Wednesday, March 27, 2024
Homeफिचरगाउँ–गाउँमा चुनावी रौनक

गाउँ–गाउँमा चुनावी रौनक

- Advertisement -spot_img

दाङ, २ मंसिर । उपनिर्वाचनको समय नजिकिदै गर्दा दाङ निर्वाचन क्षेत्र नं.३ (ख) र घोराही–१६ का गाउँहरूमा चुनावी रौनक बढ्न थालेको छ । निर्वाचनमा होमिएका राजनीतिक दल, स्वतन्त्र उम्मेदवार प्रचार प्रसारमा लागेपछि गाउँ–गाउँमा चुनावी रौनक बढेको हो । पश्चिम दाङमा चुनावी सरगर्मी अलि बढी नै देखिएको छ ।
आ–आफ्नो पक्षमा मत माग्न उम्मेदवारहरू लागिरहेका छन् । दलगत रूपमा चुनावी सभाहरू भइरहेका छन् भने मतदाताहरू रूचाएका उम्मेदवारका प्रचार प्रसारमा लागेका छन् ।
खेतबारी, पाखापखेरा सबै स्थानमा अहिले चुनावी अभियान तिव्र रूपमा छन् । केही स्थानहरूमा राजनीतिक रूपमै ऐतिहासिक सभाहरूसमेत दलहरूले सञ्चालन र सम्पन्न गरिरहेका छन् । चुनावी प्रचार बढ्दै गर्दा र रौनक थपिदै गर्दा उम्मेदवार र दलहरूले जितको आफ्नै दावी गरिरहेका छन् । मंसिर १४ मा हुने उपनिर्वाचनमा युवादेखि बृद्धसम्मलाई चासो छ । चुनावी अभियानमा लागेका छन् ।

काँग्रेसको आक्रामक प्रचार

नेपाली काँग्रेसले उपनिर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन आक्रामक प्रचार थालेको छ । पुराना तथा सादगी नेताको रूपमा चिनिले र स्थानीयस्तरमा लोकप्रिय मानिने नेता केशवराज आचार्य काँग्रेसले उम्मेदवार बनाएपछि प्रचार पनि आक्रामक बनाएको हो । प्रचार आक्रामक बनाउँदै गर्दा काँग्रेस पक्षमा जनलहर पनि राम्रो देखिएको काँगेसको दाबी छ ।
नेपाली काँग्रेसले आइतबार पश्चिम दाङको बबई गाउँपालिकामा चुनावी सभा गरेको छ । गाउँपालिकाका दर्जन बढी ठाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने काँग्रेस नेताहरूले विभिन्न ऐतिहासिक आन्दोलनको नेतृत्वकर्ता केशवराज आचार्यको जित नै दङ्गालीहरूको जित रहेको बताएका छन् । काँग्रेस केन्द्रीय सदस्य दिपक गिरीले लोकतान्त्रिक आन्दोलनका खम्बा सालिन ब्यक्तित्व आचार्यको उम्मेदवारीलाई दंगाली जनताका लागि प्राप्त रहेको बताए ।
पूर्वमन्त्रीसमेत रहेका गिरीले पश्चिम दाङको विकास काँग्रेस नेतृत्वको सरकारले गरेको दाबी गर्दै गएको निर्वाचनमा काँग्रेसले हार्दा पश्चिम दाङबासीलाई ठूलो क्षति भएको बताए ।
यो निर्वाचन सेमिफाइनल भएकाले अहिलेको निर्वाचन काँग्रेसले जिते मात्रै फाइनल काँग्रेसको जित हुने र पश्चिम दाङको बाकी विकास सम्भव रहेको तर्क गरे । पूर्वमन्त्री सञ्जय गौतमले केशव आचार्य लोकतान्त्रिक आन्दोलन र दाङका अभिभावक रहेको बताए ।
गौतमले कम्युनिष्टका कारण मुलुकको अन्तर्राष्ट्रियस्तरमा बेइजन भएको टिप्पणी गर्दै कम्युनिष्ट सरकारको अन्यायका विरूद्ध दाङको समृद्धिका लागि नेपाली काँग्रेसको चुनाव चिन्ह रूखमा मतदान गर्न पनि अपिल गरे ।
कार्यक्रममा उम्मेदवार केशवराज आचार्यले मतदाताले आफू र नेपाली काँग्रेसप्रति गरेको विश्वासलाई टुट्न नदिने प्रतिबद्धता ब्यक्त गरे । साथै उनले कम्युनिष्ट सरकार लर्बराउन लागेको जनतालाई करको भारी बोकाएको बताए ।
कार्यक्रममा पूर्व राज्यमन्त्री तथा प्रदेश ५ का लेखासमिति सभापति डिल्लीबहादुर चौधरीले प्रदेश साँसदमा कम्युनिष्टको ज्यादतीविरूद्ध खबरदारी गर्न पनि केशव आचार्यको जित अनिवार्य रहेको बताए ।
राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले कम्युनिष्ट अतिवादलाई झापट दिन जनताले काँग्रेसलाई साथ दिनुपर्ने बताइन् । संविधानसभा सदस्यहरू बुद्धिराम भण्डारी र पूर्वसांसद गेहेन्द्र गिरीले जनताको रक्षा र विकासका लागि काँग्रेस नै आवश्यक रहेको बताए । काँग्रेसलाई मतदान गरी न्याय नमरेको प्रमाणित गर्न अपिल गरे ।
कार्यक्रममा काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्का, निवर्तमान सभापति घनश्याम रेग्मी, काँग्रेस दाङका सचिव शंकरप्रसाद डाँगी, क्षेत्रीय सभापति जगतबहादुर खड्का, नेपाल बारका पूर्र्व अध्यक्ष शेरबहादुर केसी, युवा नेता सुरेश हमाल, महिला नेतृ देविका नेपाली, तरूण दलका जिल्ला अध्यक्ष टीका घर्ती, काँग्रेस क्षेत्रीय प्रतिनिधि कुलबहादुर खत्री,
नेपाल शिक्षक संघका अर्थ सचिव पूर्णबहादुर केसी, क्षेत्रीय कोषाध्यक्ष भद्रबहादुर खड्का, सहसचिव तारा भण्डारी, बबई–७ का वडा अध्यक्ष महावीर चौधरी, स्थानीय नेताहरू रूद्रबहादुर डाँगी, डिल्लीबहादुर बुढाथोकी, तिलक भण्डारी, इकाई सचिव गणेश केसीलगायतले बोलेका थिए ।
कार्यक्रममा स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवार रेश्मा डाँगीको नेतृत्वमा २ सय ७५ जना नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । नेपाली काँग्रेसले आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि प्रचार प्रसारलाई तिब्र पारेको छ ।
उपनिर्वाचन हुने क्षेत्र नम्बर ३ (ख) प्रदेशसभा र घोराही उपमहानगरपालिका वडा नम्बर १६ को वडा अध्यक्षका लागि काँग्रेसले मतदातासँगको सामीप्यता बढाएको छ । उसले मतदाताहरूको घर–घरमा घरदैलो गरेर आफ्ना चुनावी एजेण्डा प्रस्तुत गरिरहेको छ । विकासमुखी एजेण्डा प्रस्तुत गरेर काँग्रेसले मतदानका लागि मतदाताहरूलाई आग्रह गरिरहेको छ ।

नेकपा चुनावी सभामै केन्द्रित

नेकपा पनि चुनावी केन्द्रित गतिविधिलाई तिव्रता दिइरहेको छ । आइतबार पनि नेकपाले उम्मेदवारसहित विभिन्न स्थानमा चुनावी सभा गरेको छ । दाङको शान्तिनगर गाउँपालिकामा भएको चुनावी सभामा नेकपाको प्रचारमा वृद्धहरू पनि सहभागी भएका थिए ।
शान्तिनगर गाउँपालिका विभिन्न स्थानमा भएको चुनावी सभालाई सम्वोधन गर्दे नेकपाका नेताहरूले उत्तर कुमार ओलीको सपना पूरा गर्न यो पटक पनि नेकपालाई जिताउन आग्रह गरेका थिए ।

स्थानीयस्तरको विकास निर्माणका लागि नेकपा अपरिहार्य भएको उनीहरूका भनाई थियो । नेकपा उम्मेदवार विमला कुमारी खत्रीले विकासलाई निरन्तरता दिन र उत्तरकुमार ओलीका अधुरा सपना पूरा गर्न आफू उम्मेदवार बनेको बताइन् ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य हिराचन्द्र कसी, राष्ट्रिय सभा सदस्य कोमल वली, नेता शोभाराम बस्नेत, भागवत विश्वासी, प्रदेश सभा सदस्य इन्द्रजित चौधरी लगायतका नेता कार्यकर्ताले सम्बोधन गरेका थिए ।

अन्य दल पनि प्रचारमै

जिल्लामा क्रियाशील रहेका अन्य राजनीतिक दलहरू पनि चुनाव प्रचार र घरदैलोमा क्रियाशील भएका छन् । उनीहरूले पनि घरदैलो चुनावी सभा, भेटघाट, अन्तरक्रिया गरिरहेका छन् । राप्रपा, समाजवादी फोरम, साझा, नेमकिपा चुनावी अभियानमा लागेका छन् ।
यसैबीच दाङ प्रहरीले एकजना विप्लव कार्यकर्तालाई पक्राउ गरेको छ । शान्तिनगर गाउँपालिका वडा नम्बर १ पटेरीखोलाका ३० वर्षिय प्रतिवन्धित विप्लव समूहको सेक्सन अध्यक्ष प्रकाश बुढामगरलाई एक्लै हिडिरहेको अवस्थामा प्रहरी टोलीले नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here