Saturday, April 13, 2024
Homeफिचर‘जनताको साथमा सधै छु’

‘जनताको साथमा सधै छु’

- Advertisement -spot_img

मंसिर १४ को चुनावी रौनक चलेको छ । दल तथा उम्मेदवारहरू मत माग्न गाउँ–गाउँमा पुगेका छन् । मतदाता पनि दक्ष, सक्षम र योग्य उम्मेदवार छनौट गर्ने सोचमा छन् । दाङमा निर्वाचन क्षेत्र नम्बर ३ को (ख) मा प्रदेशसभा सदस्य पदका लागि उपनिर्वाचन हुन लागेको छ । प्रदेशसभा सदस्यको लागि १४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । चुनावमा होमिएका उम्मेदवारहरू सबैले आफूले जित्ने विश्वासका साथ मत मागिरहेका छन् । साझा पार्टीले पनि प्रदेशसभा सदस्यको लागि शिवकुमार चौधरीलाई उठाएको छ । आजको अंकमा हामीले साझा पार्टीको तर्फबाट चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवार चौधरीसँग कुराकानी गरेका छौं । 


यहाँको उम्मेदवारी किन ?

नागरिकको शिक्षा, स्वास्थ्य, खानेपानीलगायत आधारभूत आवश्यकताको पूर्ण ग्यारेण्टीका लागि मैले उम्मेदवारी दिएको हुँ । अहिलेसम्म जितेर गएका नेतृत्वको वैकल्पीक नेतृत्वको रूपमा म आफूलाई उभ्याउन चाहन्छु । चुनाव जितेर गएपनि गरेका प्रतिवद्धता पूरा नगर्नेका विरूद्ध मेरो उम्मेदवारी हो । अनि देशमा बढ्दै गएको भ्रष्टाचार, कालोबजारी, कमिसनलाई रोक्न र सुशासनयुक्त समाज निर्माण गरी समृद्धिको मार्गमा अघि लैजान मेरो उम्मेदवारी परेको हो ।

तपाईले भनेका कुरा कसरी ग्यारेण्टी गर्न सकिएला र ?

ग्यारेण्टी छ नि किन नहुनु । मलाई कुनै अकुत सम्पत्ति कमाउन चाहन्न । मैले अहिलेसम्म दिएको सामाजिक योगदान, मेरो समाजमा भएको छविले पनि नागरिकले विश्वास गर्ने आधार हो । म पहिलो पटक परीक्षामा सहभागी हुन थालेको छु ।
तर पनि म नागरिकलाई के आग्रह गर्न चाहन्छु ? भने तपाईहरूले मलाई स्थान दिनुहोस् । मैले पक्कै पनि तपाईका आधारभूत आवश्यकता पूरा गर्न प्रतिवद्ध छु । मेरो अहिले हार भएपनि म देश र जनताका लागि त समर्पित नै छु । परीक्षामा पास भएर पनि काम गर्न नसक्ने नेतृत्वप्रति तपाईहरूले एक पटक सोच्नुपर्ने समय हो यो ।

तपाईको पक्षमा मत परिणाम आउला त ?

आउँछ भन्नेमा म ढुक्क छु । समय हिजोको जस्तो छैन् । हिजोको दिनमा विभिन्न प्रलोभनमा नागरिकलाई पारेर भोट ल्याउने चलन थियो तर आज त्यो अवस्था छैन् । जनताले रंगहरू छुट्याउन सक्छन् अर्थात् अहिलेका नागरिकले आफूले पठाएका प्रतिनिधि कस्तो भनेर मज्जाले छुट्याइसकेका छन् ?
त्यसकारण वैकल्पिक नेतृत्व छनौट गर्नुहुन्छ भन्ने पूर्ण विश्वास रहेको छ । समय आउँछ पर्खदैन्, बगेको खोला फर्कदैन् भनेको जस्तै पक्कै यो अवसरमा नागरिकले स्वच्छ र निष्पक्ष रूपमा नेतृत्व छनौट गर्नुहुनेछ ।

जनताको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?

