घोराही, २१ साउन ।
के तपाईले सडकको छेउमा पार्किङ गर्दै आउनुभएको छ ? वा कतै सडकको छेउमा पार्किङ गरेर घण्टौ काममा जानु हुन्छ ? होस् गर्नुहोस् यही अवस्थामा तपाईको हेल्मेट ट्राफिक कार्यालयमा पुग्ला नि ! त्यस्तो हो भने अब सचेत रहनुहोला ।
जिल्ला ट्राफिक कार्यालय घोराहीले जतिबेला पनि तपाईको मोटरसाइकलको हेलिमेट जफत गर्नसक्छ । घोराहीको आसपास क्षेत्रमा कुनै पनि सडकको नजिकमा गरिएको मोटरसाइकलको अव्यवस्थित पार्किङलाई व्यवस्थित बनाउनको लागि ट्राफिक प्रहरी कार्यालयले जतिबेला पनि तपाईको हेल्मेट जफत गर्नसक्छ ।
घोराहीका विशेषगरी बैंक रोड, न्यूरोड, हस्पिटल रोड लगायतका बजारका मुख्य चोकहरुमा जथाभावी पार्किङ गरिएको हुँदा पार्किङलाई व्यवस्थित गर्न हेल्मेट नियन्त्रणमा लिने गरेको जिल्ला ट्राफिक कार्यालय घोराहीले जनाएको छ । घोराही बजारमा कुनै पनि क्षेत्रमा ‘नो पार्किङ’ भनेर तोकिएको छैन् । किनभने बजारमा पार्किङको व्यवस्था नै छैन् । अथवा पार्किङ गर्नको लागि उचित स्थान नै तोकिएको छैन् । जथाभावी पार्किङ गरेर राखिएको अवस्थामा मोटरसाईकल तथा अन्य सवारी साधन चालकलाई व्यवस्थित गरेर पार्किङ गर्न लगाउने गरेको छ । अव्यवस्थित रुपमा मोटरसाइकल पार्किङ गरेको भन्दै ट्राफिक प्रहरी कार्यालय घोराहीले १४ वटा मोटरसाईकलको सोमबार हेल्मेट जफत गरेको छ । घोराहीका व्यस्त सडकहरुमा ट्राफिक प्रहरीहरुसमेत परिचालन गरिएको छ । सवारी दुर्घटना नियन्त्रण गर्नको लागि जिल्ला ट्राफिक कार्यालय घोराहीले बिशेष प्राथमिकतामा राखेको छ । घोराही बजारमा ठूला दुर्घटना नभएपनि सामान्य दुर्घटना नभएको दिन कुनै दिन हुँदैन् । ‘दैनिक पाँचवटासम्मको सवारी दुर्घटनाको मिलापत्र हुन्छ’ जिल्ला ट्राफिक कार्यालय घोराहीका प्रहरी जवान लालबहादुर देउवाले भने ‘ठूलो दुर्घटना त भएको छैन ।’ मोटरसाइकल, अटोरिक्सा, कार, टिप्पर, ट्रक, ट्याक्टरलगायतका सवारी साधनहरु एकआपसमा ठोकिएको भनेर दिनहुँ ट्राफिक कार्यालयमा आउने गरेको उनले बताए । यसको मुख्य कारण अव्यस्थित पार्किङ भएकोसमेत उनले बताए । सवारी साधनको चाप बढ्दै जानु, साँघुरा सडक र पार्किङको लागि व्यवस्थित स्थान नहुनु घोराहीमा समस्याको रुपमा रहेको छ ।
घोराहीका व्यस्त सडकहरुमा ट्राफिक प्रहरीहरुसमेत परिचालन गरिएको छ । सवारी दुर्घटना नियन्त्रण गर्नको लागि जिल्ला ट्राफिक कार्यालय घोराहीले बिशेष प्राथमिकतामा राखेको छ । घोराही बजारमा ठूला दुर्घटना नभएपनि सामान्य दुर्घटना नभएको दिन कुनै दिन हुँदैन् ।
‘बैंकिङ कारोवारको लागि बैंक जानुप¥यो, बैंकमा त्यस्तै भिड हुन्छ’ चौघेरका मोहन केसीले भने ‘पार्किङ गर्ने ठाउँ नै छैन्, सडकको कुनामा पार्क गरेर बैंकबाट फर्किदा अव्यवस्थित पार्किङ गरेको भनेर प्रहरीले मोटरसाइकलको हेल्मेट जफत गरिसकेको हुन्छ ।’ घोराहीमा पार्किङ स्थल नहुँदा सडक छेउमा पार्किङ गर्नुपर्ने बाध्यता र सवारी साधन नै सुरक्षित हुन्छ भन्नेमा आफू ढुक्क नहुने समेत उनले बताए ।
घोराहीमा पार्किङ गर्नको लागि पार्किङ स्थान नै नभएको जिल्ला ट्राफिक कार्यायलले घोराहीका प्रमुख मदनबहादुर कुवरले बताए । सवारी दुर्घटना नियन्त्रण गर्नको लागि व्यवस्थित पार्किङ हो तर यहाँ पार्किङ स्थल नै छैन । ‘घोराहीमा जथाभावी पार्किङ गरेर सवारी साधनहरु राखिएको हुन्छ, हामीले साइड लगाएर पार्किङ गर्न लगाउछौँ’ ट्राफिक प्रहरी प्रमुख कुवरले भने ‘कतिपय सवारी चालकहरुलाई ट्राफिक प्रहरीहरुले सिटी बजाएर जानकारी गराउँदा अटेर गरेपछि हेल्मेट जफत गर्नुपर्ने वाध्यता छ ।’ सवारी साधन व्यवस्थित गरेर पार्किङ गर्नको लागि पहिलो पटक ट्राफिकले सचेत गराउने र दोस्रो पटक पनि अटेर गरेमा जरिवाना गराउने बताए । मुख्य चोक तथा होटलहरुमा सडकमै अव्यवस्थित पार्किङ गरेर घण्टौ समय बिताउँदा सडक व्यवस्थित गर्न समस्या देखिएको उनले बताए । सवारी साधन पार्किङ गर्नको लागि घोराही उपमहानगरपालिका तथा जिल्ला प्रशासन कार्यालयसँग छलफल गरिरहेको उनको भनाइ रहेको छ । घोराहीका मुख्य चोकहरुमा बैंक तथा अन्य पसलहरु सञ्चालन हुनु, बैंक तथा पसल अगाडिबाट साइकल, रिक्सा, ठेलादेखि छोटा तथा लामा दूरीका सवारी साधनहरु बाक्लै आवतजावत हुँदा र आधा सडक मिचिने गरी गरिएको हुन्छ । पछिल्लो समयमा अटोरिक्सा तथा टेम्फोहरु पनि बढ्दोक्रममा छन् । अटोरिक्सा तथा टेम्पोहरुको लागि पनि उचित पार्किङ स्थान तोकिएको छैन् । मुख्य चोकहरुमा नै अव्यवस्थित तरिकाले पार्किङ गर्दा सवारी दुर्घटनाको बढी जोखिम देखिएको छ ।