२० वर्षपछि बक्सिङमा स्वर्ण १३औं साग प्रतियोगिता…

खेलकुद प्रदेश फिचर मुख्य खबर

              १३औं सागमा बक्सिङमा स्वर्ण पदक जितेपछि खुशी साट्दै दाङका भूपेन्द्र थापा ।
काठमाडौँ, २४ मंसिर । १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा ५४ केजी तौल समूहमा नेपालले स्वर्ण जितेको छ । नेपालकी मिनु गुरूङले भारतीय खेलाडीलाई हराउँदै स्वर्ण जितिन् ।
उनले भारतीय खेलाडी शिखालाई अंकका आधारमा हराइन् । नेपालले सागमा बक्सिङतर्फ २० वर्षपछि स्वर्ण जितेको हो । यसअघि सन् १९९९ को आठौं सागमा नेपालले बक्सिङतर्फ दुईवटा स्वर्ण जितेको थियो ।

दाङका भूपेन्द्रलाई

बक्सिङमा स्वर्ण दाङका बक्सर भूपेन्द्र थापाले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जितेका छन् । थापाले जितेको स्वर्ण नेपालले बक्सिङबाट जितेको दोस्रो स्वर्ण हो ।
दाङ घोराही निवासी थापाले नेपालका लागि ६४ केजी तौल समूहमा स्वर्ण जितेका हुन् । खेलाडी थापाले फाइनलमा भारतीय खेलाडी मनिष कौशिकलाई अंकको आधारमा पराजित गर्न सफल भएको प्रशिक्षक राजु थापाले बताए । दाङ निवासी थापाले बक्सिङमा स्वर्ण जितेपछि जिल्लाबासी खुसी भएका छन् ।
सन् १९९९ मा नेपालका लागि प्रकाश थापा मगर र रामचन्द्र थापा मगरले स्वर्ण दिलाएका थिए । नेपालमा भएको आठौँ सागमा नेपालले बक्सिङमा दुईसहित ३१ वटा स्वर्ण जितेको थियो । यस्तै ललिता महर्जनले रजत पदक जितेकी छिन् । महिला ४८ केजीको लाइट फ्लाइ विधामा ललिता फाइनलमा कलाईभानी श्रीभासनसँग अंकका आधारमा पराजित भइन् ।
यस्तै महिला फुटबलमा नेपालले रजत पदक जितेको छ ।
पोखरा रंगशालामा सोमबार भएको फाइनलमा भारतसँग २–० ले पराजित भएपछि नेपालले रजतमा चित्त बुझाएको हो । भारतविरूद्ध पहिलो हाफमा एक गोल खाएको नेपालले दोस्रो हाफमा थप एक गोल खाएको थियो ।
भारतको लागि दुबै गोल बाला देवीले गरेकी हुन् । भारतसँग पराजित भएसँगै महिला फुटबलमा नेपाल पुनः स्वर्ण जित्न असफल भएको छ । नेपाल १२औं सागमा पनि भारतसँग पराजित हुँदै रजतमा समेटिएको थियो ।

प्रशिक्षक खड्काको राजीनामा

नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले राजीनामा दिएका छन् । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा नेपाललाई स्वर्ण दिलाउन असफल भएपछि खड्काले मुख्य प्रशिक्षक पदबाट राजीनामा घोषणा गरेका हुन् । पोखरा रंगशालामा सोमबार भएको फाइनलमा नेपाल भारतसँग २–० ले पराजित हुँदै रजतमा सीमित बनेको थियो ।
भारतसँग पराजित भएपछि पोस्ट म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक खड्काले पद छाडेको घोषणा गरेका हुन् । ‘हारको जिम्मेवारी लिदैँ आजैका मितिबाट महिला टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएको छु,’ प्रशिक्षक खड्काले राजीनामा दिदैं भने, ‘प्रशिक्षकबाट राजीनामा दिएपनि फुटबलमा भने कुनै न कुनै भूमिकामा रहनेछु ।’
यस्तै १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले जुडोमा स्वर्ण पदक जितेको छ । सोमबार ७८ केजी मुनिको तौल समूहमा पुनम श्रेष्ठले स्वर्ण पदक जितेकी हुन्  ।
१३औं सागमा नेपालले जुडोमा जितेको यो दोस्रो स्वर्ण पदक हो । यो सँगै १३औं सागमा नेपालले जितेको स्वर्ण पदकको संख्या ४९ पुगेको छ ।

पुरूष क्रिकेटलाई कास्य पदक

१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाली पुरूष क्रिकेट टिमले कास्य पदक जितेको छ । माल्दिभ्सलाई ५ विकेटले हराउँदै नेपालले कास्य पदक हात पारेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङको निम्तो पाएको माल्दिभ्सले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनायो ।
माल्दिभ्सका लिम साफेगले अविजित १९ तथा मोहमद रिजवानले १७ रन जोड्दा कप्तान मोहमद माफोजले १६ रन बनाए । अमिल माउरूफले १३ रन जोडे ।
नेपालका ललित नारायण राजवंशीले ३ तथा सुशन भारीले २ विकेट लिए । जवाफमा नेपालले १६ ओभर एक बलमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । नेपालले सुरूवात भने राम्रो गर्न सकेन । पाँच रन हुँदा पहिलो विकेट गुमाएको नेपालले ४४ रनमा दोस्रो विकेट खेर फाल्यो ।
त्यसपछि पनि नेपालको विकेट झर्ने क्रम रोकिएन । उसले ६० रन बनाउँदा चार विकेट खेर फाल्यो । नेपालका लागि पारस खड्काले तीन रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले २२ तथा आरिफ शेखले ३२ रन बनाए । यस्तै दिपेन्द्र ऐरी दुई रनमा पेभेलियन फर्किए । विनोद भण्डारी पनि १२ रनमा आउट भए ।
साग क्रिकेटमा नेपालले कास्य पदक जितेको यो पहिलो पटक हो । भारत र पाकिस्तान नभएको अवस्थामा नेपालले स्वर्णको लक्ष्य राखेको भए पनि श्रीलंका र बंगलादेशसँग पराजित हुँदा नेपालले कास्यमा चित्त बुझाउन परेको हो । महिला क्रिकेटमा पनि नेपालले कास्य नै जितेको छ । पुरूषतर्फको क्रिकेट प्रतियोगिताको स्वर्णको लागि सोमबार भएको खेलमा बंगलादेशले स्वर्ण पदक जितेको छ ।


पौडीमा गौरीकालाई चौथो स्वर्ण

‘जलपरी’ गौरिका सिंहले दक्षिण एसियाली खेलकुदअन्तर्गत पौडीबाट चौथो स्वर्ण पदक जितेकी छन् । सातदोबाटोस्थित पौडी पोखरीमा भएको प्रतिस्पर्धामा गौरिकाले महिलातर्फ १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जितेकी हुन् ।
स्वर्ण जित्ने क्रममा गौरिकाले ५८.१३ सेकेण्डको समय निकाल्न सफल भइन् । यो प्रतिस्पर्धामा भारतकी शिवांगी शर्माले रजत पदक जितेकी छन् । योसँगै गौरिकाले एउटै सागमा चारवटा स्वर्ण पदक जितेर कीर्तिमान बनाएकी छन् ।

यसअघि १७ वर्षीया ओलम्पियन गौरिकाले ४ सय मिटर फ्रीस्टाइल, २ सय मिटर ब्याकस्ट्रोक र २०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जितिसकेकी छन् । चौथो स्वर्णसँगै गौरिका नेपालका लागि सर्वाधिक सफल खेलाडी भएकी छन् ।
उनी एकै संस्करणमा ४ स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी भइन् । उनले चार स्वर्ण, एक रजत र समूहगत स्पर्धामा एक कास्यससहित यो सागमा कूल ६ पदक जितेकी छन् ।


पदक तालिकामा भारत पहिलो

नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको पदक तालिका अनुसार भारतको अग्रता कायमै छ । नवौँ दिनको खेल सकिँदासम्म भारतले १ सय ४१ स्वर्ण जितेको छ । ८३ रजत र ४३ कास्य गरि कुल २ सय ६७ पदक जितेको भारत तालिकामा शीर्ष स्थानमा रहेको छ । नेपाल ४९ स्वर्ण, ५० रजत र ८२ कास्य पदकसहित १ सय ८१ पदक जितेर दोस्रो स्थानमा छ ।
श्रीलंका ३६ स्वर्ण, ७४ रजत र १ सय ६ कास्य गरी २ सय १६ पदक जितेर तेस्रो स्थानमा छ । पाकिस्तान ३० स्वर्ण, ३३ रजत र ४८ कास्य पदक गरी १ सय ११ पदकसहित चौथो, बंगलादेश १८ स्वर्ण, २९ रजत र ७१ कास्यसहित पाँचौ स्थानमा रहेको छ । भुटानले ५ स्वर्ण, १३ कास्य पदकसहित छैठौ स्थानमा रहेको छ । एक स्वर्ण जितेको माल्दिभ्स ३ कास्य पदकसहित ४ पदका साथ तालिकाको पुछारमा रहेको छ ।

१४औं साग पाकिस्तानमा

यसैबीच १४औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता पाकिस्तानमा गर्ने निर्णय भएको छ । सोमबार बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले १४औं साग पाकिस्तानमा गर्ने निर्णय गरेको हो ।
बैठकको निर्णयमा भनिएको छ ‘आगामी १४ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) पाकिस्तानमा आयोजना गर्ने निर्णय भएको छ । ६ महिनाभित्रमा दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक पाकिस्तानमा आयोजना गरी १४औं दक्षिण एसियाली खेलकुदको मिति तय गरिने बैठकले निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *