घोराही, २० जेठ । नेपाल परिवार नियोजन संघ दाङले बृहत् निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । व्यवसायी रोम वली, पन्थी डेन्टल क्लिल्निक, नेशनल प्याथ ल्याव एण्ड रिसर्च सेन्टर दाङको प्राविधिक सहयोगमा घोराही उपमहानगरपालिका वडा नं. ७ मा शिविरको आयोजना गरेको हो ।
शिविरमा स्त्रीरोगसम्बन्धी उपचार तथा परामर्श, महिलाहरुको पाठेघरको मुखमा क्यान्सरको स्क्रिनिङ जाँच, परिवार नियोजन सेवा, यौन रोगका उपचार तथा परामर्श सेवा र प्याथोलोजी सेवा प्रदान गरिएको थियो ।
शिविरमा १ सय ८२ जनाले सेवा लिएका थिए । त्यसमध्ये १ सय ५९ जना महिला र २६ जना पुरुषले सेवा लिएका थिए । शिविरमा स्वास्थ्य जाँच गराउन आएकामध्ये ६९ जना महिलाले पाठेघरको मुखमा क्यान्सरको स्क्रिनिङ जाँच गराएका थिए भने एकजनाको रिङ राखिएको नेपाल परिवार नियोजन संघ दाङका शाखा प्रमुद बसन्त खनालले जानकारी दिएका थिए ।
त्यसैगरी शिविरमा सातजना महिलाको पाठेघर खसेको जाँच भएको थियो । शिविरमा ४४ जनाले दाँतसम्बन्धी सेवा लिएका थिए भने पाँचजनाले प्याथोलोजी सेवा लिएका थिए भने ३५ जनाले साधारण स्वास्थ्य जाँचको सेवा लिएको खनालले जानकारी दिए ।
नेपाल परिवार नियोजन संघ दाङका अध्यक्ष भरतकुमार देवकोटाको अध्यक्षतामा शिविर भएको थियो । शिविरमा सहभागीहरुले अझै पनि महिलाहरुले रोग लुकाउने कारण महिला प्रजनन् रोग बढ्दै गएको बताएका थिए ।
महिलाहरुलाई आफ्नो स्वास्थ्य समस्याको बारेमा आफनै गाउँमा सेवा दिनको लागि शिविरको आयोजना गरिएको बताएका थिए ।
कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. ७ का वडा सदस्य छन्द बहादुर केसी, सौडियार सामुदायिक सेवा केन्द्रकी सुभद्रा भण्डारी, सुनिता सुवेदी लगायतले मन्तव्य राखेका थिए ।
शिविरमा महिला प्रसूति डा. समीक्षा डिसी, दन्त चिकित्सा डा अभिषेक शर्मा, स्टाफ नर्स सरीता तामाङ, अनमी सिर्जना ज्ञवाली, स्वास्थ्यकर्मी आशा बस्नेत, सन्ध्या गौतमले बिरामीहरुको स्वास्थ्य जाँच गरेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार निशानदाजु भट्टराईले गरेका थिए ।
