- Advertisement -spot_img
Friday, April 16, 2021
Homeविचारस्रष्टाको गन्तव्य शिखर कटेरी

स्रष्टाको गन्तव्य शिखर कटेरी

- Advertisement -spot_img

के.बि. मसाल

साहित्यका स्रष्टाहरुले कथा, कविता, निबन्ध, उपन्यास, नाटक तथा कलाका क्षेत्रमा धेरै कलम चलाउँदै आउनुभएको छ । आदिकवि भानुभक्तको बारेमा कलम चलाउने स्रष्टाहरुको संख्या हजारौ पुगिसकेका होलान् । कतिपय स्रष्टाहरु आदिकविकै बारेमा कलम चलाउँदा सम्मान र पुरस्कृत पनि हुनुभएको होला । तर धेरै स्रष्टाहरु भानुभक्तको जन्मस्थल चुदीँ रम्घाको शिखर कटेरीमा पुग्नुभएको छैन होला ? अनुकूल मिलाएर पुग्दा राम्रो हुनेछ ।
पृथ्वी राजमार्गको पोखरा–काठमाडाँै सडकमा पर्ने तनहुँको डुम्रे बजारबाट १३ किलोमिटर उत्तरतर्फ भानुभक्तको जन्मस्थल चुदीँ रम्घा पर्दछ । पछिल्लो समय भानुभक्तको जन्मस्थल संरक्षणका लागि पश्चिमाञ्चल विकास मञ्चले प्रस्तावित गुरुयोजना ल्याएको छ । भानु सामुदायिक वनको हाताभित्र करिब १० रोपनी क्षेत्रफलमा फूल तथा फलफूलका बगैंचा, संग्राहलय, चौतारो, भ्यू टावर, ढुंगाले छापेर बनाइएका बाटो र करिब ५० जनालाई बास बस्नको लागी होमस्टेको व्यवस्था गुरुयोजना बनाइएको छ ।
अहिले भानु शिखर कटेरी वृहत् गुरुयोजनाले समेत भानुभक्तको जन्मस्थलको संरक्षणका कामहरु क्रमिक रुपमा सुरुगर्न थालिएको छ । पुरातात्विक महङ्खवको भानुभक्तको शिखर कटेरीको भग्नावशेष घरको स्वरुप हराउन नदिन ट्रस्ट बनाएर संरक्षण गर्न थालिएको छ । भानुभक्तको जन्मस्थललाई साहित्यिक पर्यटकीय स्थलका रुपमा विकास गर्न पश्चिमाञ्चल विकास मञ्च, भानु शिखर कटेरी वृहत गुरुयोजना र स्थानीय बासिन्दा लागेका छन् ।
भानुभक्त आचार्यको जन्म धनञ्जय आचार्य र धर्मावतीदेवीका एकमात्र सन्तानका रुपमा भएको थियो । भानुको जन्म तनहुँ भानु–३ चुदी रम्घा, शिखर कटेरीमा विसं.१८७१ आषाढ २९ गते भएको थियो । भानुभक्त आचार्य पण्डित श्रीकृष्ण आचार्यका नाति थिए । श्रीकृष्ण आचार्यका छ भाइ छोरामध्ये धनञ्जय जेठा थिए । यी पनि विद्वान् थिए । धनञ्जय पाल्पा तहसिलका हाकिम खरदार थिए । धनञ्जयको धेरै वर्षसम्म सन्तान नभएकाले सन्तान प्राप्तिका लागि उनले १० वर्ष सूर्यको उपासना गरे । १० वर्षको उपासनापछि ४० वर्षको उमेरमा धनञ्जयलाई पुत्र प्राप्त भएको थियो ।
भानुभक्त जन्मस्थल भानु स्मारकको कार्यालयबाट भानु जन्मिएको घर चुदीँ रम्घाको शिखर कटेरी हाल धर्मशाला चुदी बेंसीबाट उत्तर–पूर्व अग्लो डाँडोमा रहेको छ । शिखर कटेरीमा जान गोरेटो उकालो पैदल बाटोको यात्रा गर्नु पर्दछ । दम्सीलो पहाडी श्रृंखला जंगलमा रहरलाग्दा साल र अन्य बनस्पतीका रुखहरुले भरिएको छ । चुदीबाट शिखर कटेरी पुग्न पैदल ४० मिनेट जति उकालो बाटो यात्रा गर्नु पर्दछ । भानुभक्त जन्मिएको वि.सं.१८७६ मापं. श्रीकृष्ण आचार्यले बनाएको घर भग्नावशेष छ । अहिले शिखर कटेरीको जन्मस्थलको घरलाई साहित्यिक तीर्थस्थलका रुपमा विकास हुन थालेको छ । ऐतिहासिक नेपाली कथानक चलचित्र आदिकवि भानुभक्त छायांकन गर्न २०५४ सालमा भानुको जन्मस्थल शिखर कटेरीमा दुई तले घर निर्माण भएको थियो । तर संरक्षणको अभावमा त्यो घर जंगलमा लागेको डढेलोले आगलागि भएको छ । आगलागिबाट बचेका सामाग्री अहिले चुदीबेंसीकै स्मारक स्थलमा ल्याई राखिएको छ । त्यसको नजिकै भानु प्रावि परिसरमा आदिकविको अर्धकदको सालिक पनि राखिएको छ ।

त्यस घाँसीले कसरी आज दिएछ अर्ति
धिक्कार हो मकन बस्नु नराखि किर्ति ।।


सन्दर्भः भानुजयन्ती


सङग्राहलयमा आगलागीबाट बचेका भानुभक्तसँग जोडिएका केही सामान राखिएको छ । आदिकवि सुत्ने बस्ने चापको खाट एकजना मात्र सुत्न मिल्ने रहेछ । भानु पशु–पन्छीप्रेमी पनि हुनु हुँदोरहेछ भन्ने तथ्य खाटको सिरानी अड्याउने फलेकमा कुदिएका पशु–पन्छीका चित्रले पुष्टि गर्दछ । खाटको सिरानी देब्रे दाहिनेतिर चरा र बीचमा दुईवटा हात्तीको चित्र बनाएको खोपी कलात्मक ढंगले बनाईएको छ । खाटकै उत्तरतर्फ सजाएर राखेको आदिकविको मदुस सन्दुक रहेको छ । त्यो पनि कलाकृतिमय छ । त्यसमा लगाउने तालाहरु र दराजमा राखिएको ताला भोटे ताला छ । सङग्राहलयको दराजमा आदिकवि भानुले प्रयोग गरेका सामाग्री पूजापाठदेखि भात खाने थाल, बटुका पनि राखिएको छ । त्यहाँ राखिएका सामाग्रीले आदिकवि भानुभक्त सौखिन हुनुहुन्थ्यो भन्ने भान हुन्छ । महंगो हुक्का पनि त्यहाँ सजाएर राखिएको छ । कविले लेख्न प्रयोग गरेको मसीदानी, कलम पनि त्यहाँ राखिएको छ । आदिकवि भानुभक्तले लेख्नुभएका प्रायः सबै कृतिको उहाँले लेखेकै अक्षरमा पढ्न पाइन्छ । आदिकविले मुद्दा खेप्नु परेका कागत तमसुकहरु सबै जतनका साथ राखिएको छ । दुई पट्टि काठको फल्याकजस्तो चिल्लो काठको खबटाले च्यापिएको भानुभक्तीय पाण्डुलिपि खाटमा बसेर हेर्न सकिन्छ ।

अहिले भानु शिखर कटेरी वृहत् गुरुयोजनाले समेत भानुभक्तको जन्मस्थलको संरक्षणका कामहरु क्रमिक रुपमा सुरु गर्न थालिएको छ । पुरातात्विक महत्वको भानुभक्तको शिखर कटेरीको भग्नावशेष घरको स्वरुप हराउन नदिन ट्रस्ट बनाएर संरक्षण गर्न थालिएको छ । भानुभक्तको जन्मस्थललाई साहित्यिक पर्यटकीय स्थलका रुपमा विकास गर्न पश्चिमाञ्चल विकास मञ्च, भानु शिखर कटेरी वृहत गुरुयोजना र स्थानीय बासिन्दा लागेका छन् ।


सङग्राहलयमा हारमोनियम पनि छ । आदिकवि भानुभक्त चलचित्र बनाउँदा प्रयोग भएको यो बाजा यादव खरेलले त्यही छोड्नु भएको रहेछ । भानुसम्बन्धी प्रयोग गरेका सामाग्रीहरु लोहोटा, धुपौरो, मकल, मसुरा सन्दुक, खाना खान बस्ने पिरका पिरा, साना–ठूला, ताई, पाथी, ओदान, ढिब्री तेल राख्ने भाँडो, ढुंगाको आरी, ढुंगाको कचौरा, गाग्री, पेटारो चोयाको बिर्को भएको ढाकी विशेषरुपमा बेहुला बेहुलीको लुगा राख्ने, आदिकविले लगाएका खराउ, आचमनि, पञ्चपात्र, चन्दनखोरी, सिमाङ काठको ठेकीजस्तो झुण्ड्याउने भएको हतर, प्याङ, ताउलो खड्कुलो, घण्टा, दियो, कोपरा, आदिकविले लेखेका सम्पूर्ण कृतिको हस्तलिखित पुस्तक, मुद्दा पर्दाका तमसुक कागतहरु आदि राखिएको छ । एकनासका अक्षर, कतै केरमेट नगरिएका, सम्पूर्ण कृति हेर्दा आदिकविको लेखनकला उत्कृष्ट रहेछ भन्ने थाहा पाइन्छ ।
भानुभक्तमा सानैदेखि विलक्षण प्रतिभा थियो भनिन्छ । ६ महिनामा अन्नप्रासन गर्दा बालक भानुभक्तका अगाडि वस्त्र, शस्त्र, पुस्तक, कलम, मसी, सुन राखिएकोमा भानुले सर्वप्रथम कलम र मसीदानी समातेका थिए । जागिरे बाबु धेरैजसो घरबाहिर हुँदा भानुभक्तको बाल्यकाल बाजेसँगै बितेको थियो । भानुभक्तको शिक्षा आरम्भ घरमा नै हजुरबुबा श्रीकृष्णबाट सुरु भएको थियो । भानुभक्तले ज्योतिषको अध्ययन कास्की गुरुकुलमा गर्नुभएको थियो । हजुरबुवा श्रीकृष्ण वि.सं.१८८६मा काशीबासमा जाँदा भानुभक्तलाई सगै लिएर गएका थिए । भानुभक्तले बिहान–बेलुका हजुरबुवासँग अध्ययन गर्नुभयो । दिउँसो पाठशालामा । काशीमा भानुभक्तले कोश, व्याकरण, साहित्य अध्ययनका साथै ज्योतिषको अध्ययन र अभ्यास पनि गर्नुभएको थियो । अध्ययनको क्रममा काशीमा हुने विद्वत समारोहमा पनि भाग लिनुभएको थियो ।
भानुभक्तको व्रतवन्ध वि.सं.१८७८ मा भएको थियो । हजुरबुवा श्रीकृष्ण आचार्यले नाति भानुभक्तलाई गायत्रीमन्त्र दिनुभएको थियो । गायत्री मन्त्र प्राप्त गरे लगत्तै हजूरबुवासग भानुभक्तले कौमदी, रुद्री, वेद पढन थाल्नुभएको थियो । भानुभक्तको विवाह परशुराम खनालकी छोरी चन्द्रकान्तासँग पहिलो विवाह भएको थियो । विवाह भएको १८ महिनापछि चन्द्रकान्ताको मृत्यु भयो । त्यसपछि दोस्रो विवाह तनहुँ जिल्लाको मानुङ गाउँबाट विद्याधर खनालकी छोरी चन्द्रकलादेवीसँग भएको थियो ।
भानुभक्त आचार्यको वि.सं.१८९१ मा बुर्लङबेंसी बुल्दी खोला किनारमा घासी चामुनारायण पन्तसग भेट भएको थियो । घासीसगको भेट नै भानुभक्तको जीवनमा आमूल परिवर्तन आउन सुरु भई घासीले झैं आफूले पनि कीर्ति राख्ने भावना जागृत भएको थियो । आदिकवि भानुभक्तको साहित्यिक योगदान घासीसँगको भेटपछि जन्मिएको स्वतस्फूर्त कविता भरजन्मबाटै भानुभक्त अगाडि बढ्दै गएका हुन् । यही कविताको भावभूमिबाट भानुभक्त आचार्य नेपाली साहित्यका आदिकवि बन्न पुग्नुभयो । वि.सं.१८९८मा रामायण बालकाण्ड लेखन, वि.सं.१९०१ मा मामा जयलालका भदा–सालो पर्ने कलाधरलाई गायत्रीमन्त्र सुनाउन मामाघर जाँदा भोर्लेटारमा गजाधर सोतीको घरमा बास नपाउँदा गजाधर सोतीकी घर बुढिया कविता लेख्नुभयो । भानुको साहित्यिक, व्यक्तिगत जीवन चरित्रलाई कतै राम्रो कतै नराम्रोसँग चर्चा गरेका छन । वि.सं. १९११मा भानुभक्त कुमारीचोकमा पाँच महिना थुनिएर रहदा त्यो समयमा अयोध्याकाण्ड, अरण्यकाण्ड, किष्किन्धाकाण्ड, सुन्दरकाण्ड, रामायण लेखन गरेको पाइन्छ । त्यसै समयमा अत्यन्त चर्चित, निर्भीक, बिन्तिपत्र–रोज रोज दर्शन–लेखी राणा सरकारलाई बुझाएको पाइन्छ ।
शिखर कटेरीमा जन्मनुभएका भानुभक्तले नेपाली भाषा र साहित्यमा महङ्खवपूर्ण योगदान दिनुभएको छ । लोकलयको मिठास भरेर रामायण लेख्नेदेखि नेपाली साहित्यको सुवास फैलाउने तथा बहुभाषा र संस्कृतिलाई जोड्ने सम्पर्क नेपाली भाषा भानुकै कारण समृद्ध भएको हो । भानुकै कारण नेपालीहरुमा भाषिक एकता कायम रहेको पनि मानिन्छ । भानुले जुन ठाउँमा जन्मे हुर्के अनि नेपाली भाषा र साहित्यमा योगदान दिए त्यो ठाउँ अहिले जंगलका रुपमा परिणत हुन थालेको छ । भानुभक्त आचार्यको जन्मस्थल शिखरकटेरीको संरक्षण अभियानमा अहिले पश्चिमाञ्चल विकास मञ्च लागिपरेको छ । साहित्यिक तथा साँस्कृतिक पर्यटकीय स्थलको रुपमा विकास गराउने उद्देश्य लिई मञ्चले भानु शिखर कटेरी निर्माण गर्ने तयारी गरेको छ । यतिखेर भूकम्प प्रतिरोधात्मक दुईतले भानुभक्तकालीन घर निर्माण कार्य अगाडि बढाएको छ । भानुभक्तको भग्नावशेष घर र अन्य भानुभक्तकालीन घरहरु बनाएर यस क्षेत्रलाई साहित्यिक धाम र साहित्यिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने लक्ष्य मञ्च र विकास समितिले लिएको छ ।
बाल्य अवस्थामा आफ्ना बाजे श्रीकृष्णकै दौराको फेर समाएर भानुभक्त हिँडेका थिए । उनकै छहारीमा भानुभक्तले पढ्न लेख्न सिकेका थिए । भानुभक्तका बाजेले बुढेसकालमा काशीमा देहत्याग गर्ने विचार राखे । अनि उनी काशी गएका बेला नातिलाई राम्रोसँग पढाइलेखाइमा समेत लगाउने हेतुले उनले भानुभक्तलाई पनि उतै लगेका थिए । त्यसैले बाजेसँगै काशी गई भानुभक्तले संस्कृत शिक्षा लिन पाएका थिए । भानुभक्तको विहे एघार वर्षको उमेरमा भयो । तर पत्नीको असामयिक निधनपछि चौध वर्षको उमेरमा तनहुँका विद्याधर खनालकी छोरी दश वर्षीय चन्द्रकलादेवीसँग उनको दोस्रो विहे भयो । बालकृष्ण समका अनुसार भानुभक्तकी पत्नीलाई रेवती भनेर बोलाइन्थ्यो । रेवतीबाट दुई भाइ छोरा रमानाथ र शिवशंकर जन्मे । शिवशंकरको १४ वर्षको उमेरमा नै निधन भयो । भानुभक्तले जीवनभरि पुत्रशोकको वज्रपात पनि सहनु प¥यो ।
भानुभक्तलाई मोतीरामले आफ्नो कृतिमार्फत सर्वप्रथम वि.सं.१९४८ मा आदिकवि भनेर चिनाए । त्यसको पचास वर्षपछि श्री ३ जुद्धशमशेरबाट भानुभक्तलाई आदिकवि भने हुन्छ भन्ने हुकुम प्रमाङ्गी भयो । यसरी राजकीय मान्यता प्राप्त भएपछि नेपाली जातिका माझमा भानुभक्तलाई सहजरुपमा आदिकविका रुपमा सम्मान गर्न थालियो । भानुभक्त आचार्यकै सृजनात्मक जगमा टेकेर नेपाली साहित्यको लहरो आकाशजस्तै फैलँदै आएको छ ।
भानुभक्तकै फेरोमा बाँधिएर आज नेपाली भाषाले आफ्नो घेरोलाई क्रमशः शक्तिशाली बनाउँदै आएको छ । त्यतिमात्र होइन भानुभक्तको विशेष सृजनात्मक योगदान रहेको छ । भानुभक्तकालीन नेपाली जनजीवनमा नेपाली भाषाको विस्तार हुँदै थियो । भानुभक्त संस्कृतका अध्येता भएर पनि यिनले नेपाली भाषामा साहित्य लेखे । उनको नेपाली भाषामा साँच्चिकै मोह थियो । त्यसैमा उनिएर उनले किशोरावस्थामा नै नेपाली भाषामा कविता कोर्न थालेका थिए । उन्नाइस वर्षको उमेरमा त उनी काशीको विद्वत्सभामा नै सृजनात्मक हिसाबमा प्रस्तुत भइसकेका थिए ।
नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यको योगदान अनेक छन् । लोकलयको मिठास भरेर ‘रामायण’ लेख्नेदेखि नेपाली साहित्यको सुवास फैलाउनेसम्म । बहुभाषा र संस्कृतिलाई जोडने सम्पर्क भाषा भानुकै कारण समृद्ध छ । भानु जन्मिएको थलो तनहुँको शिखर कटेरीमा उनकै नाममा घर बन्दै छ । घरको नाम जुराइएको छ, ‘भानु शिखर कटेरी’ । साहित्यिक तथा साँस्कृतिक पर्यटकीय स्थलको रुपमा विकास हुन थालेको शिखर कटेरी छ ।
आदिकवि भानुभक्त आचार्यको निधन ५४ वर्षको उमेरमा भयो । वंशपरम्परा अनुसार हजुरबुवा श्रीकृष्ण र बुवा धनञ्जयको निधन काशीको मणिकर्णिका घाटमा भएको थियो । तर आदिकवि भानुभक्तले लामो समय ज्वरोले थलिदा पनि किन काशी मणिकर्णिका घाट रोज्नु भएन ? यो धेरै महङ्खवपूर्ण विषय छ । आदिकविले आफ्नो निधन जन्मभूमीलाई नै रोज्नु भयो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here