सूर्तिजन्य पदार्थ नियमनमा नगर

फिचर मुख्य खबर समाज

तुलसीपुर, २७ कार्तिक । तुलसीपुर उपमहानरपालिकामा सूर्तिजन्य पदार्थको बिक्री वितरण र सेवनमा कडाइ गरिने भएको छ । सूर्तिजन्य पदार्थको जथाभावी खुल्लारूपमा हुने बिक्री वितरण र सेवनका कारण मानवीय स्वास्थ्यसँगै वातावरणीय प्रदूषण बढेको भन्दै उपममहानगरपालिकाले सूर्तिजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा कडाइ गर्ने भएको हो ।
बजारमा सूर्तिजन्य पदार्थको जथाभावी बिक्री वितरण र सेवन हुँदा वातावरण नै प्रदूषित बनेको भन्दै गत मंगलबार १९ कार्तिकमा उच्च सरकारी वकिल कार्यालयले तुलसीपुर उपमहानगरपालिकालाई सूर्तिजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन अनुरोध गरेको थियो ।
कार्यालयको पत्रलाई मध्यनजर गर्दै उपमहानगरपालिकाको ७२औँ कार्यपालिका बैठकले सूर्तिजन्य पदार्थको नियमनमा कडाई गर्ने निष्कर्षमा पुगेको हो । सूर्तिजन्य पदार्थको सेवन र बिक्री वितरणमा नियमनका लागि उपमहानगरको वातावरण व्यवस्थापन समितिले मंगलबार तुलसीपुरका सरोकारवालासँग गरेको अन्तरक्रियामा तुलसीपुरका सरोकारवालाले समेत सूर्तिजन्य पदार्थको नियमन गर्ने प्रतिवद्धता जनाएका छन् ।
अन्तरक्रियामा सहभागी सरोकारवालाले तुलसीपुर उपमहानगरपालिकाभित्रमा सूर्तिजन्य पदार्थको जथाभावी बिक्री वितरण र सेवनमा कमी ल्याउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
मानवीय सचेतनाको अभावका कारण पनि सार्वजनिक स्थानमा सेवन गर्ने र जहाँ पायो त्यही सूर्तिजन्य पदार्थका टुक्रा फाल्ने गरेका कारण वातावरण असन्तुलन हुन गई नखाने मानिससमेत त्यसको असरमा परेको उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता ईश्वरीप्रसाद बन्जाडेले बताए ।
‘सेवनले जति असर गरिरहेको छ, त्यति नै रूपमा त्यसका टुक्रा र खोलहरूले वातावरणलाई असर गरिरहेको छ, उनले भने– ‘यतिमात्र होइन् सूर्तिजन्य पदार्थको खोल जथाभावी फालिदा वातावरण फोहर हुन गई बजारको सौन्दर्यतामा समेत घटाएको छ ।’
स्थानीय सरकारले सुन्दर र सफा सहरको परिकल्पना गरिरहँदा बजारमा जताततै फालिएका सूर्तिजन्य पदार्थका खोलका टुक्राहरूले झनै समस्या सिर्जना गरेको सरोकारवालाले बताए । बजारमा निश्चित मापदण्ड बनाएर बिक्री वितरण तथा सेवन प्रक्रिया मिलाउन तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावत ‘विरू’ले उपमहानगरलाई आग्रह गरे ।
‘खुल्लारूपमा अवैधानिक रूपमा बिक्री वितरण हुँदा राज्यलाई राजस्व घाटा हुने गरेको छ भने वातावरणीय असरसमेत पर्ने गरेको छ, उनले भने– ‘यसको नियमनमा तत्काल प्रक्रिया अघि बढाउनुपर्छ ।’
त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष सुरेश हमालले सूर्तिजन्य पदार्थलाई यातायातका सवारी साधन र बसपार्कमा कडाई गरेपनि नियमन हुन नसकेको बताए । ‘हामीले बिगतदेखि नियमनमा कडाई गरेका छौँ तर मानवीय स्वभाव अझै पनि परिवर्तन हुन नसक्दा कार्यान्वयनमा चुनौति देखिएको छ’
उनले भने– ‘व्यक्तिगत रूपमा मानवीय सचेतना फैलाउन जरूरी छ, सार्वजनिक स्थानमा सूर्तिजन्य पदार्थको सेवन तथा बिक्री वितरण गर्न नपाइने नियमबारे धेरै नागरिक अहिले पनि जानकार छैनन् ।’
तुलसीपुर उपमहानगरलाई सूर्तिजन्य पदार्थको सेवन बिक्री वितरणमा कमी ल्याउन सबैको साथ र प्रयास आवश्यक रहेको तुलसीपुर उपमहानगरपालिकाको वातावरण व्यवस्थापन समितिका संयोजक तथा वडा नम्बर ६ का अध्यक्ष नवराज लामिछानेले बताए ।
‘उपमहानगरभित्र सूर्तिजन्य जथाभावी रूपमा भइरहेको सेवन तथा बिक्री वितरणलाई नियमन गर्ने भएका छौँ, उनले भने– ‘एकै पकटभन्दा पनि क्रमशः गरेर यसको बिक्री वितरण र सेवनमा निरूत्साहित गर्ने योजनामा छौँ ।’ संयोजक लामिछानेका अनुसार खुल्लारूपमा बिक्री वितरण भइरहेको सूर्तिजन्य पदार्थलाई तत्काल नियमन गरिने भएको छ ।
सूर्तिजन्य पदार्थ नियमविपरीत अहिले पनि बिक्री वितरण भइरहेको उनले बताए । ‘न बिक्री निश्चित स्थानमा हुन सकेको छ, न सेवन, उनले भने– ‘जथाभावी सेवन र जथाभावी बिक्री वितरण हुँदा झनै वातारणीय प्रदूषण बढेको छ र बजारको सुन्दरतामा ह्रास आएको छ ।’

