Monday, April 15, 2024
Homeराजनीतिनेपालमा क्रिस्चियनको प्रवेश

नेपालमा क्रिस्चियनको प्रवेश

- Advertisement -spot_img

के.बि. मसाल

नेपालमा कम्युनिस्ट सरकार बनेको १० महिना बित्यो । यतिबेला सरकार चर्को आलोचना भएको छ । ‘सुखी नेपाली समृद्ध नेपाल’को नारा उचालेको ओली सरकारले १० महिना पार गर्दा सरकारले दर्जनौँ विषयमा विरोधको सामना गर्न परेको छ । सरकार विवादास्पद आइएनजिओको धर्म प्रचार कार्यक्रममा सरिक भयो । धर्म निरपेक्षताको ख्याल नगरी सरकार गैरसरकारी संस्थाले आयोजना गरेको धार्मिक प्रचार कार्यक्रममा जुट्नु वैधानिकता कुल्चिनु हो । एसिया प्यासिफिक शिखर सम्मेलनको कार्यक्रममा प्रधानमन्त्री ओली नै उपस्थित भएर मन्तव्य राखेपछि झन् संविधान र जनभावनाको हुर्मत काडेको भन्दै चर्को आलोचना भैराखेको छ । प्रधानमन्त्री ओलीले त्यही कार्यक्रमबाट एक लाख डलर राशीको सुशासन पुरस्कार लिए । यसले अहिलेसम्म नेकपाभित्र र नेकपा इतर सरकारको खोइरो खन्ने बाटो भएको छ ।
सर–युनिभर्सल पिस फेडेरसनका नाममा युनिफिकेसन चर्चका तर्फबाट नेपालमा भएको एसिया प्यासिफिक समिटको नेपाली क्रिस्चियनहरुले पनि विरोध गरेका छन् । नेपालमा ३० लाख भन्दा बढी क्रिस्चियन भै सकेका छन् र १२ हजार चर्च पनि स्थापना भएका छन् । आफूलाई जिससको सन्तान भन्ने सन म्योङ मुन र उनकी श्रीमती हाक जा हान मुनले पैसाको आडमा धर्मलाई विकृत बनाएको भन्दै विश्वभरि आलोचना हुँदै आएको छ । नेपालमा पनि सरकारको आडमा उनीहरुले क्रिस्चियन धर्मलाई बदनाम गरेको भन्दै विरोध भएको छ । एकनाथ ढकाल क्रिस्चियन धर्म विस्तारका लागि स्थापना भएको युनिभर्सल पिस फेडरेसन (युपीएफ) को नेपाल शाखाका प्रमुख हुन् । विश्वमै विवादित धर्मगुरु रेभरेन्ड सन म्योङ मुनले सन् २००५ मा युनिफिकेसन चर्च स्थापना गरेका हुन् । जिसस क्राइस्टले पूरा गर्न नसकेको जिम्मेवारी दिएर ईश्वरले आफूलाई धर्तीमा पठाएको उनी बताउने गर्थे । युनिफिकेसन चर्चको एउटा अंगका रुपमा रहेको युनिभर्सल पीस फेडरेसन नेपालमा २००५ मा नै भित्रिएको हो । नेपालमा यो छद्मभेषी ढंगले सञ्चालित छ । यसलाई आईएनजीओको रुपमा दर्ता गरी सामाजिक संस्थाको रुपमा चिनाउने गरिएको छ तर, संस्थाभित्र क्रिश्चियानिटीको अभ्यास हुन्छ । नेपालमा यो संस्था फस्टाउनुमा पूर्वमन्त्री एकनाथ ढकालको ठूलो हात छ । नेपालमा क्रिश्चियानिटीको प्रभाव विस्तारमा उनको ठुलो भूमिका छ । एकनाथ ढकालले गैर नेपालीसँग विवाह गरेका छन् । उनले विभिन्न व्यक्तिहरुलाई विदेशीसँग सामूहिक विवाहसमेत गराउने गरेका छन् । ०६४ मा पहिलो संविधानसभा निर्वाचनपछि ढकालले आफ्नो पार्टीका सबै कार्यकर्तालाई क्रिश्चियन बन्न परिपत्र जारी गरेका थिए । ब्लेसिङका लागि देशभरका मेयर तथा उपमेयरहरुलाई जोडीसहित निम्तो गरिएको थियो ।
नेपालमा इसाई धर्म प्रवेशको इतिहास पाँच शताब्दी पुरानो हो । देवीप्रसाद शर्माको आधुनिक नेपालको इतिहासमा उल्लेख भए अनुसार, १६औँ शताब्दीमा इसाइको रोमन क्याथोलिक सम्प्रदायका धर्मगुरु ‘क्यापुचीन पादरी’ पहिलोपटक नेपाल छिरेका थिए । विक्रम सम्वत १६८५ मा कान्तिपुरका राजा शिवसिंह मल्लले पहिलोपटक क्यापुचीन पादरीहरुलाई धर्मप्रचारका लागि नेपाल भित्र्याएका हुन् । कान्तिपुरका राजा प्रताप मल्ल, ललितपुरका राजा श्रीनिवास मल्ल र भक्तपुरका राजा रणजीत मल्लले उनीहरुलाई निर्भयतापूर्वक धर्मप्रचार गर्न छुट दिएका थिए । त्यसरी छुट दिनेमा ललितपुरका राजा श्रीनिवास मल्लले बढी नै उदारता देखाएका थिए । विसं १८२४ मा उनीहरुले ३९ नेपालीलाई इसाई बनाएका थिए । त्यही समयमा ललितपुरमा पहिलो चर्चको स्थापना भएको थियो । पृथ्वीनारायण शाहले काठमाडौँमा विजय पाउनासाथ आफ्ना ६२ जना शिष्यसहित ती पादरीहरुलाई नेपाल छोडेर जाने आदेश दिएका थिए । तिनीहरुले ब्रिटिस जासुसको रुपमा काम गर्ने आशंकामा देश निकाला गरएिको थियो । वि.सं १८२६ मा ती पादरीहरु उत्तरी विहारको बेतियामा बसाइँ सरे । उनीहरुकै पछि लागेर क्रिस्चियन धर्म अँगालेका काठमाडौँ उपत्यकाका केही नेवारी परिवार पनि त्यतै लागे, जहाँ आजसम्म पनि नेवारी समुदायका रोमन क्याथोलिकहरु बसेका छन् । त्यसपछि २००७ सालसम्म नेपालमा एकजना पनि क्रिस्चियन पादरी थिएनन् ।
राणाशासनको अन्त्यपछि प्रजातन्त्रको स्थापना भयो । विदेशी मिसनहरु नेपालमा आउन थाले । राजा महेन्द्रको पालामा जेसुइटसहरुको नेपाल प्रवेशसँगै क्याथोलिक समुदायको पनि पुनःस्थापना भयो । जेसुइटसहरुले शैक्षिक प्रतिष्ठामार्फत देशको सेवा गर्ने उद्देश्य लिएका थिए । फादर मोरान नामका पादरीले त्यसबेला गोदावरीमा पहिलो इसाई विद्यालय स्थापना गरे । नेपाल आएर इसाई धर्म प्रचार गर्ने उनी पहिलो पादरी थिए । यसरी खोलिएको मिसन विद्यालयमा गरिब परविारका केटाकेटीलाई निःशुल्क शिक्षा दिइन्थ्यो । त्यसपछि क्याथोलिक सम्प्रदायका अनुयायीहरुको पहलमा सेन्ट जेभियर्स स्कुलको स्थापना भयो । त्यसपछि स्कुल मात्र होइन क्याथोलिक चर्च पनि स्थापना हुन थाल्यो । नेपालको पहिलो प्रोटेस्टेस्ट चर्च पोखराको रामघाट चर्च हो । इन्टरनेसनल नेपाल फेलोसिप अर्थात आईएनएफ नेपालको सबैभन्दा पुरानो क्रिश्चियन मिशनरीहरुको संस्था हो । यो युनाइटेड मिसन टु नेपाल भन्दा एक वर्ष अघिबाट सञ्चालनमा छ । उनीहरुले ग्रिन पाश्चर अस्पतालमा पोखरामा कुष्ठरोगका लागि खोलेका थिए । त्यसको सँगसँगै उनीहरुले पोखरामा साइनिङ अस्पताल खोले । जस्तापाताको प्रयोग गरेर बनाएको अस्पतालको छानामा सूर्यको किरण परेपछि चम्किलो देखिएको हुनाले त्यसको नाम साइनिङ राखिएको थियो । पछि सरकारले गण्डकी अञ्चल अस्पतालमा गाभेपछि अहिले साइनिङ् अस्पताल छैन । तर ग्रिन पाश्चर अस्पताल भने सञ्चालनमा छ । आइएनएफको सुर्खेतमा पनि अस्पताल छ । यस बाहेक बाँकेको नेपालगन्ज, धनुषाको लालगढमा पनि क्रिश्चियन मिशनरीहरुले कुष्ठरोगीको लागी अस्पताल सञ्चालन गरेका छन् ।
इन्टरनेसनल नेपाल फेलोसिको कार्यक्रम सञ्चालन भएको एकबर्ष पछि सन् १९५६ मा डा. एडगर मिलर फिजिसियन र डा. एलिजावेथ मिलर स्त्रीरोग विशेषज्ञ नेपाल आए । त्यसपछि युनाइटेड मिसन टु नेपालमार्फत शान्त भवनमा अस्पताल खुल्यो । त्यसपछि विस्तारै अन्य मिसन अस्पतालहरु खुल्न थाले । अहिले सबै मिसन अस्पतालहरु सरकारको मातहतमा हस्तान्तरण भइसकेका छन् । जस्तो पाटन अस्पताल, ओखलढुंगा, गोर्खाको आँपपिपल आदि । पाल्पाको मिसन अस्पताल समुदायले सञ्चालन गरेको छ । ती पनि सरकारलाई हस्तान्तरण गरिएको छ ।
नेपालमा मिसनरी अस्पताल, कल्याणकारी संस्था र विद्यालयहरु गरी दर्जनौँको संख्यामा इसाई संस्था सक्रिय छन् । सेन्ट जेभियर्स र सेन्ट मेरीजजस्ता विद्यालय यसका उदाहरण हुन् । सबैजसो विदेशी इसाई संस्थाहरुको चर्चहरुसँग सम्बन्ध छ । मिसनरीहरुमा खासगरी युनाइटेड मिसन टू नेपाल पाँच दशकदेखि नेपालमा छ । करिब १६ देशका ४० वटाजति संस्थाहरु मिलेर बनेको यूएमएनले नेपाल सरकारसँग धर्म प्रचारमा संलग्न नरही सेवा मात्रै उपलब्ध गराउने लिखित बचनवद्धता गरे पनि व्यवहार भने उल्टो छ । यी संस्थाहरुले स्वास्थ्य र शिक्षामा काम गरेपनि मुख्य काम भने धर्म प्रचार नै रहेको छ । जसको उदाहरण त्यहाँ काम गर्ने सबै कर्मचारीहरुलाई समेत क्रिश्चियन बनाएका छन् । क्रिश्चियन भएन भने त्यहाँ काम गर्न समेत पाइन्न ।  अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हाम्रा निम्ति आवश्यक छ ? छ भने के तिनका कार्यक्रमबाट मुलुकले अपेक्षित प्रतिफल पाएको छ ? स्वाभाविक रुपमा यस्ता प्रश्न किन पनि उठछन् भने एकैखाले उद्देश्यका निम्ति समेत अनेक संस्थाहरुले अनुमति पाएका छन् । हाम्रा सरकारी निकायहरुबीच समन्वयको अभावमा ती संस्थाले निर्धारण गरिएभन्दा विपरीत क्षेत्रमा समेत कार्यक्रम चलाइ रहेका छन् । तीमध्ये अधिकांशको उद्देश्य गरिबी न्यूनीकरण गर्ने भन्ने उल्लेख गरेका छन् । कतिपयले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्ने उल्लेख गरेका छन् । तर तिनै संस्थाहरुले नेपालमा धर्म परिवर्तनका लागि मुलुकभर क्रिस्चियन मिसिनरी सक्रिय छन् । नेपालमा अहिले इन्टरनेसनल नेपाल फेलोसिप, युनाइटेड मिसन टु नेपाल, वल्र्ड भिजन नेपाल, मेरी स्टोप्स क्लिनिक मेडिकल क्रिस्चियन फेलोसिप, फोकस, टिम मिसन, आड्रा नेपाल, नेपाल क्रिश्चियन चिल्ड्रेन एजुकेसन, क्याम्पस क्रुसेड फर क्राइस्ट, इन्टरनेसनल बाइबल सोसाईटी, नेपाल क्रिस्चियन एलाइन्स, एभ्री होम क्रुसेड, गोस्पेल फर एसिया, विटनेस फर नेपाल, नेपाल बाइबल सोसाइटी, एभान्जेलिकल एलाइन्स, नेपाल लेप्रोसी ट्रस्ट, नेपाल ख्रिस्टीयन फेलोसिप, आगापे क्रिस्चियन फेलोसिप, इम्यानुएल चर्च मिनिस्ट्रज, गोस्पेल रेकर्डङ, अपरेसन मोबिलाइजेसन, इन्टरनेसनल निडस, प्रिजन फेलोसिप नेपाल, नेसनल चर्च फेलोसिप अफ नेपाल, बाइबल ट्रेनिङ्, क्रिस्चियन आर्टस् एसोसिएसन, मुभमेन्ट फर युनिटी, क्रिश्चियन प्रोफेसनल फेलोसिप, विश्वविद्यालय क्रिस्चियन विद्यार्थी संगती । यी मेसीनरीले नै मुलुकभर धर्म निरपेक्षताको आडमा धर्म परिवर्तनको संजाल फैलाएका छन् ।
तर पनि यी संस्थाहरुले मुलुकमा केही राम्रा कामहरु गरेका पनि छन् । युनाइटेड मिसन टु नेपालले स्वास्थ्य, शिक्षा, हाइड्रोपावरलगायत सामुदायिक विकासका अन्य क्षेत्रमा काम गर्दै आएको थियो । पाटन अस्पताल, तानसेन मिसन अस्पताल र ओखलढुंगा अस्पतालको स्थापना गरी स्वास्थ्य सेवाको क्षेत्रमा यसले योगदान पु¥याएको छ । शिक्षा क्षेत्रअन्तर्गत गण्डकी बोर्डिङ स्कुल पोखरा, कर्णाली टेक्निकल स्कुल जुम्ला, महेन्द्र भवन कन्या स्कुल काठमाडौँ तथा बुटवल टेक्निकल इस्न्टिच्युटको स्थापना गरी सरकारलाई हस्तान्तरण गरिसकेको छ । त्यस्तै हाइड्रोपावरअन्तर्गत तिनाउ नदी, आँधीखोला, झिमरुक, खिम्तीलगायतका जलविद्युत परियोजना निर्माण गरेको छ । यी परियोजनामार्फत कूल राष्ट्रिय विद्युत उत्पादनको १३ प्रतिशत आपूर्ति भईरहेको छ । बुटवल पावर कम्पनी तथा हिमाल हाइड्रो जनरल कनस्ट्रक्सन स्थापना गरेर अधिकांश शेयर सरकारलाई हस्तान्तरण गरिसकेको छ । अहिले मुनको रक्सी सेवन काण्डमा नेता माधवकुमार नेपाल र प्रधानमन्त्री खड्का ओली नेपाली जनताको अगाडि चर्चाको विषय बनेका छन् । तर नेपालमा इसाईकरणको मुख्य योजनाकार कमाण्डरको भने चर्चा हुन सकेन । अमेरिकाको एउटा गैरसरकारी संस्थाले सन् २००३ मा माओवादी जनयुद्ध सम्बन्धी गोप्य रुपमा प्रतिवेदन तयार गरी नेपालमा माओवादी जनयुद्धको अनुसन्धान गरि पठाएको रिपोर्टमा तीनवटा कारण उल्लेख गरेको थियो । ती तीन कारणमध्ये एउटा कारण क्रिस्चियन विद्रोहसँग जोडिएको थियो ।
पूर्वी रुकुमको तकसेरामा विक्रम सम्वत् २०२५ सालमा नेपाल सरकारको अनुमति लिएर त्रिभुवन विश्वविद्यालय मार्फत् समर इन्स्टिच्युट अफ लिलिङवस्टिक्स (सिल) ले नेपालका भाषा र भाषिकाहरुको वर्गीकरण गर्ने सम्झौता भयो । भाषाको आवरण दिए पनि यो संस्था आदिवासी भाषाहरुमा बाइबललाई अनुवाद गर्ने मिसनरी संस्था थियो । सिलका परियोजना निर्देशक डा. डेभिड वाटर्स पूर्वी रुकुमको तकसेरा र अन्य गाउँहरुमा पुगे । त्यहाँ उनले खाम मगर भाषाको अध्ययन मात्रै गरेनन् उनी र उनको परिवार घर बनाएरै बस्न थाले । डा.वाटर्सले बाइबललाई खाम भाषामा अनुवाद गरे । पछि सरकारसँग सम्झौताको अवधि सकियो र वाटर्स परिवारले तकसेरा छाडे । उनले गाउँ छाडे पनि उनले थुप्रै खाम मगरहरु क्रिस्चियन बनाई सकेको थिए । सदरमुकाम मुसिकोटमा यो खबर पुग्यो । धर्म परिवर्तन गैरकानुनी थियो । पूर्वी रुकुमका मगरहरुमा धर्म परिवर्तन व्यापक हुन थालेपछि प्रशासनले स्थानीय क्रिस्चियन नेताहरुलाई पक्राउ गर्ने आदेश दियो ।  नौ जनाले आफूले क्रिस्चियन धर्म परिवर्तन गरेको स्वीकार गरे र उनीहरुलाई एक वर्ष कैद सजाय भयो । अरुलाई धर्म परिवर्तन गर्न लगाएको आरोपबाट भने सफाई पाए । तिनै जेलमा परेकाहरुबाट गाउँमा पानीबाट चल्ने सःमिल खोले । मिल दुई तले थियो मिलको तलामा क्रिस्चियनहरु भेला हुने भजन हुने कामको फेरी सुरुवात भयो । २०४० सालमा मिल बन्द गराउन भनेर प्रहरी गाउँमा पुग्दा गाउँलेले प्रहरीलाई समाएर जुँगा उखेल्ने, कालोमोसो दल्ने मात्र होइन बर्दी च्यातेर पिटपाट गरेर पठाए । माओवादी क्रिस्चियन ‘कनेक्सन’ सुरु भएपछि नेपालमा संस्कृत पढाएको निहुँमा शिक्षकको हत्या हुने घटनादेखि संस्कृत विद्यालयमा बम विस्फोटसम्म भयो । पुराण लगाएको ठाउँमा पण्डितको हत्या भयो । बाहुनको घरमा गोरुको मासु पकाउन लगाएर खाए । गाउँमा काजकिरिया गर्न नदिने दशैँ तिहार मान्न नदिने घरमा राखेको जमरा उखेलेर फाल्ने बाहुनको टुपी उखेल्नेसम्म तत्कालीन जनयुद्वमा माओवादीले गरे । अमेरिकी गैरसरकारी संस्था युएसडीले तयार गरेको प्रतिबेदनमा माओवादी द्वन्द्वमा क्रिस्चियन विद्रोहसँग जोडिएको पात्र पनि छ भनेर ‘कनेक्सन’ भएको रिपोर्टिङ तयार पार्नु र भारतीय लेखक राजीव माल्होत्रको नेपालमा माओवादी इसाई साँठगाँठको खुलासा गरेको ब्रेकिङ इण्डिया नामक पुस्तकमा उद्धृत तथ्यले देखाउँछ असली मुनको खसोखास नायक क. प्रचण्ड हुन् ।
