होलेरीमा न्यायीक संवाद कार्यक्रम

मुख्य खबर

रोल्पा, १५ पुस । उच्च अदालत तुलसीपुर दाङ र जिल्ला अदालत रोल्पाको आयोजनामा रोल्पाको होलेरीमा एकदिने न्यायीक संवाद कार्यक्रम भएको छ । जनताको न्यायालयसँग प्रत्यक्ष सम्बन्ध र पहुँच कायम गर्न रोल्पामा यो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नहकुल सवेदीले दुर्गम गाउँमा गरिने यस्ता कार्यक्रमले नागरिक र न्यायालयबीचको सम्बन्धमा सहजता ल्याउन मद्दत पु¥याउने बताए । उनले यसले न्याय सम्पादनमा समेत सहयोग पुग्ने उल्लेख गरे । उच्च अदालतले सबै जिल्ला र क्षेत्रहरूमा यस्तोखाले संवाद कार्यक्रमको आयोजना गरिरहेको भन्दै विकटमा जनतासँग प्रत्यक्ष संवादको सहकार्यसमेत बढाउने बताए ।
कार्यक्रममा स्थानीय तहमा रहेकोे न्यायीक समितिका काम, कर्तब्य र क्षेत्र अधिकारका बारेमा समेत जानकारी गराइएको थियो । कार्यक्रममा उठेका जिज्ञासाको सम्वोधन उच्च अदालतका न्यायाधीश रामबहादुर थापा रजिष्ट्रार श्रीलाल पौडेल, रोल्पाका जिल्ला न्यायाधीश रमेशप्रसाद ज्ञवाली, दाङका जिल्ला न्यायाधीश हेमन्त रावल, ईश्वरीप्रसाद गौतम, प्यूठानका जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतमले गरेका थिए । कार्यक्रमका सहभागीहरूले यस्ता कार्यक्रमहरू दुर्गम गाउँमा पनि सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा महिला हिंसा, बालविवाह, बहुविवाहजस्ता विषयका कानुनी उपचारका बारेमा समेत जानकारी गराइएको थियो । कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजीवि, शिक्षक, विद्यार्थी, ब्यापारी, नागरिक समाजको सहभागिता रहेको थियो । उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रजिष्ट्रार श्रीलाल पौडेलले कार्यक्रमका बारेमा जानकारी गराएका थिए भने कार्यक्रमको सहजीकरण उप रजिष्ट्रार रूद्रमणि गिरिले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *