विद्यालय चिनारी
महेन्द्र मावि दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ टरिगाउँ, कपडादेवीमा रहेको छ । महेन्द्र माविको स्थापना २०१८ साल असोज २४ गते भएको हो । स्थानीय शिक्षाप्रेमी एवं बुद्धिजीवीहरुको पहलमा तत्कालिन समयमा दाङको पश्चिम क्षेत्रमा औपचारिक शिक्षा अध्यापन गराउने माध्यमिक विद्यालय नभएपछि यसको स्थापना भएको हो । काजी भीमबहादुर शाहले उपलब्ध गराएको साविक ३२ विगाह १० कठ्ठा जमिनमा विद्यालय रहेको छ । छिमेकी भारतबाट ल्याइएका शिक्षकहरुले विद्यालयमा पठनपाठन गराएको इतिहासमा पाइन्छ ।
विद्यालयमा नयाँ प्रशासनिक तथा ब्यवस्थापकीय नेतृत्व आएपछि अभिभावक र विद्यार्थीको आकर्षण बढेको छ । विद्यालयको अचल सम्पत्ति जग्गा संरक्षणमा समस्या हुँदा दिन प्रतिदिन अतिक्रमण हँुदै जाने अवस्था छ । विद्यार्थीहरुको चापका कारण भौतिक पूर्वाधार ब्यवस्थापन समेत कठिन भएको छ । कक्षाकोठा, फर्निचर अपुग छ । पुस्तकालय पनि साेंचेजस्तो हुन सकेको छैन ।
जीतबहादुर थापा
प्रधानाध्यापक
श्री महेन्द्र मावि तुलसीपुर
विद्यालयका विशेषताहरु
बजार क्षेत्रबाट टाढा र शान्त वातावरणमा रहेको, प्रशस्त जमीन, खेलमैदान भएको, अंग्रेजी माध्यमबाट कक्षा नर्सरीदेखि कक्षा १० सम्म पठनपाठन भइरहेको, अंग्रेजी माध्यमको कक्षा सञ्चालनका लागि छुट्टै ब्लकको व्यवस्था, दक्ष, तालिम प्राप्त शिक्षक शिक्षिकाबाट अध्यापन गराइने, अग्र भागमा रहेको स्मृति बाटिकाले सौन्दर्यता र शान्त वातावरण निर्माण गरेको, विद्यालयमा निजी श्रोतमा शिक्षकमा शिक्षकहरु भर्ना गरी अंग्रेजी माध्यममा पठनपाठन भइरहेको । दाङ जिल्लाको एकमात्र खुला विद्यालय यहाँ सञ्चालित छ । खुला विद्यालयअन्तर्गत यहाँ निमावि तह प्रथम, द्वितीय र मावि तह कक्षा १० पनि सञ्चालन छ । निमावि तह प्रथम, द्वितीयमा २०÷२० जना र मावि तह कक्षा १० मा दुई सयजना भर्ना गर्न पाउने गरी अनौपचारिक शिक्षा सेवा केन्द्रले कोटा निर्धारण गरी दिएको छ । चौथो घण्टीको अध्ययन अध्यापन पश्चात् प्रायःजसो शुक्रबार अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने गरिएको छ ।
विद्यालयको भौतिक, शैक्षिक अवस्था
विद्यालय पुराना जीर्ण भवनमा सञ्चालन हुँदै आएकोमा २०६७ देखि पुराना एवं जीर्र्ण भवनहरुलाई विस्थापित गर्र्दै नयाँ भवन निर्माण गर्ने कार्य जारी रहेको छ । अझै २० प्रतिशत भवनहरु विस्थापित गर्नुपर्ने र नयाँ भवन निर्माण गर्नुपर्ने भएकोले विद्यालयलाई अझै पनि पर्याप्त कक्षाकोठा नपुग हुने अवस्था आएकोले दिवासत्रमा सञ्चालन गर्नुपर्ने कक्षा ११÷ १२ का कक्षाहरु बिहानी सत्रमा सञ्चालन गर्नपर्ने वाध्यता रहेको छ । विद्यालयको हातामा रहेको २७ विगाहा जमिनलाई तारबार गर्न नसकेकोले अतिक्रमणको समस्या छ । खानेपानीको समस्या भएकाले विभिन्न ठाउँमा ब्यवस्थापनको लागि पहल भइरहेको छ ।
परम्परागत तरिकाबाटै हालसम्म पनि सामुदायिक विद्यालयहरु सञ्चालनमा आइरहेको अवस्थामा समयको परिवर्तन सँगसँगै नयाँ प्रविधियुक्त कक्षाहरु सञ्चालन गरिरहेका छांै । अध्ययन अध्यापक र ब्यवस्थापनमा मल्टिमिडियाको प्रयोग गर्दै आएका छौं । विद्यालयको शैक्षिक उपलब्धि कक्षागत रुपमा सानो कक्षामा सत प्रतिशत र माथिल्लो कक्षामा ८० प्रतिशत माथि रहेको छ ।
आगामी रणनीति
कक्षा १ देखि १२ सम्म विज्ञान संकाय थप गरी अंग्रेजी माध्यममा कक्षा सञ्चालन गर्दै लैजाने । दुई वर्षमा विद्यालयका सम्पूर्ण कक्षाहरुमा आधुनिक इलेक्ट्रोनिक मिडियाको प्रयोग गरी शैक्षिक गुणस्तर बृद्धितर्फ पहल गर्ने । दुई वर्षभित्र विद्यालयको हातामा रहेको सम्पूर्ण जग्गालाई तारबार गर्ने । भूकम्पबाट क्षतिग्रस्त भवनहरुलाई विस्थापन गरी नयाँ भवन व्यवस्था गर्ने । विद्यालयको दक्षिणतिरको जग्गामा पर्याप्त सिंचाई सुविधा विकसित गरी सो जग्गाबाट आयआर्जन गर्दै जाने र आगामी पाँच वर्षभित्रमा कृषि क्याम्पसको स्थापना गर्ने । विद्यालयको हातामा डिप बोरिङको व्यवस्था गरी खानेपानीको व्यवस्था गर्ने । पुस्तकालयको थप सुदृढीकरण गर्दै लैजाने । विद्यालयको स्मृति वाटिकामा थप वृक्षारोपण गरी हरियाली र सुन्दरता बढाउने । आईसीटी र प्रयोगशालाको व्यवस्थापन गर्दै लैजाने वैकल्पिक उर्जाको व्यवस्थापन गर्ने रहेका छन् ।