हिलाम्य सडक

फिचर मुख्य खबर

घोराही, २५ असार । घोराही सेवारकी निर्मला केसी दैनिक बजार र गाउँ गर्दछिन । मौसमी व्यवसायको लागि उनलाई सहर गाउँ गर्नुपर्ने बाध्यता छ ।
दैनिक सहर जाँदा र घर फर्कदा उनलाई एउटा कुराले भने सधै पिरोल्छ । त्यो हिलाम्य बाटो । हिलाम्य बाटोकै कारण उनीले प्रायः सधै सास्ती खेप्नु परिरहेको छ ।
उनी घरबाट बजार आउँदा भारीसँगै बीच बाटोमा चिप्लिएर लडेका घटना त कति छन् कति ? तर पनि अहिलेसम्म बाटोको स्तरोन्नती हुन सकेको छैन । बर्षेनी त्यो पीडा ग्रामीण सडकमा देखिरहन्छ ।
‘बाटो ग्राभेल बनाउनको लागि भनेर खनेका थिए, चिप्लो बाटोमा लडेर कपडा हिलाम्मे भयो’ उनले लाज मान्दै भनिन्, आधा हिलो त शरीरमै छ । गाउँबाट डोकोमा च्याउ, न्यूरो, साग बेच्न ल्याउदै थिए सबै हिलाम्य भयो ।
घोराही बडहराका रोहित नेपाली विद्यालय जाने बेलामा नराम्ररी लडे । उनी पनि बाटोमा चिप्लिएका थिए । निर्माणधिन अवस्थामा रहेका सडकले निकै नै सास्ती बनाएको छ ।
बर्षाको समय, चिप्लो माटो, त्यो पनि पानी जमेर आवतजावत गर्नको लागि समस्या भएको छ । यि त उदाहरण मात्रै हुन् । अलपत्र अवस्थामा सडकको नाम हुँदा स्थानीयबासीहरुले सास्ती भोग्दै आएका छन् ।
गाउँदेखि बजार आउनको लागि जोखिमको यात्रा भोग्दै आइरहेका छन् । शहरबाट विद्यार्थी लिन गाउँ गएका स्कुलका बसहरु बाटोमा भासिएर आधा दिन उद्धारमा नै बित्ने गरेको छ ।
आर्थिक मसान्त सकिन दुई महिना पहिला दाङमा धमाधम विकास निर्माणका कामहरु शुरु भए । नाला खन्नेदेखि सडक फराकिलो बनाउने, नयाँ ट्रयाक खोल्ने काम भयो । त्यो पनि असार मसान्तभित्रै विकास निर्माणका काम सकिने गरी योजना बनाईयो ।
गाउँ–गाउँमा सडकको बनाउने, नाला बनाउने कामहरु धमाधम भए । तर ति कामले पूर्णता पाएनन् । जसको कारण स्थानीयबासीहरु हैरानी खेपिरहेका छन् । हिजोआज बर्षाको समयमा कारण विकास निर्माणका कामहरु गति लिन सकिरहेका छैनन् ।
गाउँ–गाउँमा सडकको लागि भनेर खनिएको छ, ग्राभेल विच्छाएको छ । नालाहरु खनेर ठूला–ठूला खाडलहरु भएका छन् । जसकारण जोखिम बन्दै गएको छ ।
गाँउमा मात्रै होईन् बजारमा पनि सडक स्तरोन्नती भनेर नाला निर्माण र सडकको काम भएपनि पूर्णता भएका छैनन् । आर्थिक मसान्तमा बजेट खर्च गर्नकै लागि गरिने र वर्षाको समयमा अलपत्र अवस्थामा छोडिने विकास निर्माणका कामले स्थानीयबासीहरु आक्रोसित भएका छन् ।
कतिपय ठाउँमा त सडक निर्माणको काम चाडै सम्पन्न गर्नको लागि दवाव दिन सडक नै अवरुद्ध गरेका छन् भने पटक–पटक सम्बन्धित जनप्रतिनिधिलाई हार गुहार गरिहेका छन् ।

निर्माणधिन अवस्थामा रहेका सडकले निकै नै सास्ती बनाएको छ । बर्षाको समय, चिप्लो माटो, त्यो पनि पानी जमेर आवतजावत गर्नको लागि समस्या भएको छ ।

त्यस्तै घोराही–९ ढिकपुरका स्थानीय जनताहरुले बर्षाको समयमा बाटो हिड्नै नसक्ने गरी हिलाम्मे भएको भन्दै तत्काल बाटो ग्राभेल गर्न दबाव दिनको लागि सडक नै ठप्प पारेका छन् ।
निर्माणाधिन अवस्थामा रहेको सडकलाई ग्राभेल गरेर सुचारु नगर्दासम्म सडक बन्द गरेर आवतजावत ठप्प पार्ने स्थानीयको चेतावनी छ । सडक ग्राभेल गर्न पटक–पटक दबाब दिदा पनि नसुनिएको भन्दै बाध्य भएर स्थानीयले सडकमा ढुंगा र काठ बिच्छाएर सडक अवरुद्ध गरेको उनीहरुको भनाइ छ ।
घोराही उपमहानगरपालिकाका ईन्जिनियर रामधन श्रेष्ठले बजेट नभएकै कारण नगरका ग्रामीण सडकहरु निर्माणका कामहरु रोकिएको तर्क गर्ने गर्दछन् ।
‘कुनै सडकमा नयाँ ट्रयाक खोल्ने, सडक फराकिलो बनाउने योजना परेको थियो होला’ ईन्जिनियर श्रेष्ठले भने ‘सडक पूर्णरुपमा निर्माणको लागि बजेटको समस्या पनि छ ।’
‘सडक मर्मत भन्ने योजना हुन्छ, त्यहि अनुसार काम हुन्छ, वर्षाको समयमा पानी आउँदा हिलाम्मे हुन्छ, ग्राभेल गर्नको लागि न योजना भएको हुन्छ, न त बजेट नै’ उनले भने ‘यसमा जनगुनासो आउने नै भयो ।’
ग्रामीण सडककै कारण दाङका केही स्थानीय तहसम्म पुग्नसमेत कठिनाई हुने गरेको छ । दुर्गमका बस्ती र गाउँमा वर्षासँगै सडक सञ्जालको पहँुच पनि टुङ्गिने गरेको छ ।
पूर्वाधार विकास कार्यालय निमित्त प्रमुख वासुदेव भण्डारी विकास निर्माणका कामका जिम्मा लिएकाहरुले काम नगरेकै कारण योजना सम्पन्न नभएको बताउँछन् ।
‘कार्यालय ढिला स्थापना भयो, हामीले एक दुई चरणको काम सम्पन्न गर्न सक्छौ भनेर टेण्डर खोलाका थियौ’ निमित्त कार्यालय प्रमुख भण्डारीले भने ‘तर योजना अनुसारको भएन् ।’ ६० प्रतिशत योजना सम्पन्न भएको उनले बताए ।
गत मंसिर महिनामात्रै कार्यालय स्थापना भएको र कर्मचारी व्यवस्थापनका कारण केही ढिलाइ भएको उनले बताए । सडक योजनादेखि ईस्टिमेट बनाउँदा बैशाखको पहिलो हप्तासम्म योजना सम्झौता गर्ने काम भएको उनले बताए ।
सडक निर्माण गर्ने क्रममा हिलाम्मे भएका सडकहरुमा सम्बन्धित निर्माण व्यवसायीहरुलाई सुधार गर्नको लागि निर्देशन दिईसकेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *