Saturday, April 13, 2024
Homeमनोरञ्जनतीर्थाटन पर्यटनको लागि डिग्रे मेला

तीर्थाटन पर्यटनको लागि डिग्रे मेला

- Advertisement -spot_img


के.बी. मसाल
हामी नेपालीहरु प्रकृतिका धनी छाँै । हाम्रो पर्यटन पनि धेरै प्रकृति तीर्थाटनसँग जोडिएको छ । प्रकृतिमानै हामीले भन्दै आएका कोट, ऐतिहासिक स्थल, मठमन्दिर र हामी पुग्ने तीर्थाटनका स्थलहरु छन् । आजभोलि धेरै ग्रामीण पर्यटकहरु तीर्थाटनको खोजीमा हुन्छन् । सुलभ यातायात र खाना, बस्नको लागि होटलको सुविधा भएका स्थलहरुमा टाढा–टाढाका पर्यटकहरु पनि तीर्थाटनकै लागि आफ्नो भ्रमण तय गर्दछन् ।
रुकुम जिल्ला अहिले दुई भागमा विभाजन भएको छ । पूर्वी रुकुमको तीन गाउँपालिका छुट्टै जिल्ला भएर त्यसको सदरमुकाम रुकुमकोटमा भएको छ । यो क्षेत्र प्रदेश नम्बर ५ मा पर्दछ । रुकुमको पश्चिम भूगोल प्रदेश नम्वर ६ मा पर्दछ भने यसको सदरमुकाम मुसिकोट नै छ । ४४ वर्षअघि १२ वर्षसम्म रुकुम जिल्लाको सदरमुकाम रुकुमकोटमा नै थियो । भौगोलिक, ऐतिहासिक, साँस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले रमणीय रुकुमकोट ५२ पोखरी र ५३ टाकुरीको नामले चिनिने छुट्टै महत्वको पहिचान थियो । तर २०३० सालमा रुकुमकोटबाट मुसिकोट खलंगामा रुकुमको सदरमुकाम सारिएको थियो । रुकुम ताल, तलैया, दह, कुण्ड, पोखरीबाट पहिचान भएको जिल्ला हो । जिल्ला विभाजन भएपछि धेरै ताल र पोखरी पूर्वी रुकुमको भूगोलमा परेको छ । तीर्थाटनमा रुकुम डिग्रे पुग्ने पर्यटकहरु आफ्नो भ्रमणको समय लभ्याउन चाहे धेरै स्थानमा पुग्न सक्दछन् ।
प्रदेश नम्बर ६ रुकुम जिल्लाको मुसिकोट नगरपालिका–५ थर्पुमा डिग्रे साईकुमारी भगवतीको मन्दिर रहेको छ । यो मन्दिर रुकुम जिल्लाको प्रसिद्ध धार्मिक प्रतिष्ठान मानिन्छ । प्रत्येक वर्ष प्रवोधनी अर्थात हरिबोधनी, तुलसीको विवाह गर्ने एकादशीबाट सुरु भई पूर्णिमाको दिनसम्म लाग्ने डिग्रे साईकुमारी भगवतीको मेलाले स्कुम मात्र होइन अन्य जिल्लाका तीर्थाटनमा निस्कने पर्यटकहरुलाई डिग्रे मेलाले आकर्षित गर्ने गरेको छ । मेलामा स्थानीय कला, संस्कृतिको लोकदोहोरी, सामूहिक लोकनृत्य, एकल नृत्यजस्ता आफ्नै संस्कृतिमा रमाउँदै लोक संस्कृति झल्कने खालका झाँकी, लोकबाजा र भजनले तीर्थाटनमा पुग्ने पर्यटकहरुलाई मनोरञ्जन दिलाएको हुन्छ । डिग्रे साईकुमारी भगवती मन्दिरको दर्शन गर्नाले आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक विश्वास पनि गरिन्छ ।

डिग्रे साईकुमारी मन्दिरमा बली चढाउने प्रथा पनि छ । एकादशी र पूर्णिमाको दिनमा भने बली दिइदैन र पूर्णिमाको दिनमा सखाल अर्थात साखगाउँको नाच नाचेपछि मात्र मेला समापन हुने गर्दछ । यो नाचलाई वीरताको प्रतिक पनि मानिन्छ । डिग्रेको मेलामा हातमा ठूला–ठूला लाठी नचाउँदै सयाँै युवा तथा वृद्ध एकैसाथ दौडिदै आएपछि भागदौड मचिन्छ । केही समय भागाभाग भएपनि ति लाठी बोकेका मानिसले कसैलाई केही नगरी आफू आफूहरुमा लाठीले हानाहान गर्छन् । त्यसपछि भने दर्शक नजिकै झुम्मिएर मज्जाले लाठी कुटाकुट नृत्यको मज्जा लिन्छन् । हातमा ठूलो लाठी बोकेका युवा कहिले डिग्रे मन्दिर परिक्रमा गर्छन् त कहिले मेलामा आएका मानिसको भिडमा लाठी नचाउँदै कुटाकुट गर्छन् । उनीहरुको टाउकोमा ठूला–ठूला लाठीको चोटहरु वर्षाइन्छ । डिग्रेको मेला नहेरेका मानिसहरुलाई लाग्छ दुई थरि युवाबीच घमासान युद्ध भैरहेको छ ।
त्यसको पछि वृद्ध मादल लगायतका बाजाहरु बजाउँदै अगाडि बढिरहेका हुन्छन् । तर यो सबै दृश्यहरु कुनै लडाइँ तथा झगडा नभएर पुण्य प्राप्तीको लागि रुकुमको डिग्रे साईकुमारी मन्दिरमा साख गाउँका बासिन्दाले प्रदर्शन गर्ने लाठी कुटाकुट नृत्य हो । झण्डै एक घण्टासम्म युवाबीच लाठी हानाहान हुन्छ तर त्यो अवधिमा कसैलाई पनि कुनै चोटपटक लाग्दैन । प्रत्येक वर्ष साख गाउँको सकाल नृत्यले तीर्थाटनमा पुग्ने पर्यटकहरुलाई रोमाञ्च बनाई दिन्छ । साखगाउँका मानिसहरुले गाई प्राप्त गर्नको लागि नाच देखाएको प्रसंग पनि यो नाचसँग जोडिएको छ । यो नाचमा आउने मानिसहरुमा छुट्टै पहिरन, फूर्तिलो अनुहार र बान्की परेका युवाहरु रहेका हुन्छन् । दमाह, झ्याली, टेम्कुलगायत पञ्चेबाजाको धुनमा हातमा लठ्ठी र जंगलमा पाईने झ्याउजस्ता वनस्पतीको साजसज्जामा आएका साखगाउँका मानिसहरु मन्दिर अगाडि चौरमा आएपछि मेलाको रौनक नै अर्कै हुन्छ । मन्दिर अगाडि नाचको गर्रा छुटेपछि मेलामा गएका सबै तीर्थाटनका पर्यटकहरुको ध्यान नाचमा पुग्ने गर्दछ ।
रुकुम जिल्ला नेपाल एकीकरण हुनुभन्दा अघि भुरे–टाकुरे राजाहरुले तीन सय वर्षसम्म राज्य चलाएका थिए । इतिहासमा मलय वर्माका छोरा पार्वती रायले रुकुममा राज्य स्थापना गरेको पाइन्छ । त्यतिबेला रुकुम राज्यमा आठहजार घरघुरी भएको इतिहास छ । त्यसपछि बाइसे राजाहरुमा गजनीबम, जलालबम, जसबम हुँदै जयतबमहरुले राज्य गरेका थिए । दरबारको झै झगडा र भाइहरुको बीच झगडा हुन थालेपछि जयतबमका छोराहरुका पालामा रुकुम राज्य रुकुमकोट, मुसीकोट, बाफिकोट, आठबिसकोट, गोतामकोट र जाहारीकोटमा विभाजन हुन पुगेको थियो । एकीकरण पछि विस. २०१८ सालमा नेपाललाई चौध अञ्चल पचहत्तर जिल्लाको प्रशासनिक स्वरुप विभाजन गर्ने क्रममा रुकुम जिल्लाको नामाकरण भएको हो ।

डिग्रे साईकुमारी मन्दिरमा बली चढाउने प्रथा पनि छ । एकादशी र पूर्णिमाको दिनमा भने बली दिइदैन र पूर्णिमाको दिनमा सखाल अर्थात साखगाउँको नाच नाचेपछि मात्र मेला समापन हुने गर्दछ । यो नाचलाई वीरताको प्रतिक पनि मानिन्छ । डिग्रेको मेलामा हातमा ठूला–ठूला लाठी नचाउँदै सयाँै युवा तथा वृद्ध एकैसाथ दौडिदै आएपछि भागदौड मचिन्छ । केही समय भागाभाग भएपनि ति लाठी बोकेका मानिसले कसैलाई केही नगरी आफू आफूहरुमा लाठीले हानाहान गर्छन् ।


डिग्रे साईकुमारी भगवतीको मन्दिर यिनै बाईसे राज्य सञ्चालन गर्ने बेला शाह राजाले स्थापना गरेको हँुदा भगवतीको नाम पनि साई राखिएको भन्ने जनविश्वास छ । शाह राजाहरुले डिग्रे साईकुमारी भगवतीलाई शक्तिपीठको रुपमा मान्ने हुँदा मन्दिरमा बली प्रथा सुरुदेखि नै चल्दै आएको हो । मन्दिरभित्र साईकुमारीको ढुंगाको प्रतिमा, गणेश, शिव, पार्वतीको प्रतिमा राखिएको छ भने मन्दिर परिसरमा सिद्धबाबा मन्दिर, सत्यनारायण मन्दिर, धर्मशाला र खप्तड बाबाको मन्दिरसमेत निर्माण गरिएको छ । डिग्रे साई भगवती मन्दिरमा हालसम्म ऐतिहासिक कुनै पुराना ताम्रपत्रहरु भेटिदैन । तर मन्दिरमा चढाएको एक घण्टमा बि.स. १६४२ मा कालिबहादुरले चढाएको भन्ने उल्लेख छ । यो घण्टको सम्वतलाई आधार मान्ने हो भने साई भगवतीको इतिहास सोहौ्र, सत्रौँ शताब्दीबाट सुरु भएको मान्न सकिन्छ । ६ सय बर्ष पहिलेबाट यहाँ पूजापाठ गर्न सुरु गरिएको भएपनि २०३६ सालबाट क्रमशः तीर्थाटनको लागि पर्यटकहरु डिग्रे पुग्ने गर्दछन् । डिग्रेमा साईकुमारी भगवती देवीकै चाहना बमोजिम मेला सुरु भएको किंवदन्ती रहेको छ । मन्दिर नजिकै रहेको पानीको धारामा मानिसको संख्या बढेसँगै धाराको पानी बढ्ने विश्वास छ ।
डिग्रे साईकुमारी मन्दिरबाट एक घण्टाको उकालो पैदल यात्रामा पुगिने जन्ती बस्ने ढुंगाबाट स्यार्फु तालको पूर्ण आकार, पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटको सम्पूर्ण दृश्य, सिस्ने हिमाल, पुथा हिमाललगायतका दर्जनौँ प्राकृतिक मनोरम दृश्य देख्न सकिन्छ । त्यसैगरी दक्षिण पट्टी रहेको सल्यान जिल्लाको कुमाक लेक र रोल्पा जिल्लाका अनगिन्ती पहाडका श्रृंखला जन्ती बस्ने ढुंगाको एकै स्थानबाट अवलोकन गर्न सकिन्छ । पहाडहरुको बीचमा रहेको जन्ती बस्ने ढुंगाको उचाईमा आजभोलि स्काई फोनको टावर र सानो भेरी एफएमले समेत आफ्नो टावर बनाएको छ । जिल्लाकै ऐतिहासिक महत्व बोकेको जन्ती बस्ने ढुंगामा बाईसे राजाहरुले लडाईको समयमा दुश्मनको अवलोकन र आफ्नो सुरक्षाको लागि पनि यहि स्थल वरपर सुरक्षित थलो बनाएका थिए । फिस्टेल नेपाल प्याराग्लाईडिङ प्रालिले गत बर्ष रुकुमको तीन ठाउँमा प्याराग्लाईडिङको सफल परिक्षण गरेको थियो । रुकुम मुसिकोट नगरपालिकाको जन्तीबस्ने लेक, रुकुमकोटको झुम्कामारे लेक र बाँफिकोटको झार्लेगोठ लेकमा प्याराग्लाईडिङ सफल परिक्षण भएको थियो । जन्तीबस्ने लेकबाट प्याराग्लाईडिङ उडान मुसिकोटको सल्ले विमानस्थलमा अवतरण गरिएको थियो । साहसिक पर्यटनहरुको लागि जन्तीबस्ने ढुङगा प्याराग्लाईडिङ उडान भर्ने स्थल पनि हुने भएको छ ।
डिग्रे मात्र होइन धार्मिक एवं ऐतिहासिक महत्व बोकेका स्यालापाखाको बराह मन्दिर नाथीगाड, आठबिसकोट, पिपलको कुनाखेतजस्ता स्थानमा पनि मेला लाग्ने गर्दछ । ओढार, ऐतिहासिक राजाहरुको दरबारका भग्नावशेष, झुलावाङको तामाको पैसा काट्ने ऐतिहासिक टक्सार, कोलको विरगुम गाउँको तामा खानी, पोखराको तातोपानी, सानोभेरीले पनि तीर्थाटनका पर्यटकहरुलाई नयाँ अनुभूत दिलाउन अहिले पूर्वी–पश्चिम दुई भागमा विभाजन भएको रुकुम जिल्लाले सक्दछ । यो बाहेक ठूलो भेरी सानो भेरीको मिलनस्थल रिम्ना आठबिसको राढीज्यूला, चौरजहारीको सुन्दर उपत्यका साखको ठूलीदह, सानीदह तकसेराको मनोरम वस्ती, उत्तरगङगा माछेमूल, कोल किनवाङ घनचौरको भेडाको बथान निस्कने ओढार हिमाली वन्यजन्तु र पशुपन्छीको वासस्थान लगायतका कतिपय पहिचान भएका र पहिचान हुन नसकेका भौगोलिक प्राकृतिक संरचनाहरुको धनी रहेको छ रुकुमको प्राकृतीक सम्पदा । हिमाली गाउँ अथवा खाममगर जातिहरुको बस्तीमा पुग्ने तीर्थाटनका पर्यटकहरु पूर्वी रुकुम पुगेपछि ढोरपाटन जान रुचाउँछन् ।
अहिले रुकुम शान्त छ । १० वर्षे सशस्त्र द्वन्द्वको उद्गम थलोको रुपमा पहिचान भएको रुकुमभित्र प्रकृतिको अनुपम उपहारका सम्पदा रहेको छ । दश वर्षे जनयुद्धको उद्गम स्थल मानिने रुकुम जिल्ला विकास निमार्णमा जुटेको छ । जिल्लामा भएका ऐतिहासिक, साँस्कृतिक र भौगोलिक दृष्टिले महत्वपूर्ण पर्यटकीय सम्भावना रहेको स्थानको पहिचान गरी पछिल्लो समय ग्रामीण पर्यटन क्षेत्रको विकास हुन थालेको छ । रुकुमदेखि सल्यान हुँदै दाङसँग जोड्ने सडक कालोपत्रे भएको छ । पश्चिम रुकुमको चौरजहारीदेखि बाग्लुङ जिल्लासँगको सीमाना काँक्रीको इरनेटासम्म १३४ किलोमिटर मध्यपहाडि लोकमार्ग कच्ची सडक सञ्चालनमा आएको छ । रुकुममा चौरजहारी र मुसिकोट गरी दुईवटा विमानस्थल पनि कालोपत्रे भई सकेको छ । अहिले पश्चिम रुकुमका मुसिकोट, चौरजहारी, आठबिसकोट नगरपालिका र बाँफिकोट, त्रिवेणी, सानी भेरी गाउँपालिका सबैमा धुले सडक निर्माण भएका छन् । भने पूर्वी रुकुमका पुथा उत्तरगंगा, भूमे र सिस्ने गाउँपालिकामा पनि मध्यपहाडी लोक मार्गले धेरै ठाउँमा कच्ची भएपनि सडक यातायातले सुविधा दिएको छ ।
मानिस स्वभावले नै विविधता मन पराउँछ चाहे जेसुकै कुरामा होस् । उसलाई नयाँ–नयाँ ठाउँ घुमफिर गर्न मन लाग्छ । घुमफिरमा खाना पनि पाएसम्म नयाँ स्वाद र परिकार खोज्ने कसैको मन हुन्छ । यो मानवको स्वभाव हो, विविधतामा रमाउने । रुकुमको डिग्रे साईकुमारी भगवतीको तीर्थाटनमा जाने पर्यटकहरुले हिमाल र जैविक विविधता अर्थात प्रकृती, वनस्पती सबैको अध्ययन र अवलोकन गर्न सक्दछन् । यी जैवीक र भौगोलिक विविधता रुकुमको भ्रमणमा पाउन सकिन्छ । डिग्रे साईकुमारी भगवती मन्दिर वरपरको वातावरण जैवीक विविधताले सिंगारेको छ । हराभरा डिग्रे थर्पुको डाँडा आकर्षक हुनुमा जैवीक विविधता र रुख बिरुवा छन् । जैवीक र भौगोलिक सुन्दरताले समग्र रुकुम धनी छ । पूर्वी रुकुममा सिस्ने हिमाल, पुथा हिमाल, हिउँचुली, सामझाङ हिउँचुली, चित्रेपाटन हिमाल पर्दछन । एकै दिनमा चाररंग फेरिने स्यार्फु ताल, कमल दह, छिर्पीदह, आँखीदह, सुपेदह, मेलचौर दहलगायतका दहहरु समेत रुकुममा छन ।
नाथिगार, कुनाखेत, स्यानीपिपल जस्ता परम्परागत जात्रा तथा मेलाहरु र सिंगारु, मयुर, टप्पा, खाम मगरहरुको भुम्या पर्व, बलपुजा, लहरे, ख्यालीनाच र रुकुमेलीको संस्कृतिले नयाँ पर्यटकहरुलाई मनै छुने गराउँछ । उत्तरगंगाको नामले परिचित सानोभेरी नदीको नागवेली स्वरुप हेर्दै रुकुमका सबै प्राकृतिक सम्पदाको भ्रमण गर्दा रुकुम पुग्ने प्रकृतिप्रेमी पर्यटकहरुलाई थप अध्ययनको विषय बन्दछ । विगतमा माओवादीले सशस्त्र युद्धमा निशाना बनाएका आठविसकोटलगायतका विभिन्न प्रहरी चौकीहरु, सरकारी कार्यालय, सुरुगंहरु, द्वन्द्वकालमा जलाईएको खारा गाउँ नमुनाबस्ती, मेलगैरीलगायतका गाउँ ठाउँहरु अनुसन्धान र सोधकर्ताहरुका लागि उपयोगी हुन सक्दछ ।
रुकुमको मुसिकोट–काठमाडौँ लगायत अन्य सहरी क्षेत्रबाट दाङ तुलसीपुर–सल्यान हुँदै सडक सञ्जालले जोडिएको छ । दाङको तुलसीपुरबाट सल्यान श्रीनगर हुँदै मुसिकोटसम्म १६२ किमीको दूरी पर्दछ । मुसिकोट डिग्रे साईकुमारी मन्दिर मुसिकोट खलंगाको मठ भन्ने स्थानबाट एक घण्टाको उकालो पैदल यात्रा वा करिव तीन किलोमिटरको दूरीमा जीप र मोटर साईकलबाट पनि पुग्न सकिन्छ । तपाई रुकुम जानुभएको छ ? वा जाने सोचमा हुनुहुन्छ ? अथवा रुकुमको बारेमा केही थाहा छैन ? रुकुम जानु भयो भने एकपटक डिग्रे साई भगवतीको मन्दिरमा पुग्नुहोस् । त्यसको आनन्द गएपछि मात्र थाहा पाउनु हुनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here