हत्या भएको भन्दै प्रहरीमा जाहेरी

मुख्य खबर समाज

देउखुरी, १३ भदौ । गते आफ्नै घरको कोठामा मृत अवस्थामा भेटिएका गढवा गाउँपालिका वडा न ४ उठैयाका ५१ बर्षीय शिवलाल नेपालीकोे मृत्यु नभएर हत्या भएको परिवारले बताएको छ । भदौ ९ गते राति खाना खाएर सुतेका नेपालीलाई घरपरिवारले १० गते बिहान मात्र मृत अवस्थामा भेटाएका थिए । सिलाई पेशा गरेर आफ्नो जीवन गुजारा गर्ने नेपालीकोे हत्या भएको भन्दै परिवारले ईलाका प्रहरी कार्यालय गढवामा जाहेरीसमेत दिएका छन् । घटनाको प्रकृती हेर्दा मृत्यु नभएर कसैले हत्या गरेको हुन सक्ने देखिएको र उनको गलामा असमान्य तरिकाले पासो लागेको तथा छातीमा मुक्काले हिर्काएको जस्तो गहिरो डाम रहेकोले आत्महत्या नभएर हत्या भएको उनकी बुहारी संगीताले बताइन् ।
सोहि दिन राति गाउँकै स्थानीय दुई युवा गढवा गाउँपालिका वडा नम्बर ४ का गुलाव सिंह यादव र प्रनाहका नरेन्द्र यादवले राति करिब १ बजेतिर नेपालीका बुहारी र छोरी मात्र सुतेको घरमा अश्लिल शब्द बोल्दै ढोका खोल्न लगाएका थिए । नेपाली छोरी र बुहारी सुत्ने घरभन्दा छुट्टै घरमा सुत्ने गर्दथे । तर नेपालीकी बुहारीले महिला मात्र भएको घरमा किन आएको हामी ढोका खोल्दैनौ भनेपछि युवाहरुले शिवलाललाई बोलाएर ढोका खोल्न लगाउँदासमेत नमानेको मृतक नेपालीका बुहारी संगीता नेपालीले बताइन् । रातको समयमा महिला मात्र भएको घरमा आएर तथानाम बोल्न लागेपछि संगीताले हारगुहार मागेको र संगीताको हारगुहारपछि त्यहाँ जम्मा भएका स्थानीयले गुलाब सिंहलाई समातेको तर यादव पÞmुत्किएर भाग्न सफल भएको उनले बताइन् । त्यस लगत्तै मृतक नेपालीसहित गाउँका अन्य छिमेकी गुलाब सिंहको घरमा गएर उनका बाबुआमालाई समेत उनीहरुले गरेको हर्कतका बारेमा जानकारी गराएका थिए । गुलाबका बाबुले मृतक नेपालीको परिवारसँग यो कुरा बाहिर र प्रहरीसम्म नलग्न आग्रह गरेका थिए । त्यतिभन्दा समेत नेपालीका परिवार र छिमेकीले आफूहरु प्रहरी कहा गएर मुद्दा दिन्छौ भनेर घर फर्किएको संगीताले बताइन् । आफूहरुले गरेको गलत हर्कतको बाहिर सार्वजनिक नहोस् भनेर पनि मेरो ससुराको हत्या गरेको हुन सक्ने उनले बताइन् ।
घटनापश्चात् गुलाब सिंह यादव र नरेन्द्र यादव हाल फरार रहेको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । मृतक नेपालीको परिवारले उनीहरुले नै हत्या गरेको भन्दै शिवलाल नेपालीका बुहारी संगीता नेपालीले गढवा ४ का २१ बर्षीय गुलाब सिंह यादब र प्रनाह निवासी बर्ष २० का नरेन्द्र यादबको नाममा अनुसन्धान गरिपाउ भनेर किटानी जाहेरी दिएको ईलाका प्रहरी कार्यालय गढवाले बताएको छ । शिवलालको शव आपÞmन्तहरुले दाह संस्कार गरिसकेका छन् । साथै घटनामा संलग्न रहेको भन्दै फरार भएका गुलाब सिंह यादव र नरेन्द्र यादवको खोजी र थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *