Thursday, April 18, 2024
Homeफिचरखल्लो होली

खल्लो होली

- Advertisement -spot_img

उमा भण्डारी/सपना बोहरा
दाङ, २७ फागुन ।

यस वर्ष दाङमा होली खेल्न रोक लगाईएको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय दाङले जमघट भएर होली खेल्न रोक लगाएको हो । प्रत्येक वर्ष फागू पुर्णिमाको अवसर पारेर मनाईने होली मंगलबार दाङसहित तराईका विभिन्न जिल्लाहरूमा मनाईँदै छ ।
प्रशासनले विगतका वर्षहरूमा पनि अराजक ढङ्गले होली खेल्न रोक लगाउँदै आएको थियो । यस वर्ष कोरोनाको त्रास फैलिएको भन्दै प्रशासनले होली पर्वलाई थप कडाई गरेको हो । जमघट धेरै हुने स्थानमा कोरोना भाइरसको जोखिम बढ्न सक्ने भएकाले होली नखेल्न प्रशासनले निर्देशन दिएको छ ।

यदि कसैले प्रशासनको निर्देशनलाई अटेर गरी हुल बाँधेर अथवा अराजक ढंगले होली खेलेमा कारवाही गरिने प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।

भिडभाड र जमघट हुने ठाउँमा कोरोना भाइरसको संक्रमण बढी हुनसक्ने भएकाले हुल बाँधेर होली खेल्न रोक लगाईएको उनले बताए । तर परिवारमा सौहार्दपूर्ण तरिकाले एकअर्कालाई रङ लगाई होली पर्व मनाउन सक्ने उनको भनाई छ ।

‘लोला हान्ने, पानी फाल्ने, हुल बाँधेर रङ लगाउनेजस्ता गतिविधिहरू गर्न रोक लगाइएको छ, उनले भने– ‘यदि कसैले अभद्र तरिकाले समूह बनाएर होली खेलेको भेटिएमा सोही अनुसारको कारवाही हामीले गर्छौँ, तर परिवारमा मिलेर भने होली मनाउन हाम्रो कुनै आपत्ती छैन ।’

कोराना भाइरसले आम नागरिकमा डरत्रास उत्पन्न गरेकाले पनि प्रशासनको निर्देशनप्रति आम नागरिक संवेदनशील बनेको उनले बताए । स्वास्थ्य सबैका लागि महत्वपूर्ण हुने भएकाले प्रशासनको निर्देशन प्रभावकारी बन्ने उनको विश्वास छ ।

यस्तै होलीको समयमा कसैको ईच्छा विपरीत रङ लगाउन नपाईने ईलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै प्रशासनको निर्देशनलाई अनिवार्य पालना गर्न समेत प्रहरीले सबैलाई अनुरोध गरेको छ ।

स्वास्थ्य सुरक्षाका विषयमा ब्यक्ति आफै सचेत हुन आवश्यक रहेको भन्दै यस विषयमा सबै सर्तक हुनुपर्ने ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरिक्षक हरिहरनाथ योगीले बताए । उनले जमघट भएर होली नखेल्न सबैलाई आग्रहसमेत गरे ।

‘होली खेल्ने वा नखेल्ने भन्ने विषयमा नागरिक स्वयम् सेचत बन्नुपर्ने अवस्था हो’ उनले भने–‘यदि प्रशासनको निर्देशनलाई अटेर गरी होली खेलेको पाईएमा नियन्त्रणमा लिएर कारवाही गर्नेछौँ ।’ प्रशासनको निर्देशनलाई थप प्रभावकारी बनाउनका लागि तुलसीपुर क्षेत्रका विभिन्न स्थानमा सुरक्षाकर्मीहरू खटाईएको उनले बताए ।

आवश्यक परेको समयमा थप सुरक्षाकर्मी खटाउने सकिने उनको भनाई छ । रङ लगाएर शुभकामना आदानप्रदान गर्नुको सट्टा हुल बाँधेर, मादकपदार्थ सेवन गरेर लोला हान्ने, हिलो छ्याप्ने, जबरजस्ती रङ लगाउनेजस्ता गतिविधिहरू धेरै हुने भएकाले कुनै प्रहरी सुरक्षा ब्यवस्था बलियो बनाईएको उनको भनाई छ ।

बसन्त ऋतुको आगमनसँगै सोमबार पहाडि क्षेत्रमा र मंगलबार (आज) तराई क्षेत्रमा होली मनाइदै छ । रङ, सद्भाव र आत्मीयताको पर्वको रूपमा होलीलाई लिईन्छ तर यो वर्षको होली खल्लो भएको छ ।

कोरोनाको संक्रमण विश्वभरी फैलिएको र नेपालमा पनि त्रास हुने भएकाले सम्भावित जोखिमलाई ख्याल गर्दै उच्च सर्तकता अपनाइएको छ । कोरोना संक्रमणको सम्भावित जोखिमलाई ध्यान दिदै सरकारले सभा, सम्मेलन र ठूला जमघट नगर्न आग्रह गरेसँगै होली पर्व पनि प्रभावित बनेको छ ।

सामूहिक रूपमा आयोजना गरेर होली विशेष रूपमा मनाउने गरेका युवायुवतीहरू यो वर्षको होली खल्लो महसुस गरेका छन् । वर्ष दिनको एक पटक आउने होली साथीहरूसँग रमाईलो गर्ने अवसरको रूपमा नेपालीले यो दिनलाई लिने गर्छन् ।

यो वर्ष सामान्य टिका लगाएर मात्रै होली खेल्ने योजना बनाएको घोराहीकी मुना थापाले बताइन् । ‘कोरोना भाईरसको डर हो, सतर्कता त अपनाउनै प¥यो’ उनले भनिन्–‘सबैभन्दा ठूलो कुरा स्वास्थ्य हो, स्वस्थ रह्यो भने त अर्को वर्ष पनि मनाउन सकिहालिन्छ नि !’

रङसँगै लोला हान्ने, पानी छ्यापाछ्याप गरेर होलीमा रमाईलो गर्ने उनी यो वर्षको होलीमा त्यो रौनक छैन् । ‘स्वास्थ्यलाई हानी गर्ने रङ पानी र लोलाहरू प्रयोग गर्न पो भएन’ घोराहीका रबिन अधिकारीले भने– ‘भिडभाड अनि ठूलो जमातमा अहिलेको होली खेल्नु ठिक छैन् ।’

उनले साथीहरूलाई पनि आ–आफनो परिवारमा सामान्य तरिकामा होली मनाउन सुझाव दिन्छन् ।
सरकारले होलीको अवसरमा सार्वजनिक बिदासमेत दिएको छ । होलीमा युवायुवतीहरूले आफ्नै तरिकाले मनाउने गर्छन् ।

कसैले होलीमा रङ एकआपसमा दलेर मनाउने गर्छन् भने कसैलै होली विशेष कार्यक्रम गरेर पनि गराउने गर्छन् । होलीको अवसर पारेर विभिन्न संघसंस्थाहरूले समेत होली मिलन कार्यक्रमको आयोजना गर्ने गर्थे तर यो पटकको होलीमा त्यो भएन् ।

घोराही उपमहानगरपालिकाले होली पर्वमा विशेष ध्यान दिन सबैलाई आग्रह गरेको छ । उपमहानगरपालिकाले नेपालका छिमेकी देशहरूसहित विश्वका एक सय बढी देशमा फैलिएको कोरोना भाईरसको उच्च जोखिमलाई मध्यनजर गर्दै होली पर्वलाई स्वास्थ्य सजकतासँग जोड्न आग्रह गरेको हो ।

होलीमा विभिन्न प्रकृतीका रङहरू दल्ने, पानीमा भिज्ने तथा भिडभाड बढी हुने भएकाले होली नखेल्न र स्वास्थ्यप्रति सजकता अपनाउन उपमहानगरले आग्रह गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here