Saturday, April 20, 2024
Homeफिचरघन्किन छाडे सल्यानी लोकभाका

घन्किन छाडे सल्यानी लोकभाका

- Advertisement -spot_img

सल्यान, ६ जेठ ।
माथि कुमाख तल थर्कोट बिचैमा सल्यान मालै…..
….बिचैमा सल्यान मालै….
जता जान्छु ठक्कर खान्छु भएन कल्याण मालै….
….भएन कल्यान मालै….
गीत, संगीत राष्ट्रको चिनारी मात्रै होइन, मानिसको सुख, दुःखको चौतारी पनि हो । हिजोका ती पुराना भाका सुन्दा बेग्लै आनन्द हुनुको साथै पुरानो पुस्ताको याद हुन्छ । ठाडी भाका गाउने वित्तिक्कै गाउँ नै रमणीय हुन्थ्यो कुनै समय तर हिजोआज पुराना लोकभाका न कसैका मुखबाट निस्कन्छ न त सञ्चार माध्यममा प्राथमिकतामा पर्ने गरेका छन् ।
कुनै समय वनपाखा जाँदा वनमै घन्किने, भारी बोक्दा बिसाउँदा सबैका दुःख बिर्साउने, खेतबारी तथा गोठालो जाँदा होस् या चाडपर्व र सुख, दुःखमा गाइने सल्यानका चर्चित ठाडी भाका, वनगाडी टप्पा, लहरे, सिगारु भाका हिजोआज हराउँदै जान थालेका छन् । पछिल्लो समय युवा पुस्ताको बेवास्ता र बजारमा आधुनिक गीत, संगीतको बाढी नै आएको कारण सल्यानलाई नै चिनाउने यि लोक भाकाहरु लोप हुने अवस्थामा पुगेका छन्् ।

पुराना परम्पराको जगेर्ना नगर्नु, नयाँ पुस्तालाई चासो नहुनु नै पुराना संस्कार लोप हुनुको मुख्य कारण भएकाले यसको संरक्षण गर्नतिर सबैको ध्यान जान सकेको छैन् । ‘पुराना ठाडीभाका लगायत अन्य भाकासमेत गाउनेहरू हिजोआज आधुनिक गीत, संगीतका साथै लोकगीत गाउँछन् त्यसैले पनि आफ्नो भाकाको संरक्षण हुन नसकेको टेकराज शाहीले बताए ।


विशेषगरी सल्यानको पश्चिमी क्षेत्रमा गाइने यी लोकभाकाहरु लोप हुने अवस्थामा पुगेका हुन् । युवापुस्ताको बेवास्ताले चाडपर्व, सुख, दुःख, मेलापात, खेतबारी तथा गोठाला जाँदा गाइने भाका हराउँदै जान थालेपनि यसको संरक्षणमा कसैको ध्यान जान नसकेको स्थानीयले दुखेसो व्यक्त गरेका छन् । दुईदशक अघिसम्म सल्यानमा ठाडी मात्र नभई दमारे भाका, सैरेलु, सोरठी जस्ता भाका लोकप्रिय थिए ।
त्यस्तै वनगाडी टप्पा र नृत्य, रतौली, लुतो फाल्ने गीत, लाखे, स्वाङे, ढोट मारुली, मयुर, लाठी नाच, पञ्चैबाजा, झ्याङा गीत, डाला कठौरा, दोहरी, ठाडी भाका, मालै लामसरी, झ्याउरे गीत, साइली, पैजेरो, झमरा, मारिखोले, टुम्का गीत, बालगीत र टप्पा गीत परम्परागत रुपमा चल्दै आएपनि पछिल्लो समय युवापुस्ताले बेवास्ता गर्न थालेको स्थानीय ७८ वर्षिय भदुराम घर्तीले बताए । वनपातमा जाँदा होस् या अन्य चाडपर्वमा गाउने गीत आजभोलि रेडियोबाट पनि सुनिदैन खै किन हो पुराना गीत कसैले संरक्षण गर्देला उनले भने ।

सल्यानमा लोक संस्कृति हराउन थालेपछि ती भाका र नृत्यमा प्रयोग हुने बाजागाजासमेत लोप हुने अवस्थामा पुगेका छन् । विविध कारणले मौलिक संस्कृति लोप हुने खतरा भएको र यसलाई जोगाउन र भावी पुस्ताका लागि लिपिबद्ध गर्ने योजनामा रहेको वरिष्ठ लोक गायक खर्कबहादुर बुढाले बताए । ‘पुराना लोकगीतको संरक्षणमा लागिरहेको छु, तर पनि यस्तै हो कामको व्यस्तताले निकै ढिलो भएको छ’ उनले भने । सल्यानी थुप्रै लोकभाका बजारमा ल्याएका गायक बुढाले अझै पनि धेरै काम गर्न बाँकी रहेको बताए ।
पहिले पहिले गाउँमै वादी समुदायको बसोबास हुने र मादल बनाउने पेशा अङ्गालेकाले मादल सजिलै पाइन्थ्यो । अब उनीहरुले मादल बनाउने पेशा धेरैले छोडेकोले पनि सल्यानका लोकभाका हराउँदै जान थालेको स्थानीय देवराज बिसीले बताए । गाउँघरमा हुने उत्सवमा गरिने नाचगानमा समेत पुराना नृत्यहरु नदेखाउने गरेको स्थानीयबासीको भनाइ छ । पुराना परम्पराको जगेर्ना नगर्नु, नयाँ पुस्तालाई चासो नहुनु नै पुराना संस्कार लोप हुनुको मुख्य कारण भएकाले यसको संरक्षण गर्नतिर सबैको ध्यान जान सकेको छैन् ।

‘पुराना ठाडीभाका लगायत अन्य भाकासमेत गाउनेहरू हिजोआज आधुनिक गीत, संगीतका साथै लोकगीत गाउँछन् त्यसैले पनि आफ्नो भाकाको संरक्षण हुन नसकेको टेकराज शाहीले बताए । गाउँमा हुने विभिन्न कार्यक्रममा विद्यार्थीले नाच, गीत प्रदर्शन त गर्छन् तर भाकाका बारेमा प्रस्तुत गर्न सक्दैनन् ,आफ्नो गाउँको पहिचान गराउनसके बाहिरका पर्यटकलाई भित्र्याउन भाका संरक्षण गर्न आवश्यक छ उनले भने ।
सल्यान क्षेत्रको पहिचान तथा चिनारी भनेकै ठाडी, दमारे, सैरेलु, सोरठी भाका हो । बन्गाडी टप्पा, लहरे, सिगारु, सारिङ्गे मयुर, हिउपा नाच पनि हो । पुराना संस्कृतिको जगेर्ना गर्न सबै सक्रिय भएर लाग्नसके समग्र कर्णाली प्रदेशको पहिचान हुने स्थानीय बताउँछन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here