२० करोडमा ग्याँस प्लान्ट

फिचर मुख्य खबर

घोराही, १२ भदौ । दाङको घोराही उपमहानगरपालिकाभित्र उत्पादन हुने फोहरमैलाबाट ग्याँस उत्पादन गर्ने प्रक्रियाको काम तीब्र गतिमा भइरहेको छ । उपमहानगरपालिको वडा नं. १६ मा रहेको सेनेटरी ल्याण्डफिल्ड साइटको जग्गामा ग्याँस प्लान्ट निर्माणको काम भइरहेको छ ।
गत मंसिर ५ गते उपमहानगरपालिकासँग भएको सम्झौता अनुसार नेपाल उर्जा विकास कम्पनी प्रालिले काम तीव्र रुपमा अघि बढाएको छ ।
२० वर्षसम्म ग्याँस उत्पादन गर्ने गरी सम्झौता गरेको उक्त कम्पनीले अहिले फोहरमैलाबाट ग्याँस उत्पादन गर्न आवश्यक पूर्वाधार निर्माणको कामलाई अघि बढाएको नेपाल उर्जा विकास कम्पनीका प्रोजेक्ट मेनेजर हरिशरण श्रेष्ठले बताए ।
‘योजना अनुसार काम तीब्र रुपमा भइरहेको छ’, उनले भने, ‘सकेसम्म समयमा काम सक्ने लक्ष्यका साथ भौतिक पूर्वाधारको काम गरिरहेका छौं ।’
अहिले उक्त क्षेत्रमा ग्याँस उत्पादनका लागि प्लान्टको पिसिसी गर्ने काम सम्पन्न भएको छ । ग्याँस उत्पादनका लागि एक ठूलो र दुई साना गरी तीनवटा ग्याँस प्लान्टका लागि पिसिसी गरिएको छ ।
‘ग्याँस प्लान्टको पिसिसीको काम सम्पन्न भएको छ अब त्यसपछिका काम अघि बढ्दैछन् त्यसका लागि निर्माणका समाग्री ल्याउने काम भइरहेको छ’, प्रोजेक्ट मेनेजर श्रेष्ठले भने ।
कम्पनीले एक वर्षभत्रिमा ग्याँस उत्पादनका लागि आवश्यक सबै भौतिक पूर्वाधार निर्माण गरिसक्ने छ । त्यसका लागि कामलाई तीब्र बनाए पनि निर्माणको समयमा केही समस्या आएको श्रेष्ठले बताए ।
केही व्यक्तिहरुले ग्यास प्लान्ट बनाउँदा स्थानीयहरुलाई दुर्गन्धलगायतका समस्या हुने हल्ला फैलाए पनि स्थानीयले पनि आफूहरुसँग छलफल गरेको उनले बताए । सो क्रममा पोखरामा कम्पनीले बनाएको एक यस्तै प्रकृतिको ग्याँस उत्पादन प्लान्ट देखाएपछि स्थानीयहरु सहज भएको श्रेष्ठको भनाइ छ ।
घोराही उपमहानगरपालिकाको झण्डै दुई वर्षको लामो गृहकार्यपछि गएको मंसिर ५ गते नेपाल उर्जा विकास कम्पनी, घोराही उपमहानगरपालिका र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच ग्याँस उत्पादन गर्ने सम्झौता भएको थियो ।
सम्झौता अनुसार कम्पनीले काम गरिरहेको घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता न्यौपाने सिग्देलले बताइन् । ग्याँस प्लान्ट क्षेत्रमा जिम्मा पाएको कम्पनीले काम गरिरहेको र उपमहानगरपालिकाले पनि ग्याँस उत्पादनका लागि फोहरको प्रकृति छुट्याउने काम गरिरहेको उनको भनाइ छ । जसको लागि उपमहानगरपालिकाले ल्यान्डफिल्ड साइटमा एउटा ठूलो भवन निर्माण गरिसकेको छ ।
झण्डै २० करोडको लागतमा निर्माण हुने लागेको उक्त ग्याँस प्लान्ट २० वर्षसम्म नेपाल उर्जा विकास कम्पनीले ग्याँस उत्पादन गरेर बिक्री गर्नेछ ।
उपमहानगर क्षेत्रबाट संकलित कुहिने फोहरबाट दैनिक एक हजार ३ सय किलो ग्याँस र ६ टन जैवीक मल उत्पादन गरिने भएको छ । उत्पादन थालेको पाँच वर्षसम्म उपमहानगरपालिकाले फोहर संकलन तथा ढुवानीमा सहयोग गर्नुपर्ने र २० वर्षपछि नेपाल उर्जा विकास कम्पनीले उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *