हत्यामा संलग्न छजना पक्राउ

मुख्य खबर

तुलसीपुर, २३ चैत । विभिन्न हत्यामा संलग्न भएको भन्दै प्रहरीले छजना व्यक्तिहरुलाई पक्राउ गरी सार्वजनिक गरेको छ । विभिन्न समयमा भएका हत्याको बारेमा गरिएको छानबीन र अुनसन्धानपश्चात् पक्राउ परेका उनीहरुलाई सार्वजनिक गरिएको प्रदेश नम्बर ५ प्रहरी कार्यलय दाङ तुलसीपुरले जानकारी दिएको छ ।
हत्या प्रायः पूर्व योजना र आफन्तीको मिलेमत्तोमा भएको प्रहरीको अनुसन्धानले बताएको छ । गत चैत १३ गते रुपन्देहीमा राति हत्या गरिएका फिरोज खानको हत्या आफ्नै श्रीमतीले गरेको पाईएको छ । फिरोजकी श्रीमती साहीन खातुन र उनका भिनाजु कादिर दानले पूर्व योजना अनुसार खानलाई गोली हानी हत्या गरेको अनुसन्धानबाट प्रहरीले पत्ता लगाएको छ ।
भारतको विहार प्रदेश वेतिया स्थायी घर भई हाल बुटवल–१ गढिकोलमा बस्दै आएका खानलाई हत्या गरेको आरोपमा उनकी ३० वर्षिय श्रीमती साहीन खातुनलाई प्रहरीले पक्राउ गरेको छ भने भिनाजु भनिने अन्दाजी ४० वर्षिय कादिर अन्सारी फरार रहेकाले खोजतलास भईरहको प्रवक्ता कार्कीले बताए ।
प्रहरीले गत फागुन ३० गते मृत अवस्थामा फेला परेकी ओम कुमारी घर्तीको हत्याको अनुसन्धानका क्रममा ४६ वर्षिय नुरबहादुर विश्वकर्मालाई सार्वजनिक गरेको छ । सडेगलेको अवस्थामा फेला परेको उक्त शवको अनुसन्धान र छानबीनका आधारमा विश्वकर्मालाई पक्राउ गरेको प्रदेश प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक टिकाबहादुर कार्कीले जानकारी दिएका छन् ।
त्यस्तै गत चैत १ गते बुटवल उपमहानगरपालिका–११ बुद्धनगरका हरिबहादुर पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा महेन्द्र मल्ल भनिने ४६ वर्षिय बल बहादुर सुनारलाई पक्राउ गरी सार्वजनिक गरिएको प्रवक्ता कार्कीले जानकारी दिए । पक्राउ परेका सुनारको साथबाट २ लाख १९ हजार ९ सय १२ रुपैयाँ बराबरका गरहनासमेत प्रहरीले बरामद गरेको छ ।
यस्तै गत फागुन ११ गते कपिलवस्तु वाणगंगाकी अनिता पौडेलको हत्यामा संलग्न गुणाखर अधिकारीलाई पनि प्रहरी पक्राउ गरी सार्वजनिक गरेको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले अधिकारीसहित मृतकका श्रीमान ३५ बाबुराम पौडेल र ४२ वर्षिय श्रीहरी गौतमलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दाअन्तर्गत कारवाही गरिरहेको प्रवक्ता कार्कीले बताए ।
पारिवारीक असमझदारी, व्यक्तिगत मनमुटाव र अनैतिक प्रेम सम्बन्धका कारण यस्ता घटनाले समाजमा विकृतीको रुप लिइरहेका छन् । जसले गर्दा समाजमा एक अर्काप्रति शंका र अशंका डर क्रास उत्पन्न गराउने कार्य गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *