हिंसाभित्रको साहस

फिचर समाज साहित्य

बाटाहरू सयौँ भेटिन्छन् । कहिँ सजिलो हुन्छ कहिँ अप्ठ्यारो, कहिँ सिधा हुन्छ कहिँ बाङ्गो, कहिँ उकालो हुन्छ त कहिँ ओरालो । तर रोजाइ चाहिँ अब मेरो आफ्नै हुनुपर्छ । तर रोजाइ मेरो आफ्नै भएपनि लड्न चाहिँ म अरूकै लागि लड्नुपर्छ । यदि मैले आज पनि यो समाज यो घरबाट सबै–सबै सहदै गए भने जिन्दगी फेरी बल्झेर दुख्ने छ । सन्तापमा आँसुहरू फेरि तप्किएर झर्नेछ्न् । व्यथाहरू फेरी बढेर दुख्नेछन् । म कमजोर भएर बाँच्दिन अब जाडोमा कठ्याङ्गीएर एउटा कुनामा मात्र न्यानोको आशा गरेर बस्दिन । आगोका ज्वालाहरू बोकेर हिजो मलाई कुरूप बनेर बस्न बाध्य बनाउने यही मेरो घर र यो समाजसँग लड्छु ।
सधै अरूको आशा र भरोसामा बाँच्नुपर्ने जिन्दगी नि के जिन्दगी ! आफ्नै घरमा पनि पराइझैँ बाँच्नुपर्ने ? अपहेलना सहेर खोक्रो सम्मानको घुम्टो ओढेर बाहिर हिड्नुपर्ने ? आफ्नो हैसियतलाई नै दबाउनुपर्ने ? भो अब यसरी सहेर बस्दिन म सधै अरूकै आदेशमा हिड्नु अब मलाई स्विकार्य छैन । यहाँ म मात्र छैन मेरा छोरीहरू पनि छन् । आज, म उनीहरूलाई सही शिक्षा दिन सकिन भने भोलि उनीहरू पनि म जस्तै हुनेछन् । असमानता कै घुम्टो ओढेर हिड्न बाध्य हुनेछन्  ।
म भने अचम्मित छु यतिखेर सरीताको कुरा सुनेर ! हिजो मैले यो समाजलाई संस्कारी बुहारीको दर्जा हैन घरमा स्वतन्त्र खोजेर बाहिर निस्क सरीता धेरै अन्याय सहेर नबस्भन्दा मलाई नै उल्टै गाली गरेर पठाउने सरीताको आज यति ठूलो साहस र आँट देख्दा म आफै दङ्ग छु । के यो हिजोकै मेरो उही साथी सरीता नै हो ? म अफिस आउँदा जाँदा बाटोमा उसकै घर पर्छ । मलाई गाली गरे पनि कहिलेकाहीँ उसको घर बस्न पनि अवसर पाएकी छु मैले । किनकी हामी दुईमा आत्मीय सम्बन्ध छ, माया छ । केही मनमा भारी भएर बसेका दुःख, सुखहरू पनि बाँड्छे । सरीताले मलाई नजिकको साथी सम्झेर र भन्छे मेरो परिवारभन्दा तेरो विश्वास मान्छु साथी म ।
हामीसँगै क्याम्पस पढ्दा हो सरीताले रामेसँग प्रेम विवाह गरेको । रामे अलि निकै फटाह नै थियो । उसको व्यवहारिकता मलाई पटक्कै मन पर्दैनथ्यो । क्याम्पस आउँदा जाँदा रामेसँग भेट हुन्थ्यो सरीतासँग नजिक हुन्थ्यो । मैले गाली गर्थे सरीतालाई र भन्थे सरीता त्यो फटाहा रामेको बोलीले मख्ख नपर है ! त्यसको चाल मलाई ठिक लाग्दैन । तर सरीताले उल्टै मलाई आँखा तरेर हिड्थी । रामेको मिठो बोलीमा मख्ख परेकी सरीताले आखिर रामेसँग विहे गरेरै छोडी । सोझी सरीतालाई फसाएरै छोड्यो रामेले ।
आज झण्डै सात बर्ष भए उनीहरूको विहे भएको । पहिले त राम्रैसँग चलिरहेको थियो उनीहरूको जिन्दगी । कलिलो उमेरमा नै चुरोटको धुवाँ उडाउँदै रक्सी खाएर मातिएर हिड्ने रामेलाई देख्दा मलाई नि सुध्रिएको हो झैँ लागेको थियो । विहे भएको केही बर्षपछि घर व्यवहारको बोझ थपिदै जाँदा आर्थिक अभावले पनि गिजोल्न थाल्यो । त्यसपछि केही उपाय नलाएर रामे विदेशतिर पछारियो । दुई सन्तानकी आमा बनि सकेकी सरीता भने अब पढाइ छोडेर घरपरिवारतिरै जोतिन थाली ।
दिनहरू विस्तारै बित्दै गए । सरीताका दुःखका दिन सुरू भए अब । जति काम गरेपनि घरमा सासू ससुराको जस कहिल्यै पाइन उसले । उनीहरूका नमिठा र तीता बचनहरू मात्र सुन्न विवश भई । मानौँ त्यस घरको ऊ मान्छे हैन नोकर नै हो । उसलाई जे भने पनि हुन्छ, जे गरेपनि हुन्छ । आखिर उसले गर्न सक्ने भनेको चुपचाप सहनु मात्र हो । घरभित्र जे जस्तो भएनि सोझी सरीता बाहिर साथीसंगी आफन्तहरूसँग भने निकै सुखी र खुसी देखिन्थी । आफूले आफ्नै घरपरिवारको बदनाम गर्दै हिड्न चाहदैन थिई ।
उता रामे भने विदेश गएको यतिका चार पाँच बर्ष भैसक्दा पनि घर फर्किएर आएको छैन । सरीतासँग फोनमा कुरा गर्नुको सट्टा उल्टो बाआमाको सरीताप्रतिको झुठ्ठा कुरा सुनेर सरीतालाई नै घरबाट निकाली दिने कुरा गर्छ । तर पनि महान सरीता चुप लाग्छे । प्रेम विवाह गरेर दुई सन्तानकी आमा बनिसकेकी सरीतालाई आफ्नै श्रीमानले घरबाट निकाली दिने कुरा गर्छ भने अरूको झन के नै आशा र भरोसा रह्यो र ? सोच्थी एकदिन ती दानवजस्ता सासू ससुराको र मेरो आफ्नै शिरमा मान नभएको श्रीमानको मन कसो नबदलिएला र ?
विगतका केही बर्षदेखि आफ्नै घरमा अन्याय अत्याचार सहदै आएकी सरीता अब भने सहनुले पनि सीमा नाघिसकेछ क्यारे ! त्यसैले आज म ऊ आफ्नै घरमा विद्रोह गरेर बाहिर निस्किएकी छ । मलाई भने निकै खुशी लागेको छ । म महिला हुनुको अर्थले आशा र विश्वास झनै पलाएको छ । सरीता त एउटा उदाहरण मात्र हो सरीताजस्ता हजारौ नारीहरू आज पनि घरपरिवारको दबाबले गर्दा, आफ्नै जिन्दगी बिग्रने हो कि भन्ने त्रासले बाहिर मुख खोल्न सकिरहेका छैनन् । घरेलु हिंसाको सिकार भईरहेका छन् । आशा छ म चाहन्छु सरीताजस्ता अन्याय, अत्याचार सहेर बसेका हजारौ नारीहरू अब आफ्नो अस्तित्व रक्षाको लागि आफै लड्न सक्षम हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *