तुलसीपुर, २८ पुस । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याव्सन)ले आफ्नो २१औँ स्थापना दिवसको अवसरमा दीप प्रज्ज्वलन गरेको छ । शुक्रबार तुलसीपुरको विपी चोकमा दिप प्रज्ज्वलन गरिएको हो । एन प्याव्सन दाङका अध्यक्ष भिमबहादुर बुढाथोकीको अध्यक्षता तथा केन्द्रीय सदस्य प्रकाश कुमार शर्माको प्रमुख आतित्थ्यतामा भएको दीप प्रज्ज्वलन कार्यक्रममा वक्ताहरुले निजी विद्यालयहरुले देशको शैक्षिक विकासमा खेलेको भूमिकालाई सरकारले अवमूल्यन गर्न खोजेको आरोप लगाएका थिए ।
उनीहरुले निजी विद्यालयकै कारण मुलुकमा दक्ष एवं योग्य शैक्षिक जनशक्ति उत्पादन भैरहेको भन्दै सरकारले विभिन्न बहानामा निजी विद्यालयहरुलाई अवमुल्यन गर्ने र अंकुश लगाउने काम गरेको आरोप लगाए । शर्माले निजी विद्यालयहरुले मुलुकको शिक्षा क्षेत्रमा खेलेको भूमिकामा प्रशंसा गनु पर्नेमा सरकारले बन्द गर्न खोज्नु लज्जास्पद भएको बताए । उक्त अवसरमा एन प्याव्सन दाङका वरिष्ठ उपाध्यक्ष विमल गौतम, उपाध्यक्ष भोजराज न्यौपाने, पत्रकार शरद रेग्मीलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन सचिव ठाकुर प्रसाद डाँगीले गरेका थिए ।