नेपालको संविधानमा प्रत्येक व्यक्तिलाई प्रचलित सामाजिक एवं साँस्कृतिक परम्पराको अवलम्बन, अभ्यास र संरक्षण गर्न हक हुनेछ । तर, कसैले कसैको धर्म परिवर्तन गर्न पाउने छैन र एकअर्काको धर्ममा खलल पार्ने गरी कुनै काम, व्यवहार गर्न पाउने छैनन् भनेर स्पष्ट उल्लेख गरेको छ । तर यसको विपरीत धर्म परिवर्तन रोकिएको छैन । नेपाली चर्च र इसाई संघसंस्थालाई ठूलो परिमाणमा विदेशी सहयोग आइरहेको छ । अमेरिका, बेलायत, जर्मनी, नर्वे, फिनल्याण्ड, स्वीडेन, डेनमार्क, जापान र दक्षिण कोरियाजस्ता मुलुकले नेपाली इसाई संघसंस्था र चर्चलाई आर्थिक सहयोग गर्दै आएका छन् । नेपालमा इसाई धर्म मध्यपहाडमा बढी फस्टाएको छ । आईडीएको सर्वेक्षणमा पनि नेपालमा इसाई धर्म अंगाल्ने धेरैजसो पहाडी मूलका जनजाति र दलित तथा तराई मूलका जनजाति भेटिएका छन् । हिन्दूधर्ममा रहेको जातीय भेदभाव र समाजमा व्याप्त गरिबीको कारण पनि इसाईकरण बढेको हो । धर्म निरपेक्षताको अर्थ राज्यमा सबै धर्मप्रति समान व्यवहार र स्वतन्त्रतना हो । पवित्र उद्देश्यले धर्म निरपेक्ष मुलुक घोषणा गरिए पनि यसको दुरुपयोग गरिएको छ । क्रिस्चियन मिसिनरीले गलत ढंगले उपयोग गरिरहेको देखिन्छ । अरुलाई विभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन गराउनु यसको मुख्य मिसन देखिन्छ । नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेपछि क्रिस्चियन मिसिनरी झन सक्रिय भएका छन् ।
सांसदहरु र राजनेताहरुलाई विदेश भ्रमणमा लैजाने र उनीहरुलाई हातमा लिने काम दक्षिण कोरियाका सन म्योङ मुन र उनको संस्था युनिभर्सल पिस फेडरेसन (युपीएफ) लागि परेको छ । मुन युनिफिकेसन चर्च अभियानका नेता पनि हुन् । उक्त संस्थाको प्रायोजनमा अधिकांश राजनेता र सांसदको टोलीले विदेश भ्रमण गर्दै आएका छन् । उक्त संस्थाको प्रायोजनमा पूर्व प्रधानमन्त्री एवं काँग्रेस नेता शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, एमाले पूर्वमहासचिव माधवकुमार नेपाल, पूर्वसभामुख तारानाथ रानाभाट तथा विद्यार्थी नेताहरु प्रदीप पौडेल, विश्वप्रकाश शर्मा र ठाकुर गैरेसम्मले अमेरिका फिलिपिन्स, कोरियालगायतका देश घुम्ने अवसर पाइसकेका छन् । अझ भन्ने हो भने युपीएफका नेपाल प्रमुख सभासद एकनाथ ढकाल हुन् । एकनाथ पनि अनेक प्रवचनका बहानामा क्रिस्चियन धर्म परिवर्तनको अभियानमा छन् । कतिपय सभासदसमेत नक्कली इसाई भएका छन । आर्थिक प्रलोभनमा परेका छन् । यस्ता कुरा सबैले बुझ्न जरुरी छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here