स्वस्थ भएमात्रै समृद्धि हासिल गर्न सकिन्छ भन्ने स्थानीय सरकार पनि सकारात्मक बन्दै गएका छन् । स्वस्थ नागरिक उत्पादनका लागि स्थानीय सरकारले हरेक बस्ती–बस्तीमा योग साधना केन्द्र स्थापना गर्नुपर्छ ।
योगलाई गाउँ–गाउँमा फैलाउन सकेमात्र नागरिक स्वस्थ हुन्छन् र राज्यले स्वास्थ्यमा गर्ने करोड, अरबको लगानी अन्य ठाउँमा लगानी गर्ने बाटो खुल्छ तबमात्रै हामीले सोचेको समृद्धि हासिल गर्न सकिन्छ ।
म पनि स्थानीय सरकारको प्रतिनिधि हो । मैले अब स्वस्थ समाज निर्माणका लागि गाउँ–गाउँमा योग प्रशिक्षण केन्द्र बनाउने अभियानमा छु । किनभने अहिले राज्यले स्वास्थ्यमा करोडौँको लगानी गरिरहेको छ तर पनि सबै नागरिक स्वस्थ छैन् ।
विभिन्न रोगले नागरिक ग्रसित भइरहेका छन् । अझ पछिल्लो समय अधिकांश नागरिक शारीरिक अस्वस्थभन्दा पनि मानसिक अस्वस्थ बन्ने गरेका छन् ।
अब मानसिक रुपमा अस्वस्थ नागरिकलाई स्वस्थ गराउने एउटा साधन भनेको नै योग हो । यसले मानिसको विचारलाई स्वस्थ बनाउँछ र हरेक सकारात्मक कुराले जीवन सुखतर्फ लैजान्छ ।

टुक्रिएको मनलाई जोड्न योग

शिवकुमार आचार्य
योग प्रशिक्षक

सामान्यतया हाम्रो समाजमा योग मात्र शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्नका लागि गरिने केही शारीरिक आसन भन्ने बुझिन्छ । तर वास्तविक रुपमा योगको अर्थ त्योभन्दा धेरै फरक र माथि छ ।
योग अर्थात् एक अथवा एकभन्दा बढी चिज एक दोस्रोमा समावेश हुनु, अथवा जोडिनु नै योग हो । नेपाली समाजमा योगलाई एक आध्यात्मिक प्रक्रिया पनि मानिन्छ, जसमा शरीर, मन र आत्मालाई एकीकृत गरिन्छ ।
सजिलो अर्थमा योग त्यो प्रक्रिया हो जसद्वारा हामी शरीर, मन र आत्मालाई सकारात्मक तरिकाले एकसाथ समावेश गर्छौं, आध्यात्मको प्राप्तीका लागि एक दोस्रोसँग जोड्छौँ ।
शरीरलाई स्वस्थ तथा स्फूर्तिवान राख्नदेखि लिएर तमाम बिमारीहरुको समाधानसम्म, आत्मादेखि लिएर शरीर तथा मस्तिष्कको शुद्धिसम्म, हरेक ठाउँमा योग हुन्छ ।
प्राचीन कालमा कलात्मकरुपमा साधना गर्न तथा ईश्वरको तपस्या गर्न साधु सन्यासीहरु योगको सहारा लिने गर्दथे । योगमा साधकका लागि जस्तोसुकै कुरा पनि असम्भव हुँदैन ।
अहिलेका मान्यताहरुको कुरा गर्दा योग मात्र केही शारीरिक व्यायाममा मात्र सीमित छ । यहाँसम्म कि यति धेरै प्रसिद्ध हुँदा पनि अहिलेसम्म योगको कुनै खास परिभाषासमेत सुनिश्चित गरिएको छैन ।
गीतामा योगका बारे कैयौँ ठाउँमा वर्णन गरिएको देखिन्छ । भगवान कृष्णले योगका तीन प्रकार बताएका छन् । ज्ञान योग, कर्म योग र भक्ति योग । जब कि योग प्रदीपमा यसका १० वटा प्रकारबारे वर्णन गरिएको छ ।
राज योग, अष्टाङ योग, हठ योग, लय योग, ध्यान योग, भक्ति योग, क्रिया योग, मन्त्र योग, कर्म योग, ज्ञान योग रहेका छन् । अब आजका सन्दर्भमा हामी जुन योगबारे कुरा गर्छौं ग्रन्थहरुमा त्यसलाई ‘अष्टाङ योग’ को नाम दिइएको छ ।
योगको उत्पत्तिबारे कुरा गर्ने हो भने वैदिक संहिता र वेदहरुमा ५०० देखि ९०० ईसापूर्वको बीचका तपस्वीहरुबारे उल्लेख गरिएको पाइन्छ । योग गर्ने साधकलाई पनि योगी भनिन्छ । योगी शब्द तपस्वीहरुका हकमा पनि प्रयोग हुन्छ ।
धार्मिक मान्यता तथा ग्रन्थहरुमा पनि साधु तथा साधकहरुका तस्विरमा साधनका दौरान उनीहरुलाई योग मुद्रामा नै देखाइएको छ । गौतम बुद्धदेखि लिएर महावीर स्वामी तथा शिवलाई पनि पद्मासन मुद्रामा देखाइन्छ ।
कर्मयोगको परम्परा विवस्वानको हो । विवस्वानले मनुलाई, मनुले इक्ष्वाकुलाई, इक्ष्वाकुले राजर्षीहरु एवं प्रजाहरुलाई योगको उपदेश दिए । यी सबै कुराहरु वेद तथा पुराणहरुमा उल्लेख गरिएको पाइन्छ ।
वेदलाई संसारकै प्रथम पुस्तक मानिन्छ । जसको उत्पत्ति काल लगभग १० हजार वर्ष पूर्व भएको बताइन्छ । त्यही पुरातङ्खववेत्ताको कुरालाई मान्ने हो भने योगको उत्पत्ति ५ हजार ईसापूर्वमा भयो ।
गुरु–शिष्य परम्पराद्वारा योगको ज्ञान परम्परागत तरिकामा आधारित भएर एक पिढीबाट अर्को पिढीलाई मिल्दै आयो । योगबारे सबैभन्दा आश्चर्यजनक खोज सन् १९२० को सुरुवातमा भएको मानिन्छ ।
आज योगले विश्वजगतमा शारीरिक रुपमा स्वस्थ मात्र होइन् मानसिक रुपमा पनि स्वस्थ बनाउँदै टुक्रिदै गरेको मनहरुलाई पनि जोड्ने गरेको छ ।

व्यस्त गृहणीका लागि योग

सहाना श्रेष्ठ
महिला उपाध्यक्ष
पतञ्जली योग समिति दाङ

घरायसी कामकाजमा व्यस्त गृहिणीलाई पनि सन्तुलन बनाइराख्न योग आवश्यक हुन्छ । कामकाजी मानिसलाई मानसिक शान्तिको निम्ति योगले औषधिको काम गर्छ । यसका साथै, कतिपय रोग उपचारको दृष्टिकोणले पनि योग आवश्यक छ ।
योग कसलाई आवश्यक पर्छ भन्नुभन्दा पनि कसलाई पर्दैन भन्ने मुख्य कुरा हो । बालकको शारीरिक विकास र विद्यार्थीको बौद्धिक विकासका लागि योग आवश्यक हुन्छ ।
वयस्क युवाका लागि योग कुलतबाट मुक्ति, एउटा संस्कारयुक्त बाटो अपनाउन तथा शारीरिक, मानसिक सुसंगठनका लगि पनि योग चाहिन्छ ।
योगका विभिन्न प्रक्रिया छन् । यी प्रक्रियामध्ये शरीरको बाह्य सन्तुलनका लागि व्यायाम, रोगका दृष्टिकोणले केही आसन र शरीरका अंग, प्रत्यंग स्वस्थ राख्न र मानसिक शान्तिका लागि प्राणायामको महङ्खवपूर्ण भूमिका हुन्छ ।

अहिले अष्टाङ योगमा आधारित भएर संसार चलिरहेको छ । त्यसमध्ये आसन र प्राणायामप्रति धेरैको आकर्षण छ । एउटा व्यक्तिले एकैचोटि कुनै नियमको पालन गर्न नसके पनि आसन र प्राणायामलाई समात्न सक्छ ।
त्यसपछि भने उसले नियमको बिस्तारै पालन गर्न थाल्छ । त्यसपछि एउटा ध्यान उत्पत्ति हुन्छ र मुक्तिको बाटो प्राप्त गर्न सक्छ ।
प्राणायाम श्वासका माध्यमबाट गरिन्छ । श्वास कसरी लिने ? श्वासलाई कसरी रोक्ने कसरी छोड्ने ? रोकेर कतिबेर राख्ने ? देब्रे नासिकाबाट लिएको श्वासको प्रभाव के हुन्छ ? दायाँबाट लिएको श्वासको प्रभाव के हुन्छ ?
श्वास नियन्त्रणका यी विविध विधिले फरक–फरक प्रभाव हुन्छ । प्राणायाम एक हिसाबले अक्सिजन थेरापी हो । अक्सिजन नलियो भने मानिसको मृत्यु हुन्छ, थोरै लियो भने बिरामी हुन्छ, पर्याप्त मात्रामा लियो भनेर शरीर सन्तुलित हुन्छ ।
पर्याप्त अक्सिजनले शारीरिक र मानसिक रोगसमेत निको हुन्छ । त्यसैले शरीरमा पर्याप्त अक्सिजनको आपूर्ति गराउने प्राणायाम सबैका लागि आवश्यक छ ।
प्राणायाम मानसिक सन्तुलनका लागि अचुक औषधि सरह हो । कुनै पनि विधिबाट सञ्चो नभएका बिरामीलाई पनि नियमित योगले लाभ मिल्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here