कानुन बनाउनै कठिन

सूर्तिजन्य पदार्थको नियमनका लागि तुलसीपुर उपमहानगरले कानुन निर्माण गर्ने भएको छ । केन्द्र र प्रदेश सरकारसँग नबाँझिने गरी सूर्तिजन्य पदार्थको नियमनका लागि स्थानीय सरकार तुलसीपुर उपमहानगरपालिकाले कानुनसमेत बनाउने संयोजक लामिछानेले बताए ।
‘सूर्तिजन्य पदार्थको निरूत्साहित गर्न हामीले स्थानीय कानुनसमेत निर्माण गर्ने प्रक्रियामा छौँ, उनले भने– ‘एकैचोटी नियन्त्रण गर्न सकिदैँन तर क्रमशः यसको प्रयोग तथा बिक्री वितरणमा कमी ल्याउने योजनामा छौँ ।’
कानुनभन्दा बाहिर गएर कोहीले पनि यसको सेवन र बिक्री वितरण गर्न नपाउने गरी आफूहरूले कडाई गर्न लागेको लामिछानेले बताए । ‘अहिलेको केन्द्र र प्रदेशको कानुनमा जे जति कुरा छ,
त्यसलाई कार्यान्वयन गरी सूर्तिजन्य पदार्थको जथाभावी सेवन र बिक्री वितरण प्रक्रियालाई नियमन गर्ने सोचमा छौँ, उनले भने– ‘स्थानीय सरकारले पनि यसको नियमनका लागि आफ्नो छुट्टै कानुन बनाउने छ र कार्यान्वयनमा जोड दिनेछ ।’
सूर्तिजन्य पदार्थको नियमनका लागि पहिलो चरणमा सचेतना दिने र दोस्रो चरणमा नियमविपरीत बिक्री वितरण र सेवन गरेको पाइएमा कानुनबमोजिम कारवाही गर्न स्थानीय सरकार बाध्य हुने उनले बताए ।
‘अहिले तत्काल खुल्लारूपमा नियमविपरीत बिक्री वितरण र सेवन गर्नेलाई नियमन गर्नेछौँ’, उनले भने– ‘क्रमशः विस्तारै यसको सेवन र बिक्री वितरण घटाउँदै लैजाने प्रयास गर्नेछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *