तुलसीपुर, २९ कार्तिक । तुलसीपुर उपमहानरपालिका–७ झुमरेमा रहेको हाम्रो पहुँच सेकेन्डरी स्कुलमा बुधबार जनसंख्या बृद्धि र यसको व्यवस्थापन विषयक वक्तृत्वकला प्रतियोगिता भएको छ । विद्यार्थीमा बोल्ने कलाको विकास गराउन विद्यालयमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको हो ।
ब्रिटिस काउन्सिलको आईएसए एक्सन प्लान अनुरूप आफ्नो परियोजना कार्यअन्तर्गत कक्षा ९ र १० का विद्यार्थीहरूले जनसंख्या बृद्धि र यसको व्यवस्थापन विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरेका हुन् । कक्षा १० का छात्र कौशल पौडेलको अध्यक्षता तथा कक्षा १० कै छात्रा मनिषा विकको प्रमुख आतिथ्यतामा वक्तृत्वकला प्रतियोगिता भएको हो ।
प्रतियोगितामा कक्षा १० का छात्र नारायण पोख्रेल प्रथम, तुलसा बुढा द्वितीय र शुष्मा एमसी तृतीय भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने छात्रछात्राहरूलाई पुरस्कार प्रदान गरिएको थियो ।
कक्षा १० का छात्र दिपक भण्डारीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा सम्झना भण्डारी, प्रशान्त आचार्य, नारायण पोख्ररेल, तुल्सा बुढा, सिर्जना हमाल, लक्ष्मी रावत, अनिषा विक, विवेक भण्डारी, शुष्मा एमसी, दिव्या खनाल र दिपेश खड्काले जनसंख्या वृद्धि विश्वव्यापी समस्याको रूपमा रहेकोको भन्दै यसको व्यवस्थापनका लागि सचेतना फैलाउन आवश्यक रहेको बताए ।
विद्यालयका कल्याणकारी अधिकृत तिलकराम कालाथोकी, परियोजनाका संयोजक जितबहादुर बस्नेत, उपसंयोजक वविता जैसी, नेपाली शिक्षक लक्ष्मी घिमिरेको विशेष उपस्थितिमा प्रतियोगिता भएको विद्यालयले जनाएको छ ।
कार्यक्रमको सहजीकरण छात्र प्रश्रित शर्माले गरेका थिए । गुणस्तरीय शिक्षाका लागि हामी केही गरौँ भन्ने मूल उद्देश्यका साथ सञ्चालन भएको हाम्रो पहुँच विद्यालयमा विभिन्न समयमा अतिरिक्त क्रियाकलाप हुने गरेका छन् ।