मैले साझा पार्टीबाट उम्मेदवारी दिएपछि अहिले यहाँका अधिकांश नागरिक खुशी हुनुभएको छ । गाउँमा भोट माग्न पुग्दा नागरिकहरूले म प्रति देखाएको माया म व्यक्त गरिरहन सक्दिन् ।
अहिलेसम्म ठुला भनिएका दलहरू नेपाली काँग्रेस र नेकपाका उम्मेदवारलाई जितायौँ तर केही पाएनौँ, अब हामीले तपाईलाई विकल्पको रूपमा पाएका छौँ भन्नुभएको छ नागरिकहरू । मैले नागरिकलाई पनि झुठ्ठा आश्वासन बाँडेको छैन् । जति सकिन्छ त्यति विकासका एजेण्डाहरू लगेको छु ।

तपाईका चुनावी एजेण्डाहरू के हुन् ?

हाम्रा चुनावी एजेण्डा मैले शुरूमा पनि भने खासगरी गाँस, बास, कपासको पूर्ण ग्यारेण्टी हुनुपर्छ भन्ने नै हो । त्यसमा विषेशगरी शिक्षा र स्वास्थ्य नागरिकले निःशुल्क रूपमा प्राप्त गर्न पाउनुपर्छ भन्ने नै हो । शिक्षामा अहिले विभिन्न किसिमका देखिएका विकृति र विसंगती अन्त्य गर्ने हाम्रो मुख्य उद्देश्य रहेको छ । विद्यालयमा राजनीति अन्त्य गर्नुपर्छ भन्ने उद्देश्य रहेको छ ।
समाजमा देखिने विभिन्न किसिमका समस्याको अन्त्य गरी सम्मुनत समाजको विकास गर्नका लागि हामी प्रतिवद्ध छौँ । अनि बढ्दो भू–खण्डीकरणलाई रोकेर व्यवस्थित बसोबास बनाउने पनि लक्ष्य लिएका छौँ ।

सबै मतदातासँग भेट गर्नुभयो ?

म लगायतको साझा पार्टीबाट साथीहरू करिब ८० प्रतिशत ठाउँमा पुगिसक्नुभएको छ । मतदातासँग भेट्ने क्रम आज पनि जारी छ । जनताका सुख, दुःख सुनिरहेका छौँ । आम मतदाताले मलाई साथ दिनुहुनेछ भन्ने पूर्ण विश्वास लिएको छु ।
स्वच्छ हृदयबाट विकल्पमा साझा पार्टीको उम्मेदवार म शिवकुमार चौधरीलाई छनौट गरी भोट दिनुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौँ । म सधैँ गाउँको विकासमा जोडिरहेको छु, जोडिने छु भन्ने पनि प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।

यसअघिका नेतृत्वबाट नागरिकका गुनासा के पाउनु भयो ?

नागरिक अहिले सरकारका कामप्रति निकै असन्तुष्ट देखिएका छन् । देशमा बढ्दै गएको भ्रष्टाचार, हत्या, हिंसा रोकिन नसकेकोप्रति नागरिकमा वितृष्णा देखिएको छ । यसभन्दा पहिला नेकपा, काँग्रेस घरदैलोमा आएर हामीलाई थुप्रै आश्वासन बाँडे ।
घर नहुनेलाई घर बनाइदिन्छौँ, बाटो बनाईदिन्छौँ, पिउने पानी दिन्छौँ भन्दै चुनावमा आश्वासन दिए । अहिले चुनाव जितेर गएपछि अहिलेसम्म कुनै पार्टीले पनि आफ्ना प्रतिवद्धता पूरा गरेका छैनन् । यस्तै–यस्तै छन् नागरिकका गुनासा ।

तपाईले जनताका लागि अहिलेसम्म के के गर्नुभयो ?

त्यो त मैले कति गरेको छु भन्ने त आम नागरिकले विश्लेषण गर्नुहुन्छ । म स्थानीय यहिको भएका कारण पनि यहाँका नागरिकसँग प्रत्यक्ष जोडिएको छु । त्यतिबेलादेखि नै नागरिकले मप्रति विश्वास गर्न थाल्नुभएको छ ।
मैले जनताका हरेक सुख, दुःखमा हेर्ने गरेको छु । मैले सबै कुरा भनेर अहिले सक्दिन होला । मैले कसैलाई केही आपतविपद् आइपर्दा राहतस्वरूप उसलाई सहयोेग गर्दै आएको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु र निरन्तर राज्यसँग लाग्नेछु ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here