हाम्रो बानी र नगरको सरसफाई

विचार

हामी करोड पर्ने घरमा बस्छौं, तर फोहोर घरै अगाडि फाल्छौं । उल्टो सफा गरिदिएन भनेर नगरपालिकासँग गुनासो गरिरहन्छौ । आफै व्यवस्थापन गर्न सकिने फोहर पनि व्यवस्थापन गर्दैनौं । सार्वजनिक ठाउँको बाटो मिच्छौं ।
चाउचाउ खाँदै हिड्छौं, सकिएपछि प्याकेट सडकमै फालिदिन्छौं । पानी पिउँछौं, बोतल सडकमै फालिदिन्छौं । जेब्राक्रसिङ छाडेर जथाभाबी बाटो काट्छौं । सार्वजनिक स्थलमा सुर्ती र चुरोट खान्छौं । यस्तो व्यवहारले अरुलाई अप्ठ्यारो परेको हुन्छ । आफूलाई पनि असभ्य नागरिक भनेर चिनाइरहेका छौं । हाम्रो आचरणकै कारण बाटाघाटा फोहोर भएका हुन् ।
शहर बजार कुरुप बनाउन हाम्रै हात छ । हामीमा रहेको यस्तो आचरण कसरी सुध्रिएला ? छाडा गाईवस्तु शहरमा छाडने हामी, सुंगुर, बुगुंर छाडा छाड्ने पनि हामी जथाभावी फोहर थुपार्ने पनि हामी नगर सफा भएन भन्ने पनि हामी ।
फोहर मैला व्यवस्थापनमा अनुशासन तथा संस्कारको पनि भूमिका रहन्छ । जुनसुकै फोहर जतासुकै फ्याँक्ने हाम्रो संस्कार छ । यस्तो कार्य व्यक्तिगतलगायत सार्वजनिक हितका निम्ति पनि एकदम नै आपत्तिजनक हुन्छ ।
पान, सूर्ति, खैनी, गुटखा खाएर फ्याँक्ने, थुक र माटोमा नगल्ने प्रकारको प्लास्टिक खोल, सिगरेट अर्थात चुरोटको ठुटा, कागजको टुक्रा, सूर्ति, खैनी, गुटखाको व्यापार, खकार, सिँगान आदि मात्र पनि तोकिएको ठाउँमा फ्याँके फोहर मैला व्यवस्थापनमा ठूलो सहयोग पुग्न जान्छ ।
सभ्य समाज सधैं सफा रहन्छ । अर्थात् कुनै शहर सफा देखियो भने बाहिरबाट घुम्न आउने मान्छेको मुखबाट स्वस्फुर्त यस्ता उदगार सुन्न पाइन्छ– आहा ! यो शहरको मान्छेहरु कस्ता सभ्य रहेछन् । तर आज हाम्रा शहरहरु सबै फोहर छन् ।
फोहर मैला व्यवस्थापन हाम्रो लागि चुनौती नै भएको छ । फोहरको थुप्रोले मन खिन्न बनाइ दिन्छ । हामीकहाँ आउने विदेशीहरुको लागि झन कस्तो होला ? फोहर मैलाको पहिलो सिद्धान्त त फोहर नै नगर्नु हो । हामीले फोहर नै गरेनौं भने फोहर मैला व्यवस्थापन पनि सरल भएर जान्छ । फोहर नै नगर्नु त सम्भव छैन । तर, चेतनाको स्तर अभिवृद्धि भएको छ भने फोहर व्यवस्थापन सहज हुन जान्छ ।
कुनै पार्टी अथवा पिकनिकमा हामीले खान सक्ने परिमाणको खाना मात्र लियौं भने पनि हामीले फोहर मैला व्यवस्थापनलाई सहयोग नै गरेको ठहर्छ ।
कारण, हामीले फ्याँकेको खानाले फोहर मैला व्यवस्थापनको चुनौतीलाई झन चुनौतीपूर्ण बनाइदिन्छ । त्यस्तै, कुनै सामान खरिद गर्दा हामीले पोलिथिनको थैलीसहित सामान लिएनौं भने पनि हामीले फोहर मैला व्यवस्थापनलाई सहयोग गरेको ठहर्छ ।
कुनै पनि सामान प्रयोग गर्दा वेस्टेज नगर्ने, गर्नै परे पनि न्यूनतम प्रयोग गर्ने, वेस्टेज सामानलाई सकेसम्म पुनः प्रयोग गर्न कोशिश गर्ने वा पुनः प्रशोधन गरी केही उपयोगी सामान बनाई प्रयोगमा ल्याउने ग¥यौं भने यसबाट हाम्रो घर, गाउँ र समाज, शहर, बाटो सफा रहन्छ । थोरै मात्रामा भएपनि फोहर मैला व्यवस्थापनलाई सहयोग पुग्न जान्छ ।
सडकको नालामा नबग्ने, नकुहिने जस्ता फोहर जथाभावी फ्याँक्नु हुँदैन भन्ने कुरा सबैलाई थाहा छ, तर सबैले फ्याँकिरहेका छन् । वर्षा हुनुभन्दा पहिले ढल र नाला सफा गर्नु र गराउनुपर्छ भन्ने कुरा सबैलाई थाहा छ । तर न कसैले यस्तो काम गर्छ न गराउन कुनै पहल गर्छ । पोलिथिन र प्लास्टिकका टुक्राटाक्री आदिले नाला थुन्छ । यो गलेर जाँदैन भन्ने कुरा पनि सबैलाई थाहा छ ।
प्रत्येक जिम्मेवार जनमानसमा यस्ता कुरा थाहा भएर पनि यी सबै गर्न नहुने कामहरु हाम्रो शहर बजारमा भइरहेको छ । जसको कारण हामी आफैले गर्दा सडकमा हिड्दा दुर्गन्धले नाक खुम्च्याएर, मुख छोपेर हिड्न परेको छ । दुर्गन्धले गर्दा हिड्दा हिड्दै वा बसिरहेकै ठाउँमा थुकेर थप फोहर दुर्गन्ध बनाएका छौ । यस्तो कुरा कसैले याद गरिरहेको हुँदैन ।
यी सबै जनचेतना र सुशासनको अभावकै कारण भएको मान्न सकिन्छ । सभ्य समाजमा मूल्य मान्यता, नियम कानुनका आधारमा समाज चलेको हुन्छ । कतिपय आमा समूह, टोल सुधार समितिले आफ्ना नियम बनाएर समाज व्यवस्थित बनाएका उदाहरण पनि हामी कहा नभएको होइन । समाजले बनाएका नियम त्यही समाजमै सीमित हुन्छन् ।
त्यही भएर राज्यको बनाएको कानुन सबैतिर लागू गर्ने र जनतालाई चेतनशील बनाउने काम राज्यले गर्नुपर्दछ । फोहोर जनताले गरेको हो नगरपालिकाले होइन ।
फोहरलाई कसरी व्यवस्थित गर्ने भन्ने समस्या अहिले नगरपालिकाको साझा समस्या भएको छ । विश्वका कतिपय नगरपालिकाले तिनै फोहरलाई व्यवस्थित गरेर मोहर बनाएको कथा पनि हामीले सुनेका छौं । तर, हामी कहाँ नगर क्षेत्रको फोहरले सबैलाई पीडा भएको छ ।
शहर बजारमा सबै किसिमका व्यवसायले फोहरमैला उत्पादन गर्ने गरेको छ । ति ब्यवसायहरुको प्रकृति जोखिम र विसर्जन प्रक्रिया पनि फरक–फरक हुन्छ ।
तरकारी र फलफूल पसलबाट निस्कने फोहरमा जैविक पदार्थहरु धेरै हुने भएकोले छाडा चौपायाले खाने गरेकोले यस्ता पसलले कम समस्या पार्ने गरेका छन् । किराना पसलले हलुका पेयपदार्थ, चुरोट, सुर्तीजस्ता वस्तुहरु बेच्ने गर्दछन् । यस्ता वस्तुहरु उपयोग गरेपछि ग्राहकले बोतल, खोल त्यहि फाल्ने हुँदा किराना पसलको कारणले प्लास्टिकजन्य बस्तु फोहर हुन्छ ।
मोटर पार्ट्स र ग्यारेजले उत्पादन गर्ने फोहरमा प्लास्टिक, धातु र रबरको मात्रा धेरै हुन्छ, जुन फोहर पसल र वर्कशप छेउछाउ नै फाल्ने गरिन्छ । होटेलहरुले खाली सिसीहरु सकेसम्म बेच्ने गर्छन् र बिक्री नभएका र टुटेफुटेका बोतल, सामानका प्याकेटहरु फोहरको रुपमा फाल्ने गर्छन् ।
लापरवाही ढंगले फोहर फाल्नेमा सिसा पसल, हार्डवेयर र सैलुनहरु अगाडि छन् । यी व्यवसायले दिनहुँ फोहर नफाली पसलमै जम्मा गर्छन् र ठूलो परिमाणमा फोहर र काम नलाग्ने सिसा, टुटेफुटेका सेनिटरीका सामग्री, रौं, ब्लेडजस्ता वस्तुहरु सडक किनार र खोला छेउछाउमा फाल्ने गर्दछन् ।
त्यस्तै दूध दिदासम्म पाल्ने र दूध दिन छोडेपछि गाई भैसीलाई घरबाट लखेट्नेहरु बढ्न थालेपछि बजारमा यस्ता छाडा चौपायाको संख्या पनि बढ्न थलेको छ । गोरुको शक्ति हुँदा अर्थात् जोत्न सक्ने हुँदासम्म संरक्षण गर्ने तर त्यही गोरु बुढो भयो भने गोठबाटै लखेटने प्रवृत्ति पनि सबै शहर बजारमा देखिन्छ ।
ल्याण्ड फिल्ड साइट नहुँदा अधिकांश नगरपालिकाले अहिले नदी तथा खोलाको कटान भएका जमिनमा फोहर फाल्ने गरेका छन् । फोहर फाल्ने ठाउ (ल्याण्डफिल्ड साइट) नभएका नगरपालिकालाई फोहरमैला व्यवस्थापन गर्न चुनौती भएको छ । शहर बजारमा निस्किएको फोहरलाई प्रशोधन केन्द्र बनाएर फोहरमैला व्यवस्थापन गर्ने काम नगरपालिकाले गर्नुपर्दछ ।
व्यवसायिक संघसस्थाहरुसँग समन्वय गरि फोहरमैला संकलन गर्ने छुट्टै संयन्त्र बनाएर व्यवसायजन्य फोहरमैला संकलन र त्यसको उचित व्यवस्थापन गर्नुपर्दछ ।
खोलानाला, जंगल र सडक छेउछाउमा आफूखुशी फोहर फाल्ने काममा स्थानीय प्रसासन, नगरपालिका र व्यवसायीक संस्थाले कडाइका साथ रोक लगाउनुपर्दछ । धेरैजसो ब्यवसायजन्य फोहरमैलालाई प्रशोधन र पुनः चक्रण गरेर प्रयोग गर्न र व्यवसायिक लाभ लिन सकिने भएकोले यस्तो फोहरमैला व्यवस्थापनलाई पनि ब्यवसायकै रुपमा सञ्चालन गर्न सकिन्छ ।
एक अध्यन अनुसार प्रतिव्यक्ति दैनिक औसत फोहर उत्पादन दर ०.३२ के.जी.हुने गर्दछ । यसैको आधारमा नेपालमा २ सय १७ वटा नगरपालिकाबाट दैनिक करिब ४ हजार टनभन्दा बढी फोहर उत्पादन हुने देखिन्छ । अहिलेको नया संरचना अनुसार बन्न लागेका उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाईसमेत फोहरमैलाको व्यवस्थापन प्रमुख समस्या हुने देखिन्छ ।
अबका दिनमा नगरपालिका घोषणा गर्दा नै पूर्वाधार विकास गरिनुपर्छ । नगरबासीलाई फोहर नै घटाउने, पुनः प्रयोग एवं स्रोत परिचालन गर्नेबारे ज्ञान दिनु आवश्यक छ ।
फोहर समस्या होइन, स्रोत पनि हो भन्ने कुरा सरकारी नीति निर्माता एवं फोहर उत्पादन गर्ने नगरबासीले समेत बुझेका छैनन् । कुहिएर जाने अर्गानिक फोहरलाई कम्पोस्ट मल बनाई मोहर (आम्दानीको स्रोत) बनाउने प्रविधि विकसित भएको नै छ । साथै, कुहिएर नजाने, तर पुनः प्रयोग गर्न सकिने फोहर जस्तो–पोलिथिन, प्लास्टिक, रबर, सिसा, टिन, फलामका टुक्राहरु आदि कच्चापदार्थको रुपमा तह लगाउन सकिन्छ ।
बिगतमा शहरी क्षेत्रमा फोहरमैलाबाट प्राङ्गारिक मल बनाई कृषिमा प्रयोग हुने गथ्र्याे । समयको अन्तरालपछि तीव्र जनसंख्या वृद्धि र अनियोजित सहरीकरणका कारणले गर्दा फोहरमैलाको प्रकृतिमा फरक आयो र उत्पादित फोहरमैला नजिकको ठूला तथा खुला ठाउँमा जथाभावी निजी तथा सरकारी निकायले थुपार्ने प्रवृत्ति बढ्यो ।
नगरक्षेत्रमा यो प्रवृत्तिले क्रमशः विकराल समस्या बनायो । हिजोआज औद्योगिक, अस्पताल तथा ग्राहस्थ्य क्षेत्रको फोहरमैला व्यवस्थापन सहरी क्षेत्रमा ठूलो चासोको विषय बन्न पुगी विकराल समस्या खडा गरेको छ ।
नगरपालिका हुनासाथ नगरमा बसोबास गर्ने नगरबासीले फोहरमैलाको सम्पूर्ण व्यवस्था नगरपालिकाले गर्छ भनी अनावश्यक ठाउँमा फोहरमैलाको निस्कासन गर्दा नगर झन् प्रदूषित भएको पाइन्छ ।
हामी विदेश जान्छाँै हामीबाट हुने फोहर पनि झोलामा राखेर फोहर ब्यवस्थापन गरिने ठाउँमा मात्रै फाल्छौँ, तर आफू बस्ने शहर बजारमा भने फोहर ब्यवस्थापन गर्न जान्दैनौ । तोकिएको ठाउँमा फोहर ब्यवस्थापन गर्न नजान्दा आज हाम्रा सहर बजारहरुमा दुर्गन्ध फैलिदै गएको छ । प्लाष्टिक बाल्दा निस्कने हानिकारक धुवाँले वातावरण तथा स्वास्थ्यमा गम्भीर प्रतिकूल असर पु¥याएको छ ।
यो कुरा धेरैले बुझेपनि नबुझे झै गरेर सडक किनारमा प्लाष्टिक बाल्ने गरेका छौँ । जब प्लाष्टिक र अरु विषाक्त फोहर खुला ठाउँमा जलाइन्छ, त्यसबाट हानिकारक रसायन हावामा मिसिन्छ र विषाक्त खरानीले माटो र पानी प्रदूषित गर्छ ।
यस्तो विषाक्त रसायनले छातीमा खराबी, खोकी, वाकवाक लाग्ने, वान्ता हुने र आँखामा असर गर्दछ । शहर बजारमा सर्वत्र पाइने प्लाष्टिक झोलाको प्रयोगलाई निरुत्साहित गर्नेतर्फ सोचेका छैनौँ । यसको विकल्पहरुको खोजी गरी क्रमशः प्लाष्टिक झोलामुक्त नगर बनाउन सकेमात्र पनि शहर सफा देखिन्छ । यसतर्फ सबैले ध्यान दिन जरुरी छ ।
 
जब हाम्रो शहर बजारमा फोहर थुप्रिन्छ वा वरिपरि छरिन्छ, यसले नराम्रो गन्ध र स्वास्थ्यमा खराब असर पु¥याउँछ । खुल्ला थुप्रिएका फोहरहरुमा मुसा, भिंmगा, लामखुट्टे, साङ्ला र अरु कीराहरु उत्पन्न हुन्छन् । जसले विभिन्न रोगहरु ल्याउँछन् । जस्तैः मलेरिया, डेंगु, हेपाटाइटिस, टाइफाइड आदि । फोहर राखिने र फालिने ठाउँमा कीटाणुहरु बढ्छन् ।
यसले नजिक खेल्ने बच्चाहरु र फोहर संकलन गरेर बेच्ने मानिसहरुलाई असर पु¥याउँछ । फोहरमा हुने कीटाणुहरुले विभिन्न स्वास्थ्य समस्या ल्याउँछ । जस्तैः झाडापखाला, हैजा, लुतो, टिटानस र अरु छाला र आँखासम्बन्धी रोग । पानी बग्ने ठाउँ र फोहर पानी जम्ने ठाउँमा फोहर जमेर पानी बग्न दिंँदैन । यसले पानी जमाउन सक्छ जसमा कीराहरुको उत्पादन हुन्छ र पानी पर्ने समयमा बग्न सक्छ ।
यसरी बग्ने नहरहरु जसमा मानिस र जनावरहरुको मलमूत्र हुन्छ, त्यसले खानेपानी र माटोलाई प्रदूषित गर्न सक्छ । फोहरमा भएको विषाक्त रसायनहरु पानीको स्रोत र माटोमा पसेर धेरै वर्षसम्म विषाक्त बनाइराख्छ । कहिलेकाहीँ विषाक्त वस्तु भएको फोहर पडिकन वा आगजनी पनि हुन सक्छ ।
घरायसीलाई फोहर, काम नलाग्ने सामान धेरै हुन्छन । यस्ता फोहरले स्वास्थ्य समस्या ल्याउछ भन्ने छैन । यो त आम्दानीको स्रोत वा अरु सामान बनाउने स्रोत पनि हुन सक्छ । तर जब फोहरलाई राम्रोसँग संकलन गरिएन, अर्थात् छुट्याइएन, पुनः प्रयोग गरिएन र राम्रोसँग विसर्जन गरिएन भने यसले नराम्रो गन्धको साथै स्वास्थ्यमा समस्या ल्याउन सक्छ 0
। हामीमध्ये धेरैले हाम्रो घरको फोहर बर्गीकरण नै नगरी फालिदिन्छौं । अर्को कुरा हामी धेरैको घरमा भान्साकोठामा पर्याप्त भेन्टिलेसन छैन । हामीले बाल्ने दाउरा, गुईठा, कोइला, अँगार अर्थात् गोल, ग्याँसले खाना पकाउँदा घरभरी धुवाँ फैलन्छ । यस धुवाँमा हानिकारक ग्याँसहरु र स–साना धूलोका कणहरु हुन्छन् ।
जसले स्वासप्रश्वाससम्बन्धी र अन्य स्वास्थ्य समस्याहरु पैदा गर्दछ । टाउको दुख्नु, रिङ्गाटा र थकानपछि गम्भीर रोगहरु जस्तैः दम, निमोनिया, ब्रोन्काइटिस वा फोक्सोको क्यान्सरसमेत हुन्छ ।
धुवाँयुक्त आगोबाट भएको घरभित्रको वायु प्रदूषणले टिबी अर्थात क्षयरोग हुने खतरालाई पनि बढाउँदछ । खाना पकाउँदा निस्कने धुवाँको सम्पर्कमा धेरैजसो महिला र बालबालिकाहरु नै आउँदछन् । जब गर्भवती महिलाहरु प्रत्येक दिन धेरै धुवाँको सम्पर्कमा आउँछन् त्यसले तिनीहरुका बच्चाहरु धेरै साना जन्मने, ढिलो बढ्ने र पछि गएर सिक्ने कुरामा गाह्रो हुनेजस्ता समस्याहरु आउँछ ।
सहरको विकास भएसँगै फोहोरमैला सबैको टाउको दुखाइको विषय बन्दै आएको छ । यसको व्यवस्थापन गर्न पटक–पटक कानुन बनेका छन् । २०१३, २०१८ र २०४८ सालमा बनेको स्थानीय निकायसम्बन्धी ऐनमा फोहरमैला व्यवस्थापन कसरी गर्ने ?
भनेर उल्लेख थिए । यी कानून प्रभावकारी नभएको भन्दै २०६८ सालमा फोहरमैला व्यवस्थापन ऐन बन्यो । यो ऐनमा औद्योगिक फोहरमैला, रासायनिक, स्वास्थ्य संस्थाजन्य, हानिकारक फोहरमैला भनेर वर्गीकरण गरेको छ । ऐनले फोहरको स्रोत न्यूनीकरण गर्नेदेखि फोहरलाई पुनः प्रयोग र विसर्जन गर्ने व्यवस्थाको परिकल्पना पनि गरेको छ ।
यो ऐनले फोहरमैला व्यवस्थापन गर्ने र गराउने जिम्मेवारी स्थानीय निकायको भनेर तोकेको छ । स्थानीय निकायको स्विकृति लिएर निजी क्षेत्रले पनि फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी लिन सक्ने व्यवस्था ऐनमा गरिएको छ ।
ऐनको परिच्छेद २ मा फोहरमैला उत्पादन, संकलन, न्यूनीकरण तथा निस्कासनसम्बन्धी व्यवस्था गरिएको छ । परिच्छेदको दफा ३ मा फोहरमैलाको प्रबन्ध गर्ने जिम्मेवारी, दफा ४ मा व्यवस्थापन गर्ने दायित्व, ५ मा फोहरमैला उत्पादन कम गर्ने, ६ मा फोहरमैला पृथकीकरण, ७ मा फोहरमैलाको निस्कासन, ८ मा संकलन केन्द्र तोक्ने, ९ मा ढुवानी, १० मा न्यूनीकरण, पुनः प्रयोग तथा पुनः चक्रीय प्रयोग गर्ने व्यवस्था तोकिएको छ ।
फोहरमैला व्यवस्थापनमा अवरोध गर्नेलाई दण्डको व्यवस्था छ । स्थानीय निकायले तोकिदिएको समय र स्थानबाहेक अन्यत्र फोहर फाल्नेलाई पहिलोपटक भए ५ हजार जरिवाना गर्न सक्छ । दोस्रोपटक गरे ५ देखि १० हजार रुपैयाँसम्म र तेस्रोपटक गरे १५ हजार रुपैयाँ जरिवाना र फोहोर उठाउदा लाग्ने खर्चसमेत असुल गर्न सक्ने व्यवस्था छ । परिच्छेद ९ को दफा ३८ मा यस कसुर तथा सजाएको व्यवस्था गरिएको छ । कानुनमा व्यवस्था भए पनि यसको कार्यान्वयन नहुँदा अहिलेको शहर बजारको फोहरको समस्या बढ्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *