सुरक्षा योजना र व्यवस्थापन

विचार

मंसिर १४ गते दाङसहित देशभर अहिले प्रतिनिधि सभा, प्रदेश सभा, स्थानीय तहमा रिक्त स्थानमा उपनिर्वाचन हुँदैछ । दाङमा क्षेत्र नम्बर ३ को (२) मा प्रदेश सभा सदस्य र घोराही उपमहानगरपालिका–१६ मा वडा अध्यक्षको पद गरी दुई पदमा लागि आगामी मंसिर १४ गते निर्वाचन गर्ने गरी तयारी तिब्र पारिएको दलहरू उम्मेदवार छनौटसँगै चुनावी गतिविधि सक्रिय बनाउँदै छन् भने सम्बन्धित कार्यालयहरूले निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी थालेका छन् ।
उपनिर्वाचन हुने जिल्ला तथा क्षेत्रमा चुनावी सरगर्मी बढिसकेको छ । विशेषगरी दुई ठुला दल सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले चुनावी गतिविधिलाई सक्रिय बनाएको छ भने अन्य साना दलहरूले पनि चुनावी परिणाम आफ्नो पक्षमा पार्नका लागि चुनावी गतिविधि सक्रिय बनाउन थालेका छन् ।
जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायले चुनावलाई भव्य र सभ्य बनाउन विभिन्न योजना अघि सारेका छन् । मंसिर १४ को मिति नजिकिदै जाँदा सरोकारावाला निकायले चुनावलाई भव्य, सभ्य र सुरक्षित बनाउन के कस्ता योजना बनाएका छन् ? उपनिर्वाचनको तयारी के छ त ? लगायतका विषयमा सरोकारावाला निकायका प्रतिनिधिसँग टुडे राउण्ड टेबलमा गरिएको कुराकानीको सारसंक्षेप ।


गञ्जबहादुर एमसी
सहायक प्रमुख जिल्ला अधिकारी दाङ

दाङमा प्रदेश सभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय आइतबार नै स्थापना भइसकेका छन् । त्यससँगै जिल्लामा उपनिर्वाचनको गतिविधि शुरू भइसकेको छ । अहिले निर्वाचन आयोग र मुख्य निर्वाचन अधिकृतको कार्यालयले आवश्यक जनशक्ति माग गरिसकेको छ ।
ति जनशक्ति पूर्तिका लागि जिल्ला प्रशासन कार्यालय लागिरहेको छ । निर्वाचन कार्यालयले पनि तयारी थालिरहेको छ । हामीहरूको विषय भने कर्मचारीको व्यवस्थापन र शान्ति सुरक्षा र कर्मचारी व्यवस्थापनको कुरालाई हेरिरहेको छ । निर्वाचन सुरक्षा योजना बनाएर हाम्रो च्यानलमार्फत गृह मन्त्रालयमा पठाइसकेको अवस्था छ ।
कर्मचारी व्यवस्थापनको सम्बन्धमा सोमबार मात्रै जिल्ला निर्वाचन कार्यालयले कर्मचारीको विवरण उपलब्ध गराइदिन प¥यो भनेर जिल्ला प्रशासनलाई अनुरोध गरेको छ । हामीले सबै कार्यालय संघ, प्रदेश र स्थानीय तहलाई मंसिर १४ मा हुने उपनिर्वाचनमा कर्मचारी आवश्यक भएको छ भनेर कर्मचारीको विवरण, दर्जा तीन दिनभित्र उपलब्ध गराउनुहोला भनेर सोमबार नै जानकारी गराएका छौँ ।
सबै कार्यालयबाट कर्मचारी विवरण प्राप्त भयो भने जिल्ला निर्वाचन कार्यालयमा पठाउँछौँ । जिल्ला निर्वाचन कार्यालयले कर्मचारी नामावलीलाई माथिल्लो निकायमा पठाउनुपर्ने हुन्छ ।
कार्यालयले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयलाई पठाएर निर्वाचनमा खटिने कर्मचारीको व्यवस्थापन हुन्छ । कर्मचारी निर्वाचान आयोगले र निर्वाचन कार्यालयले माग गरेको कर्मचारी उपलब्ध गराइदिने सबै जिल्लास्थित कार्यालयसँग समन्वय गर्ने काम हुन्छ ।
नागरिकले सुरक्षित रूपमा भयरहित वातावरणमा चुनावमा भाग लिने वातावरणका लागि हामीले ३७ पाना सुरक्षा योजना बनाएर गृह मन्त्रालयमा पठाएका छौँ । गृह मन्त्रालयले केही दिनभित्र नै सुरक्षा योजना स्वीकृत गरेर हामीलाई पठाउने छ र त्यसै अनुसार हामीले चुनावलाई शान्तिपूर्ण बनाउने कोसिस गर्ने छौँ ।
यसअघि भएको चुनावमा भएका कमिकमजोरीलाई पनि आत्मसात् गरेर सुरक्षित कसरी बनाउने ? भन्ने योजनामा लागेका छौँ । यसपालिको चुनाव पनि शान्तिपूर्ण हुन्छ भन्ने विश्वासका साथ हामीले काम गरिरहेका छौँ । मंसिर १४ को मिति नजिकिदै जाँदा हाम्रोतर्फबाट गर्ने तयारीलाई तिब्र पारेका छौँ । चुनावलाई निष्पक्ष, स्वच्छ, शान्त बनाउन आम नागरिकको पनि महत्वपूर्ण भूमिका रहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *