तुलसीपुर, २० जेठ । नेपाल नेत्र ज्योती संघ, राप्ती आँखा अस्पताल रक्षाचौर दाङले मानिसलाई नयाँ दृष्टी प्रदान गर्न स्थानीय तहहरुसँग सहकार्य भइरहेको जनाएको छ ।
आइतबार रक्षाचौरस्थित आँखा अस्पतालमा मोतियाविन्दु भएका बिरामीको शल्यक्रिया पश्चात चश्मा र औषधि वितरण कार्यक्रममा अस्पतालले दाङ, सल्यानलगायत विभिन्न जिल्लाका स्थानीय तहसँग सहकार्य गरेर नयाँ दृष्टी प्रदान गरेको जनाएको छ ।
शनिबार सल्यानको कपुरकोटमा सञ्चालन भएको शिविरमा फेला परेका ७५ जना मोतीयाविन्दुका रोगीहरुको अस्पतालमा ल्याएर राति १० बजेसम्म शल्यक्रिया गरिएको थियो ।
७५ बिरामीका ८५ वटा आँखाको अप्रेशन गरिएको राप्ती आँखा अस्पतालका नेत्र चिकित्सक डा. सुरेश रसाइलीले जनाए । चश्मा वितरण कार्यक्रममा कपुरकोट गाउँपालिकाकी उपाध्यक्ष तिला बुढा मगरले अब आफ्नो गाउँपालिकाको हरेक वडामा आँखा जाँच शिविर सञ्चालन गर्नका लागि आँखा अस्पतालसँग सहकार्य गर्न तयार रहेको बताइन् ।
आँखा अस्पतालमा बिरामीले चिकित्सक तथा स्वास्थ्यकर्मीबाट मिजासिलो र सम्मानजनक ब्यवहार पाएको जनाएकाले आफू निकै खुसी रहेको बताइन् ।
शालिकराम गौतमले सञ्चालन गरेको कार्यक्रममा नेपाल नेत्र ज्योती संघका केन्द्रीय सदस्य तथा राप्ती आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार गिरीले मोतीयाविन्दु हटाउने खालका कार्यक्रम हरेक स्थानीय तहले आफ्नो नीति तथा कार्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिए ।
उनले आर्थिक अभावका कारण कुनै पनि व्यक्ति सेवा पाउनबाट वञ्चित हुन नपरोस् भनेर विभिन्न संघ संस्थासँगको सहकार्यमा पनि निःशुल्क शिविर सञ्चालन गर्दै आएको जनाए । नेत्र ज्योती संघअन्तर्गत नेपालमा १८ वटा आँखा अस्पताल र ८६ वटा आँखा उपचार केन्द्रबाट सेवा प्रदान भइरहेको पनि उनले जनाए ।
उक्त अवसरमा नेत्र चिकित्सक डा. सुरेश रसाइलीले कपुरकोटको शिविरमा ६ सय १२ जनाको आँखाको जाँच गरिएको तथा ४० वर्षमाथिका १ सय २५ जनालाई गाउँपालिकाको आर्थिक सहयोगमा निःशुल्क चश्मा वितरण गरिएको जनाए ।
यसैबीच ५६ वटा वेड सुविधा रहेको राप्ती आँखा अस्पतालमा एकै पटक ७५ जना बढीको शल्यक्रिया गर्नुपर्ने भएपछि शुरुमा बिरामी राख्न केही समस्या हुन्छ की भन्ने लागेको थियो ।
तर अस्पतालले आवश्यक व्यवस्था गरेर सबैलाई राखेको र राति १० बजेसम्म शल्यक्रिया सकिएको डा. रसाइलीले जानकारी दिए । अप्रेशन पश्चात् बिरामीहरु निकै खुशी देखिन्थे ।
कपुरकोट–२ गर्पा निवासी ७८ वर्षिय जयमती खत्री दुबै आँखाको ज्योती फर्किएपछि हर्षित भएकि थिइन् । उनले भनिन्, आँखा देख्न छाडेकी थिएँ,
‘अब त कहिलै देख्न सक्दिन होला जस्तो लागेको थियो । तर शिविरमा चेक गराउँदा मोतियाविन्दु भएको रहेछ भन्ने थाहा भयो । अप्रेशन भयो, अब त आँखा देख्न सक्ने भएँ ।’
यस्तै मुलपानी सल्यान निवासी ७० वर्षिय चन्द्र कुमारी सेन भनिन् ‘गाउँपालिकाले गाडीको समेत ब्यवस्था गरेर अस्पतालसम्म ल्याइदियो, डाक्टरले मेरो दुबै आँखा खोलिदिए ।’
उपचारको लागि अस्पतालसम्म पुगने पैसा नहुँदा फेरी आँखा देखिने आस मारिसकेका गर्पा निवासी ७४ वर्षिय मनिलाल विक पनि आँखा देखिने बनाएर शिविरले नयाँ जीवन प्रदान गरेको बताए ।
