स्वरोजगार बन्दै कैदीबन्दी

मुख्य खबर

रोल्पा, ३ साउन । रोल्पामा कैदीबन्दीहरु कारागारभित्रै विभिन्न सिपहरु सिकेर आम्दानी गर्न थालेका छन् । विभिन्न अभियोगमा जेल जीवन बिताइरहेका कैदीबन्दीहरुले सीपमूलक तालिम पश्चात स्वरोजगार बन्न थालेका हुन् ।
उनीहरुको मनोबल बढाउन तथा आयआर्जनमा जोड्न प्रदेश सरकारको सहयोगमा एक महिने मुढा बनाउने तालिम दिएको थियो । यसअघि टोपी बुन्ने तालिमसमेत लिइसकेका उनीहरुका लागि ढाकाटोपी बुन्ने र मुढा बनाउनका लागि मेसिनसमेत उपलब्ध गराईएको छ ।
सामग्री पाएका उनीहरुमध्ये अधिकांशले आफ्नो कामलाई निरन्तरता दिइरहका छन् । कारागारभित्र सिकेको सीपले कैद भुक्तानपछि पनि जीविकोपार्जनमा मद्दत गर्ने भएकाले आफूले कामलाई निरन्तरता दिएका कैदी तुलाधर घर्ती मगरको भनाई छ ।
कारागार बसाइलाई सहज बनाउन यस्ता सीपमूलक क्रियाकलापले सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए । जिल्ला कारागार रोल्पामा हाल ६ महिला र ७४ पुरुष गरी ८० जना कैदीबन्दी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *